पृथ्वीनारायणको दिव्योपदेश र राष्ट्रिय हित

पृथ्वीनारायणको दिव्योपदेश र राष्ट्रिय हित

नेपाललाई हृदयबाटै आफ्नो देश ठान्नेहरू जसले आफूलाई नेपाली हुनुमा गर्व गर्छन्, तिनले राष्ट्र, राष्ट्रनिर्माण प्रक्रिया र राष्ट्रनिर्माताप्रति सकारात्मक भाव राख्न पक्कै गाह्रो मान्दैनन् । जसले इमान धर्म बेचिसकेका छन्, विदेशीका एजेन्डामा काम गर्छन् वा पराइको सोझो गर्छन्, तिनलाई यो देशको नाम, झन्डा, राष्ट्रिय एकता, सामाजिक सम्बन्ध र संस्कृतिप्रति मनमा इख हुन सक्छ । अझ ती पराइ जसले आफ्नो विश्वास प्रणाली वा सोच पद्धतिमार्फत दासता लाद्न चाहन्छन्, तिनका मनमा त स्थानीय सभ्यता, संस्कृति, भाषा, लिपि, सामाजिक सद्भावको संयोजन पद्धतिप्रति विष हुन सक्छ । यी इखालु र विखालुको मिलाप राष्ट्र, राज्य, समाज, सभ्यता, संस्कृति र सामाजिक सम्बन्धको लागि कति खतरनाक होला ?

विगतमा कतिपयले उपनिवेश कायम गर्न र टिकाउन त्यही देशका बिकाउहरूलाई खरिद गरेर प्रयोग गरिएका उदाहरण छन् । क्रूरता, समग्र शोषण, संस्कृति र सभ्यतामाथि आक्रमण, मानवधिकारको गम्भीर उल्लंघन, शिक्षा, कानुन र नीतिमार्फत आक्रमण आदि अभौतिक र भौतिक हतियारको प्रयोग उनीहरूको प्रवृत्ति थियो । उसबेला प्रत्यक्ष उपनिवेशका लागि स्थानीय बिकाउहरूलाई साना पद वा अन्य लाभ दिइन्थ्यो । अहिले छायाँ उपनिवेशका निम्ति साना र गरिब देशमा विदेशी गैरसरकारी संस्थाको भरमग्दुर प्रयोग गरिन्छ । तिनका एजेन्डामा काम गर्न राज्यका अंग, निकाय, स्थानीय संस्था र सञ्चारमाध्यममा बिकाउ एजेन्ट राखेर आफ्ना कुरा लाद्ने प्रयास गरिन्छ । ती बिकाउहरू छाया दासता स्विकार्छन् ।

पराइका औजार यी सफेद्पोसी छाया दासहरू सञ्जाल बनाएर मुलुकको आफ्नोपन नष्ट गर्न, जनतामा राज्यप्रति कुण्ठा पैदा गर्न र आआफ्ना दातालाई अवतार प्रमाणित गर्न तल्लीन हुन्छन् । मुलुकमा त्यस्ता लोभीपापीहरूको संख्या बढ्नु र राज्यको महत्त्वपूर्ण नेतृत्व तहमा तिनको प्रभाव बढ्नु राष्ट्रिय हितको दृष्टिले खतरनाक हुन्छ । राष्ट्र, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान मात्र होइन, राज्य पनि खतरामा पर्न सक्छ । सन्दर्भतः राष्ट्र र राज्य निर्माणमा योगदान पुर्‌याउने ऐतिहासिक व्यक्तित्वहरूलाई अगाडि सारेर सम्मान दिनु छायाँ उपनिवेशवादविरुद्ध एउटा सानो उपाय हुन सक्छ । त्यसैले यो आलेखमा दिव्योपदेशका आधारमा बडामहाराज पृथ्वीनारायण शाहबारे चर्चा गरिनेछ ।

