समुद्री किनारमा हेरिटेज सुन्दरी

समुद्री किनारमा हेरिटेज सुन्दरी

समुद्री तटीय क्षेत्र त्यसै पनि रमणीय लाग्छ । आँखाले भ्याएसम्म पानी र त्यसमाथि आउने छालको दृश्यले मनमस्तिष्कलाई प्रफुल्लित बनाउँछ । त्यसमाथि बान्की परेका सुन्दरी र उनीहरूको आत्मविश्वासले भरिपूर्ण हाउभाउले वातावरणलाई रोमाञ्चक बनाउनु स्वाभाविक हो । प्रसंग हो, हालै श्रीलंकामा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता 'हेरिटेज प्याजेन्ट २०१६' र सो प्रतिस्पर्धाका सहभागी सुन्दरीको बिकिनी फोटोसुटको ।

यस प्रतियोगितामा कोरियोग्राफरको अभिभारा लिएर म श्रीलंका पुगेको थिएँ । फोटोग्राफर थिए भारतका चेतन शर्मा । प्रतियोगितामा विभिन्न मुलुकका २१ सुन्दरी सहभागी थिए । हामीसँग आयोजक ई प्लानेट प्रालिका प्रमुखद्वय नेपालका सन्तोष सापकोटा र जिम्बाब्वेका कुल्भिन माभुंगा पनि थिए । दिउँसो करिब साढे ३ बजे हामी बिकिनी फोटोसुटका लागि समुद्री किनारतर्फ लाग्यौं । गन्तव्य थियो, श्रीलंकाको बेरुवालास्थित लाइट हाउस द्वीप ।

हामी बसेको होटल सेक्कु भिल्लाबाट लाइट हाउस भिल्लासम्मको यात्रा तय भएपछि लाइट हाउस द्वीपसम्म पुग्न हिन्द महासागरको एउटा पाटो तरेर जानु थियो । हाम्रो लागि उपलब्ध थियो सानो मोटर बोट जसमा एक पटकमा आठजनासम्म सवार गर्न सकिन्थ्यो ।

फोटोग्राफर शर्मा, म र केही सहभागी अगाडि लाग्यौं । सूर्यास्तअगाडि अर्थात् तीन घन्टाको अवधिमा सबै फोटो सुट सकाउनु थियो । ट्रिनिडाड एन्ड टोब्यागो, तान्जानिया, म्यानमार, जिम्बाब्वेका सहभागी हामीसँगै लागे । हिन्द महासागरको पानी र समुद्री छालसित मोटरबोटमा लगभग १० मिनेटको यात्रा थोरै डर र धेरै रोमाञ्चकता थियो । गन्तव्यमा पुगेपछि लोकेसन चयनमा केही समय खर्च भयो । लाइट हाउस द्वीपको ठीक पछाडि हिन्द महासागरलाई ब्याक ड्रप बनाएर फोटो सुट सुरु भयो ।

सुरुमा अफ्रिकी सुन्दरी ट्रिनिडाड एन्ड टोबागोका प्रतिस्पर्धी क्यामराअगाडि उभिए । पालैपालो ट्रिनिडाडकी टिन सुन्दरीले आफ्नो ग्ल्यामरस छविलाई आत्मविश्वासका साथ प्रदर्शन गरिन् । फोटोग्राफर चेतन ती सुन्दरीको पोजलाई उत्कृष्ट फ्रेममा कैद गर्न थाले । म उनीहरूलाई पोजहरू सिकाउन थालेँ । भिडियो क्यामेरामा फोटोसुटका दृश्य कैद गर्ने जिम्मेवारी पनि मेरै काँधमा थियो । ट्रिनिडाड र जिम्बाब्वेकी टिन सुन्दरीले बिकिनी अवतारमा विभिन्न पोज दिइनसक्दै अन्य सहभागी पनि आइपुगे ।

फोटोसुट टिन र मिस समूहमा सहभागी म्यानमारका सुन्दरी बढी प्रभावकारी देखिए । मिलेको जीउडाल, सही पोज दिनसक्ने खुबीका कारण उनीहरूको प्रस्तुति निकै आकर्षक र उत्कृष्ट रह्यो । त्यसो त रसिया, जिम्बाब्वे, ट्रिनिडाड एन्ड टोबागोका सुन्दरीहरू पनि कम थिएनन् । मिस र टिन समूहका लागि बिकिनी फोटोसुट बेस्ट बडी अवार्डका लागि महत्त्वपूर्ण थियो । यद्यपि मिसेस समूहका सहभागीले पनि बिकिनी फोटोसुटमा उत्साहपूर्वक सहभागिता जनाए । यस विधामा म्यानमार, भारत र ट्रिनिडाड एन्ड टोबागोका सहभागीको प्रस्तुति सराहनीय रह्यो । बिकिनी अवतारमा फोटोसुट गर्ने क्रममा सहभागीहरू पनि घरि सेल्फी त घरि विफीमा बेफुर्सद देखिन्थे ।

समुद्री छालले जिस्क्याइरहन्थ्यो, हावाको गति आनन्ददायी थियो । सुन्दरी, समुद्र र ग्ल्यामरको अभूतपूर्व दृश्य कैद गर्दागर्दै सूर्यास्त हुन लागेको पत्तै भएन । हामी सामूहिक तस्बिरका लागि हतारियौं । तर, सिंगापुर र ट्रिनिडाडकी मिस सहभागीको फोटोसुट अझै बाँकी थियो । कालो वर्णकी ट्रिनिडाडकी सहभागीपछि अन्तमा सिंगापुरकी सुन्दरीले बिकिनी अवतारमा आफ्नो फोटोसुट गराइन् । अन्त्यमा त्यो रमणीय वातावरणलाई सम्झनामा कैद गर्न केही पोज दिन म पनि अग्रसर भएँ । केही पोज कुल्भिनले दिए ।

उज्यालोले विस्तारै बिदा माग्न थालेपछि हामी फोटोसुट सम्पन्न गरेर अगाडि बढ्ने तयारीमा जुट्यौं । यात्रा मोटरबोटबाटै थियो । तर त्योभन्दा अगाडि स्थानीय मित्रहरूले हाम्रा लागि व्यवस्था गरेको नरिवल पानी, फिस र आलुको बार्बिक्युको स्वाद चाख्ने अवसर मिल्यो । धेरै उत्साह र रोमाञ्चकतासँगै थोरै भोक पनि थियो । हाम्रो यात्रा मोटरबोटको सहारामा अघि बढ्यो । लाइट हाउसको उज्यालो, विशाल समुद्रको पानीमा आएको छालको बहावसँगै हामी एउटा सन्तुष्टि, खुसी र मीठो सम्झना बोकेर हुइँकियौं ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.