स्वास्थ्य प्रविधिमा फड्को

स्वास्थ्य प्रविधिमा फड्को

नेपालमा दक्ष र समर्पित चिकित्सक छन् विश्वस्तरकै र अनुकूल वातावरण तथा प्रोत्साहन प्राप्त हुँदा उनीहरूले अन्यत्र जस्तै नतिजा देखाउन सक्छन् भन्ने प्रमाण पटकपटक सार्वजनिक भएका छन् । तर त्यस्तो अवसरमा ग्रहण लगाउने काम अक्सर राजनीतिज्ञ र संसद्ले गर्दै आएका छन्, दुर्भाग्यका साथ । सम्पन्न, प्रभावशाली तथा उच्च पदमा आसीन व्यक्तिहरू सामान्य बिरामी या नेपालमै उपलब्ध हुन सक्ने उपचारको लागि यथासम्भव राष्ट्रिय ढुकुटी प्रयोग गरी विदेश जाने गर्छन् ।

अर्कोतिर कम रकममा नेपालमै शल्यचिकित्सा हुन सक्ने अनि सर्वसाधारणले सस्तोमा उपचार पाउन सक्ने कतिपय सम्भावनालाई कानुनको अभावमा निरुत्साहित गरिएको छ । यसले गर्दा आर्थिक रूपमा विपन्नहरूको जीवन खतरामा परेको छ र अर्कोतिर योग्यता र प्रतिबद्धता बोकेका चिकित्सकहरू निराशाको सिकार बनेका छन् । कतिपयलाई विदेश पलायनको लागि विवश गरेको छ, सरकारको त्यो उदासीनताले ।

यसै प्रवृत्तिबीच पनि केही आशालाग्दा कदम अघि बढेका छन् । धेरै वर्षको प्रयासपछि कानुनद्वारा सरकारले 'बोनम्यारो' प्रत्यारोपणलाई वैधानिकता दिएको छ र त्यसको फाइदा विगत एक वर्षमा धेरैले उठाएका छन् । त्यस्तै लामो संघर्ष, सरकारी उदासीनता तथा प्रशासनतन्त्रको अवरोधपछि 'कलेजो प्रत्यारोपण' सम्बन्धी कानुन पनि पारित भएको छ । कानुनले वैधता प्रदान गरेको केही दिनमै भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले पाँचजना अन्तर्राष्ट्रिय (दक्षिण कोरियाली) चिकित्सक टोलीसँगको सहकार्यमा ३६ वर्षीय बलराम नागाजुमाथि पहिलो सफल प्रयोग गरेको छ, उनकी दिदी सानुामायाद्वारा दान गरिएको कलेजो प्रत्यारोपयण गरेर ।

प्रयोगात्मक रूपमा केन्द्रले नेतृत्व लिए पनि टिचिङ तथा वीरलगायतका अस्पतालका विज्ञहरूलाई समेत अभियानमा संलग्न गर्दा त्यसले 'टिम स्पिरिट' सँगै सकारात्मक वातावरण बनाउनेछ । लामो समयको माग र चिकित्सकहरूको प्रयासपछि संसद्ले 'ब्रेन डेथ' व्यक्तिहरूबाट कलेजोलगायत अन्य महत्वपूर्ण अंग निकाली आवश्यकतामा रहेका आफन्तहरूमा प्रत्यारोपण गर्न कानुन बनाएको छ । चेतनास्तरमा वृद्धि र परोपकारी भावना बटुलेका कतिपय व्यक्तिले आफ्नो मृत्युपश्चात् 'अंग दान' समेत गरेका छन् र त्यस अर्थमा आवश्यकतामा रहेका धेरैको उपचार सहज हुने वातावरणसमेत बन्दै जानेछ, आउने दिनमा ।

यी प्रत्यारोपण नेपालमै हुन थालेपछि त्यसको खर्च पनि अप्रत्याशित रूपमा कम हुनेछ । छिमेकी भारतका सुविधासम्पन्न अस्पतालहरू 'स्वास्थ्य तीर्थ' जस्तै बन्ने गरेका छन् मध्यम, उच्च मध्यम र उच्च वर्गीयहरूका लागि । त्यहाँ कलेजो प्रत्यारोपण हुन थालेपछि हजारौंले त्यसको फाइदा लिएका छन् र नेपालीहरूले समेत त्यो सेवाबाट स्वास्थ्य लाभ गरेका छन् । त्यहाँ राम्रो निजी अस्पतालमा करिब ६० लाख पर्ने र नेपालमा त्यसको एकचौथाइ रकममा सम्पन्न हुने अनुमान गरिएको छ । सरकारले यस्ता प्रकृतिका शल्यक्रियामा पाँच लाख जनही अनुदान दिने सम्भावना छँदा करिब १० लाखमा या भारतमा पर्न जाने कुल खर्चको करिब १६ प्रतिशत रकममै नपालमा स्तरीय उपचार प्राप्त हुनेछ ।

निश्चय पनि, कलेजो प्रत्यारोपणको अवस्था खासगरी अति 'मद्यपान' का कारण हुने हुँदा त्यसका निरोधात्मक पक्ष त्यति नै आवश्यक हुन्छ, यो रोगविरुद्ध लड्न । त्यति हुँदाहुँदै पनि 'शल्यक्रिया' आवश्यक पर्ने 'केस' हरू कमी छैनन् र सम्भवतः मानव अंग प्रत्यारोपण केन्द्रले मात्र तिनीहरूलाई सम्बोधन गर्न सहज हुने छैन । तर अहिलेको सफल प्रयोगपछि सुविधासम्पन्न सरकारी तथा निजी अस्पतालले समेत कलेजो प्रत्यारोपणमा योगदान पुर्‌याउनेछन् ।

निश्चय पनि त्यसमा खर्चको 'रेन्ज' अर्थात् आकार फरक हुनेछ र त्यसले सेवाग्राहीमा एक किसिमको असन्तुष्टि जन्माउनेछ, बाध्यात्मक अवस्थामा पनि । यसबारे अस्पतालहरू संवेदनशील हुने अपेक्षा राख्नैपर्छ अहिले । तर, मानव अंग प्रत्यारोपण केन्द्रको यो सफलता र अग्रणी भूमिकाबारे मुलुकले गर्व गर्नैपर्छ र आगाम दिनमा त्यो अरूका लागि प्रेरणा बन्ने आशा स्वाभाविक रूपमा गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.