कतिपय विदेशी इतिहासकारले नेपालको राष्ट्र र राज्य निर्माण अभियानलाई अमर्यादित तरिकाबाट प्रस्तुत गरेका छन्, तर आफ्नो देशले विगतमा उपनिवेश निर्माण र विस्तारका निम्ति केके क्रूर, अमानवीय, अन्यायपूर्ण कार्य गरे, त्यो लुकाउन प्रयत्न गर्छन् । अरू मुलुक र त्यहाँका मानिसलाई सभ्यता सिकाउन भन्दै दास बनाएको, स्रोत र साधन दोहन गरेको, सभ्यता र संस्कृतिमाथि आक्रमण गरेकोमा पनि गर्व गर्छन् । सन्दर्भतः गत वर्ष एकजना भारतीय राजनीतिज्ञ तथा कूटनैयिक शशी थरुरले बेलायतको एउटा विश्वविद्यालयमा दिएको करिब १५ मिनेटको प्रभावशाली र सुन्नैपर्ने भाषणबाट यो पुष्टि हुन्छ ।

उपनिवेशका कारण नेपालले मेचीपूर्व र महाकालीपश्चिमको जमिन मात्र गुमाउनुपरेन, समुद्रपारिकासँग आफ्नै भूमिमा पटकपटक लड्नुपर्‌यो, उनीहरूलाई पश्चिमा इतिहासकारले आक्रमणकारी भन्दैनन् । तर कर्कप्याट्रिकलगायतका पश्चिमा इतिहासकार मात्र होइन, मानवशास्त्री र समाजशास्त्रीको भेषमा आएका कतिपयले आपसमा लोलीबोली मिलाउँछन् । उनीहरूको राज्य र राष्ट्र निर्माणकालमा भएका घटना सानदार र अनुकरणीय हुन्, तर हामीकहाँ भएको राष्ट्र निर्माण अभियानलाई विस्तारवाद र उपनिवेशीकरण भनी शिक्षादीक्षा दिन सदावहार देखिन्छन् ।

पराइका स्थानीय पुर्जाहरूलाई पनि सायद नेपाल निर्माण अभियान, नेपाल, नेपालका सभ्यता, संस्कृति, भाषा, लिपि, प्रचलित संवत् मन पर्दैनन् । नेपालका 'राष्ट्रनिर्माता' मन नपर्नुको कारण त मुखाग्र नै बनाउन लगाइएको छ पुर्जाहरूलाई । त्यसैले उनको सालिक ढालियो, संविधानमा संवत् लेखिएन, शब्दकोशमाथि आक्रमण भयो, संविधान निर्माणकालमा झन्डामाथि पनि आक्रमण भयो । सेना र न्यायपालिकालाई कमजोर पार्ने प्रयास भए । राष्ट्रिय पहिचानलाई जातीयताले विस्थापन गर्ने प्रयत्न भए । एकाथरीलाई अर्कोथरीविरुद्ध उचाल्न अनेकथरी लगानी भए । पराइका पुर्जालाई ठाउँठाउँमा नियुक्ति दिने प्रयास भए आदि आदि । पृथ्वीनारायणका पालामा पादरीको पहिरनमा आएका दुईजना जासुस बेतीया पठाउनुको बदला पृथ्वीनारायणसँग मात्र होइन, हाम्रा सभ्यता, संस्कृति, प्रतीक, भाषा, लिपि, पहिरन र राष्ट्रिय एकतासँग पनि लिइँदैछ ।

पृथ्वीनारायण कुनै विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेका व्यक्ति थिएनन्, उनका पालामा मानवाधिकारका नाममा जारी भएका कुनै घोषणापत्र र महासन्धि जारी भएका थिएनन्, तथापि पृथ्वीनारायणको पालाको राष्ट्रिय एकता अभियानलाई दुई विश्वयुद्ध तथा त्यसपूर्व र पश्चात्का युद्ध र आक्रमणका ज्यादतीभन्दा अन्यायपूर्ण भन्न लगाएर आफूहरूलाई ढाक्ने प्रयत्न गरिँदै त छैन ?

