बढ्दो आकर्षण

बढ्दो आकर्षण

केही महिनापछि सार्वजनिक हुने प्रोमिथस–२ को पर्खाइमा छन् सुदन घिमिरे, २१ । हलिउडका नयाँ फिल्म धेरै साता पर्खेर बस्छन् उनी । साइन्स फिक्सन फिल्मका क्रेजी नै ठान्छन् आफूलाई, ‘साइन्स फिक्सनदेखि साइन्स फिक्सनसम्म । अरु फिल्मले छुँदै छुँदैनन् ।’ एउटा हेरिसकेपछि उनको खोजीको विषय हुन्छ, अर्को फिल्म । यसका लागि इन्टरनेटमा सर्च गर्छन् र ‘कमेन्ट्स’ हेर्छन् । फिल्म हेर्न हलमा एक्लै जान्छन् ।

‘साइन्समा रुची भएकैले होला, राम्रो–नराम्रो जस्तो भए पनि साइन्स फिक्सन फिल्म भएपछि केही चाहिँदैन,’ उनी भन्छन्, ‘एउटा हेरेपछि अर्को कस्तो आउला भन्ने खुल्दुली लागिरहन्छ ।’ सानैदेखि टीभी हेर्ने मनोज खाती, १८, लाई हिन्दी सिनेमाप्रति गहिरो रुचि थियो । उनको रुचि अहिले दक्षिण भारतीय सिनेमाप्रति तानिएको छ ।

समय मिल्यो कि उनी यु–ट्युबमा दक्षिण भारतीय सिनेमा हेरिहाल्छन् । उनको ‘बेस्ट एक्टर’ हुन्, महेश बाबु । ‘महेश बाबुको हिरोइजमबाट प्रभावित छु म,’ खाती भन्छन्, ‘साउथ मुभीको अघिल्तिर बलिउड फिक्का लाग्छ ।’ महेश बाबुका आँखा र अभिनय अब्बल लाग्दोरहेछ उनलाई । रसिक रुचाल, २२, पनि सहमत छन् खातीसँग ।

तर, अभिनेता छनोटको फरक दृष्टिकोण छ । भन्छन्, ‘अल्लु अर्जुन मेरो बेस्ट ।’ अभिनेता वा अभिनेत्रीभन्दा पनि कलाकार कति जिवन्त छ भनी कलाकार छनोट गर्ने उनको रुचि छ । भुवन खड्का, १८, चाहीँ मान्दैनन् यो कुरा । हरेक नयाँ बलिउड फिल्म हेर्न हल पुग्ने उनलाई बलिउड अभिनेताहरूको
स्टार्डम भव्य लाग्दोरहेछ ।

हलिउड, हिन्दी, दक्षिण भारतीय र कोरियाली सबैखाले सिनेमामा रुचि राख्ने नयाँ पुस्ता नेपाली फिल्मतिर पनि आकर्षित हुँदैछ।

सलमान खानका फ्यान हुन् खड्का । बलिउडको बजारमा खानलाई कसरी ‘हिरो’ बनाइन्छ । त्यसबारे उनलाई चासो छैन । तर, सलमानको आकर्षक बनावट हेरी आफू पनि त्यस्तै बन्न पाए हुन्थ्योजस्तो ठान्छन् उनी । भन्छन्, ‘फुल्लि इन्टरटेन्मेन्ट दिने बलिउडले नै हो । त्यसमाथि डान्स र कलाकारहरूको इन्डियन लुक्सले पनि आकर्षिक गर्छ मलाई ।’

स्थानीय भाषाका कारण पनि साउथ मुभीभन्दा बलिउड नै मनपर्ने खड्काको तर्क छ । पछिल्लो समय यु–ट्युबमा फिल्म हेर्ने चलन बढेपछि युवा पुस्तामाझ साउथ मुभी लोकप्रिय बन्दै आएको छ । यसमा देखाइने ‘लभ स्टोरी’ कै कारण ‘लत’ बसेको खाती बताउँछन् । सामान्यतया साउथ मुभी रिलिज भएकै भोलिपल्ट यु–ट्युबमा राखिन्छ । यही कारण पनि इन्टरनेटमा पहुँच हुनेहरू यु–ट्युबमा साउथ मुभी हेर्न चाहन्छन् ।

रुचाल थप्छन्, ‘बलिउडजस्तो स्टार्डमकै भरमा नभएर लामो संघर्ष गरेका हुन्छन् कलाकार । त्यसैले पनि साउथ मुभी हेर्न मन लाग्छ । त्यसो त साउथ मुभीमा प्रयोग गरिने दृश्य, संवाद, ‘एक्सन’ युवा पुस्तामा रुचाइने पाटो मानिन्छ । उनी भन्छन्, ‘फिल्ममा सिर्जना गरिएको वातावरण नै लोभलाग्दो हुन्छ । त्यसमा पनि प्रयोग हुने रिहोइजम आकर्षक हुन्छ । जे गर्छ, हिरोले गर्छ ।’

