चढ्नै मुस्किल

चढ्नै मुस्किल

हरेक साँझ भृकुटीमण्डप छेउको माइक्रो स्टेसन घर फर्कन आतुर सयौँ यात्रुले भरिभराउ हुन्छ । पुरानो बसपार्कछेउको घुम्तीदेखि लगभग भद्रकालीछेउको आकाशे पुलसम्मै यात्रुको लर्को हेर्दा लाग्छ, उनीहरू कुनै मेला भर्न आएका हुन् । १५ मंसिर साँझ संवाददाता समाचार संकलन गर्न त्यही भीडमा मिसिएको छ । त्यत्तिकैमा बा१ज ८२८६ नम्बरको माइक्रो हुर्रिंदै आइपुग्यो । सडकछेउमा उभिरहेका यात्रुलाई छोएरै त्यो रोकियो ।

सबै माइक्रोतिरै झुम्मिए । ओर्लने र चढ्ने दुवै तछाडमछाड गर्दै थिए । यात्रु झर्न र उक्लन निकै समय लाग्यो । केही त झ्यालबाट बाहिरिँदै थिए । माइक्रो बस १५ सिटे थियो । तर, चालक, सह–चालकसहित ३२ यात्रु खचाखच कोचेर माइक्रो फेरि गुड्यो । संवाददाता पनि ठेलमठेल गर्दै त्यही माइक्रोमा चढ्यो । ‘माइक्रो चढ्न पनि युद्ध जिते जस्तो यार,’ एक युवा सँगैको साथीलाई भन्दै थिए ।

बल्ल–बल्ल चढ्न सकेका एक अधवैंशेचाहिँ गलत माइक्रो चढेछन् । जानुपर्ने वनस्थली, माइक्रो ललितपुरतिर सोझियो । ‘भाइ, यो वनस्थली जाने होइन ?’ तीनचोटी सोधेपछि सह–चालकले झर्केर भने, ‘हेरेर चढ्नुपर्छ नि । अब पैसा तिर्ने अनि ओर्लिने ।’ सह–चालकले हेरेर चढ्नुपर्छ भने पनि कुन रुट र कहा“ चल्ने भनेर कतै लेखिएको थिएन । ‘खै त अगाडि बोर्ड पनि छैन । भन्नुपर्छ नि अघि ?’ वनस्थलीका सरोजमान श्रेष्ठ र सह–चालक सुरज कार्कीबीच भनाभन बढ्दै झण्डै कुटाकुट भएन ।

१६ मंसिरमा त संवाददाताले यात्रुले सह–चालकलाई झापड नै लगाएको देख्यो । माइक्रो सामाखुसीबाट सहिदगेट आउँदै थियो । सह–चालकले सामाखुसीकी गृहणी रमा पराजुलीलाई सिटमा बस्न आग्रह गरे । चालकको पछाडि रहेको उल्टो सिट खाली थियो । पराजुली त्यो सिटमा बस्न मानिनन् । ‘दिदी अलिभित्र सर्नु त,’ कुनै रेस्पोन्स नभएपछि सह–चालक चिच्चाए, ‘ओ दिदी अलिभित्र सर्नु भनेको सुन्नु हुन्न ?’

‘ठाउँ हुनु परेन ?’ उनी पनि चर्कै स्वरले कराइन् । ‘त्यसो भए झर्नु । अर्कोमा आउनु,’ सह–चालक थप चिढिए । सुन्धारामा रोकिएको माइक्रोभित्र केहीबेर बाझाबाझ भयो । सह–चालकले अपशब्द बोल्दै धकेलेपछि पराजुलीले गालामै थप्पड हानिन् । केहीबेर दुवै पिटापिट गर्न थाले । अवस्था यति तनावपूर्ण भयो कि प्रहरी नै आइपुग्यो । ड्राइभरचाहिँ प्रहरी नपुग्दै सह–चालक छाडेर भागिहाले ।

सार्वजनिक यातायात चढ्दा आम मानिसले यस्ता घटनासँग दिनहुँ साक्षात्कार हुनुपर्छ । यो हाम्रो नियति नै बनेको छ । कारण, हाम्रो सार्वजनिक यातायात सेवाको पाटो अति नै निम्छरो छ । यसपटक हामीले उपत्यकाको माइक्रोबस सेवाको निगरानी गर्दा हजारौं यात्रुले समयमै यो सेवा उपभोग गर्न नपाएको मात्रै होइन, अपमान र दुव्र्यवहार सहनु परेको पनि देखियो ।