पृथ्वीनारायणले आफ्नो राष्ट्रिय एकता अभियानमा आफैँ पैदल हिँडी ठाउँठाउँमा पुग्ने गरेको दिव्योपदेशबाट देखिन्छ । गोरखाबाट धादिङ, काठमाडौँ, मकवानपुर र बनारस पुगेको देखिन्छ । पृथ्वीनारायण राष्ट्र निर्माणका क्रममा दिनरात नभनी हिँडेको, गाउँका चौतारामा थर्पु हालेर बसेको भन्ने सिमलचौरको वासको प्रसंगबाट पनि देखिन्छ ।

उनले लिगलिगको आड गरी रणजित बस्नेत, मानसिंह रोकाहा र वीरभद्र पाठक जस्ता वीरहरूलाई राखिछोडेका थिए । अर्थात् राष्ट्रवादी मानिसहरूलाई राष्ट्र निर्माणका निम्ति जिम्मेवारी दिएका थिए । आफू एकता अभियानमा छत्रभंग गर्न एकातिर जाँदा अरूले आफ्नो राज्यमाथि आक्रमण गर्न सक्नेमा उनी सचेत थिए । राष्ट्र निर्माणमा कसले कताबाट कसरी आक्रमण गर्न सक्छ भन्नेबारे सतर्क हुनुपर्ने सन्देश यो प्रसंगले दिन्छ ।

आजभोलि हामी ससाना फाइदाको लागि राष्ट्र, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता, सभ्यता र संस्कृति भत्काउन आएका पराइका कतिपय संस्थालाई ठाउँ दिएका मात्र छैनौं, कतिले त उक्साइरहेका पनि छौं । दिव्योपदेशमा पृथ्वीनारायणले आफ्नो सेनामा चार जातका सिपाही छन्, यिनमा कसको सवार गर्‌यो भने (मुख्य जिम्मेवारी दियो भने) चाँडो काम फत्ते होला भनी जिज्ञासा राखेको देखिन्छ । अर्थात् राष्ट्रिय सेनामा राष्ट्रिय चरित्र देखिन्छ र तीमध्ये उद्देश्य प्राप्तिका निम्ति कसलाई प्राथमिकता दिनु उपयुक्त हुने भन्दै योग्यता र क्षमतालाई प्र श्रय दिन खोजेको देखिन्छ ।

उनी कसैप्रति पक्षपाती र प्रवृत्त देखिादैनन्। यही प्रसंगमा उनलाई धेरैले बाहुनको सवार भनेको बयल हो र पाप लाग्छ, ठकुरी बाघ हो दगा (धोका) हुन्छ, मगर टागन घोडा हो ढिलो हुन्छ र खस भनेको ताजी तुर्की घोडा हो यसको सवार गरे चाँडो होला भनी अर्ती दिएकाले उनैका अर्ती लिएको भन्ने देखिन्छ । यसरी पृथ्वीनारायण राष्ट्र निर्माणकालमा अरूको अर्ती सुन्थे र उपयुक्त लागे ग्रहण गर्थे तर आजजस्तो ती अर्ती दिनेहरू विदेशी भने थिएनन् उनी राज्यभित्रैबाट अर्ती लिन्थे ।

राष्ट्र र राज्य निर्माण अभियानमा उनले कालु पाँडेलाई जिम्मेवारी दिँदाको प्रसंग आउँछ । उनी लमजुङका राजासँग छलफल गर्न गएको बेलामा कालु पाँडेले आफ्नो मनको कुरा बोलेकाले उनी प्रभावितचाहिँ थिए । शास्त्रमा भने दुनियाँ जोसँग राजी हुन्छन्, उसलाई कजाई दिनू भन्ने लेखेको पनि थाहा थियो । उनको मनमा बिराज बषेतिलाई कजाई दिने कुराको अठोट थियो । दुनियाँदारले कालु पाँडेलाई कजाई दिन सल्लाह दिएकाले उनले ज्यादा बुद्धि भएका कालु पाँडेलाई कजाई दिए अर्थात् उनी हठी थिएनन्, राष्ट्रको काम गर्दा योग्यता, क्षमता र जनताको इच्छालाई ध्यानमा राख्न उनी संकल्पित थिए । योग्य र सक्षम व्यक्तिबाट नै राष्ट्र निर्माणको जिम्मेवारी पूरा गर्न मद्दत पुग्छ भन्नेमा उनको विश्वास थियो । क्षमता देखाएर पहिचान बनाउनु नै उनको लागि वास्तविक पहिचान थियो ।

