महिला कति जिम्मेवार ?

महिला कति जिम्मेवार ?

आफ्नै पति र नाताले नन्द पर्नेको निर्घात कुटाइबाट थलिएकी रोल्पाकी सुनकुमारी नेपालीलाई मरणासन्न अवस्थामा भैरहवाको युनिभर्सल मेडिकल कलेजमा भर्ना गरियो । ढिलो अस्पताल पुर्‌याइएकी उनको गतिलो उपचार हुन पाएन र मृत्यु भयो । नाताले बहिनी पर्नेसँग लोग्नेको हिमचिम बढ्दै गएपछि सुनकुमारीले सम्झाउँदा झगडा भएको र दुवै मिलेर मरणासन्न हुने गरी कुटेको सार्वजनिक भएको थियो ।

चरम शारीरिक र मानसिक हिंसाबाट आजित भई लोग्नेविरुद्ध घरेलु हिंसाको मुद्दा लिएर नाबालक छोरासहित अदालतको ढोका ढकढक्याउन पुगेकी चितवनकी रमिला (नाम परिवर्तन)ले अदालतबाट मानाचामलको मुद्दा त जितिन् तर फैसलाअनुसार सहयोग पाइनन् । लोग्नेले गोप्य रूपमा अर्की पत्नी राखेको थाहा पाएपछि पुनः बहुविवाहको मुद्दा हालिन् । तर, अदालतबाट दुवै धरौटीमा रिहा भए । रमिला भन्छिन्, ‘छोराको गल्ती देख्नु त कताकता, सासू र पढालेखा नन्दसमेत मलाई भुत्ल्याउन पछि परेनन् ।’

Rameshwori-Pant-1यतिबेला महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । यस वर्ष ओरेकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार महिलामाथि भएका हिंसामध्ये सबैभन्दा बढी घरेलु छन् । महिला हिंसाका कुरा गर्दा सामान्यतः पीडकमा पुरुषकै नाम जोडिन आइपुग्छ । हिंसाका कारक मुख्य रूपमा पुरुष नै देखिन्छन् किनकि हाम्रोजस्तो पुरुषप्रधान समाजमा महिलामाथि हुने शारीरिक, मानसिक, यौनिकलगायत अनेकखाले हिंसा पुरुषबाटै हुने गर्छन् ।

तर, घरेलु हिंसाका कुरा गर्दा एकतर्फी रूपमा पुरुषलाई मात्र दोष दिएर गाली गरिरहनुभन्दा त्यसमा आफूचाहिँ कत्तिको जिम्मेवार छौं भन्ने समीक्षा गर्नुपर्छ । महिला नै महिलामाथि हिंसा गर्न उद्यत हुने र हिंसा गर्न पुरुषलाई उक्साउने गर्छन् । यसको प्रमुख कारण महिला–महिलाबीचको ईष्र्याको भाव नै हो । जसरी राजनीतिमा सत्ता र शक्तिका लागि प्रतिस्पर्धा हुन्छ र एकले अर्काको अस्तित्व स्वीकार्न नचाहने प्रवृत्ति हुन्छ, त्यसरी नै घरभित्र पनि एउटी महिलाले अर्की महिलाको अस्तित्व स्वीकार्न चाहन्न ।

त्यसैले सासू–बुहारी, नन्द–भाउजू आदि नाताबीच टकराव उत्पन्न हुन्छ । राजनीतिमा जस्तै घरभित्र पनि तीन ‘स’ (सत्ता, शक्ति र स्वामित्व)का लागि द्वन्द्व चल्छ । परिवारमा जुन महिला शक्तिमा छे, उसले कमजोरमाथि हिंसा गर्छे । चाहे सासू होस् या बुहारी या अरू नै । हुन त, महिला हिंसामा महिलाको हात हुन्छ भन्दा कतिपयलाई पच्दैन । उनीहरू भन्छन्, ‘यो सब पुरुषवादी मानसिकताले गर्दा भएको हो ।’

महिला नै महिलामाथि हिंसा गर्न उद्यत हुने र हिंसा गर्न पुरुषलाई उक्साउने गर्छन् ।

त्यसो भए किन त्याग्न सक्दैनन् महिलाहरूले आफैंलाई हानी गर्ने त्यो ‘पुरुषवादी मानसिकता’ ? किन बुझाउन सकिरहेका छैनन् उनीहरूले ? कतिपय शिक्षित र सभ्य भनिएका हामी महिलाले नै मानसिकता परिवर्तन गर्न सकिरहेका छैनौं । छोरा नजन्माएको भन्दै बुहारीमाथि ज्यादती गर्न महिला नै अघि सर्छन् । छोरालाई महत्व दिएर छोरीको भ्रुणहत्या गर्न अघि सर्छन् तर त्यसको विरोधमा कुनै महिलाले विद्रोह गरेको सुनि“दैन ।

जति पनि कुरीति र कुसंस्कारजन्य धार्मिक र सामाजिक मूल्यमान्यता छन्, तिनलाई महिलाले नै निरन्तरता दिंदै आउनुले पनि उनीहरू हिंसाको शिकार भइरहेका छन् । बोक्सी, छाउपडीजस्ता अमानवीय कुरीतिलाई महिला नै बढी विश्वास गर्छन् । बोक्सीको आरोपमा महिलामाथि हिंसा गर्न र मलमुत्र खुवाउन महिला पनि अघि सरेका घटना प्रसस्तै छन् ।

घरेलु हिंसाको अर्को क्रुरतम् रूप हो दाइजो । त्यस निहुँमा प्रायः तराई समुदायका छोरी बुहारी कुटिने, घरनिकाला गरिने, मारिने, ज्यूँदै जलाइने गरेका घटना प्रसस्त सुनिन्छन् । दाइजोको निहुँमा एउटी महिलामाथि हुने यस्ता क्रुर हिंसामा परिवारका महिलाकै कत्तिको हात हुन्छ त ? बिहेमा वा बिहेपछि दाइजो खोज्नेमा परिवारका पुरुष सदस्य मात्र हुँदैनन् ।

महिलालाई पनि यो रोगले गालेको हुन्छ । यो ल्याइन, त्यो ल्याइन भनेर बुहारीलाई शारीरिक र मानसिक दुःख दिने काम सासूले नै गर्छे । जबसम्म महिलाकै मनबाट दाइजोको लालच हट्दैन र छोराले दाइजोको निहुँमा बुहारीलाई यातना दिँदा सासूले बचाउ गर्दिन, तबसम्म यस्ता हिंसा भई नै रहन्छन् । महिलाले आफूमाथि हुने गरेका यौनलगायत हिंसालाई निर्धक्कसँग बाहिर ल्याउने र पीडकलाई समाजसामु नांगेझार पार्ने हिम्मत नगरेसम्म हिंसा अन्त्य सम्भव छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.