यू-१९ एसिया कपः नेपाल भारतसँग ६ विकेटले पराजित
काठमाडौंः श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो हार व्यहोरेको छ । बिहीबार भएको खेलमा नेपालले टेस्ट राष्ट्र भारतसँग ६ विकेटले पराजित गर्यो । लगातार दोस्रो हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना लगभग समाप्त भएको छ । टस जितेपछि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ७२ रन जोडेको थियो ।
नेपालको पालीमा रोहितकुमार पौडेलले अविजित ६८ रन जोडे । दीपेन्द्र ऐरीले ३४, आसिफ सेखले १८ र विकेटकिपर प्रकाश केसीले १३ रन बनाए । सन्दीप सुनारले सात र शुभांकर उरावले नौ रन जोडे भने अदिल खान र भीम सार्कीले खाता खोल्न सकेनन् । नेपालले मध्यम सुरुवात गरेर पनि लगातार विकेट गुमाएर दबाबमा आएको थियो । भारतका बलर राहुल चाहरले चार विकेट लिए । कमलेस नगरकोटी, यस ठाकुर, आयुष जम्बाल र हिमांशु रानाले एकएक विकेट लिए । भारतले ३३.४ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
भारतको पालीमा सुवमन जिलले ५७ र हिमांशु रानाले ५१ रन बनाए । प्रियार्न गार्ग ३६ र सलमान खान १९ रनमा अविजित रहे । पृथ्वी सा पाँच र कप्तान अभिषेक शर्मा दुई रनमा अविजित रहे । पाँच रन जोड्दा पहिलो विकेट गुमाएको भारतले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरेको थियो । भारतले पाँचौं विकेटका लागि अविजित ४३ रनको साझेदारी गर्यो । सुवमनले ६३ बलमा दुई छक्का र चार चौका प्रहार गरे । हिमांशुले ६१ बलमा पाँच चौका हिर्काए । नेपालका बलर पवन सर्राफले तीन र सन्दीप लामिछानेले एक विकेट लिए ।
यसअघि पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेको नेपालले ३८ रन जोड्दा चार विकेट गुमाइसकेको थियो । नेपालको शीर्ष चार ब्याट्सम्यानलाई चाहरले आउट गरेका थिए । नेपालले छैटौं विकेटका लागि ३५ र नवौं विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । भारतले ५० औं ओभरमा २४ रन खर्चिएको थियो । उक्त ओभरमा रोहित भारतीय बलर कमलेस नगरकोटीविरुद्ध आक्रामक देखिएका थिए । रोहितले ९३ बलमा दुई छक्का र सात चौका हिर्काए ।
यसअघि बुधबार भएको खेलमा श्रीलंकाविरुद्ध ९० रन जोडेका दीपेन्द्र ऐरीले यस पटक ६२ बलमा चार चौका हिर्काए । नेपाल यसअघि श्रीलंकासँग एक रनको झिनोअन्तरले पराजित भएको थियो । दुई सय २८ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले तीन बल बाँकी रहँदा दुई सय २६ रनमा समेटिएको थियो।
नेपालले समूहको आफ्नो तेस्रो तथा अन्तिम खेलमा मलेसियाको सामना गर्नेछ । समूह ‘ए’मा दुई खेलपछि भारत र श्रीलंकाको समान दुईदुई अंक छ । मलेसिया र नेपालले जित हात पार्न सकेका छैनन् । चार टोली रहेको समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । बिहीबार भएका अन्य खेलमा बंगलादेशले सिंगापुरलाई सात विकेटले रश्रीलंकाले मलेसियालाई आठ विकेटले हरायो ।
अफगानिस्तानले पाकिस्तानलाई हरायो
प्रतियोगिताअन्तर्गत शुक्रबार भएको अर्को खेलमा अफगानिस्तानले पाकिस्तानलाई २१ रनले हराएको छ । समूह ‘बी’को खेलमा पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा तीन विकेट गुमाएर दुई सय ७३ रन जोडेको थियो ।
फगानिस्तानका डार्विस रसूलीले अविजित ९२, तारिकले ५९ र इब्राहिम जद्रानले ५१ रन जोडे । पाकिस्तानले ४९.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ५२ रनमात्र जोड्न सक्यो । पाकिस्तानका अब्दुल्लाह सफिकले ६० तथा साद खान र सहिन साह अफ्रादीले समान ४८ रन जोडे । अफगानिस्तानका बलर जाहिर खानले तीन, मुजिबले दुई तथा अन्य चार बलरले एक एक विकेट हात पारे ।