उनले राष्ट्र निर्माणमा सहयोग पुगोस् भनी पाँडे परिवार र बस्नेत परिवारबीच वैवाहिक सम्बन्ध कायम गर्न लगाएका थिए । यसलाई उनले काठमाडौँ उपत्यका जित्न पाँडेको ढाल र बस्नेतको तरबारको रूपमा चित्रित गरेका छन् ।
पृथ्वीनारायण स्थानीय देवीदेवताको दर्शन गर्थे र मन्दिरका परम्परा मान्दथे भन्ने दिव्योपदेशको सल्यानकोटको देवीको मन्दिरमा बाहिरबाटै दर्शन र पूजाआजा गरेकोबाट पुष्टि हुन्छ । साथै इन्द्रायणी भैरवीको पनि ध्यान गर्थे । उनी धर्म र पूजाको लागि उनी परनिर्भर थिएनन्, आफ्नै धर्ती धार्मिक दृष्टिले पवित्र र आत्मनिर्भर दुवै छ भन्ने उनलाई लाग्दो हो ।

उनी यही माटोका देवीदेवतामा र खासगरी दैवी शक्तिमा विश्वास गर्थे, आस्था राख्थे । त्यसबेला बेतीयाबाट आएका पादरीको पहिरनमा आएका दुईजना जासुसहरूलाई यो कुरा मन पर्दैनथ्यो होला । त्यसैले उनीहरूको र पराजित सैनिकको प्रतिवेदनका आधारमा नेपालको इतिहास लेख्ने र त्यहीं इतिहासको प्रचार गर्न खाइपिइ गर्नेहरूलाई पृथ्वीनारायणको यो पक्ष मन पर्दैन होला ?

पृथ्वीनारायणले चीनका बादशाहसँग राम्रो सम्बन्ध बनाइराख्न प्रेरित गरेका छन् । दक्षिणको समुद्रका बादशाहसित सम्बन्ध त राख्नुपर्ने तर ऊ अति चतुर भएकाले सतर्क रहनुपर्ने बताएका छन् । उनले दिव्योपदेशमा अंग्रेजले हिन्दुस्थाना (भारत) लाई दबाइरहेको कुरा बताएका छन् । अंग्रेज सरजमिनमा रहेको र भारतीयहरू जागेका दिन अंग्रेज नेपालतिर बढ्न सक्नेतर्फ सचेत गराएका छन् । साथै अंग्रेजको आक्रमण रोक्न आफ्नो सुरक्षा व्यवस्था बलियो बनाउन निर्देशित गरेका छन् । उनले अंग्रेजलाई जाई कटक नगर्न तर झिकी कटक गर्न सुझाव दिएका छन् ।

अंग्रेज आक्रमण गर्न आए चुरे शृंखलामा नै लडाइँ लड्न भनेका छन् । अंग्रेज लड्न आएन भने लोलोपोतो गर्न आउने, अनेक कल र छल गर्न आउने उनको मत देखिन्छ । सिन्धुलीगढी, बटौली र नालापानीमा नेपाल प्रत्यक्ष लडाइँमा होमिन बाध्य पारियो । सुगौली सन्धि गर्न बाध्य बनाइयो । मेची र महाकालीपारि र दक्षिणतर्फको जमिन अंग्रेजका कालमा गुमाउन नेपाल बाध्य भयो । राष्ट्र हितमा उनले गरेको भविष्यवाणी करिब-करिब मिलेकै देखिन्छ । सायद त्यसैले होला, कतिपय पराइ र पराइजीवीलाई उनको यो दृष्टिकोण आजसम्म पनि पचेको छैन । त्यो तुस मौका पर्दा सार्वजनिक गरिरहन्छन् ।

