भोको बन, मूर्ख बन
(स्टिभ जब्सको नाम नसुन्ने को पो होला र ? कम्प्युटरमा उनले ल्याएको क्रान्तिले हाम्रो समयको तस्बिर फेरेको छ । कलेजको कक्षाकोठा त्यागेर जीवनको मैदानमा हामफालेका जब्सले सन् २००५ जुन १२ गते अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा ग्र्याजुएसन सुरु गर्दै गरेका विद्यार्थीलाई दिएको कमेन्समेन्ट भाषण)
आज संसारकै उत्कृष्ट विश्वविद्यालयमध्ये एक यो विश्वविद्यालयमा तपाईंहरूसमक्ष कमेन्समेन्ट स्पिचका लागि उभिँदा आफैंलाई धन्य महसुस गरेको छु । मैले कुनै पनि कलेजबाट ग्र्याजुएट गरिन । नढाँटी भन्दा कलेजको ग्र्याजुएसनमा सहभागी भएको आजै हो । आज म तपाईंलाई मेरो जिन्दगीको तीन कथा भन्न चाहन्छु, धेरै होइन । मात्र तीनवटा ।
पहिलो कथाः विन्दुहरू जोड्ने सन्दर्भ
मैले भर्ना भएको छ महिनापछि नै रिड कलेजमा पहिलो कक्षा ड्रप गरें र एकएक गरेर १८ महिनामा पूरै कलेज नै छोडें । साँच्ची मैले किन कलेज छोडें त ? यो प्रक्रिया म जन्मिनुभन्दा अघिदेखि सुरु भएको थियो ।
मलाई जन्म दिने आमा अविवाहित र कलेजकी स्नातक तहकी छात्रा हुनुहुन्थ्यो । त्यसैले उहाँ मलाई अरू कसैलाई सुम्पन्न चाहनुहुन्थ्यो । उहाँ मलाई ग्रहण व्यक्ति कलेजबाट स्नातक गरेकै होस् भन्ने चाहनुहुन्थ्यो । त्यसैले मलाई जन्मिनासाथ एक वकिल र उनकी श्रीमतीलाई दिने व्यवस्था गरियो ।
उनीहरू भने म जन्मने बेलासम्म पनि छोरी चाहन्थे । त्यसैले मलाई हुर्काउने अभिभावकलाई मध्यरातमा फोन गरेर सोधियो, ‘लौ हाम्रो त छोरा जन्मियो, के तपाईंहरू स्वीकार्नुहुन्छ ? ’ उनीहरूले भने, ‘अवश्य ।’ मेरो खास आमाले पछिमात्रै थाहा पाउनुभयो मलाई पाल्ने आमाले कहिल्यै पनि कलेजबाट ग्र्याजुएट गर्नुभएको छैन अनि मलाई पाल्ने बाले हाइस्कुल पनि पास गर्नुभएको छैन ।
उहाँले अन्ततः धर्मपुत्रसम्बन्धी कागजमा हस्ताक्षर गर्न अस्वीकार गर्नुभयो । केही महिनापछि मेरा (पालक) अभिभावकले मलाई जसरी पनि कलेज पठाउने बाचा गरेपछि मात्र उहाँले आफ्नो हठ त्याग्नुभयो ।
आफूले मन पराउने काम फेला नपार्दासम्म खोजिरहनुस्, कुनै एउटामा टाँसिएर नबस्नुस् ।
त्यसको १७ वर्षपछि म कलेज गएँ । तर मैले कहिल्यै पनि स्ट्यानफोर्ड जत्तिको महँगो कलेज रोजिन । मेरा कामदार अभिभावकले बचत गरेको पैसाले त्यो पुग्दा पनि पुग्दैनथ्यो । ६ महिना कलेज पढेपछि मैले यी पढाइको कुनै अर्थ भेटिनँ ।
मलाई जीवनमा के गर्ने भन्ने कुनै ज्ञान थिएन अनि मलाई कलेजले यस्तो पत्ता लगाउन सहयोग गर्लाजस्तो पनि लागेन । अर्कोतर्फ म बेफ्वाँकमा यहाँ मेरा बाआमाले जिन्दगीभर जम्मा गरेको पैसा सकिरहेको थिएँ । त्यसैले मैले कलेज त्याग्ने निधो गरें र आफैंसँग जे होला राम्रै होला भन्ने कामना गरें । त्यतिबेला त्यो निकै अत्यासलाग्दो निर्णय थियो । तर अहिले आएर हेर्दा लाग्छ मैले ठिकै निर्णय गरेछु । जुन क्षण मैले कलेज छोडेको थिएँ त्यही क्षण मैले मलाई रुचि नै नभएको कक्षा लिन रोकिन पनि सक्थें ।