त्यस्तै हिरोको एक ‘किक’ मै मान्छे उडाइदिने, हिरोको उपस्थितिमा रुखका पातसमेत हल्लिने, हिरोले असम्भव कुरालाई पनि चामत्कारिक ढंगमा सम्भव बनाइदिने साउथ मुभीका विशेषता नै हुन् । साउथ मुभी बजारमा किनिनेभन्दा पनि यु–ट्युबमै बढी लोकप्रिय छन् । करिब पाँच वर्षयता यु–ट्युबको प्रचलन भएदेखि नै यस्ता मुभी लोकप्रिय  बनेका हुन् ।

घट्दो कोरियाली क्रेज
केही वर्ष अघिसम्म दक्षिण कोरियामा बन्ने मुभी अत्यधिक लोकप्रिय मानिन्थ्यो । विश्वभरि बजार बनाउन सफल यस्ता मुभी पछिल्लो समय नेपाली युवा पुस्तामा भने पहिलेझैँ लोकप्रियताको सुचीमा परेका छैनन् । न्युरोडमा सीडी व्यापारी मधु भट्टराई भन्छन्, ‘अलि धनाढ्य परिवारका युवतीहरू यस्ता फिल्म किन्न आउँथे । अचेल त्यो चलन कम भएको छ ।’

asmita‘अभिनेता मात्र होइन, फिल्मको लोकेसन र म्यासेज महत्तवपूर्ण लाग्छ मलाई।’
अस्मिता दवाडी

महाराजगन्जस्थित एक कलेजमा अध्ययनरत प्रनिशा कटुवाल दुई वर्ष अघिसम्म कोरियाली मुभी खुब हेर्थिन् । तर, अचेल नेपाली फिल्मले नै त्यसको रुचि मेटाएको उनको अनुभव छ । भन्छिन्, ‘नेपाली फिल्म पनि राम्रै लाग्न थाल्यो अचेल त । अनमोल केसीहरूको फिल्म पनि मन पर्छ ।’खासगरी, जिम्मेवारीबाट टाढा रहन खोज्ने किशोर–किशोरी पुस्तामा कोरियाली मुभी लोकप्रिय मानिन्छन् ।

पछिल्लो समय त्यसको स्थान साउथ मुभी र नेपाली फिल्मले समेत लिएको समिक्षकहरू बताउँछन् । बढीजसो धनाढ्य परिवारका सदस्यमा यस्ता मुभी लोकप्रिय मानिन्थ्यो । दुई वर्षयता यो क्रेज घट्दो रहेको भट्टराईको अनुभव छ । यो पुस्ता हलिउड मुभीप्रति उत्तिकै आकर्षित रहेको बुझाइ छ, समिक्षक गुरुङ सुशान्तको । उनी आफैँ पनि नियमित दर्शक हुन् । ‘रिकमेन्डेसन’ र प्रतिक्रियाका आधारमा हलिउड हेर्ने चलन बढ्दो छ । मोटामोटी बलिउडझैँ हलिउडका दर्शक पनि बढ्न थालेको गुरुङ बताउँछन् ।

एक महिनाअघि ‘डक्टर स्ट्रेन्ज’ हेर्न काठमाडौंका मल्टिप्लेक्समा दर्शकको खचाखच भीड थियो । सुदन घिमिरे ‘सश स्यांक रिडिम्प्सन’ को पर्खाइमा छन् । हलिउड फिल्म हेर्दा सामान्यतः रिकमेन्डेसन हेर्ने गरेका छन् उनले । कतिपय हलिउडमा फिल्म यस्ता हुन्छन्, किशोर/किशोरी महिनौंदेखि नयाँ फिल्मको पर्खाइमा हुन्छन् ।

तर, साइन्स फिक्सन र एनिमेसनहरू भने स्टार्डमभन्दा पनि विधाको आधारमा राम्रा मानिन्छन् । नेपाली दर्शकमाझ सामान्यतः बलिउड र हलिउडको ट्रेन्ड समिक्षक तथा नियमित दर्शक अभय श्रेष्ठलाई उस्तै लाग्छ । युवा पुस्तामा ‘लभस्टोरी बेस्ड’ विदेशी फिल्मको क्रेज बढ्दो रहेको उनको बुझाइ छ । 