पृथ्वीनारायण आफ्नो मुलुकको कानुन निर्माण गर्न आफ्नो समाज र इतिहासप्रति उत्तरदायी देखिन्छन् । यसैले होला उनले राम शाह, जयस्थिति मल्ल र महेन्द्र मल्लले बाँधेका थिति (कानुन) अध्ययन गरेको र ईश्वरले दिए म पनि १२ हजार (त्यसबेला गोरखाका घरधुरी ? ) को थिति बाँधी जाउँला भन्ने कामना गर्छन् । यसरी उनी १२ हजार घरधुरीका जनतालाई समानरूपमा हेर्दथे भन्ने देखिन्छ । साथै थिति बाँधेर न्याय दिने उनको अभिलाषा देखिन्छ । विश्वका कतिपय देशमा राजा र राजसंस्था मिलेर अत्याचार गरको, अत्यधिक कर लगाएको एवं न्याय प्रणाली नै हातमा लिएको इतिहास छन् । तर नेपालको कुनै कन्दरामा राष्ट्रनिर्माताले राष्ट्र निर्माण मात्र होइन, न्यायका निम्ति थिति बाँध्ने सोच बनाएकोमा जलन हुँदो हो । त्यसैले उनको व्यक्तित्व भत्काउन उनीहरू उद्यत् देखिन्छन् र हाम्रा परजीवी तिनका गोटी बन्छन् ।

विदेशी महाजनलाई गोडप्रसाहदेखि माथि आउन नदिनू, विदेशी महाजन आफ्नो मुलुकमा आए भने जनतालाई कंगाल गरिछोड्छन् भन्ने उनको दृष्टिकोण देखिन्छ । यसरी विदेशीहरूलाई कहाँसम्म आउन दिने र कहाँ राख्ने भन्नेबारे उनी स्पष्ट देखिन्छन् । साथै आफ्ना देशका कपडा बुन्न जान्नेलाई नमुना देखाई कपडा बुन्न लगाउनुपर्ने, विदेशी कपडा लगाउन मनाही गर्नुपर्ने र यसो गरे नगद विदेश नजाने उनको धारणा देखिन्छ । आज विदेशी कपडा मनाही गर्ने कुरा अचम्म हुन सक्छ ।

त्यसको धेरै वर्षपछि अंग्रेजलाई लखेट्न महात्मा गान्धीले अंग्रेजी कपडा नलगाउने मात्र होइन, अंग्रेज कम्पनीको नुनसमेत बहिष्कार गराएका थिए । यहाँ पृथ्वीनारायणले उपनिवेशको रूपमा दैलामा आई भारतलाई गाँजेर बसेको, बेलाबेलामा नेपालसँग निहुँ खोज्ने, पादरीको पहिरनमा जासुस खटाउने, सिन्धुलीगढीमा आक्रमण गर्ने र नेपाल एकीकरणविरुद्ध सहयोग गर्ने बेलायतलाई भनेका थिए ।

'प्रजा मोटा भया दर्बार बलियो रहन्छ', 'राजाका भण्डार भनेका रैतानहरू हुन्', 'मेरा साना दुषले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो चेतना भया' । जनताप्रतिको पृथ्वीनारायणको दृष्टिकोण कस्तो थियो भन्नेका लागि यी पंक्ति पर्याप्त छन् । कसैलाई यहाँ प्रजा र रैतान शब्दको बालको खाल निकाल्न मन लाग्न सक्छ । तर त्यसबेला जनता शब्द शब्दकोशमा थियो या थिएन, भाषाविद्ले बताउलान् । बेलायतमा अझै पनि प्रजा (सब्जेक्ट) र नोकर (सर्वेन्ट) भनिन्छ । नेपालमा नागरिक शब्द पहिले नगरवासीको लागि मात्र प्रयोग हुन्थ्यो ।

पृथ्वीनारायणले उसबेला अंग्रेजसँग लडाइँ गरेर जिते, देश बनाए, देश जोगाए, तर आज उनको सालिक कसको लागि ढालियो ? उनको अपमानका निम्ति कसले लगानी गर्छ ? उनको नेतृत्वमा एकीकरण भएको र उनले पराइ आक्रमणबाट जोगाएको नेपालको नेपाली हुनमा गर्व गर्नेले यी प्रश्नको जवाफ खोज्ने प्रयास गर्ने कि ?

