सवारीसाधनबाट फोहोर फाल्न नपाइने

सवारीसाधनबाट फोहोर फाल्न नपाइने

बिहीबार बिहान फेसबुकमा अन्नपूर्ण पोस्ट्मा छापिएको एउटा समाचार पढेँ, ‘भोलिदेखि बसबाट फोहोर फाल्न नपाइने’ । खुसी लाग्यो र तुरुन्तै स्टाटससहित सेयर गरेँ, ‘राम्रो कुरा सुन्न पाइयो । सार्वजनिक सवारीसाधनमा यात्रा गर्नेले मात्र होइन, जोकोहीले जहाँकहीँ पनि जथाभावी फोहोर फाल्न निषेध गर्नुपर्छ ।’ उक्त समाचार आफै फेसबुकमा भाइरल भइरहेको थियो भने मेरो स्टाटसलाई पनि धेरैले लाइक र सेयर गरे । यसको अर्थ, सफा त सबैले चाहँदो रहेछ । फोहोर फाल्न नदिने समाचार सबैलाई रुचिकर नै रहेछ ।

समाचारमा उल्लेख थियो, ‘सडकमा फोहोर फाल्न नदिने र फाले जरिवाना गर्ने नियम पुरानो भए पनि सार्वजनिक सवारीसाधनमा सवार यात्रुले सडकमा फोहोर फाल्न नपाइने नियम यो पहिलोपटक हो ।’ कुरा यहीँ छ । सडकमा फोहोर फाल्न नपाइने र फाले जरिवाना गर्ने नियम त रहेछ नि ।

त्यो किन कार्यान्वयन भइरहेको छैन । समस्या नै यही हो । अर्को कुरा, यो नियम पहिलोपटक भन्न मिल्दैन । जसले, जहाँ जसरी सडकमा फोहोर फाले पनि, त्यो सडकमा फोहोर फाल्न नपाइने नियमभित्रै पर्छ । जे होस्, यो एउटा राम्रो अभियान हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच भएको सम्झौताबमोजिम यो राम्रो कार्य सबैका लागि अनुकरणीय हुनुपर्छ ।

समाचारमा हाइलाइट गरिएको छ, ‘मुलुकभर चल्ने तीन लाखभन्दा बढी सार्वजनिक यातायातमा दैनिक लाखौं यात्रुले झ्यालबाट फोहोर फाल्दा सडक सौन्दर्य बिगारेको भन्दै सरकारले शुक्रबारदेखि फोहोर फाल्न रोक लगाएको हो ।’ यो कार्यान्वयन हुनसक्छ र हुनुपर्छ ।

सार्वजनिक यातायातबाहेक लाखौं निजी, सरकारी र मालवाहक सवारीसाधन पनि सडकमा गुड्छन् र तिनले पनि बाटोमा फोहोर फाल्छन् । त्यसलाई नियन्त्रण गर्ने कसरी ? भाडाका गाडीमा सवार यात्रुले अटेर गरी सडकमा फालेमा सहचालकले फाल्नेलाई तत्काल फोहोर टिपेर डस्टबिनमा हाल्न लगाउने भन्नेसम्म उल्लेख छ ।

त्यसका लागि सहचालकले देख्नेबित्तिकै गाडी रोक्नु पर्‍यो, साइड लाउनु पर्‍यो, फोहोर फाल्ने यात्रुलाई झारेर (खुरुक्क मान्यो भने) फोहोर खसेको ठाउँसम्म डोर्‍याउनु पर्‍यो, टिप्न लगाउनु पर्‍यो र गाडीमा राखेको डस्टबिनमा खसाल्न लगाउनु पर्‍यो । यो हुन सक्यो भने रमाइलै होला र सबैलाई पाठ पनि । तर, निजी, सरकारी र मालवाहक गाडीमा निगरानी राख्ने कसले ? तिनका लागि पनि चेतनामूलक सूचना ठाउँठाउँमा टाँस्ने र बेलाबेला जारी गर्न सकिन्छ ।

सडकमा फोहोर फाल्नेहरू सवारीसाधनमा यात्रा गर्नेहरूमात्र होइनन् । सडकमा हिँड्ने बटुवाले पनि गर्छन् । तिनबाट सडकमा कसरी फोहोर हुन नदिने ? सुनिन्छ, सिंगापुरमा सडकमा कागजको टुक्रो फाल्नेलाई पनि जरिवाना हुन्छ रे । आठ वर्षअघि दक्षिण कोरियाका एउटा पाहुना टोलीलाई लिन एअरपोर्ट गएँ ।

एअरपोर्टबाट बाहिर आएपछि तीमध्ये एक जनाले चुरोट सल्काए । केही बेरपछि गाडीमा राखेर कार्यालय ल्याएँ । मेरो कार्यालय कोठामा पस्नेबित्तिकै एअरपोर्टमा पिएर निभाएको चुरोटको ठुटा डस्टबिनमा हाले । उनले चुरोटको ठुटा हातमै राखेर ल्याएको मलाई थाहा थिएन ।

यही कुरा समावेश भएको मेरो लेख त्यस बेला एउटा दैनिकमा छापिएको थियो । सडकमा हिँड्नेहरूले मात्र होइन, सडकमा घर भएकाहरूले पनि सडक उत्तिकै फोहोर गर्छन् । झ्यालबाट फोहोर फाल्ने पुरानो बानी पक्कै कम भएको छ तर घर र आँगन बढारेर आएको धुलो कसिंगर सडकतिर बढार्छन्, अलग्ग टिपेर डस्टबिन वा कतै व्यवस्थापन गर्दैनन् ।

फोहोरकै कुरा गर्दा सहरका बाटो किनारमा रहेका खुला नालीहरू अशोभनीयमात्र होइन, वातावरणीय प्रदूषण र स्वास्थ्यको दृष्टिले पनि अत्यन्त हानिकारक छ । जनकपुर, वीरगंज सहरभित्रका बाटाहरू यसका नमुना हुन् । फोहोर नालीमा फ्याँक्छन्, फोहोरले भरेपछि सोहरेर किनारमा थोपार्छन्, अनि त्यही हिलो र सुकेपछि धुलो फोहोर घरलगायत सर्वत्र फैलाउँछन् ।

फोहोरको अर्को मुहान हुन्, देवीदेवताका मन्दिर अनि पिकनिकस्थल । पूजा गरे, प्रसाद र भोज खाए, बनभोज गरे, रमाइलो गरे अनि फोहोरजति सबै त्यहीँ वरपर फ्याँके, जताततै फोहोरको डंगुर पारेर । त्यसको व्यवस्थापन छैन ।

सडकमा फोहोर नफाल्ने अभियान बेलाबेला हुने नगरेका होइनन् । त्यसबारे जनचेतना जगाउने कार्य र कार्यक्रम पनि भएका छन् । सार्वजनिक रूपमा ठाउँठाउँमा ‘फोहोर मलाई’ भन्ने डस्टबिन पनि राखेका हुन्छन् । ती डस्टबिन न कहिल्यै भरिन्छन्, न कहिल्यै खाली नै गरिन्छ । माथि उल्लेख भएझैं सडकमा फोहोर गर्न नहुने नियम पनि छ तर लागू छैन ।

लागू किन छैन भन्दा कार्यान्वयन गर्ने निकाय क्रियाशील छैन । क्रियाशील नहुनुमा तिनका मात्र दोष छैन । फोहोर व्यवस्थापनका लागि चाहिने स्रोतसाधन र मानव संसाधन पर्याप्त छैन । सरकारसँग ठोस कार्यक्रम छैन । अरू मुलुकमा फोहोरबाट ऊर्जा निकाल्छ । हामीकहाँ पनि ‘फोहोर होइन मोहर’ भन्ने थाहा नभएको होइन । तर, सम्बन्धित निकायले प्रभावकारी रूपमा फोहोर व्यवस्थापन गर्न सकिरहेको छैन । बरु फोहोरमाथि गरिने राजनीतिचाहिँ प्रभावकारी छ ।

फोहोर सडकमा मात्रै फालिने होइन । फोहोर फालिने मुख्य ठाउँ त नदी र खोलानाला हुन्, सहरको सौन्दर्य र वातावरण प्रदूषित हुने गरी । केही वर्षअघि नदी र खोलामा फोहोर फाल्न मनाही गरेको र फाल्नेलाई जरिवानासमेत गर्ने गरिएको थियो । त्यसले पनि निरन्तरता पाएन । केही वर्षदेखि बाग्मती, विष्णुमती सफाइ अभियान चल्यो र चलिरहेको छ ।

त्यसमा राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिवलगायतका कर्मचारी र विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूसमेतले सहभागिता जनाए र जनाउँदै आएका छन् । यसले नदी तथा खोलानालामा फोहोर फाल्नु हुँदैन भन्नेमा केही जनचेतना पक्कै जगाएको छ । काठमाडौं उपत्यकाको बाग्मती, विष्णुमती केही सफा पनि देखिएका छन् ।

कुनै बेला सफाइ अभियानमा सहभागी हुन सरकारी कर्मचारीलाई उर्दीजस्तै थियो । जानेहरू पनि के कम र ? कार्यालयबाट पञ्जा र मास्क पाउँथे । अनि यसो एकाध घन्टा भीडमा मुख देखाएर पन्जा र मास्क त्यहीँ फ्याकेर हिँड्थे । मुख्य कुरा, जबसम्म मानव मलमूत्रको ढल नदी र खोलामा सीधै मिसाइन्छ तबसम्म बाहिरी सफाइले मात्र केही अर्थ राख्दैन ।

केही वर्ष अघिसम्म हडताललगायतका विभिन्न बहानामा सहरका कुनाकुनामा फोहोरका थुप्रा जम्मा हुन्थ्यो । वातावरणै दूषित हुनेगरी हप्तौं रहन्थ्यो । अहिले त्यो समस्या धेरै कम भएको छ । तर फोहोर उठाउने र ओसार्ने विधिमा सुधार आएको छैन । अति दयनीय र अस्वस्थकर तरिकाले संकलन र ओसारपसार गरिन्छ । अनि टोलमा कसैको जग्गा खाली छ भने टोलवासीको डम्पिङ साइट बनिगो । यो पनि त गर्न दिन भएन ।

अन्त्यमा, जति कुरा भनियो लेखियो, ती सबै यो भएन त्यो भएन भन्ने नै रह्यो । सबैले देखेका, भोगेका र गरेका पनि तिनै हुन् । कहिलेकाहीँ राम्रा काम पनि भइरहेको देख्न पाइन्छ । गएको तिहारअघि ताप्लेजुङ घुम्न गएको थिएँ ।

पाँचथर–ताप्लेजुङ सडकखण्डमा सडक विभाग लेखिएको पहेँलो पहिरनमा अधबैंसे मानिसहरू सडक छेउछेउका झारपात झिक्दै नालाहरू सफा गरिरहेका थिए । यस्तै कार्य अन्यत्र पनि एकाध देखियो । यसबाट सडकको टिकाउ त पक्कै बढ्छ नै, साथसाथै सडक पनि राम्रो देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.