कागजमै रंगशाला

कागजमै रंगशाला

१० भदौ ०७२ मा सरकारले ललितपुर च्यासलमा वैकल्पिक रंगशाला निर्माणको पहल थाल्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापाले त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर पनि गरे । निर्माण सम्पन्न गर्न तोकिएको १५ महिना बितिसक्दा निर्माणस्थलको माटोसमेत खोस्रिइएको छैन ।

दशरथ रंगशाला मुलुकको एक मात्र अन्तर्राष्ट्रिय स्तरको खेलमैदान हो । ०१३ सालमा निर्माण भएर ०१५ देखि खेलकुद गतिविधिका लागि खुला गरिएको थियो । एएफसी च्यालेन्ज कपका लागि ०५५ सालमा मर्मत गरियो ।

संरचना पुराना हुँदै गएकाले सरकारले ०६९ देखि दर्शकदीर्घाको ‘रेट्रोफिटिङ’ थाल्यो । १२ वैशाख ०७२ को विनासकारी भूकम्पले तहसनहस बनाइदिएपछि मर्मतका सबै प्रयास माटोमा मिले । उक्त रंगशाला तत्काल सञ्चालनमा ल्याउन नसकिने देखेर नै सरकारले अन्तर्राष्ट्रिय स्तरको वैकल्पिक मैदान निर्माणको योजना अगाडि सारेको हो ।

त्यसका लागि सरकारले तत्काल चार करोड रुपैयाँ उपलब्ध गराउने भनेको थियो । निर्माणको जिम्मा एन्फालाई दिइयो । विश्व फुटबल महासंघ (फिफा) ले विशेष परियोजना शीर्षकबाट एन्फालाई १० करोड रुपैयाँ दिने भएको थियो । उक्त रकम मैदानमा ‘एस्ट्रो टर्फ’ र ‘फ्लड लाइट’ जडानमा खर्चिने योजना एन्फाको छ । निर्माण सुरु नै नभएकाले फिफाले उक्त रकम निकासा दिएको छैन ।

फिफाकै सहयोगमा च्यासल मैदानमा छुट्टै फुटसल कोर्ट निर्माणको योजना पनि एन्फाको छ । हालसम्मको प्रगति हेर्दा वैकल्पिक रंगशाला एकादेशको कथा बन्ने जोखिम बढेको छ । सरकारले बजेट विनियोजन नगरेको पनि होइन । ०७२/७३ को बजेटमा चार करोड रुपैयाँ छुट्यायो । ०७३/७४ को बजेटमा पनि त्यससम्बन्धी काम अगाडि बढाइने उल्लेख भयो । हालसम्मको अनुमानित लागत करिब ४० करोड रुपैयाँ हो ।

कृत्रिम घाँस र प्रकाशसहितको रंगशाला निर्माणको योजना थियो । यसबीचमा तीन जना खेलकुद मन्त्री फेरिए, पुरुषोत्तम पौडेल, सत्यनारायण मण्डल र दलजीत श्रीपाली । पदबहाली गर्ने क्रममा सबैले वैकल्पिक रंगशालाको काम अगाडि बढाइने बताउने गरेका छन् । त्यसपछि बिर्सिन्छन् । निर्माणस्थलको माटो परीक्षणसमेत गरी तीन महिनाभित्र टेन्डर आह्वानलगायत काम सक्नु पथ्र्यो ।

rangashala

निर्माण थाल्न मन्त्रालय धाउनेबाहेक काम हुन नसकेको एन्फा महासचिव धिरेन्द्र प्रधान बताउँछन् । भन्छन्, ‘हामीले त्यतिबेलै नक्सासहित सबै तयारी गरेर मन्त्रालयमा बुझाइसकेका छौं ।’ उनका अनुसार एक वर्षअघि नै टेन्डर प्रक्रिया सकिनु पथ्र्यो, अहिलेसम्म सुरसार छैन । मन्त्रालयले बत्ती, ढल, भवन, मैदानलगायत संरचनाको छुट्टाछुट्टै नक्सा मागेकाले एन्फाले बुझाइसकेको प्रधान बताउँछन् । उनको भनाइमा मन्त्रालयबाट अब छिट्टै काम थाल्ने आश्वासनसम्म आएको छ ।

उक्त जग्गा एन्फाले ललितपुर उपमहानगरपालिकासँग २५ वर्षका लागि लिजमा लिएर फुटबल गतिविधि चलाउँदै आएको थियो । लिज अवधि १३ वर्ष बितिसकेकाले नगरपालिकासँग थप २५ वर्षका लागि सम्झौता भएको छ । उक्त मैदान सरकारको स्वामित्वमा रहेकाले आफूहरूले चाहेर मात्र केही नहुने एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ बताउँछन् ।

