‘लालुपाते’ रेखा
अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर चर्चामा आएकी छन् । सात वर्षअघि माओवादीको सडक आन्दोलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ‘लालुपाते नुह्यो भुईंतिर’ गीतमा नाचेर चर्चामा आएकी उनी दोस्रो संविधानसभामा सभासद्को टिकट प्राप्त गर्ने आशासहित प्रचण्डको हातबाट टीका लगाएर माओवादीमा प्रवेश गरेकी थिइन् । तर मतदाता नामावलीमा नाम दर्ता गराउनै भुलेकी उनले टिकट पाउने कुरै रहेन ।
त्यसपछि पनि उनले आफूलाई माओवादीनिकट रहेको दाबी गर्दै आएकी थिइन् । आफूलाई प्रचण्डको फ्यान बताउँथिन्, माओवादी युवा नेता चन्द्रबहादुर थापा ‘सागर’सँग भाइटीका लगाइन् । तर राप्रपा प्रवेश गर्ने बेला उनको बोली फेरियो ।
उनले राजनीति बुझेदेखि नै राप्रपा अध्यक्ष कमल थापाको फ्यान रहेको बताइन् । त्यतिमात्रै होइन, उनले आफू माओवादीको कार्यक्रममा सहभागी भए पनि सदस्यता नलिएको दाबी गर्दै भनिन्, ‘राप्रपा नै मेरो पहिलो र अन्तिम राजनीतिक पार्टी हो ।’ उनले थापालाई ‘हिम्मतवाला’को उपमासमेत दिइन् । यसअघि उनी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा जाने हल्लासमेत चलेको थियो ।