विचारमा विराम, राजनीतिमा अविराम

विचारमा विराम, राजनीतिमा अविराम

पुस्तक                :    अविराम बाबुराम
लेखक                 :    अनिल थापा
विद्या                 :    जीवनी
प्रकाशक              :    सांग्रिला बुक्स
मूल्य                  :    ४४८ रुपैयाँं

पहिले–पहिले अधिकांश मानिस सिद्धान्तलाई बुझेरभन्दा पनि आलोकाँचो अवस्थामै भावनात्मक रूपले कम्युनिस्ट पार्टीमा लाग्ने गर्थे । उनीहरू तलैदेखि काम गर्दै नेतृत्वमा पुग्ने गर्थे तर डा. बाबुराम भट्टराई त्यसरी कम्युनिस्ट पार्टीमा लागेका नेता होइनन् । उनी माक्र्सवादी दर्शनका पुस्तकहरू पढेर कम्युनिस्ट आन्दोलनमा लागे ।

भावनात्मकभन्दा पनि बुझाइका आधारमा कम्युनिस्ट आन्दोलनसँग जोडिन पुगे । उनले सिद्धान्त बुझेका थिए, त्यसैले हरेक विषयमा बहस गर्न सक्थे । पार्टीले लिने विचार, पार्टी नेतृत्व प्रणाली र संगठनात्मक पद्धतिका बारेमा समेत नयाँ ढंगले चल्नु पर्ने कुरा उनले उठाइरहे । त्यसैले पनि उनी चर्चामा रहिरहे ।

पत्रकार अनिल थापाको विश्लेषणमा कम्युनिस्ट पार्टीमा प्रवेश गरेदेखि नै बाबुरामलाई त्यसको परम्परागत संरचना मन परेको थिएन । स्टालिनको पालादेखि कम्युनिस्ट पार्टीले जुन यान्त्रिक स्वरूप ग्रहण गर्‌यो, त्यो गल्ती सच्याएर अगाडि बढ्नु पर्ने अडान उनले राख्दै आए । फरक विचारलाई निषेध गर्ने स्टालिन प्रवृत्तिलाई उनी अमाक्र्सवादी ठान्थे ।

विपरीतहरूको एकत्वको नियमअनुसार जनवादी ढंगले कम्युनिस्ट पार्टी चलाउनु पर्ने मान्यता उनको थियो । उनका यस्तै विचारका कारण पार्टीमा अन्तरसंघर्ष चलिरह्ह्यो । मोहनविक्रम सिंह हुन् वा प्रचण्ड, पार्टीको नेतृत्व प्रणाली कस्तो हुने भन्नेमा उनको मतभेद सधैँभरि सबैसँग रह्यो । प्रचण्ड–बाबुरामले माओवादी जनयुद्ध सुरु गर्दा भनेका थिए, ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने जनयुद्धको बाटोमा अघि बढौं ।’

त्यस्तै, पुस्तकको अनुसूचि १ मा संग्रहित जनयुद्धको प्रतिबद्धता पत्रमा भनिएको छ, ‘हाम्रो यो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वंस गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने उद्देश्यमा आधारित हुनेछ ।’ माओवादी कार्यकर्ता जनवादी सत्ता स्थापनाको यही विश्वासमा लागे र बन्दुक बोकेर लडे । तर, अहिले आएर तिनै बाबुरामले त्यो युद्ध जनवादी सत्ता स्थापनाका लागि नभएर सामन्तवादको अन्त्य र लोकतन्त्रको स्थापनाका लागि भएको बताएका छन् ।

बाबुरामले ४० सूत्रीय मागदेखि नै उठाउँदै आएको मुद्दा लोकतन्त्र नै रहेको र त्यसको बाटो मात्र माओवाद भएको कुरा पुस्तकमा खुलस्त पारेका छन् ।
बाबुराम एक्कासी किन माओवादी पार्टी छाडेर निस्किए ? उनको बहिर्गमन धेरैका लागि रहस्यमय रह्यो । माओवादी अध्यक्ष प्रचण्डले बाबुरामलाई बाह्य शक्तिसँग जोड्दै भने, ‘थिङ्स आर नट ह्वाट दे सिम ।’ उनको बहिर्गमनलाई धेरैले अस्वाभाविक ठाने ।

तर, पत्रकार अनिल थापाको पुस्तक ‘अविराम बाबुराम’ मा उनको बहिर्गमनलाई स्वाभाविक मानिएको छ । नयाँ ढंगले अगाडि बढ्ने लामो समयको कसरतपछि नै उनी बाहिरिएको निष्कर्ष पुस्तकले दिएको छ । आफ्नो बहिर्गमनलाई राजनीतिक अर्थमा पुष्टि गर्ने प्रयत्न बाबुरामले गरेका छन् । तत्कालीन एमाओवादी जर्जर बनेको, वैचारिक–राजनीतिक रूपमा क्षीण भएको, कार्यशैलीका दृष्टिले प्रदूषित बनेको तर्क उनले दिएका छन् ।

