जनमत संग्रह: एक मात्र विकल्प

जनमत संग्रह: एक मात्र विकल्प

देश राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा लथालिंग र अराजक स्थितिमा पुगेको छ । सदनमा संविधान संशोधन प्रस्तुत हुन सकेको छैन । प्रधानमन्त्री संशोधन दुईतिहाईले पारित हुन्छ भनेर ठाउँठाउँमा हरेक दिन भाषण गर्दै हिँड्छन् । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष यो संशोधन पारितै हुँदैन भन्दै हिँडिरहेका छन् । उनीहरूका अनुसार यो संशोधन प्रस्ताव राष्ट्रघाती छ, देश टुक्र्याउने मनसायले कसैको इशारामा ल्याइएको छ ।

मधेसी मोर्चा संशोधन प्रस्तावमा केही परिमार्जन भए हामीलाई स्वीकार्य छ भन्न थालेको छ । कांग्रेस र माओवादी केन्द्रकै कतिपय नेता संशोधनको विरोधमा भाषण गर्दैछन् । प्रदेश नम्बर ५ मा अहिले ठूलै आन्दोलनको स्थिति देखिँदैछ । धेरै दिनको आन्दोलनले त्यहाँका जनताले कठिनाइ भोग्नुपरेकाले पाल्पामा त स्थगित भएको छ । तर अरू ठाउँमा विरोधको आगो निभेको छैन ।

संविधानअनुसार स्थानीय तह, प्रादेशिक तह र राष्ट्रिय तहको चुनाव पनि एक वर्षभित्र गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । त्यसको लागि आवश्यक विधेयक सदनका दराजभित्र थन्किएका छन् भने कतिपय विधेयकको मस्यौदासम्म भएको छैन । यही २०७४ को माघभित्र निर्वाचन नहुने हो भने संविधान असफल भएको मानिने डर छ । चुनाव फेरि टर्ने पो हो कि भन्ने डर पनि छ । पाँचौं प्रदेशबाट केही जिल्ला चौथो प्रदेशमा सारिँदा कोलाहल मच्चियो भने अरू प्रदेशमा पनि यस्ता विवाद आउनेछन् । अहिलेलाई पुरानै पाँच विकास क्षेत्रलाई नै प्रदेशका रूपमा रूपान्तरण गरेर मिलाउन सकेको भए हुन्थ्यो भन्ने आवाज पनि सुनिँदै छ ।

संविधान लागू हुँदा झिकिएको हिन्दु राष्ट्र र धर्म निरपेक्षताका बारेमा पनि विवादै छ । संघीयता अर्को विवाद छ । नेपालमा संघीयता हुँदै हुँदैन भनेर ठोकुवा गर्नेहरू पनि सदनमा छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले त्यो पक्षको नेतृत्व गर्नुभएको छ । संविधानमा परापूर्वकालदेखि देवीदेवता र ऋषिमुनीको अध्ययनस्थल मानिएको नेपाललाई धर्म निरपेक्ष गराउन युरोपेलीहरूले नेताहरूलाई ठूलै रकम खुवाएको प्रसंग पनि नसुनिएको होइन ।

यसको सत्यतथ्य भोलि इतिहासकारहरूले खोजी गर्ने नै छन् । माओवादीको जनयुद्धमा पनि हिन्दु राष्ट्र हटाउने एजेन्डा थिएन, न त राजसंस्था नै हटाउने निर्णय थियो । राजा ज्ञानेन्द्रले त्यसबेलाको परिस्थिति बुझेर प्रेस सम्मेलन गरेर आफ्नो राजमुकुट 'नासो' का रूपमा सरकारलाई हस्तान्तरण गर्दै बिदा भएर नागार्जुन बस्न पुगेका थिए ।

