अन्ततः हिन्दु राष्ट्र नै

अन्ततः हिन्दु राष्ट्र नै

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरण भएको छ । एकीकरणको राष्ट्रिय आवश्यकताबारे लामो समयदेखि बहस चल्दै आएको थियो । मुलुकको हित र गरिमा जगेर्नामा एउटा बलियो राष्ट्रवादी शक्तिको खाँचो पर्छ नै । त्यससँगै सभ्यताको अमूल्य पक्ष र आधुनिक प्रजातन्त्रलाई साथसाथै लैजान सक्ने विचार र व्यवहार बोकेको सन्तुलित र मध्यमार्गी राजनीतिक शक्ति नेपालजस्तो मुलुकको लागि निर्विकल्प छ । अब एकीकृत राप्रपा त्यस्तो शक्तिमा आफूलाई परिणत गर्ने मार्गमा अग्रसर हुनुपर्छ ।

यो भयो एउटा समसामयिक प्रसंग । यो सामयिकतामा केही सर्वकालीन मुद्दाहरू सतहमा उजिलिएर आएका छन् । एकीकृत राप्रपाले ती मुद्दाहरूको स्वामित्व लिने दिशामा देखाएको अग्रसरता उल्लेखनीय भएको प्रसंगले पंक्तिकारले राप्रपा एकीकरणको विषय उठान गरेको हो । हामीसँग समय छ, क्रमबद्ध छलफल जारी रहनेछ ।

राप्रपा एकीकरणको मुख्य आधारसरह बनेको मुद्दा हो, हिन्दु राज्यको पुनस्र्थापना । नेपाल केही वर्षयताको राजनीतिक अदलबदलका कारण यतिबेला औपचारिक रूपले हिन्दु राज्य होइन । राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रपञ्चहरूको गठजोडमा नेपाललाई रातारात गैरहिन्दु राज्यमा बनाइयो । जनआन्दोलनको बाढीमा नेपालको यो संरक्षकीय मुद्दालाई समेत बगाएर आफ्ना स्वार्थहरूलाई राज गराउन चाहनेहरू सफल भए ।

त्यसमा पछिल्लो नेपाली राजनीतिका शक्तिशाली पात्रहरूको हात रंगियो । आन्दोलनको उल्लास र थकानमा कतिपय महत्त्वपूर्ण नोक्सानीहरूसमेत ओझेल पर्छन् । तर जनतालाई आफूलाई धोका भएको भन्ने बुझ्न समय लागेन । लगातार त्यो बुझाइको अभिव्यक्ति राजनीतिक तवरमै शक्तिशाली ढंगले प्रकट हुँदै आएको छ । गत वर्ष जारी नयाँ संविधानमा नेपाली जनताको असन्तोषलाई सम्बोधन गर्ने केही शाब्दिक प्रयत्न भए पनि यो कदापि पर्याप्त हुन सक्ने देखिँदैन । त्यो सर्वस्वहरणपछि मान्छेलाई केही नामनिस्सा दिन खोजिए बराबर मात्रै हो । नेपाली जनता आफूबाट जे हरियो, त्यो जस्ताको तस्तै फिर्ता पाउन चाहन्छन् । अर्थात् नेपाल हिन्दु राष्ट्र अक्षुण्ण हुनुपर्छ ।

हिन्दु राष्ट्र हरणको पृष्ठभूमिबारे जति चर्चा गरे पनि हृदय सेलाउँदैन । नेपाल भन्ने मुलुकमा कुनै धार्मिक विद्वेषले ठाउँ पाएको थिएन । हिन्दु राजाले आफ्नो निवासको दक्षिण मोहडा अगाडि मुस्लिम दाजुभाइहरूको मस्जिद राख्न दिए । सायद हिन्दु र मुस्लिमहरूबीचको मेल नेपालमा जति संसारमा सायदै होला । त्यो पनि निसर्त र निस्कपट ढंगमा । अनि क्रिश्चियनहरूले त असीमित सामाजिक अभ्यास गर्न पाएकै छन् । उनीहरू ढोका-ढोका पुगेर बाइबल बाँड्न सक्छन् । उनीहरूले पनि चियापानीको सत्कार हिन्दुजनहरूबाट पाएकै छन् । बौद्ध धर्मलाई त हिन्दु सनातनधर्मीहरूले त साख्य कुल भाइकै रूपमा गणना गरेका छन् ।