चार वर्षयता दशरथ रंगशाला सञ्चालनमा नरहँदा फुटबल खेलाडीले बढी समस्या बेहोरिरहेका छन् । भूकम्पबाट त्रिपुरेश्वरस्थित राखेप परिसरमा एक अर्ब रुपैयाँ बराबरका भौतिक संरचना क्षतिग्रस्त भएका छन् । राखेप मुख्यालय, कभर्डहल, पौडी पोखरी, त्यसको दर्शकदीर्घा, टेनिस कोर्ट, दशरथ रंगशालाको विशिष्ट व्यक्तिहरूलाई छुट्याइएको दर्शकदीर्घा लथालिंग छन् । ती कुनैको मर्मत थालिएको छैन ।

प्राविधिक कारणले सम्झौताअनुसार समयमै काम हुन नसकेको दाबी खेलकुद मन्त्रालयका प्रवक्ता चुडामणि पौडेलको छ । भन्छन्, ‘यो एकै वर्षमा निर्माण पूरा हुने योजना होइन । अर्थ मन्त्रालयसँग बहुवर्षीय बजेटका लागि छलफल भइरहेको छ ।’ उनका अनुसार नेपालले सन् २०१९ मा आयोजना गर्ने १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्ममा च्यासल मैदान खेल्नयोग्य बनाइसक्ने सरकारी योजना छ ।

कागजमा प्राथमिकता, काम शुन्य
फुटबलका लागि सुविधासम्पन्न रंगशालाको परिकल्पना नयाँ होइन । खासगरी, ६२/६३ को आन्दोलनपछि बनेका हरेक सरकारको कागजी प्राथमिकतामा पर्दै आएको छ खेलकुद । ०६८/६९ को बजेटपछि प्राथमिकताको पहिलो सूचीमा राख्न थालिएको छ । त्यसअघि करोड रुपैया“मा सीमित बजेट ०६८ यता अर्बमा पुगेको छ । बजेटको आकार बढाइँदा भौतिक संरचना निर्माणलाई पनि प्राथमिकता दिइएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री बन्दा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने घोषणा नै गरेका हुन् । दशरथ रंगशालामा सञ्चालित प्रधानमन्त्री कप फुटबल उद्घाटनमा उनको घोषणाले खेल क्षेत्रमा आशाको सञ्चार गराएको थियो । यद्यपि, नौ वर्षपछि दोस्रो पटक प्रधानमन्त्री बन्दा पनि दाहालले त्यही कुरा दोहोरयाइरहेका छन् ।

मलेसियामा गत नोभेम्बरमा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि नेपाली राष्ट्रिय फुटबल टोलीले हात पारयो । स्वदेश फर्किएका खेलाडीको सम्मानमा प्रधानमन्त्री दाहालले सरकारी निवास बालुवाटारमा समारोह आयोजना गरे । त्यहाँ पनि उनले आश्वासन बाँडे, ‘फुटबल स्टेडियम निर्माणका लागि विशेष पहल गर्छु ।’ प्रगति भने शुन्य छ ।

bazed

कभर्डहल योजना पनि कागजमै
अन्तर्राष्ट्रिय कभर्डहलको कथा च्यासल मैदानको भन्दा फरक छैन । डेढ वर्षअघि राखेप र त्रिभुवन विश्वविद्यालय (त्रिवि) बीच अन्तर्राष्ट्रिय मापदण्डको बहुउद्देश्यीय कभर्डहल निर्माण गर्ने सम्झौता भएको थियो । राखेप सदस्य–सचिव विष्ट र त्रिविका उपकुलपति हीराबहादुर महर्जनबीच १४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएबाहेक काम अगाडि बढेको छैन ।

ठूलाखाले ‘इन्डोर’ खेलका लागि त्यसलाई प्रयोग गर्ने योजना थियो । तत्काल काम सुरु गरिने सम्झौता पत्रमा उल्लेख छ । सदस्य–सचिव विष्ट भने कभर्डहल र सातदोबाटोमा बनाउने भनिएको तापक्रम सुविधासहितको पौडी पोखरीका लागि मन्त्रालयले बजेट उपलब्ध नगराउँदा काम अगाडि नबढेको बताउ“छन् ।

‘राखेपले डीपीआर तयार पार्नेलगायत सबै काम पूरा गरिसकेको छ । बजेट नआउँदा टेन्डर प्रक्रियामा समेत जान सकिएको छैन,’ विष्ट भन्छन् । कूल ५० करोड लागत अनुमान गरिएको कभर्ड हल ५० रोपनीमा निर्माण गरिने सम्झौता छ, जसको क्षमता पाँच हजार दर्शक अट्ने भनिएको छ ।

स्नातकोत्तर तहमा खेलकुद विज्ञानको अध्यापन सुरु गर्ने र बहुउद्देश्यीय कभर्ड हल त्यसका लागि उपयोगी हुने त्रिवि र राखेपको भनाइ छ । त्यसमा राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिता तथा प्रशिक्षण सञ्चालन गर्ने योजना दुवै संस्थाको छ । तर, त्यो कागजी प्रक्रियाबाट बाहिर निस्किन सकेको छैन ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.