अधिकांश माइक्रोबस सञ्चालक, चालक र सहचालकको लापरवाहीका कारण यात्रु मर्कामा पर्दै आएका छन् । ‘सरकारले यस्ता माइक्रो हटाएर ठूला बस सञ्चालन गरिदियो भने सजिलो हुन्थ्यो होला,’ वनस्थलीका श्रेष्ठ भन्छन्, ‘ड्राइभरले हामीलाई मन नलागे नचढ भन्न पाउँछ त ? यो बाटो उसको आफ्नैजस्तो ।’ पुतलीसडकस्थित पसलबाट घर फर्किंदा साँझ झमक्कै पर्छ । उनी थप्छन्, ‘जब साँझ पर्न थाल्छ, त्यसपछि कसरी गाडी चढ्ने भन्ने चिन्ताले सताउँछ ।’

महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गअन्तर्गत भृकुटीमण्डपमा खटिने जवान मनोजकुमार साहका अनुसार भृकुटीमण्डपको स्टेसनमा मात्रै हरेक साँझ हजारको हाराहारीमा यात्रु माइक्रो पर्खिन्छन् । अपराह्न ४ देखि साँझ ७ बजेसम्म यस्तो भीड भइरहन्छ । ‘यात्रुको यस्तै चाप भएको बेला माइक्रोले पनि लापरबाही गर्छन्,’ उनी भन्छन् ।

माइक्रो चालकको लापरवाहीकै कारण पुरानो बसपार्क ट्राफिक वृत्तमा मात्रै दैनिक दुईदेखि पाँच यात्रुका उजुरी पर्छन् । भन्छन्, ‘हरेक दिन कम्तीमा २ वटा उजुरी परेकै हुन्छन् । यद्यपि, समस्या सुल्झाउन लागिपर्छौं ।’ उपत्यकामा गुड्ने अधिकांश माइक्रो चालक ट्राफिक उल्लंघन गर्नुलाई अस्वाभाविक ठान्दैनन् । जहाँ पायो त्यहीँ रोकेर यात्रु चढाउनु, ‘लेन भाइलेन्स’ गर्नु, क्षमताभन्दा बढी यात्रु चढाउनु सामान्यजस्तै छ ।

स्वयम्भु २३ (क) नम्बरको माइक्रो चालक हीराबहादुर तामाङ यसमा यात्रुको पनि गल्ती देख्छन् । भन्छन्, ‘यात्रु ठीक ठाउँमा बस्ने भए हामी पनि त्यहीँ रोक्न बाध्य हुन्छौँ ।’सार्वजनिक यातायात आचारसंहिता ०६७ अनुसार सरकारले तोकेभन्दा बढी भाडा लिन नपाइने, सवारी साधन सधँ यात्रुमैत्री हुनुपर्ने, सवारी साधनको नियमित जाँच तथा मर्मतसम्भार गरिएको हुनुपर्ने, तोकिएको समयमा तोकिएको स्थानबाट छुट्ने र तोकिएको समयमा तोकिएको स्थानसम्म पुग्ने गरी सञ्चालन गर्नुपर्ने, यात्रुवाहक सार्वजनिक सवारी साधनमा यात्रु चढाउँदा र ओराल्दा तोकिएको स्थानमा मात्र ट्राफिक जाम तथा दुर्घटना नहुने गरी सावधानीपूर्वक चढाउनु तथा ओराल्नु पर्छ ।

यस्तै, सार्वजनिक यात्रुवाहक सवारी चालक र परिचालकले अनिवार्य रूपमा परिचयपत्र, नम्बरप्लेट र बोर्डसमेत यात्रुले देख्ने गरी राख्नुपर्ने तोकिएको छ । तर, अधिकांश माइक्रोबसमा बोर्ड राखिएको हुँदैन । सकभर लुकाएर चलाइन्छ । यदाकदा ट्राफिकको आँखा छल्न मात्रै उनीहरू बोर्ड राख्छन् । ट्राफिक जवान साहको अनुभवमा कार्यालय समयमा अधिकांश माइक्रोबस बोर्ड नदेखाइकनै गुड्ने गरेका छन् ।

‘स्टेसनमा पर्खेका यात्रु नबोकीकनै अर्को ठाउँमा जान्छन्,’ साह भन्छन्, ‘थानकोट जाने माइक्रो छ भने कलंकीसम्म मात्रै यात्रु राखेर लैजाने । त्यसपछि फेरि कलंकीबाट थानकोटका यात्रु बोक्ने । यसरी दोब्बर भाडा उठाउने चलन छ ।’महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी लोकेन्द्र मल्लका अनुसार प्रहरीकहाँ दैनिक सात सयजति यात्रुका उजुरी आउँछन् । माइक्रोका कारण मात्रै दुई सयभन्दा बढी उजुरी पर्ने गरेको उनी बताउँछन् । भन्छन्, ‘यात्रुले प्रत्यक्ष फोनबाटै १०३ र १०० मा उजुरी गर्छन् । हामी स्थलगत टोली वा मोबाइल बाइक टोलीमार्फत कारवाही गर्छौं ।’