'पाँडे, बस्न्यात, पन्थ, भैयाद, मगर' लाई मराताप दिनू, ठकुरी जाँची डिठ्ठा राख्नू, मगर जाँची विचारी थप्नू, कचहरीपिच्छे यक् यक् पण्डित राषी न्यायशास्त्रबमोजिम अदालत चलाउनू, गुरुङ, मगर, खान्ज्यादा, भैयाद, भारदार, मिर, उमराउ, थरघर पुराना-पुराना जाँची गौँडा-गौँडामा राख्नू, सुखसयलका लागि विदेशीको चलखेल हुन नदिनू, तीनै सहर नेपालका नेवारहरूको नाच झिकाई हेर्नू भन्ने उनको कथन रहेको पाइन्छ । अर्थात् उनी आफ्ना सबै जनताप्रति, न्यायप्रति र संस्कृतिप्रति पूर्ण लगाव र समभाव राख्थे । उनले पूर्व-पश्चिमका खस बाहुनलाई दरबारमा पैठ हुन नदिनू किनभने बाहिरिया मान्छेले दरबारमा बेथिति गराउँछन् भनेका छन् । अर्थात् पूर्वपश्चिम याने टाढा-टाढाका व्यक्ति जोसुकै भए पनि दरबारमा ठूलो पदमा राख्न नहुने उनको आशय हुन सक्छ ।

जयप्रकाश मल्लले मतलबको लागि दक्षिणतिरबाट नागा झिकाए र पछाडि दगा दिए । तिनीहरूलाई नेपालभित्र (उपत्यका) छिर्न नदिई सात गाउँ भित्रैमा पठाएँ । कश्मीरको नवाब मकवानपुर आक्रमण गर्न आयो, उसलाई पनि सिमाना कटाई आएँ सिन्धुलीगढीमा 'हाँडीसाहेब' (हार्डिङ ? ) चढ्यो, उसलाई पनि काटी पत्थरकाला च्याति ल्याएँ भन्ने कथन पनि दिव्योपदेशमा रहेका छन् । यो मुलुक बनाउन र जोगाउन उनी कसैसँग झुकेको देखिँदैन । सायद यी षड्यन्त्र र लडाइँ जितेकाले उनको अपमानका निम्ति लगानी हुन्छ र पुर्जाहरूले त्यही लगानीबाट ऊर्जा प्राप्त गर्छन् ।

पृथ्वीनारायणले उसबेला नागालाई डाँडा कटाए, कश्मिरी नवाबलाई सिमाना कटाए, अंग्रेजसँग सिन्धुलीगढीमा लडाइँ गरे र जिते, देश बनाए, देश जोगाए, मुलुकसापेक्ष कानुन र न्याय प्रणालीको प्रयास गरे, राष्ट्रिय र सीमा सुरक्षाका उपाय गरे, योग्यता प्रणालीलाई प्रधानता दिए, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता देखाए, तर आज उनको सालिक कसको लागि ढालियो ? उनलाई स्मृतिबाट बाहिर पठाउने तानाबाना कसको लागि बुनिँदै छ ? उनको अपमानका निम्ति कसले लगानी गर्छ ?

उनको नेतृत्वमा एकीकरण भएको र उनले पराइ आक्रमणबाट जोगाएको नेपालको नेपाली हुनमा गर्व गर्नेले यी प्रश्नको जवाफ खोज्ने प्रयास गर्ने कि ? उनका प्रति इख राख्नेले पनि दिव्योपदेशका सन्दर्भबाट आफ्ना धारणामा पुनर्विचार गर्ने कि ? मर्जी आआफ्नो तर पराइले सुम्पेको विषमन, मष्तिस्क र मुखमा लिएर हिँड्नेलाई भने के भन्ने खोइ ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.