२५ वर्षे अनुभव सट्दै एसएसपी थापाले भनेः शक्ति सबै मिडियामा छ
काठमाडौंः तीस वर्ष लामो प्रहरी सेवापछि शुक्रबारबाट एसएसपी विक्रमसिंह थापा अवकाश पाउँदैछन् । अवकाश हुनुअगाडी सञ्चारकर्मीमाझ उनले प्रहरी संगठन भित्रका तितामिठा र प्रहरी कामकारबाहीमा राजनीतिक हस्तक्षेपका बारेमा समेत अनुभव साटे।
‘काठमाडौंको इन्चाज हुन त्यति सजिलो छैन, यहाँ दबाब र प्रभाव दुवै आउँछन्, त्यसलाई वास्ता नगरेर कानुन अनुसार अगाडी बढ्ने जो कोही प्रहरी अधिकृत सफल हुन्छन्,’एसएसपी थापाले भने,‘ यदि कुनै शक्तिकेन्द्र वा राजनीतिक दलको सिफारिसबाट कोही आउँछ भने त्यो सफल हुनसक्दैन, संगठन प्रमुखप्रति इमान्दारिता र बफादारिता हुनैपर्छ ।’ २०४३ बाट प्रहरी सेवामा प्रवेश गरेका थापा शुक्रबारबाट अवकाश हुँदैछन् ।
नुवाकोटको इन्चार्ज हुँदा तारुका प्रहरी चौकीमा तत्कालीन विद्रोही माओवादीको एम्बुसमा परेर दुई वटै कानको श्रवणशक्ति गुमाएका एसएसपी थापाले ज्यानको बाजी लगाएर काम गर्दाको परिणाम राज्यले आफूलाई पूर्ण शान्ति पुरस्कारबाट सम्मानित गरेको स्मरण गरे ।
‘चौकी आक्रमणको कुरा आएपछि म सँगै अन्य तीन जना सुरक्षाकर्मी गएका थियौं, बाटोमा एम्बुस थापिएको रहेछ, विष्फोटपछि म त बाँचे तर तीन जनाले ज्यान गुमाए,’ थापाले भने,‘म आफ्नो कर्तव्यबाट कहिल्यै पछाडि हटिन्, चाहे ललितपुरको इन्चार्ज हुँदा युनिटी काण्ड होस वा नेपालगंजमा रहँदा तेलको कालोबाजरी र भैरहवामा हुँदा ढुंगागिट्टिको तस्करी रोक्न दृढ भएर लागे र सफल भएँ ।’
भैरहवामा ढुंगागिट्टि र नेपालगंजमा तेल तस्करीमा आँखा चिम्लिन आफूलाई करोडौं रुपैंयाको अफर आएको स्मरण समेत उनले गरे। काठमाडौंकै इन्चार्ज रहँदा पनि धारा तेलको ठगी धन्दा, औषधी कम्पनीको ठगी धन्दा र कालोबजारी नियन्त्रणका लागि धेरै दबाब थेग्नु परेको थापाले बताए । उनले भने,‘यो काठमाडौं हो, सरकारलाई सफल र असफल बनाउने काम प्रहरीको कामकारबाहीमा पनि भरपर्दछ, दबाब पनि आउँछन् र प्रभाव पनि, तर त्यसलाई वास्ता नगरी दृढ संकल्पमा काम गरियो भने रोक्नसक्ने कसैको तागत छैन्।’
सुरुका दिनमा तत्कालिन वडा प्रहरी कार्यालयको इन्चार्जदेखि काठमाडौंसम्म आइपुग्दा आफूले २५ वटा कार्यालयमा इन्चार्जकै जिम्मेवारी सम्हाल्दै आएको स्मरण एसएसपी थापाले गरे । ‘सायद मै एउटा यस्तो भाग्यमानी अफिसर हुँला जसले जागिरको सुरुदेखि अन्त्यसम्म २५ वटा इन्चार्ज हुने मौका पाएँ, संगठनले यो जिम्मेवारी कसैको मायादयाले दिएको होइन, मेरो कर्मले दिएको हो, थापाले भने । प्रहरीबाट अवकाशपछि उनले सञ्चार जगत्मै प्रवेश गर्ने तर्फ लक्षित गरे ।
थापाले भने, ‘यहाँ शक्ति जे छ त मिडिया र संचार जगत नै रहेछ, त्यो मैले २५ वर्षमा अनुभव गरेँ, अब म खुला आकाशमा जाँदै छु, नागरिक जीवनमा जाँदै छु, अब मेरो तपाइँहरुसँगै सहकार्य हुन्छ, मिडियाले नै राज्यलाई सहि दिशामा लैजान्छ ।’