अहिले सुन्दा त्यस्तो लागे पनि यो कुनै रोमाञ्चक काम थिएन । मसँग बस्नका लागि कोठा थिएन । म साथीहरूको कोठामा सुत्थें । डिपोजिट राखेको पाँच सेन्टले खाना किन्न म कोकका बोत्तल फिर्ता गर्थें । गतिलो खानाको निम्ति हरेक आइतबार म सात माइल पर सहरको पल्लो कुनामा रहेको हरे कृष्ण मन्दिरसम्म हिँडेर जान्थें । मलाई यो मन पथ्र्यो । यीमध्ये मेरा कतिपय प्रयास पछि बेकामे साबित भए ।
म तपाईंहरूलाई एउटा प्रसंग सुनाउँछुः त्यतिबेला रिड कलेजले पेन्टिङ तालिम दिन्थ्यो । क्याम्पसका हरेक पोस्टर र ड्रअरका हरेक लेबलमा सुन्दर अक्षर कुँदिएका हुन्थे । कलेज त्यागिसकेको र अरू कुनै काम नभएकाले मैले त्यो तालिम लिने निधो गरें । त्यहाँ मैले विभिन्न प्रकारका अक्षर लेख्न सिकें । अक्षर कुँद्न र अक्षरबीच कति खाली कसरी राख्ने भन्ने सिकें ।
पछि गएर व्यावहारिक जीवनमा यसको कुनै काम आएन । तर १० वर्षपछि, हामीले पहिलोपटक म्यासिन्टोस कम्प्युटर डिजाइन गरिरहँदा सबै काम लाग्यो । हामीले त्यो सीप प्रयोग गर्यौं । यो सुन्दर टाइपोग्राफी भएको पहिलो कम्प्युटर बन्यो ।
मैले कलेज नछोडेको भए म्याकले यति धेरै मल्टिपल टाइपफेस पाउँदैनथ्यो । विन्डोज म्याकको कपीमात्रै भएकाले अहिलेका कुनै पनि कम्प्युटरले त्यस्तो सौन्दर्य पाउँदैनथे । मैले कलेज नछोडेको भए कहिल्यै पनि हस्तलिपिको कक्षामा छिर्ने थिइन । र कुनै पनि कम्प्युटरले अहिलेजस्तो टाइपोग्राफी पाउँदैनथे । म कलेजको कक्षाबाट ससाना विन्दुलाई यस्तो अक्षरका रूपमा जोड्न सकिन्छ भन्ने कल्पना गर्न पनि सक्दिनथें ।
तपाईंले समयका यी विन्दुहरु अहिले नै अगाडि हेरेर जोड्न सक्नुहुन्न । तपाईंले पछाडि फर्किनैपर्छ । त्यसैले तपाईंले अहिले बनाएका विन्दुहरू भविष्यमा कुनै दिन जोडिनेछन् भन्ने विश्वास राख्नैपर्छ । तपाईंले आफ्नो हिम्मत, लक्ष्य, जीवन, कर्म आदिमा विश्वास राख्नैपर्छ । यही बोधले नै मेरो जीवनमा परिवर्तन ल्याएको हो ।
००
दोस्रो कथाः प्रेम र घाटा
म भाग्यमानी हुँ । मैले जीवनको सुरुमै मलाई के गर्न मनपर्छ भन्ने पत्ता लगाएँ । मेरा मित्र वोज र मैले मेरा बाआमाको ग्यारेजमा ‘एप्पल’ को काम गर्न सुरु गर्यौं । म त्यतिबेला १० वर्षको थिएँ । हामीले दह्रो मेहनत गर्यौं । १० वर्षमा एप्पल ग्यारेजका हामी दुईबाट दुई अर्ब डलर पुँजी भएको चार हजारजनाले काम गर्ने कम्पनी बन्यो । भर्खरै हामीले हाम्रो उत्कृष्ट सिर्जना रिलिज गरेका छौं । त्यसपछि म कामबाट निकालिएँ ।
