तन्नेरीको पुस्तक रुचि
![तन्नेरीको पुस्तक रुचि](https://annapurnapost.prixacdn.net/media/albums/_DSC0495-5856283f6a0b68.25777576_qsFAUSj2nx.jpg)
किस्ट कलेजमा प्रथम सेमेस्टर अध्ययनरत सनत उप्रेती बजारमा कुनै ‘बेस्ट सेलर’ बुक आएको थाहा पाए त्यसको खोजी गर्छन् । त्यो पनि अंग्रेजी मात्र । नेपाली किताब भने त्यति पढ्दैनन् । उनलाई लाग्छ, बेस्ट सेलर पुस्तकहरूले समाजको ध्यान आकर्षित गरिराखेका हुन्छन् । कुनै पनि पुस्तकले त्यत्तिकै बजार तताउँदैनन् । केही न केही ज्ञान अवश्य दिन्छन् । त्यसैले बजार तताएका पुस्तकहरूचाहि“ पढ्नु पर्ने उप्रेती ठान्छन् ।
त्यति मात्र होइन, पाठक भएपछि कुनै पुस्तक बेस्ट सेलर किन भयो त भन्ने उत्सुकता हुन्छ । त्यही उत्सुकताले उनलाई बजारमा आएका चर्चित पुस्तकहरू पढ्न हौस्याउँछ । विशेषगरी प्रविधिसम्बन्धी विषयलाई जीवनसँग जोडेर सहज रूपमा लेखिएका पुस्तकमा उनको रुचि छ । भन्छन्, ‘तर, यस्तैखाले पुस्तक मात्र पढिन्छ भन्नेचाहिँ हुँदैन ।’
थापाथली बस्ने नेपाली सैनिक ऋतु चौधरी एजुकेसनल बुक हाउसमा दुई वटा नेपाली उपन्यास हातमा बोकेर अरू पुस्तक खोज्दै थिए । उनी प्रायः नेपाली कथा, उपन्यास र निबन्ध पढ्छन् । पुस्तक पढ्नु भनेको लेखकहरूको बिचार बुझ्नु हो जस्तो लाग्छ उनलाई । भन्छन्, ‘पुस्तक पढेपछि आफ्नो पनि ज्ञान बढ्ने, लेखकको कुनै विषयप्रतिको धारणा के हो भन्ने पनि थाहा पाइने ।’ आफूले धेरै किताब नपढ्ने तर बजारमा नाम चलेका नेपाली पुस्तक भने किनेरै पढ्ने गरेको उनी बताउँछन् ।
किन पढ्ने ?
रिलायन्स कलेजको स्नातक दोस्रो वर्षकी छात्रा रोमा बर्मा पहिले–पहिले समय बिताउनका लागि मात्र पढ्थिन् । त्यतिबेला उनले उपन्यास पढिन् । तर, पछि उनको समय बिताउने बहाना लतमा परिणत भयो । अहिले उनी पुस्तकलाई मनोरञ्जन दिने साधनका रूपमा मात्र हेर्दिनन्, बरु ज्ञान आर्जनको मुख्य स्रोत मान्छिन् ।
रोमासँग किन पढ्ने भन्ने एउटै कारण छैन । कहिलेकाहीं समय बिताउन पढ्छिन्, कहिले जानकारी नभएका कुरा थाहा पाउन । कुनै विषयमा आफूलाई जानकारी छैन भने उनी त्यससम्बन्धी पुस्तक खोज्छिन् । अल्छी लागिरहेका बेला रोमान्टिक उपन्यास पढ्छिन् । कस्तो पुस्तक पढ्ने भन्ने कुरा आवश्यकताले निर्धारण गर्छ जस्तो लाग्छ उनलाई ।
पुस्तकमा घोत्लिएर ज्ञान आर्जन गर्नेमा उमेर ढल्किएकाहरू मात्र छैनन्, टिन–एजर र युवा पुस्तामा पनि कम छैन अभिरुचि।
पछिल्लो समय माल्कम ग्लाडबेलको ‘टिपिङ पोइन्ट’ पढेका उप्रेतीलाई रुचिको विषयमा सबैभन्दा जानकार व्यक्तिहरूको धारणाबारे अनभिज्ञ रहँदा अपूरो रहेको महशुस हुन्छ । त्यसैले चाहेको र खोजेको सामग्री उनी भेटेसम्म पढ्छन् । आफूले मुख्यतः ज्ञान आर्जनकै लागि पढ्ने गरेको उनी बताउँछन् । कहिलेकाहीं खाली रहेको समय सदुपयोग गर्नका लागि पनि पढ्छन् ।
