“संशोधन दिल्लीलाई मात्रै चाहिएको छ”

“संशोधन दिल्लीलाई मात्रै चाहिएको छ”

एमाले संविधान संशोधनको मुद्दामा लचिलो बन्दै गएको हो ?
संविधानको संशोधनको मुद्दामा जोसुकै लोकतान्त्रिक व्यक्ति र संस्था लचिलै हुन्छन् । किनभने प्रजातन्त्र सिक्दै जाने कुरा हो । आज संविधान संशोधन आवश्यक छ कि छैन भन्ने व्यावहारिक विषय हो । हामीले सिक्न सुरु नै गरेका छैनौं, कार्यान्वयन नै गरेका छैनौं । नसिकी र कार्यान्वयन नगरी त्यसका खास समस्या के हुन् ? कस्तो संशोधन गर्दा हामीलाई बढ्न सजिलो होला ? यो कुरा हामीले बुझेकै छैनौं । कार्यान्वयनमा जाँदा हामीले त्यसका अप्ठ्यारा बुझौंला र जनतालाई बुझाऔंला । त्यसपछि संशोधन गर्दै जाऔंला ।

कार्यान्वयनमै नगई किन संशोधन गर्न जोड दिइँदै छ त ?
नेपाल राष्ट्र लामो समयदेखि भारतसँगको सम्बन्धले प्रभावित हुँदै आएको छ । केपी ओली सरकार भारतीय सत्तालाई राम्रो लागेको थिएन । दक्षिण एसियाको ‘दादा’ ठान्ने उसले आफू अनुकूलको संविधान बनाउन हामीलाई दबाब दियो । हामीले त्यसलाई इन्कार गरयौं र हामीमाथि नाकाबन्दी लगायो । नेपालले घुँडा टेक्छ भन्ने आशामा लामो समय नाकाबन्दी लगायो । तर, त्यो सम्भव भएन ।

भारतीय पक्ष पराजित भयो । यसले गर्दा त्यो सरकारसँग उसले बदला लिन चाहन्थ्यो । पुष्पकमल दाहाललाई प्रधानमन्त्री बन्ने इच्छा जाग्यो । विपक्षी कांग्रेसलाई एमालेलाई सरकारबाट झार्नु थियो । कथित मधेशवादी दलका एजेन्डा क्षेत्रीय हितका आवरणमा राजनीतिक सत्ताका लागि ‘बार्गेनिङ’ गर्नुपर्ने थियो । यी चार वटै शक्ति मिलेर एउटा व्यूह रचना भयो, जसले अहिले संविधान संशोधनलाई मुख्य मुद्दा बनाएका छन् ।

अहिले ती पार्टीभित्रै विवाद देखिएको छ । यो संशोधन मुलुक, लोकतन्त्र र संविधानको भविष्यका लागि आवश्यक छ भनेर कांग्रेस पार्टीले भन्न सकेको छैन । स्वयं माओवादी पनि यो मुलुकका लागि आवश्यक छ भन्दैन । मधेशवादी दलहरूले पनि यो प्रस्ताव पारित भयो भने हामी मान्छौं भनेका छैनन् । संविधान संशोधनका पक्षमा प्रस्ट रूपमा दिल्ली र लैनचौर मात्र छन् ।

यसअघि त पूर्व र पश्चिमका जिल्लाबारे विवाद थियो । एकाएक पाँच नम्बरको कुरा कसरी आयो त ?
पहिले पूर्व र पश्चिम नै चलाउन खोजिएको थियो, जुन सम्भव भएन । अझै उनीहरूको आकांक्षा एक मधेश एक प्रदेश नै हो । त्यो नहुने देखेपछि एक मधेश दुई प्रदेशलाई ‘बटमलाइन’ बनाउन खोजियो । त्यो पनि सम्भव भएन । खासगरी, सुदूरपश्चिम र सुदूरपूर्व छुन सम्भव भएन, जनदबाब तथा नेता र पार्टीहरूको लेनदेनका कारणले । अहिले पाँच नम्बरलाई छुन खोज्नुको एउटा मात्र आधार पहाड र मधेशलाई छुट्याउनु हो ।

पहाड र मधेशका कारणले पाँच नम्बर विभाजित भएको नजिर स्थापित गर्न खोजिएको हो । यसलाई आलोचनात्मक समर्थन गर्नेहरू देखिएका छन् । उनीहरूको समर्थन पहाड र मधेशलाई छुट्याउनेमा देखिन्छ भन्ने आलोचना सुदूरपश्चिम र सुदूरपूर्वमा संशोधन नगरिएकामा हो । पहाड र मधेश छुट्याउने तर्कअनुसार यो सबै भइरहेको छ, जुन नेपाल राष्ट्रका लागि दूरगामी रूपमा उचित छैन ।