तपाईंहरूलाई लाग्दो हो, आफंैले सुरु गरेको कम्पनीबाट कोही कसरी निकालिन्छ ? खासमा के भयो भने एप्पल विकसित हुँदै जाँदा हामीले एकजनालाई काम दियौं । मैले ऊ निकै क्षमतावान भएको र मसँगै कम्पनी हाँक्न सक्छ भन्ने ठानें । पहिलो वर्ष त सोचेजस्तै भयो । तर भविष्यप्रतिका हाम्रा दृष्टिकोणहरू बाझिन थाले । विवाद चर्किंदै गएपछि हाम्रो कार्यकारी बोर्डले उसको पक्ष लियो र ३० वर्षको उमेरमा म कामबाट निकालिएँ ।
केही महिनासम्म त मैले के गर्ने भन्ने नै मेसो पाइन । यो सबै छोडेर भाग्न चाहन्थें तर सकिन । बिस्तारै मलाई महसुस भयो— म आफूले गरेको कामलाई अझै पनि मन पराउँथें । ‘एप्पल’ मा भएका घटनाले मलाई केही फरक पारेको थिएन । म अस्वीकृत हुन सक्थें तर म अझै पनि प्रेममै थिएँ । त्यसैले मैले फेरि सुरु गर्ने निधो गरें ।
त्यतिबेला त मैले मेसो पाइन । तर पछि मैले महसुस गरें ‘एप्पल’ बाट निकालिनु मेरो जीवनमै हुन सक्ने सबैभन्दा सही निर्णय थियो । सफल हुनुको गह्रुंगोपनलाई पुनः सुरुवातकर्ता हुनुको हलुकापनले विस्थापित गरिदियो । यसले मलाई मेरो जीवनको सबैभन्दा सिर्जनशील क्षणमा प्रवेश गर्न स्वतन्त्र बनाइदियो ।
त्यसको पाँच वर्षमा मैले नेक्स्ट नामक कम्पनी सुरु गरें । अनि पिक्सार नामक अर्को कम्पनी पनि । त्यति नै बेला म एक अद्भुत युवतीसँग प्रेमममा परें र उनी मेरी श्रीमती बनिन् । पिक्सारले संसारकै पहिलो कम्प्युटर एनिमेटेड फिचर फिल्म बनायो । पछि एप्पले नेक्स्ट किन्यो । म फेरी ‘एप्पल’ मै फर्किएँ । हामीले नेक्स्टमा विकास गरेको प्रविधि अहिले ‘एप्पल’ को पुनर्जागरणको मुटु बनेको छ ।
म ढुक्क छु, यदि म ‘एप्पल’ बाट ननिकालिएको भए यी केही पनि हुँदैनथे । कहिलेकाहीं जिन्दगीले तपार्ईंहामीलाई इँट्टाले टाउकोमा हिर्काउँछ । तर विश्वास गुमाउनुहुन्न । म विश्वस्त छु, कामप्रतिको मेरो प्रेमले नै मलाई सधैं अघि बढाइरह्यो । तर तपाईंले आफूले मन पराउने क्षेत्र के हो भन्नेचाहिं पत्ता लगाउनैपर्छ । हरेक काममा त्यो मन पराउने मात्र सफल हुन सक्छ ।
तपाईंले अझै आफूले मन पराउने काम पाउनुभएको छैन भने खोजिरहनुस् । कुनै एउटा काममा सीमित भएर नबस्नुस् । सबैथोक मनसँग जोडिएको हुन्छ । तपाईंले मेसो पाउनुहुन्छ कहिले तपाईंले फेला पार्नुहुन्छ भनेर । र कुनै पनि महान् सम्बन्ध जस्तै तपाईं त्यसमा झन् झन् सफल हुँदै जानुहुनेछ । त्यसैले आफूले मन पराउने काम फेला नपार्दासम्म खोजिरहनुस् । कुनै एउटामा टाँसिएर नबस्नुस् ।
००
मेरो तेस्रो कथाः मृत्यु
१७ वर्षको हुँदा मैले यस्तो भनाइ पढेको थिएः ‘तिमीले हरेक दिन यो अन्तिम दिन हो भन्ने सम्झेर बाँचे कुनै न कुनै दिन सही साबित हुनेछौ ।’ यो भनाइले मलाई निकै प्रभाव पार्यो । त्यसपछिका यी ३३ वर्षसम्म म हरेक बिहान ऐनामा हेर्दै आफैलाई सोध्छः ‘आजै मेरो अन्तिम दिन हो भने के म आज जे गर्न गइरहेछु त्यही नै गर्नेछु ? ’ र यदि मलाई आफैंलाई ‘नाइँ गर्दिन’ भन्ने लाग्यो भने म बुझ्छु, मैले केही न केही फेर्नैपर्नेछ ।