त्रिचन्द्र कलेजमा स्नातक तेस्रो वर्ष अध्ययनरत तनजा कठायतलाई आध्यात्मिक पुस्तक पढ्न मन पर्छ । उनी १२ कक्षा पढ्दासम्म पनि कोर्सभन्दा बाहिरका किताब पढ्दैनथिन् । त्यसपछि भने उनको संगत विस्तारै आध्यात्मिक साथीहरूसँग बढ्न गयो । उनलाई मान्छेको जिन्दगी, अस्तित्व, उत्पत्ति र मृत्युपछि हुने जीवनजस्ता विषयमा जान्न मन लाग्यो ।भन्छिन्, ‘आध्यात्मिक पुस्तकले मान्छेलाई आफ्ना कर्तव्यबारे सिकाउँछन् । हाम्रो देश बिग्रेको त आफ्नो जिम्मेवारी थाहा नभएर हो ।’
तनजालाई अध्यात्मसम्बन्धी कुनै पुस्तक पढ्दा–पढ्दै बीचैमा छोड्नु पर्ने अवस्था आयो भने एकदमै छटपटी हुन्छ । ‘पढाइ भनेको कुनै कुरा सिक्ने एउटा प्यासन हो,’ उनी भन्छिन्, ‘मानिसले दैनिक गरेका तर थाहा नभएका धेरै कुरा जानकारी पाइन्छ । पुस्तकले मान्छेलाई सचेत गराउँछ । अनभिज्ञ रहेका धेरै कुरालाई ज्ञानको दायरामा ल्याउँछ ।’
आइसर कलेजको दोस्रो सेमेस्टरमा अध्ययन गर्ने सुबोध खनाललाई इतिहास र साहित्य मन पर्ने विधा हुन् । तर, यस्तै मात्र पुस्तक पढ्छन् भन्ने छैन । समय हुनासाथ उनी पुस्तकमा घोत्लिन थाल्छन् । कहिलेकाहीं पुस्तकालय धाउँछन् । मान्छेले पुस्तक किन पढ्नुपर्छ ? भन्छन्, ‘हामी यहाँसम्म कसरी आइयो भन्ने कुरा हरेक मान्छेलाई थाहा हुन जरुरी छ । आफ्नै पृष्ठभूमि थाहा नपाउनु त दुर्भाग्य हो । त्यसैले इतिहास पढ्छु । साहित्य त मनोरञ्जनका लागि पढ्ने हो ।’
कसरी छान्ने ?
खनाल पत्रपत्रिकामा आउने समीक्षाहरू पढेर र सरहरूले दिएको सल्लाहअनुसार किताब छनोट गर्छन् । कहिलेकाहीं साथीभाइसँग गफ गर्दा पनि कुन पुस्तक पढ्ने भनेर थाहा पाउँछन् । त्यसो त, उनी ‘चिल्ड्रेन स्टोरी’ हरू पनि खुब पढ्छन् । साना नानीहरूको मनोविज्ञान बुझ्न खुब मजा लाग्छ उनलाई । त्यसैका लागि इरानी फिल्म निर्देशक मजिद मजिदीको फिल्महरू पनि धेरै हेरेका छन् ।
बालबालिकालाई आधार बनाएर लेखिएका पुस्तकहरू उनलाई मन पर्छन् । भन्छन्, ‘यस्ता पुस्तक पढ्दा होस् या फिल्म हेर्दा आफैं केटाकेटी भएको महशुस हुन्छ । केटाकेटी हुनुको मजा कसरी भनौं !’ उनी तथ्यलाई ‘फिक्सनलाइज’ गरिएका पुस्तक खोज्छन् । भन्छन्, ‘वास्तविकता थाहा हुने, पढ्दा रमाइलो पनि लाग्ने ।’
उप्रेतीको कलेजमा साथीहरूसँग पुस्तकबारे कहिलेकाहीं गफ हुन्छ । साथीहरूले कुनै पुस्तक पढेका छन् र आफूले पढेको छैन भने उनलाई तत्काल खोजेर पढुँझैं लाग्छ रे । कहिलेकाहीं पत्रपत्रिकामा आएका समीक्षा पढेर पनि कुन पुस्तक पढ्ने भन्ने निर्धारण गर्छन् । भन्छन्, ‘कुनै–कुनै पुस्तक साथीहरूले पढिसकेका हुन्छन् । आफूलाई त्यसबारे थाहा नै हुँदैन । यस्तो भयो भने पछाडि परें कि जस्तो भान हुन्छ । सबै पुस्तक पढेर भ्याइँदैन तर बेस्ट सेलर बुकहरू चाहिँ पढ्न नछुटुन् जस्तो लाग्छ ।’
