स्रोतले पत्रकारितालाई हानेको ‘जुत्ता’

स्रोतले पत्रकारितालाई हानेको ‘जुत्ता’

‘अक्सर पत्रकारहरूको मोबाइलमा दुईथरी सन्देश आउँछन् । पहिलो, यस्तो कार्यक्रम हुँदैछ, रिपोर्टिङ गरिदिनुप¥यो भन्ने अनुरोधात्मक सन्देश । दोस्रो, यस्तो घटना भयो, उस्तो घटना भन्ने सन्देश । २३ मंसिरमा पोखराका थुप्रै पत्रकारलाई दोस्रोखाले सन्देश आयो, ‘नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईमाथि जुत्ता प्रहार ।’ टिभी र अनलाइनले ‘ब्रेकिङ न्युज’ पाइहाले ।

मोबाइलमा सूचना आएको केहीबेरपछि अनलाइनहरूमा भट्टराईमाथि जुत्ता बज्रेको समाचार आउन थाल्यो । भट्टराईले उता भाषण पूरा नगर्दै समाचार भाइरल भइसकेको थियो । स्थानीय दैनिकका सञ्चारकर्मीसँगै थिएँ, म । हामी कार्यक्रम भइरहेको पृथ्वीनारायण क्याम्पसका विद्यार्थीलाई फोन डायल गर्नपट्टि लाग्यौं । यताबाट फोन घुमाउँदा उतापट्टिबाट पनि उही सन्देश दिने फोन आउन छाडेका थिएनन् । प्रहरीमार्फत पुष्टि गर्ने प्रयास गरियो । एक विद्यार्थी पक्राउ परेको पुष्टि प्रहरीले गरे ।

Keshav-Sharan-Lamichhaneकार्यक्रमस्थलमै छु भन्दै फोन गर्नेहरू निख्रिएका थिएनन्, फोन आइरह्यो । अझ के भनियो, भने जुत्ता हान्ने ती विद्यार्थी पनि भट्टराई थरकै हुन् र जनयुद्धमा लागेर परिवारका सबै सदस्य गुमाएका रहेछन् । जुत्ता बज्रिनुको कारण पनि खुलाएर ‘फाइभ डब्लु वान एच’को पूरापूर जानकारी दिने फोन आइसकेपछि पत्रकारले समाचार बनाए । तिनै सूचनाका भरमा बाबुराममाथि जुत्ता प्रहार भएको समाचार भोलिपल्टका पत्रपत्रिकामा छापिए ।

जसरी विज्ञानमा अनुसन्धानको पहिलो चरण भनेको ‘हाइपोथेसिस’ हो, पत्रकारितामा पनि ‘न्युजस्टोरी’को चरण त्यही हो । विज्ञानले पुष्टि र पुनःपुष्टि गर्न एकैखाले प्रयोग गरे पुग्ला पत्रकारिता समाजविज्ञानको अंग भएकाले विभिन्न कोणको पुष्टि गरिनुपर्छ । ‘क्रस भेरिफिकेसन’ अनिवार्य हुन्छ । बाबुराममाथि जुत्ता प्रहार भएको सूचना दिने जति पनि स्रोत थिए, सबैले उस्तै सूचना टिपाइदिए र पत्रकारले पत्याए ।

भोलिपल्ट स्थानीयदेखि राष्ट्रियसम्मका थुप्रै अखबारमा उही समाचार आयो । नयाँ शक्ति इतरका विद्यार्थीले टिपाइदिएकाले सूचनामा ‘क्रस भेरिफिकेसन’ नगर्दा पत्रकार चुक्न पुगे । जसरी न्यायाधीशले उपलब्ध कागजात, घटनाका दुवै पक्ष र तटस्थ साक्षीको बयान÷बकपत्र अध्ययन गरेपछि फैसला गर्छन्, त्यसैगरी पत्रकारले पनि आफू प्रत्यक्षदर्शी नभएको घटनाको रिपोर्टिङ गर्नुपर्ने हो ।