के यो मानव समाजमा पाइने हदैसम्मको सरलता अनि साँस्कृतिक महानता होइन ? तर सरलतालाई कमजोरी बनाउन मिल्छ ? जसले आतिथ्य दियो, उसैको छाना खसाल्ने काम युक्तिसंगत हो ? यति हुँदा पनि सदाशयी नेपालीहरू अदम्य सहनशीलता धारण गरेर बसेका छन् । तर जब उनीहरूलाई सही समयमा गएर सोधिन्छ, के तपाईंको चित्त बुझेको छ भनेर पीडा त निस्किहाल्छ । सनातन धर्मको मुहान मुलुकको यो पीडाको सम्बोधन हुने समय कसैले नचाहेर पनि विस्तारै आउनेछ । केही व्यक्तिको मिलिभगतबाट भएका दुःनिर्णय प्राकृतिक कानुनको कोर्ससामु टिक्न सक्दैन ।

यसैबीच केही बुजु्रकहरूले प्रश्न उठाउलान्, धर्मको विषय उठाएर थिति बिगार्न खोज्ने ? केहीको चिन्ता छ, अब यो विषयमा फर्के त्यसका कारणले उब्जने रोषको लहरले 'लोकतन्त्र' को कथित थिति नै बिग्रनेछ । तर एक रातको निद्राबीच सभ्यतामाथि नै प्रश्न उठाइँदा ती महानुभाव किन मौन बसेको ? एउटा सभ्यताको चिनारीलाई नै राजनीतिक प्रपञ्चबाट रसातलमा पुर्‌याइएको त हो नि । त्यसको उपचार अब राजनीतिक प्रक्रियाबाट सम्भव छ ।

हिजो हिन्दु राष्ट्र हटाउन लागिपरेकाहरूले जनमतसंग्रहजस्तो संसारकै सर्वस्वीकार्य विधिमा जानुपर्छ भनेर भन्न सके ? उनीहरूलाई थाहा थियो, जनमतले उनीहरूको प्रपञ्चलाई स्विकार्दैन भनेर । अब जनमतसंग्रह उपाय हो त ? पक्कै होइन । हटाउन नचाहिने, अब पुनस्थार्पना गर्न चाहिने भन्ने विधिसम्मत हुन्छ र ? कदापि हुँदैन । एकचोटि जनताले धोका पाए, त्यो मिलाउने फेरि जनतालाई नै कष्ट दिने, राज्यको ढुकुटी सक्ने ? यो सम्भव छैन ।

आज संसद्मा संशोधन प्रस्तावमाथिको छलफल र त्यसभित्रका अनेक खेलको धपेडी चल्दैछ । त्यो प्रस्ताव संघीयता र नेपाली नागरिकताको विषयमा केन्द्रित छ । यसले नेपाली राजनीतिलाई ध्रुवीकरणको एउटा नयाँ कोणमा पुर्‌याएको छ । विपरीत धु्रवमा देखिएको दलहरूभित्रै पनि आन्तरिक लडाइँ छ । तर साँच्चै यो प्रस्ताव हाम्रो मौलिक आवश्यकता हो त ? हाम्रो अमूल्य सम्पत्ति नै गुमेको अवस्था छ, हाम्रो धर्म-संस्कृति नै चुनौती र संकटमा छ । यस्तो अवस्थामा हामी भने कता, कसरी टुक्र्याउने र कसलाई कति छिटो वैधता दिने भनेर हतासिँदैछौं ।

वास्तवमा संशोधन प्रस्ताव त यतिबेला हिन्दु राज्य पुनस्र्थापनाको विषयमा भइदिएको भए प्रासंगिक र विवेकपूर्ण हुन्थ्यो । नेपाली नेताहरूले जनआन्दोलन-२ यताका सम्पूर्ण त्रुटिहरूलाई सच्याउने उपक्रमको प्रभावकारी सुरुआत यतिबेला संविधान संशोधनबाट हिन्दु राज्य पुनस्र्थापना गरेर सम्भव छ । यसबाट मुलुक एउटा कोर्समा फर्कन्छ, हस्तक्षेपको वातावरण निरुत्साहित हुन्छ ।

आशाका घेरा

यतिबेला मूलधारका राजनीतिक दलहरूसमेत एक किसिमको अन्योलमा छन् । विगतमा भूलवश गुमाउनै नहुने विषय गुमाइयो भन्ने भाव ती दलका बहुसंख्यक नेता र समर्थकहरूमा उत्पन्न भइसकेको छ । त्यसलाई सच्याउनको लागि कतिसम्म साहस जुटाउने विषयमा उनीहरू रनभुल्ल छन् । कसैले यसको वातावरण बनाइदेओस् भन्ने लुप्त चाहना उनीहरूमा देखिन्छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले 'हिन्दु धर्मको विषय आइरहेको छ' भनेर त्यो अन्योललाई मुखर गरिसकेका छन् । यतिखेर राष्ट्रियताको तराजुमा निकै वजन बढाएका उनले त्यो अभिव्यक्ति दिनु अर्थपूर्ण छ ।