माओवादी आन्दोलन प्रचण्डकै चरित्रका कारण विघटनको दिशामा पुगेको दाबी उनको छ । माओवादी पार्टीभित्र संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको कुरा बाबुरामले नै अगाडि सारेका हुन् । तर, बीउ एउटाले रोप्ने, फल अर्कैले खाने परिस्थिति उनका लागि सह्य कुरा थिएन । पुस्तकमा उल्लेखित विभिन्न घटना र प्रसंगलाई हेर्दा बाबुरामको बहिर्गमनका कारण व्यक्तिगत पनि देखिन्छन् ।

कसैप्रति व्यक्तिगत आक्षेप लगाउने आफ्नो स्वभाव नभएको बताउँदा बताउँदै बाबुरामले प्रचण्डप्रति अनेक आक्षेप लगाउन पुगेका छन् । उनी प्रचण्डलाई अपारदर्शी ठान्छन् । प्रचण्ड आर्थिक मामिलामा समेत निष्कलंक नरहेको आशय उनको छ । बाबुराम भन्छन्, ‘मैले आन्तरिक रूपले बुझ्दा पनि प्रचण्डलाई लागेका आर्थिक आरोप पूरै गलत रहेनछन् ।’

यहाँसम्म कि, ०६६ सालमा प्रचण्डले बाबुरामलाई प्रधानमन्त्री हुन नदिएको, ०६७ मा आफू पुनः प्रधानमन्त्री बन्न प्रचण्डले आर्थिक चलखेल गरेको, मधेशवादी दललाई साथमा लिने क्रममा ८/१० करोड खर्च गरेको कुरा पार्टीभित्र चलेको खुलासा पुस्तकमा गरिएको छ । बाबुराम राजनीतिमा अविराम रहे पनि विचारमा अविराम लाग्दैनन् ।

उनी जुनबेला माक्र्सवादबाट प्रभावित भए, त्यतिबेला बीपीको समाजवादबाट पनि त्यत्तिकै प्रभावित देखिन्छन् । माक्र्सवादको स्वाभाविक आकर्षण र बीपीको समाजवादको व्यावहारिक पक्ष दुई डुंगा बन्नसक्ने उनको निष्कर्ष थियो । पछि उनी नेकपा (चौथो महाधिवेशन) हुँदै मसालका नेता बने । उनी भन्न थाले, ‘माक्र्सवाद एक मात्र सत्य हो ।’ उनी एकताकेन्द्र हुँदै माओवादी बने ।

अब बाबुरामलाई लाग्यो, शक्ति बन्दुकको नालबाट निस्कन्छ । त्यसपछि उनी माओवादी जनयुद्धमा लागे । माओवादी जनयुद्ध सफल नहुने देखेपछि संविधानसभा र संयुक्त जनआन्दोलनको पक्षमा उभिए । संविधानसभाको चुनाव भयो र लोकतान्त्रिक गणतन्त्रको स्थापना पनि भयो । त्यसपछि बाबुरामलाई लाग्यो, अब माक्र्सवादले मात्र पुग्दैन ।

उनी नयाँशक्तिको कुरा गर्न थाले । यतिबेला उनको सैद्धान्तिक धरातल के हो, बुझ्न कठिन छ । नेपाली कम्युनिस्ट आन्दोलनमा जुन खालको भ्रष्टीकरण भयो, त्यो बोक्रो फालेर गुदी समाती अगाडि बढ्नु पर्ने विचार बाबुराम राख्छन् । तर, उनको यो विचार नयाँशक्ति पार्टीको संरचनासँग मेल खाने देखिँदैन । माक्र्सवादलाई स्वीकार नगर्नेहरूको भीडमा बाबुराम कसरी माक्र्सवादी भएर रहलान्, जबकि माक्र्सवादीहरूकै बीचमा उनी रहन सकेनन् ।

बाबुरामलाई बुझ्न र बाबुरामसँग जोडिएका समय–सन्दर्भका राजनीतिक घटनाहरूबारे जानकारी पाउन यो पुस्तक महत्वपूर्ण छ । धेरैलाई थाहा नभएका घटना–प्रसंगहरूलाई लेखकले सत्यतथ्यका साथ, अत्यन्तै विश्वसनीय ढंगले उजागर गराएका छन् । बाबुरामका केही आलोचनाका प्रसंगहरू पनि पुस्तकमा छन् । पहिलो संविधानसभा विघटनमा सबैभन्दा ठूलो पार्टीको प्रधानमन्त्रीको हैसियतमा सबैभन्दा जिम्मेवार रहेका बाबुरामले केही प्रसंगमा आफ्ना कमजोरी स्वीकारेका पनि छन् ।

पुस्तकको समग्र अध्ययनपछि महशुस हुन्छ, लगभग ३५ वर्ष कम्युनिस्ट पार्टीमा बिताएर प्रधानमन्त्रीसमेत बनिसकेका बाबुराम अबचाहिँ पुरानै मान्यता बोकेको कम्युनिस्ट रहिरहन इच्छुक देखिँदैनन् । लाग्छ, उनी कम्युनिस्टको मात्र प्रिय होइन, कुनै दार्शनिक–राजनीतिक आधारविना विकास र समृद्धिको कुरा गरेर सबैको प्रिय हुन खोज्दैछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.