बाबुराममाथि जुत्ता प्रहार भन्ने समाचार फैलनुको पहिलो कारण पत्रकारले त्यस्तो नगर्नु त छदै थियो । ‘क्रस भेरिफिकेसन’ पनि कस्तो भयो भने, भिन्न–भिन्न संगठनआवद्ध विद्यार्थीमार्फतचाहिँ भयो तर सामान्य हेक्का राखिएन कि ती सबै नयाँ शक्ति इतरका थिए । यस्ता समाचार ‘ब्रेक’ गरेर अनलाइनलाई ‘हिट’ बनाउन लोभिनु पनि अर्काे कारण थियो ।

कुन स्वार्थले सूचना आयो र उसले किन दियो भनेर पत्रकारले हरेक सूचना र त्यसको दातामाथि शंका गर्नुपर्छ । त्यो गर्दै गरिएन । खासमा त नयाँ शक्ति इतरका विद्यार्थीले आफू नजिकका पत्रकारलाई सूचना टिपाएका थिए । कार्यक्रम मध्यान्हअघिकै थियो, अल्छी नगरेको भए घटनाका प्रत्यक्ष सरोकारवाला दुवै पक्षलाई सुन्ने फुर्सद त्यो दिन पत्रकारलाई पर्याप्त थियो । जस्तो कि, पोखराका क्राइम रिपोर्टर अर्जुन गिरीले गरे । गिरी एकमात्र पत्रकार थिए, जसले जुत्ता हाने भनिएका सञ्जीवलाई भेटेरै कुरा बुझे ।

मैलेचाहिँ स्वयं भट्टराईलाई भेटेरै सोधें । उनले पनि जिब्रो नचपाइ बोले, ‘मलाई उहाँले कालो झण्डा देखाउनुभयो । मैले देखें, मैले पनि कालै कोट लगाएको छु भनें । उहाँलाई केही नगर्नाेस्, विरोध गर्न पाइन्छ भनें र प्रहरीलाई पनि उहाँलाई छोडिदिन अनुरोध गरें ।’ कार्यक्रमको भिडियो नै हेर्दा पनि बाबुरामले त्यसो भनेको नै देखियो । कार्यक्रममै उपस्थित पत्रकारले पनि जुत्ता हानेको नदेखेको सुनाए ।

‘बाबुरामलाई किन जुत्ता हान्नुभएको ?’ यो प्रश्नले सञ्जीव चकित भएछन् र उल्टै सोधेछन्, ‘कसले भन्यो जुत्ता हान्यो ?’ भएको के रहेछ भने उनले बाबुरामले बोल्न सुरु गरेको २ मिनेटपछि झोलाबाट निकालेर कालो झण्डा र हस्तलिखित पम्प्लेट देखाएछन् । सञ्जीवले जिब्रो नचपाइ बोले, ‘मलाई नेताहरू देखेर धृणा लाग्छ, कालो झण्डा देखाएँ, पम्प्लेट देखाएँ ।’

जुत्ता हान्ने योजना पनि रहेनछ । आगो नबली धुवाँ निस्किएको चाहिँ पक्कै थिएन । सञ्जीव स्वयंका अनुसार भएछ के भने ,उनले झण्डा र पम्प्लेट देखाउनसाथै नयाँ शक्तिका विद्यार्थीबाट हो–हल्ला भएपछि भाग्दा उनको जुत्ता फुस्कियो । उनलाई तत्कालै समातेका सुरक्षाकर्मीका अनुसार, फुस्किएको जुत्ता कार्यक्रम स्थलमै छाडिनु नै जुत्ता हानेको भनेर भ्रम फैलनुको अर्काे कारण हो ।

तर कुनै अर्काे कारणले आगो प¥यो र धुवाँ निस्कियो भन्दैमा कसैले डढेलै लगाएको हो भनेजस्तै गरी सञ्जीवको जुत्ता फुस्किएको कुरालाई प्रहारै गरेको भनेर समाचार आयो । वास्तवमा ‘बाबुरामलाई जुत्ता हानियो’ भन्ने समाचार अन्ततः स्रोतले पत्रकारितामाथि बर्साएको ‘जुत्ता’ पो बन्न पुग्यो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.