गत वर्ष जारी नयाँ संविधानमा नेपाली जनताको असन्तोष सम्बोधन गर्ने केही शाब्दिक प्रयत्न भए पनि त्यो कदापि पर्याप्त हुने देखिँदैन । नेपाली जनता आफूबाट जे हरियो, त्यो जस्ताको तस्तै फिर्ता पाउन चाहन्छन् । अर्थात् नेपाल हिन्दु राष्ट्र अक्षुण्ण हुनुपर्छ ।

कांग्रेस पार्टी सैद्धान्तिक हिसाबले प्रायः तरल अवस्थामा रहन्छ । उसमा बहुपक्षीय प्रभाव तरंगित भइ नै रहेका हुन्छन् । आफूलाई लोकतन्त्रको आधार स्तम्भ भने पनि यो पार्टीले समयमा निर्णय लिन नसक्ने, त्रुटि सच्याउन अलमल गर्ने एउटा परिपाटी स्पष्ट छ । एमालेले एउटा अनुशासनमा बसेको पार्टीको चिनारी बनाए पनि यसका निर्णयहरू वस्तुनिष्ठ हुन समस्या भएका कतिपय अवस्था देखिन्छन् । माओवादीले मुलुकको यथार्थ नबुझीकनै ऊर्जा खेर फालेको इतिहासबाट पुष्टि जो भइसकेको छ ।

कसैले पनि कुनै मुलुकको सभ्यताजन्य पहिचानमै आघात पर्ने गरी हस्तक्षेप गर्न मिल्दैन । आधुनिक प्रजातान्त्रिक समाजले यस्तो हस्तक्षेप स्विकार्दैन । प्रविधि, आणविक शक्ति र भौतिक समृद्धि जस्ता कुनै पनि चिजले मानिसको आस्था र संस्कृतिलाई जित्न सक्दैन । संसारमा भएका धेरैजसो द्वन्द्वहरू यस्तै हस्तक्षेपको जगमा उठेका हुन् । हाम्रो मुलुक पनि केही दसकयता इतिहासको जटिल मोडबाट गुज्रिरहेको छ । प्रजातन्त्र सधैं संक्रमणमा छ ।

राजनीतिक थिति बलियो भइनसक्दा यहाँका सामाजिक मूल्यहरूमाथि खेल्ने ठाउँ भएको छ । हाम्रा राजनीतिक खेलाडीहरू अस्वस्थ प्रतिस्पर्धाका कारण ती मूल्यहरूको बाजी थाप्न तयार भएका हुन् । हाम्रो राजनीतिमा न्यूनतम निष्ठा हुँदो हो त न हाम्रा धर्म-संस्कृति जस्ता मूल्यहरू आज यसरी धरापमा पर्ने थिए, न त हामीले आज राष्ट्रियताका लागि यो हदसम्म संघर्ष गर्नुपथ्र्यो ।

धन्य, हामीलाई हाम्रै सनातनीय धर्म-संस्कृतिको बलले आज 'रियलाइजेसन' को एउटा विन्दुमा ल्याएको छ । यो राम्रो सुरुआत हो । सनातनीय धर्म-संस्कृति एउटा पारिवारिक संहिता हो । यसले सम्पूर्ण समाजलाई एउटा परिवारसरह मान्दछ, जहाँ निष्ठाले अभिभावकत्व राख्दछ । हाम्रो समाजमा पछिल्ला वर्ष सघन हुँदै गएको विग्रह त्यही निष्ठामाथिको प्रहारले हो । नेपाली राजनीतिका पात्रहरूले यो कुरा बुझिसकेका छन् । कोही विस्तारै प्रकट भएर आउँदैछन् । कसैलाई समय लाग्ला । हामीले वास्तवमै हाम्रो सनातनीय संस्कृतिले बेहोरेको नोक्सानीलाई राजनीतिक प्रक्रियाबाट सोधभर्ना गर्न सक्यौं भने त्यसले समाजमा एउटा ऐतिहासिक नजिरको काम गर्नेछ ।

हामीकहाँ राजनीतिको अन्धवेगका कारण कतिपय मौलिक संस्थापन गुमेको अवस्था छ । जसका कारण मुलुक कतैबाट पनि एकताको घेरोमा बसेको देखिँदैन । भूगोलभित्रभित्रै लुछाचुँडी चलिरहेको छ । केही पक्ष अखण्डतामाथि समेत प्रहार गर्न खोजिरहेका छन् । यो अवस्था ठीक होइन भन्ने बुझाइ भूराजनीतिक वृत्तहरूमा समेत गाढा बन्दै गएको छ । नेपाल एउटा सनातनीय र स्थायी शान्तिको भूमि हो । नेपालको यो पहिचान आखिर सबैलाई नै चाहिने रहेछ । यस विषयमा भएका कतिपय पछिल्ला महत्त्वपूर्ण राजनीतिक विकास विस्तारै सार्वजनिक होलान् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.