बर्मालाई भने कुनै पुस्तक नपढ्दा साथीहरूबाट छुटिएलाजस्तो लाग्दैन । त्यसैले साथीहरूले भनेकै आधारमा आफूले पढ्ने पुस्तकको छनोट गर्नु उनलाई ठिक लाग्दैन । भन्छिन्, ‘अरूले जे पढ्छन् त्यही पढ्नुपर्छ भन्ने छैन । राम्रो भनिएका पुस्तक पढ्न पाइन“ भने छटपटी त हुन्छ तर म यो पुस्तक नपढेर एक्ली भएँजस्तो लाग्दैन । सबैले सबै पुस्तक पढ्छन् भन्ने हुँदैन । त्यसैले आफूलाई मन पर्ने क्षेत्रको पुस्तक छनोट गर्ने हो ।’
पुस्तकको उपलब्धता
उप्रेतीलाई पहिले–पहिले पुस्तक पाइने धेरै ठाउँ थाहा थिएन । अहिलेचाहिँ उनले सहरका ठूला पुस्तक पसल देखेका छन् । त्यसैले पढ्न खोजेको पुस्तक प्रायः भेटिने बताउ“छन् । कठायत भने आफूले खोजेका पुस्तक बजारमा नभेटिने बताउँछिन् । धार्मिक पुस्तकहरू नेपाली बजारमा धेरै खोजेको तर नभेटिएको उनको अनुभव छ । बरु, त्यस्ता पुस्तक उनलाई इस्कोनले विदेशबाट नेपालसम्म ल्याइदिन्छ ।
आध्यात्मिक ज्ञान सिकाउने संस्था इस्कोन बुढानिलकण्ठमा छ । उनलाई कुनै पनि पुस्तक पढ्न रुचि भयो भने उक्त संस्थालाई खबर गर्छिन् । भन्छिन्, ‘नेपालमा आध्यात्मिक पुस्तकहरू थोरै पाइन्छ ।’
पढ्ने समय
उप्रेतीको पढ्ने समय निश्चित हुँदैन । भन्छन्, “कहिलेकाहीं पढ्ने मुड हुन्छ, समय हुँदैन । कहिले समय हुन्छ, मुड हुँदैन । विशेषगरी बेलुकीपख पढ्छु ।’ उपत्यका पुस्तकालयमा एउटा मोटो किताब पल्टाइरहेकी बर्मा कपनबाट अध्ययनकै लागि त्यहाँ आएकी हुन् । उनी प्रायः सबै क्षेत्रका पुस्तक पढ्छिन् । प्लस टु पढ्दासम्म उनी कोर्सभन्दा बाहिरका पुस्तक खासै पढ्दैनथिन् ।
स्नातक पढ्न थालेपछि उनलाई कोर्सका किताबमा सीमित रहन नहुने सोच पलायो । त्यसपछि जतिबेला फुर्सद हुन्थ्यो, उनी अक्षरमा दौडिन थालिहाल्थिन् । उनको पढ्ने समय सा“झ हो । पुस्तक पढ्नका लागि खनाल इन्टरनेटको पनि सहयोग लिन्छन् । पीडीएफ पुस्तकहरू उनको मोबाइलमा ६/७ वटा छन् । गाडीमा हिँड्दा, क्याफेमा चिया खाँदा उनी मोबाइल चलाइरहेका हुन्छन् । भन्छन्, ‘पुस्तक भनेको दिमागका लागि औषधी हो । धेरैलाई यो खाना पनि ।’
पसल छनोट
एजुकेसनल बुक हाउस जमलमा पुस्तक किन्न प्रायः सबै उमेर समूहका मानिस आउँछन् । टिन–एजरले अंग्रेजी उपन्यास र कथा संग्रहहरू रोज्ने कर्मचारी शिवराम श्रेष्ठको भनाइ छ । भन्छन्, ‘निकोलस पार्क, पाउलो कोहेलो र चेतन भगतका किताब धेरै बिक्री हुन्छन् । कविता संग्रह भने धेरैले लाँदैनन् ।’ १/२ वर्षयता पुस्तक व्यापार घटेको उनको अनुभव छ ।
भूकम्प, नाकाबन्दी र आन्दोलनले गर्दा यस्तो भएको हुन सक्ने उनको ठम्याइ छ । प्रेम कथा, धार्मिक, सेयर मार्केट, सेल्फ इन्करेज गर्ने खालका पुस्तक युवा पुस्ताको मुख्य रोजाइ देखिन्छन् । नेपाली प्रेम कथाका पुस्तकहरू बिक्ने गरेको श्रेष्ठको भनाइ छ । भृकुटीमण्डपस्थित मण्डप बुक हाउसका राजकुमार गजुरेल प्रेम कथा, ‘फेन्टासी’ पुस्तक अरूभन्दा धेरै बिक्ने गरेको बताउँछन् ।