नवलपरासी, रूपन्देही र कपिलवस्तु मधेशलाई दिंदा एमालेलाई किन आपत्ति ?
संविधान संशोधन प्रस्तावको स्वागत गर्ने भारत सरकार र अन्य जो–जो छन्, के तिनीहरू भन्छन् यो अन्तिम हो ? पाँच नम्बर प्रदेशलाई पुनर्गठन गर्दा तिनीहरूले कहिल्यै हामीलाई दुःख दिंदैनन् ? के उनीहरूले अहिलेसम्म हामीलाई दुःख दिनुको भित्री उद्देश्य यही मात्र हो ? पृथ्वीनारायण शाह हतियार किनेर फर्किंदै गर्दा पहाडको काखमा रहेको बुटवलमा तराईवासी व्यापारी थिए ।

त्यतिबेला भारतसँग सीमा जोडिएको अहिलेको भैरहवाको नाम बेथरी थियो, जहा“ पहाडवासीले बजार र व्यापार चलाउँथे । सम्बन्ध त यो हो त्यहाँको । इतिहासकारहरूले पनि आफ्ना कृतिमा यसलाई प्रस्ट्याएका छन् । नेपाल राष्ट्र निर्माणको समयभन्दा अगाडिदेखि मिलेर बसेका मधेशी र पहाडीलाई छुट्याउन मिल्ने कुरा जायज होइन । यस अर्थमा यो औचित्यहीन छ ।

लुम्बिनीको भूराजनीति पनि यसमा जोडिएजस्तो लाग्दैन ?
लुम्बिनीमा कसैले नजर लगाएको होला । त्यो पछिको कुरा भयो । बाँड्दाखेरि लुम्बिनी एकातिर त पर्ला नि । लुम्बिनी यही समुदायको मात्र हुनुपर्छ भन्ने हाम्रो माग होइन । हामीले भूराजनीतिको तरिकाले सोचेकै छैनौं । तर, प्रदेशको विभाजन कसरी गर्ने भन्ने कुरा त्यहा“का बासिन्दाको भावनाअनुसार गरिनुपर्छ । शेखर कोइराला र प्रकाशचन्द्र लोहनीजस्ता नेताहरूले यसबीचमा त्यस क्षेत्रको भ्रमण गरेका छन् ।

र, फर्किएपछि छुट्याउन हुने कुरा होइन रहेछ भनेका छन् । सामान्य चेतना भएका हरेक मानिसले त्यसै भन्छन् । भारतको बौद्ध सर्किटलगायत विषय प्रदेश छुट्याउन सफलता पाएपछिका स्वार्थ हुन् । अस्थिर प्रजातन्त्र भारतको चाहना भएको कतैबाट छिपेको छैन । हाम्रो सार्वभौमिकता, सुरक्षा, साधन–स्रोतको परिचालन, प्रजातन्त्र र व्यवस्थालाई निर्देशित र नियन्त्रित गर्न चाहन्छ भारत । एउटा स्वतन्त्र राष्ट्रका हिसाबले नेपाली जनता त्यो चाहँदैनन् ।

लुम्बिनी अञ्चलको संगठन र आधार ध्वस्त हुने त्रासले एमालेले संशोधन प्रस्तावको विरोध गरेको भन्नेहरू पनि छन् नि ?
अहिलेका सन्दर्भमा बाम आन्दोलन नेपालको जीवित शक्ति हो । हिजोका कम्युनिस्ट र समाजवादीका नारा अब राष्ट्र र संविधानका नारा भइसके । एमालेका लागि अब आफ्नो आधार बचाउनुपर्ने खुद्रा कुराका पछाडि लाग्नु पर्ने अवस्था छैन ।

संघीयता र संविधान नै खाने खेल भइरहे जस्तो लाग्दैन ?
संघीयता हाम्रा लागि नया“ प्रयोग हो । यो प्रयोग गर्न नसकिने र सैद्धान्तिक रूपमै इन्कार गर्नुपर्ने चिज पनि होइन । केन्द्रीकृत, एकात्मक शासनमा तल्लो तहमा अधिकार पुगेनन् भनेर यसलाई प्रयोगमा ल्याइएको हो । कुनै पनि राजनीतिक व्यवस्था सर्वसम्मत हुँदैन । संघीयता आइसकेको छ, यसलाई प्रयोग गरेर हेरिएन भने पशुपतिनाथले पनि यसलाई बचाउन सक्दैनन् । संविधान यसरी नै संशोधन गर्दै जाने हो भने संघीयता र गणतन्त्र कसैले बचाउन सक्दैन ।

संविधानको भविष्य के होला ?
संविधान आफैंमा कागजको खोस्टो हो, त्यसले आफू केही गर्न सक्दैन । त्यसलाई निर्माण गर्ने राजनीतिक दलहरू हुन् । दलहरूले प्रतिनिधित्व गर्ने सामाजिक शक्तिहरूले यसको निर्माण गरेका हुन् । तिनीहरूको अवस्था जस्तो हुन्छ, त्यस्तै संविधानको भविष्य हुन्छ । अहिले क्रान्तिका शक्तिहरू विभाजित छन् र संविधान पनि विभाजित बनेको छ । हामीले कचिंगल गर्दै गयौं भने संविधान पनि त्यसैको भुमरीमा फस्छ ।