सुनिन्छ- दिल्लीमा बाह्रबुँदे सम्झौता हुँदा राजालाई पनि कहीं स्थान दिने छलफल भएको थियो । नेपाल निर्माणमा राजाहरूको पनि योगदान रहेको छ । तर हिन्दु धर्म र राजसंस्थाको पहिचान मेटेर नेपालीहरूबीच युगौंदेखि बलियो हुँदै आएको एकता चुँडाइयो । नेपाली भाषा र संस्कृतिलाई पनि विदेशीको जामा लगाइँदै छ । पहाड र तराई टुक्र्याएर तराई भूभागलाई 'बफर स्टेट' बनाउने नेहरू युगको प्रस्तावलाई ब्युँझाउने र क्षत्रीयताको लागि अलग्गै राज्य बनाउन प्रोत्साहन दिने काम भइरहेकै छ ।

६० वर्षपछि नेपाली आफैँले संविधान लेख्ने अवसर पाए । पहिलो संविधान लेख्न नपाई संविधानसभा भंग भयो । दोस्रो संविधानसभाले दिएको नेपालीहरूको पहिलो आफ्नो संविधानलाई पनि सफल हुन नदिन बाह्य शक्तिहरू लागिपरेका छन् ।

नेपालप्रति भारतको कहिल्यै सुदृष्टि रहेन । भन्नेचाहिँ दुई मुलुकको सम्बन्ध संसारमा अन्यत्र कतै छैन भन्ने तर पृथकतावादीहरूलाई साथ दिएर भारतले नेपालमा विकास हुन नदिने गरेको प्रस्ट भएको छ ।

यसमा हाम्रा अहिलेका नेताहरूको पनि साथ छ । नेपालमा कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुराको निर्णय पहिले दरबारमा हुन्थ्यो भने अहिले दिल्ली दरबारबाट हुन्छ । भारतले जब कसैलाई प्रधानमन्त्री बनाउने निर्णय गर्छ, तिनलाई दिल्ली बोलाइन्छ र अथ्र्याएर पठाइन्छ । यसको पछिल्लो उदाहरण वर्तमान प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा हुन् । हाम्रो विकास स्तर हेर्ने हो भने नेपालजस्तो मुलुकलाई संघीयता सुहाउँदैन ।

यसमा हाम्रा सांसद चित्रबहादुर केसीको तर्क सुन्दर छ । उहाँको दल सानै भए पनि यस मुद्दामा अविचलित छ । धेरै देशमा संघीयता विफल भएका उदाहरण छन् । सुडान, अफ्रिका, बुरुन्डी, रुवान्डामा भएका घटना बुझ्दा पर्याप्त हुन्छ । हामी सबै नेपाली १२५ जातमा बाँडिए पनि त्यो जात र धर्म हाम्रो घरायसी र परिवारभित्र मात्र फरक छ, राष्ट्रिय स्तरमा हामी एउटै धर्म, एउटै संस्कृति र संस्कारले बाँधिएका छौं ।

अहिले मुलुकमा रहेका समस्याको समाधान सहमति र समझदारीका आधारमा हल हुन नसक्ने आडम्बरी शब्दजालमा खेलाइरहनुभन्दा संघीयता, हिन्दु राष्ट्र, राजसंस्था, विदेशी हस्तक्षेपका मुद्दा लिएर जनतासमक्ष जानु सबैभन्दा उत्तम विकल्प हुन सक्छ । देशले कति खप्ने दुःख ! समान रूपमा नेपाल र नेपालीको विकास गर्ने हो भने अहिले देखिएका विवादको टुंगो लाग्नेछ । मुलुकमा राजनीतिक स्थिरता ल्याउन शान्तिपूर्ण वातावरणमा देशको विकास र निर्माण गर्न अनि दलहरूबीचको असहमति र द्वन्द्व अनि आरोप-प्रत्यारोपको राजनीति समाप्त गर्न पनि विवादित विषयहरूमा जनमत गर्नु एउटा उत्तम र प्रजातान्त्रिक कदम हुन सक्छ ।

मुलुकमा राजनीतिक स्थिरता ल्याउन शान्तिपूर्ण वातावरणमा विकास र निर्माण गर्न अनि दलहरूबीचको असहमति, द्वन्द्व, आरोप-प्रत्यारोप समाप्त गर्न पनि विवादित विषयमा जनमत गर्नु अहिलेको एक मात्र उपाय हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.