पुस्तक प्रेमीहरूको फेसबुकमा रहेको समूह ‘बुकहोलिक्स’ मा अहिले के पढ्दै हुनुहुन्छ ? किन पढ्नु हुन्छ ? पुस्तक कसरी छान्नु हुन्छ ? जस्ता प्रश्न राखेर सानो अध्ययन गरिएको थियो।
पछिल्लो समय नन–फिक्सन पनि राम्रै्र बिक्न थालेको उनको अनुभव छ । भन्छन्, ‘पुस्तक किन्ने दुईथरी हुन्छन्, एकथरी शोखले कहिलेकाहीं किन्छन् र पढी पनि हाल्छन् । अर्काथरी पुस्तक पढ्न लत लागेका हुन्छन्, तिनलाई पुस्तक किनेर नपढी हुँदैन । पुस्तक किन्न त सबै उमेर समूहका मानिस आउँछन् ।’
पुस्तकालयमा तन्नेरी
भृकुटीमण्डमा रहेको उपत्यका पुस्तकालयमा आउने अधिकांश पाठक ‘टिन–एजर’ नै हुन्छन् । हाल यस पुस्तकालयमा एक हजार आठ सयभन्दा धेरैले सदस्यता लिएका छन् । तिनमा पनि एक हजार दुई सयभन्दा बढी सदस्य त टिन एजर नै रहेको पुस्तकालय सहायक रितेश नेवा बताउ“छन् ।
पुस्तकालयमा आउने धेरै पाठकले उपन्यास र कोर्सका सन्दर्भ सामग्री खोज्ने गरेको उनको भनाइ छ । नेपाली पुस्तकहरू आफ्नो पुस्तकालयमा निकै कम पढिन्छजस्तो लाग्छ उनलाई । स्कुल, कलेज पढ्ने बिद्यार्थी बढी आउने भएकाले पनि अंग्रेजी पुस्तक धेरै खोजिएको हुन सक्ने उनको बुझाइ छ ।
के पढ्दै ?
पुस्तक प्रेमीहरूको फेसबुकमा रहेको समूह ‘बुकहोलिक्स’ मा अहिले के पढ्दै हुनुहुन्छ ? किन पढ्नु हुन्छ ? पुस्तक कसरी छान्नु हुन्छ ? जस्ता प्रश्न राखेर सानो अध्ययन गरिएको थियो । बाबुराम मगरले पत्रकार गोपाल खनालको ‘भूराजनीति’ पढ्दै रहेछन् । विशेषगरी नेपालको आन्तरिक मामिलामा छिमेकीहरूको चासो र भूमिका बुझ्न उक्त पुस्तक पढ्नुपर्ने उनको भनाइ छ । प्रायः विषयवस्तु हेरेर आफूले पुस्तक किन्ने गरेको उनको जबाफ छ ।
यस्तै, प्रत्युष अर्याल अहिले ग्याब्रेल गार्सिया मार्खेजको ‘लिभिङ टु टेल दी टेल’ पढ्दै छन् । आफ्नो बिचारको दायरा फराकिलो बनाउन, समय बिताउन, पुस्तकमार्फत लेखकको दिमागसँगै संसार घुम्न पुस्तक पढ्ने गरेको उनको भनाइ छ । इन्टरनेटको प्रयोग गरेर आफूले पढ्ने पुस्तक छनोट गर्ने उनले जवाफ दिए । शंकर भट्टराई भने ‘गुडरिड्स’ र ‘अमेजन’ जस्ता साइट तथा पत्रपत्रिकामा छापिएका समालोचनाहरूको सहयोगमा आफूले पढ्ने पुस्तक छान्छन् ।
उनी कुनै पनि स्रष्टाको जुनसुकै रचना पढ्छन् र त्यो मन पर्यो भने सोही लेखककै अन्य पुस्तक खोज्छन् । उमा मैनाली भने पत्रपत्रिकामा छापिएको समालोचना र साथीहरूको सहयोगमा पुस्तक छनोट गर्छिन् । घनश्याम खड्काको ‘निर्वाण’ पढ्दै गरेका उनी विचार क्षमताको विस्तारका लागि पढ्छन् । मइन उद्दिन अहिले चाणक्य नीति बुझ्न व्यस्त छन् ।
उनले समस्या समाधानमा कसरी ‘विस्डम’ र ‘ट्याक्टिस’ प्रयोग गरे भन्ने कुरा सबैले थाहा पाउनुपर्ने उनको भनाइ छ । पढ्ने पुस्तकको छनोट भने लेखकहरूको प्रसिद्धि, समीक्षा र कहिलेकाहीं त्यत्तिकै पनि कुनै पुस्तक किनेर पढ्छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)