नेपालीमा बढ्दो

काठमाडौंस्थित बीएसडब्लू तेस्रो वर्ष अध्ययनरत अस्मिता दवाडी, २०, को चाहीँ फरक मत छ । ‘अभिनेता मात्रै होइन, फिल्मको लोकेसन र म्यासेज महत्वपूर्ण लाग्छ मलाई,’ भन्छिन्, ‘नेपाली मुभीमा पनि त्यस्तो पाएकी छु मैंले ।’ पछिल्लो समय बन्दै गरेका नेपाली फिल्मले दवाडीलाई आकर्षित गरेका छन् । पछिल्लो साता ‘जात्रा’ र ‘पुरानो डुंगा’ हेरेकी दवाडी दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, नाजिर हुसेन खाँ, वर्षा शिवाकोटीले अभिनय गरेका फिल्म छुटाउन चाहन्नन् ।

sudan‘साइन्स फिक्सनदेखि साइन्स फिक्सनसम्म। अरु फिल्मले छुँदै छुँदैनन्।

सुदन घिमिरे

दवाडीकै समकक्षी कटुवाल भन्छिन्, ‘नेपाली फिल्म नराम्रो भयो भन्ने कुरा सानैदेखि सुन्दै आएको हो । त्यसैले पनि नेपाली फिल्ममा केही हुँदैन भन्ने लाग्थ्यो । तर, अचेलका फिल्म त राम्रै लाग्छ ।’ मौलिक कथा र जिवन्त अभिनय कटुवाललाई मन पर्दोरहेछ । थप्छिन्, ‘एक्टिङ जस्तो पनि नलाग्ने । खाँदा– खाँदै, हिँड्दा–हिँड्दै अभिनय हुँदोरहेछ ।’

युवराज दाहाल, २२, पनि सानैदेखि नेपाली फिल्मप्रति नराम्रो सोच्थे । अचेल उनको बुझाइ फेरिएको छ । ‘थिएटर एक्टरहरू फिल्ममा आउन थालेपछि राम्रो भएजस्तो लाग्छ मलाई,’ व्यवस्थापनका विद्यार्थी भए पनि फिल्म स्टडीमा विशेष रुचि दाहाल भन्छन्, ‘अभिनय, अभिनयजस्तो नभएर जीवनजस्तै हुनुपर्छ । थिएटरबाट फिल्ममा आएकाहरूको अभिनय राम्रो लाग्छ ।’

त्यसो त। पछिल्लो समय फिल्मको ट्रेन्ड फेरिएको कुरा धेरैले स्वीकार गर्छन् । त्यससँगै उत्सुक बनिरहने युवा पुस्ता फिल्ममा पनि केही नयाँपनको खोजी गरिरहन्छ । सुचना र प्रविधिको विकाससँगै पछिल्लो समय युवा पुस्ताको रुचि पनि फेरिँदै गएको छ । घरमै बसेर यु–ट्युबमा छानी–छानी नयाँ फिल्म हेर्छन् उनीहरू ।

न्युरोडका सीडी व्यापारी भट्टराईको अनुभवमा पछिल्लो ५/६ वर्षयता युवाको रुचिमा धेरै परिवर्तन आइसकेको छ । त्यससँगै फिल्मका सीडीको व्यापार पनि घटेको उनी बताउँछन् । दैनिक सयभन्दा बढी सीडी बिक्री गर्ने भट्टराईका ग्राहक घटेका छन् । दुई वर्षयता यो संख्या अझै घटेको उनी बताउँछन् । प्रविधिको विकाससँगै यु–ट्युबमै फिल्म हेर्ने चलन पनि बढ्दो छ । भट्टराई भन्छन्, ‘पहिलेदेखि आउने थोरै आर्ट मुभीका ग्राहकभन्दा अरु घटे । सीडीबाट फिल्म हेर्ने चलन नै हरायो अब ।’

त्यसो त, बलिउड, कोरियाली वा नेपाली फिल्ममा समेत उनीहरू फरकपन खोजिरहेका हुन्छन् । उमेर र अवस्थाअनुसार पनि फिल्मको विधा रोज्ने गर्छन् । ‘धेरै साथीहरूसँग हुँदा हरर फिल्म हेरिन्छ । एक्लै हुँदा लभस्टोरी,’ खाती भन्छन्, ‘कस्तो बेला, कुन जानरा हेर्ने पनि हुन्छ ।’ भट्टराईको भनाइमा किशोरीहरू धेरैजसो कोरियाली वा बलिउडका फिल्म किन्छन् । त्यसमा पनि सलमान खान वा रणवीर सिंहका धेरै ।’