केही साताअघि मात्रै ट्राफिक प्रहरीले माइक्रोमा चालक पछाडिको उल्टो सिट हटाउन निर्देशन दियो । केही माइक्रोले उल्टो सिट हटाउन थालेका पनि छन् । तर, उल्टो सिट हटाए पनि सह–चालकले त्यो खाली ठाउँमा यात्रु उभ्याउने गरेका छन् । एसपी मल्ल भने पछिल्लो समय माइक्रोमा यात्रु झुन्डिने चलन नरहेको दाबी गर्छन् । ‘उभ्याएर यात्रा गर्नुपर्ने चाहिँ व्यावहारिक पाटो हो,’ उनी थप्छन्, ‘यात्रुको चाप धेरै छ,

माइक्रो थोरै छन् । यसैले पनि उभ्याएर यात्रा गर्नु बाध्यता हो ।’उपभोक्ताअधिकारकर्मी माधव तिमिल्सिनाचाहिँ माइक्रोले जहाँ पायो त्यहीँ रोकिदिने, क्षमताभन्दा बढी यात्रु बोक्ने र द्रुत गतिमा हाँक्नेजस्ता लापरवबाहीले गर्दा यात्रु समस्यामा पर्ने गरेको बताउँछन् । भन्छन्, ‘सडकमा पहिलो अधिकार यात्रुको हो । यहाँ त माइक्रो चालकहरू आफ्नै व्यक्तिगत सडकजस्तो गर्छन् । ट्राफिकले पनि चिट काटेजस्तो गर्ने हो, केही गर्न सक्दैन ।’ एसपी मल्ल भने यातायात व्यवस्था विभागसँग माइक्रोमै स्टेसन कडाइ गराउन आग्रह गरेको बताउँछन् ।

यातायात व्यवस्था विभाग भने माइक्रो बसका कारण दैनिक भोग्ने समस्याप्रति चासो देखाउन सकेको छैन । २० वर्ष पुराना सार्वजनिक सवारी साधन हटाउने योजनामा केन्द्रित रहेको विभागका सूचनाअधिकारी डा. टोकराज पाण्डे बताउँछन् । भन्छन्, ‘२० वर्ष पुराना सवारी साधन हटाएपछि धेरैजसो समस्या सल्टिनेछन् ।’

‘लोकतान्त्रिक’ स्टेसन

locktantra-park
मनमैंजुस्थित लोकतान्त्रिक चोक त्यस्तो नमुना ठाउँ हो, जहाँका माइक्रो सञ्चालक र स्थानीय बासिन्दा दुवै लोकतान्त्रिक छन् । साँझ–बिहान अन्य स्टेसनमा झैँ यहाँ पनि माइक्रो चढ्नेको भीड लाग्छ । तर, माइक्रो सञ्चालककै पहलमा लामबद्ध भएर मात्र चढ्न पाइन्छ ।बिहान यो ठाउँ पुग्ने हो भने देखिन्छ सयौँ यात्रु माइक्रो चढ्न पालो पर्खेर बसिरहेका हुन्छन् । सामाखुसी माइक्रो सञ्चालक समितिका सचिव लालप्रसाद गुरागाईंका अनुसार ७ भदौ ०७२ देखि उक्त व्यवस्था सुरु भएको हो ।

उनका अनुसार नाकाबन्दीका क्रममा तेल अभाव भएपछि सरकारले जोर–बिजोर आधारमा सवारी चलाउन आग्रह गरेको थियो । १९ माइक्रो सञ्चालित मनमैंजु क्षेत्रमा त्यसबेला हरेक दिन नौ वटा मात्र चल्न थाले । यात्रुको चाप यति बढ्यो कि माइक्रोको ढोका खोल्नै नसक्ने अवस्था आयो ।त्यही क्रममा माइक्रो चढ्ने बेला भागदौड गर्दा दुई यात्रु घाइते नै भए । त्यसपछि लामबद्ध बनाएर चढाउन थालिएको हो । गुरागाईं भन्छन्, ‘यात्रु र माइक्रो चालक यसरी नै सचेत हुने हो भने काठमाडौंका सबै स्टेसनमा सहज हुन्छ ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.