ओली सरकारले भारतसँग कटुता मोलेर चीनतिर ढल्कियो भन्ने आरोप छ । एमालेको भारत नीति के हो ?
आफ्नो संविधान आफैंले बनाउनु भारतसँग कचिंगल गरेको कसरी ठहर्छ ? आधुनिक दुनियाँमा नाकाबन्दी युद्धको घोषणा हो । भारतले हाम्राविरुद्ध युद्धको घोषणा ग¥यो । त्यो नटेर्नु हामीले कचिंगल गरेको हो ?

दिल्लीले एमालेलाई टाढा हुत्याउन खोजेको हो त्यसो भए ?
यो दिल्ली, भारत या एमालेको होइन, संविधानको कुरा हो । जसले नेपालमा सार्वभौमसत्ताको कुरा गर्छ, त्यसका विरुद्धमा तिनीहरू लाग्छन् । ‘महेन्द्रीय राष्ट्रवाद’ भनेर जति बदनाम गर्न खोजिएको छ, यसभित्र उनीहरूको उद्देश्य लुकेको छ कि छैन ? आधा रिस पोखिएको र आधा दिल्लीको कुरा हो यो । जसले महेन्द्रीय राष्ट्रवाद भनेर राष्ट्रवादको अपव्याख्या गर्छ, तिनीहरूको कुरामा आधा दिल्ली छ ।

बीपी कोइराला, राजा महेन्द्र र ०४७ सालको संविधानको धारा १२६ लाई सहेनन् । अहिले हाम्रो संविधानलाई सहेका छैनन् । हरेक नागरिकको शिक्षा, स्वास्थ्य र मानवोचित कामको ग्यारेन्टी संविधानले नै गरेको छ । यसभन्दा लोकतान्त्रिक संविधान के हुन सक्छ ?

एमालेले भारतसँग ‘स्पेस’ खोजिरहेको कुरा आइरहेको छ नि । कस्तो स्पेस हो त्यो ?
पहिलो त, एमालेलाई कहाँ, कसरी बदनाम गर्न सकिन्छ भनेर लागिरहेकाहरूको कोणबाट आएको कुरा हो यो । तथापि, भारतसँग एउटा सौहाद्र्र सम्बन्धको स्पेस नेकपा एमालेले जहिले पनि खोज्छ र खोजिरहेको छ । भारतसँग कुनै दिन सम्बन्ध सुधार्नै पर्छ । तर, यसको अर्थ भारतले चाहिँ नेपालसँग सम्बन्ध सुधार्नै पर्दैन भन्ने होइन । हामीले सधैंभरी एकलकाँटे कुरा मात्र गरेका छौं । जनस्तरमा सम्बन्ध रहेको र इतिहास बोकेको भारतले पनि नेपालसँग सम्बन्ध नसुधारी सुखै छैन ।

संविधान संशोधनको गोलचक्करबाट बाहिर निस्किने उपाय के त ?
यसमा एउटा उपाय छ, संसद्मा दर्ता गरिएको विधेयक स्थगित । त्यस पछाडि वार्ता र छलफल सुरु हुन्छ । त्यसपछि मात्र जे गर्ने हो, सहमतिमै गर्ने वातावरण तयार हुन्छ । छलफलका दौरानमा संशोधनलगायत अनेक मुद्दा आउलान् । १० वर्षमा राष्ट्रले ठूलो मूल्य चुकायो, संक्रमणकाल, भूकम्प, नाकाबन्दी । यो संविधान पनि बचाउन नसक्ने हो भने यो राष्ट्र अगाडि जाँदैन ।

लैनचौरमा प्रदर्शन, स्थायी समितिको निर्णय तथा बन्द फिर्ताको शृंखलाबाट त्यस्तै उपाय निकाल्न खोजिएको हो ?
हाम्रो आन्दोलन पनि त्यही सहमति निर्माणमा दबाब दिनका लागि हो । कतै फिर्ता लिइएको छ भने पनि त्यस्तो सहमतिका लागि वातावरण निर्माण होस् भनेर हो । लुम्बिनी अञ्चलको धेरै ठूलो जनमत सडकमा उत्रिइसकेको छ । थप तयारीका लागि मात्र फिर्ता लिइएको हो । लैनचौरको प्रदर्शन पनि दबाब सिर्जना गर्नका लागि हो । संविधानका बारेमा आलोचनात्मक दृष्टि नराख भनेर लैनचौरमा खुलेको ‘कक्षा’विरुद्ध जनताको स्वतःस्फूर्त आक्रोस हो त्यो ।
प्रस्तुती : उपेन्द्र पोखरेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.