सकियो नेपालको यात्रा (भिडियोसहित)
काठमाडौं: नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा नेपाली खेलाडीको यात्रा क्वार्टरफाइनलमा सकिएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी प्रतियोगितामा बिहीबार नेपालका सबै खेलाडीले हार खेपे । नौ देशको सहभागिता रहेको प्रतियोगितामा नेपालका २१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा पुरुष/महिला एकल, डबल्स र मिक्समा गरी पाँच स्पर्धा समावेश छ । पाँचै स्पर्धामा नेपालको सहभागिता थियो ।
पुरुष एकलमा भारतका सिद्धार्थ ठाकुरले नेपालका रत्नजित तामाङलाई २१-१८, २१-१७, भियतनामका काउ कुङ फामले बंगलादेशका मोहम्मद सल्मान खानलाई २१-८, २१-५, भारतका अभिषेक येलेगरले पाकिस्तानका रिज्वान अजामलाई २१-११, २१-१४ तथा भियतनामका दुक फाट लीले बंगलादेशका तुसारकृष्ण रोयलाई २१-१०, २१-११ ले पराजित गर्दै सेमिफाइनलमा पुगे ।
महिला एकलमा भियतनामकी थुई लिन नुयेनले नेपालकी शिक्षा श्रेष्ठलाई २१-६, २१-१२, भियतनामकी थी फुङ थुई त्राणले नेपालकी मेघा चन्दलाई २१-८, २१-७, इरानकी अघई हाजियाघा सोरायाले पाकिस्तानकी पल्वसा बसिरलाई २१-१२, २१-१३ तथा इन्डोनेसियाकी देवी युनिता इन्दाह सरीले पाकिस्तानकी महुर साहजादलाई २१-१४, २१-१५ को सीधा सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाए ।
भिडियो हेर्नुहोस
पुरुष डबल्समा भारतका एम अनिलकुमार राजु र भेन्कत गौरभ प्रसादको जोडीले माल्दिभ्सका हुसैन जयन साहिद र नसुउ सराफुद्दिनको जोडीलाई २१-१२, २१-८, भारतका अर्जुन एमआर र रामचन्द्रन स्लोकको जोडीले भियतनामका क्वेङ हुई दाङ र दुक जियङ गुयेनको जोडीलाई २१-११, २१-७, पाकिस्तानका रिज्वान अजाम र सुलेहरी कासिफ अलीको जोडीले नेपालका दीपेश धामी र रत्नजित तामाङको जोडीलाई २१-१६, २१-१८ तथा भारतका अरुण जर्ज र सौरभ शर्माको जोडीले बंगलादेशका मोहम्मद सल्मान खान र तुसारकृष्ण रोयको जोडीलाई २१-१६,२१-१३ को सोझो सेटमा पाखा लगाउँदै सेमिफाइनलमा पुगे ।
मिक्स डबल्समा बंगलादेशका मोहम्मद अनामुल हक र अक्तर साप्लाको जोडीले भारतका आर नभनिथा कृष्णन र बी बालुपुदीको जोडीलाई २१-१५, १३-२१, २१-१९, भारतका सौरभ शर्मा र अनोष्का पारेखको जोडीले रत्नजित तामाङ र नङसल तामाङको जोडीलाई २१-१३, १९-२१, २१-१०, बंगलादेशका मोहम्मद सल्मान खान र एलिना सुल्तानाको जोडीले नेपालका विष्णु कटवाल र अमिता गिरीको जोडीलाई २१-१२, २१-१४ तथा भारतका भेन्कत गौरव प्रसाद र जुही देवागनको जोडीले नेपालका विजित थापामगर र शिक्षा श्रेष्ठको जोडीलाई २१-८, २१-११ ले निराश पार्दै सेमिफाइनल प्रवेश गरे ।
महिला डबल्समा भारतकी जक्कम्पुडी मेघना र पुर्भिसा एस रामको जोडीले नेपालकी पूजा श्रेष्ठ र नङसल तामाङको जोडीलाई २१-७, २१-५, भारतका अनोस्का पारेख र हारिका भेलुदर्थीको जोडीले पाकिस्ताका पल्वसा बसिर र साइमा मन्जुरको जोडीलाई २१-१३, १८-२१, २१-१३ तथा बंगलादेशका अक्तर साप्ला र एलिना सुल्तानको जोडीले नेपालका शोभा गौचन र अनुमाया राईको जोडीलाई २१-७, २१-१३ को सेटमा पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाए ।