अस्थिरतामा देश

अस्थिरतामा देश

 

नेपाली राजनीतिमा ६ दशकदेखि थाती रहेको संविधानसभा निर्वाचनको मुद्दा सम्बोधित हुँदा नागरिकहरूको खुसीको सीमा थिएन किनकि अनेक उतारचढावबीच दोस्रोपटक भएको संविधानसभाको निर्वाचनपछि देशले नयाँ संविधान पाएको थियो । राजनीतिक इतिहासको दृष्टिले एउटा महत्वपूर्ण उपलब्धि हासिल भएको ठानियो ।

र पनि सिंगो देश रमाएन, तराई-मधेसको प्रतिनिधित्व गर्ने राजनीतिक शक्ति असन्तुष्ट भए । त्यसैले त संविधान संशोधनको निहुँले फेरि देश अस्वस्थ बन्यो, फेरि अस्थिरता कायम नै रह्यो । भनिन्छ- सीमांकन, भाषा विवाद, अंगीकृत नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वका चार विषयमा कुरा मिलेन । भागबन्डा मिलेन र देशमा टायर बल्न थालिसक्यो ।

दशकौंपछि पाएको संविधानमा खुसी व्यक्त गर्न पाएनन् नेपाली नागरिकले किनकि छिमेकीलाई चित्त बुझेन । एक वर्षभन्दा बढी समयदेखि संशोधनकै मुद्दामा केन्द्रीय राजनीति घुमिरहेको छ, कसैले घुमाइरहेको छ । नेपाली राजनीतिमा विभिन्न राजनीतिक शक्तिका स्वार्थ र दाउपेचले गर्दा नेपालको सार्वभौममात्रै होइन संविधान पनि जोखिममा पर्न थालिसक्यो ।

आफूमा आत्मनिर्भर बन्न नसकेका राजनीतिक दलहरूले आआफ्नै स्वार्थमा देशलाई पटकपटक बिरामी बनाइरहे अस्थिरता कायम राख्न जोड दिइरहे । नेपालका कुनै क्षेत्रमा बस्ने कुनै जातजातिको असन्तुष्टिको बहाना बनाएर नेपालको अस्तित्व नै समाप्त पार्ने दिशामा गतिविधि अगाडि बढाइँदै गयो । मधेस-पहाड अलग्याएर प्रदेश निर्माण गरियोस् भन्ने बहानाले घर फुटाउने प्रयास भईरहेछ ।

आफैंमा भौगोलिक, सांस्कृतिक, धार्मिक, जातीय, भाषागत विविधताले परिपूर्ण विश्वकै अलौकिक सम्पदाले भरिपूर्ण नेपाललाई विभिन्न मुद्दा उठाएर अस्वस्थ र अस्थिर बनाइँदैछ । चारपाँच घन्टाको दूरीको फरकमा पाइने हावापानी, रहनसहन, चालचलन भएको नेपालको भूबनोट आफैंमा विचित्रको र आफ्नै अस्तित्वको छ । प्रकृतिले नै नेपाललाई हिमाल, पहाड र मधेसको सम्मि श्रणबाट विशिष्ट पहिचान कायम गरिदिएको छ ।

हिमाली भेगको विशेषता र यहाँ विविधता, तराईको जमिनको बनोट र उत्पादन अनि भाषा र जाति पहाडको भौगोलिक वस्तुस्थिति र यहाँको पहिचान यो त सम्पूर्ण नेपालको मिश्रित पहिचान हो । जुन विदेशीहरूको समेत आकर्षण बनेको छ । जब प्रकृतिले नै एकअर्काको परिपूरकको काम गरेको छ भने अब टुक्र्याएर संस्कृति र संस्कार बिथोल्नु भनेको एकको अभावमा अर्काको अस्तित्व र पहिचानलाई संकटमा पार्न खोज्नु होइन र ? जनता हिमालदेखि पहाड हुँदै तराईसम्म सौहार्दपूर्ण वातावरण र व्यवहारमा बाँचेका छन् ।

 

सबै पक्षमा राजनीति मिसिँदा देश, जनता र देशकै संविधान अस्वस्थ बन्न पुगेको छ ।

एकले अर्काको अस्तित्वको पहिचान र महत्वलाई ध्यानमा राखेर सुमधुर सम्बन्धमा जिएका छन् । एकले अर्काको भेषभूषा, धर्म, संस्कृतिप्रति सद्भाव र आदर रहने गरेको छ । इतिहासदेखि मिलेर बसेको नेपाली समुदायलाई खण्डित गर्ने र भड्काउने प्रवृत्ति हावी हुनुका पछाडि के उद्देश्य हो ? धर्म, भाषा, प्रदेश र सीमांकनका विषय र मुद्दा नेपालीको चासो र सरोकारको अवश्य होइन, कसको दबाबमा भएको छ ?

नेपालीहरूको आपसी सद्भाव बिथोलिने गरी अर्काको मुद्दा बोक्न किन हाम्रा नेताहरू बाध्य भएका छन् ? नेपाल राज्य, नेपाली राजनीति, नेपाली धर्मसंस्कृति र नेपाली अर्थतन्त्रमाथि भइरहेको विदेशी हस्तक्षेपको बढ्दो प्रक्रियाविरुद्ध जनमत तीव्र रूपमा बढिरहँदा पनि जनभावनाको कदर भएको छैन । नेपाली संविधान निर्माण र कार्यान्वयनको विषय छिमेकीको स्वार्थअनुसार हुनुपर्ने देखिन आएको छ ।

अरूको इशारामा नाच्न बाध्य हाम्रा नेतृत्व वर्ग भनाउँदाहरूले देशलाई तीव्र गतिमा ध्रुवीकरणतर्फ लैजाँदै छन् । यिनीहरू आफैं अस्वस्थ छन् । त्यसैले त राजनीतिक दल भएर होइन देश र जनता भएर सोच्नसक्ने खुबी यिनमा कहिल्यै आएन ।

कुनै पनि क्षेत्रमा दायित्वबोध र इमानदारिताको महसुस नभएकै कारणले गर्दा देश अस्वस्थ र अस्थिर बन्दै गइरहेको छ । ठूलो भूल भनेकै दायित्वबोध, इमानदारिता, मैत्रीपूर्ण वातावरण, अनुशासन कायम र पारदर्शिताजस्ता कुरा बिर्सिनु र सीधै स्वार्थपूर्तिमा लाग्नाले भएको छ । जुन चीज क्षणिक र नाशवान् छन् भन्ने जान्दाजान्दै, आफ्ना पद र भौतिक सम्पत्ति पनि क्षणिक र नाशवान् छन् भन्ने जान्दा जान्दै, राष्ट्र र जनहितमा आफ्नो शक्ति खर्च नगर्नाले मुलुकले आज यो परिणाम भोगिरहेछ ।

अर्कोतिर स्वास्थ्य क्षेत्रमा देखिएको अराजकता हटाउन भन्दै १०औं पटकसम्म अनशन बस्दै आइरहेका डा. गोविन्द केसीका माग अब पूरा हुने संकेत देखिन थालेको छ । डा. केसीको चाहनाअनुसार नै आईओएमको नयाँ डिनमा डा. जगदीश अग्रवाल नियुक्त भएका छन् र २० दिनअघि आईओएम डिन नियुक्त भएका डा. केपी सिंहले राजीनामा दिएका छन् ।

अनशनरत सहकर्मी डा. केसी अस्वाभाविक समूहको चंगुलमा पर्दै व्यक्तिवादी चिन्तन हावी हुन पुगेको र आफ्नो जीवन दाउमा राखेर बालहठ प्रदर्शन गरेका कारण उनको जीवनरक्षाका लागि राजीनामा दिएको डा. सिंहले उल्लेख गरेका छन् । यता सरकारका तर्फबाट डिन नियुक्ति र अन्य मागमा सम्झौता नजिक भएकाले डा. केसीका माग पूरा हुने जनाएको छ ।

आशा गरौं, डा. केसीले ११औं अनशनमा बस्नु नपरोस् । धेरैजसो माग सरकारले सम्बोधन गर्नुपर्ने भएकाले सरकारले यसलाई सम्भव तुल्याओस् र स्वास्थ्य क्षेत्र सुधारका नाममा स्वास्थ्य क्षेत्रलाई नै नकारात्मक प्रभाव पार्ने र अस्थिर बनाउने काम नथपियोस् ।

चिकित्सकहरू काम छोडेर आन्दोलनमा उत्रिनु नपरोस् । तीन करोड नेपालीको स्वास्थ्य सेवामा प्रभाव नपरोस् । किनकि अहिलेसम्म अस्पताल प्रशासनले चिकित्सकहरू आन्दोलनमा उत्रिँदा पनि आफ्ना सेवाहरू निरन्तर सुचारु गरिरहेको छ । पीडामा पर्ने तिनै साना माछाहरू हुन्, तिनै सिटामोल किनेर खान नसक्ने जनता हुन् ।

सबै पक्षमा राजनीति मिसिँदा देश, जनता र देशकै संविधान अस्वस्थ बन्न पुगेको छ । अब ती राजनीतिका पुराना ढोंग, शैली, आडम्बर, रटिरटाउ बोली र आफूभित्रका संकीर्णता त्यागेर अगाडि नबढ्ने हो भने समाज रूपान्तरण सम्भव छैन । अबको रूपान्तरण दीर्घकालीन, जनमुखी, जनसेवा, मैत्रीपूर्ण, इमानदारिता र अनुशासनको सुगन्ध दिने खालको हुनुपर्छ । त्यसो भएमा राजनीति दुर्गन्धित खेल नभएर जीवन रूपान्तरणको साधन बन्न सक्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.