बलिउड वा कोरियाली फिल्म हेर्ने त फेसनकै रूपमा विकास भएको ठान्छन् समिक्षकहरू । यसको पछाडि बजारको ठूलो भुमिका रहन्छ । अर्को पक्ष के भने समिक्षा वा टिप्पणीका आधारमा पनि नयाँ फिल्म खोजी गर्ने क्रम बढेको छ । अंग्रेजी साहित्यका विद्यार्थी रसिकलाई त्यस्तै लाग्छ । भन्छन्, ‘कुनै फिल्म हेर्नुअघि त्यसबारे कस–कसले के कमेन्ट गरेका छन्, इन्टरनेटमा खोजेर मात्रै हेर्ने गर्छु ।’

सुखद पक्ष के भने युवा पुस्तामा अचेल नेपाली फिल्मप्रतिको वितृष्णा हराउँदो छ । मौलिक र फरक कोणबाट बनेका फिल्मप्रति आकर्षण बढ्दो छ । पछिल्लो समय दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, बुद्धी तामाङलगायत नाटकको पृष्ठभुमिबाट ठूला पर्दामा लम्केका कलाकाररूले अभिनयमा केही नयाँ स्वाद ल्याएकामा धेरै सहमत छन् । यही कारण पनि नेपाली फिल्मप्रति युवा पुस्ताको चासो बढ्दो छ ।

मौलिक भाषा र प्राकृतिक अभिनय शैलीले किशोर/किशोरी नेपाली फिल्मप्रति तानिएका छन् । सर्वाधिक लोकप्रिय बनेको ‘लूट’ फिल्मपछि सुरु भएको यो ट्रेन्ड अझै सेलाएको छैन । तर, यही अवस्था स्थिर रहनेमा ढुक्क छैनन् समिक्षक गुरुङ । भन्छन्, ‘समय र परिस्थितिसँगै युवाका रुचि फेरिँदै जान्छन् । प्रविधिले उनीहरूलाई विश्वका हरेक वस्तुसँग सहज पहुँच बनाइदिएको छ ।

उनीहरूका रुचि र अपेक्षा पूरा गराउनु फिल्म निर्माताहरूलाई दबाब पर्नेछ ।’ समिक्षक तथा लेखक श्रेष्ठ भने उपयोगीमुलक फिल्म छानेर हेर्नुपर्ने सुझाव दिन्छन् । ‘फिल्म हलबाट बाहिर निस्किएपछि पनि त्यसको असर पर्ने किसिमका फिल्म हेर्नुपर्छ,’ भन्छन्, ‘फिल्मको महत्व विषयको गाम्भिर्यताले निधारण गरेको हुन्छ ।’ त्यस्तै, फिल्म हेर्ने क्रममा समाजशास्त्रीय आँखाबाट हेरिनुपर्ने उनी औँल्याउँछन् ।

gurung-susaसस्तो ताली पिट्ने र हाँस्ने मात्र नभई सामाजिक विषय उठान गर्ने, बहस छेड्ने किसिमका फिल्म हेर्नुपर्छ।
 गुरुङ सुशान्त, समिक्षक

 नेपाली समाजमा धेरै रुचाइएका फिल्मले पनि कुनै न कुनै हिसावले गम्भीर त्रुटी गरेको बुझाइ छ । फिल्म हेर्दा आलोचनात्मक कोणले हेर्नुपर्ने सुझाव दिन्छन् गुरुङ पनि । ‘सस्तो ताली पिट्ने र हाँस्ने मात्रै नभएर सामाजिक विषय उठान गर्ने, बहस छेड्ने किसिमका फिल्म हेर्नुपर्छ,’ उनी बताउ“छन् । समग्रमा युवा पुस्ताको फिल्म हेर्ने शैलीप्रति सन्तुष्ट नरहेको गुरुङको भनाइ छ ।

‘अहिले युवा दर्शकको रुचि हाम्रै निर्माता वा बजारले बनाएको हो । युवाले सधैँ हाँस्ने र ताली पिट्ने फिल्म मात्र खोज्नु हुँदैन । सामाजिक बहसको पनि खोजी गर्नुपर्छ ।’केही टिप्पणीकार भने पछिल्लो समय युवामाझ लोकप्रिय बन्दैगएका फिल्मको ट्रेन्डबारे सन्तुष्ट छैनन् । फिल्मलाई फगत मनोरञ्जनको साधन नभई सामाजिक बहसको रूपमा पनि हेर्नुपर्ने उनीहरूको तर्क छ । ती बजारकेन्द्रित मात्र नभई गलत मनोविज्ञान निर्माण गर्दै गएको उनीहरूको टिप्पणी छ ।

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.