म छिट्टै नै मर्नेछु भन्ने बोधले मलाई जीवनका ठूलाठूला निर्णय गर्न मद्दत गरेको छ । किनभने सारा घमण्ड, गौरव, असफल हुनेको भय, सबैसबै मृत्युको अगाडि पराजित हुन्छन् । र केवल जे महत्वपूर्ण छ त्यो मात्रै बाँकी रहन्छ । म मर्दैछु भन्ने बोधले असफल हुने भयबाट पर पु¥यानुहुन्छ । तपाईंले आफ्नै आत्माको आवाज नपछ्याउनुको कुनै कारण बाँकी रहँदैन ।
एक वर्षअगाडि मलाई क्यान्सर भएको पत्ता लाग्यो । मेरो प्याङ्क्रियाजमा ट्युमर भएको फेला पर्यो । मलाई भने प्याङ्क्रियाज के हो भन्ने पनि थाहा थिएन । डाक्टरहरूले यो उपचार गर्न नसकिने कयान्सर हो र म तीनदेखि छ महिनाभन्दा बढी बाँच्न गाह्रो छ भने । मलाई डाक्टरहरूले घर गएर सबै काम पूरा गर्न भने । यो डाक्टरहरूको मर्न तयार हौ भन्ने संकेत हो ।
यसको अर्थ हो, १० वर्षमा आफ्ना छोराछोरीलाई भन्छु भनेर सोचेको केही महिनामा भनिसक्नु हो । यसको अर्थ हो, घरपरिवारलाई सबै कारोबार बुझाउनु जसले गर्दा तपाईंको परिवारलाई सजिलो होस् । पछि मेरो अपरेसन भयो । अहिले म ठिक छु ।
त्यो क्षण म मृत्युको सम्मुख पुगें । म तपाईंलाई स्पष्टसँग भन्न सक्छु, मृत्यु एक बौद्धिक धारणाका रूपमा आवश्यक छ । कोही पनि मर्न चाहन्न । स्वर्ग जान चाहने मानिस पनि मर्न चाहन्न । जब कि मृत्यु निश्चित गन्तव्य हो । कोही पनि यसबाट भाग्न सक्दैन । मृत्यु जीवनको एकमात्र आविष्कार हो । जीवनले एजेन्टमात्र फेर्छ । मृत्युले नै पुरानोबाट नयाँ बनाउँछ । अहिले नयाँ तपाईं सबै हो तर बिस्तारै तपाईंहरू पनि पुरानो हुनुहुनेछ । नाटकीय भएकोमा क्षमाप्रार्थी छु । तर सत्य यही नै हो ।
तपाईंको समय सीमित छ, त्यसैले अरू कसैको जीवन जिएर आफ्नो जीवन बर्बाद नगर्नुस् । रूढि र मान्यताहरूको जञ्जालमा नफस्नुस् । ती अरू मानिसको सोचमा बाँच्नुको परिणाम हुन् । तपाईंको हृदयको आवाजलाई अरूको आवाजले ढाक्न नदिनुस् । सबैभन्दा महŒवपूर्ण आफ्नै हृदय र अन्तज्र्ञान पछ्याउने साहस गर्नुस् ।
म तन्नेरी छँदा ‘द होल अर्थ क्याटलग’ भन्ने किताब आउँथ्यो ।
यो हाम्रो पुस्ताको बाइबल बराबर थियो । यो स्टेवार्ट ब्रान्डले तयार गर्थे । उनले आफ्नो जीवन काव्यिक बनाए । यो सन् १९६० को दशकको अन्त्यतिरको कथा हो । कम्युटर अहिलेजस्तो विकसित भइसकेको थिएन । टाइपराइटर, कैंची र पोलवाइड क्यामराको भरमा उनले त्यस्तो तयार पार्थे । यो कागजी गुगल बराबर थियो । त्यसको ३५ वर्षपछि गुगल आयो ।
स्टेवार्ट र उनको टिमले ‘द होल अर्थ क्याटलग’ को विभिन्न अंक निकाल्यो र सन् १९७० को दशकको मध्यतिर अन्तिम अंक निकाल्यो । त्यतिबेला म तपाईंहरूको उमेरको थिएँ । अन्तिम अंकको पछिल्लो गातामा उनीहरूले एउटा फोटो छापेका थिए ।
त्यो गाउँ जाने बाटोको बिहानी समयको तस्बिर थियो जसले तिम्रो जीवनको बाटो तिमी नै पत्ता लगाऊ भन्ने सन्देश दिन्थ्यो । फोटोको मुनि लेखिएको थियोः ‘भोको बन, मूर्ख बन’ । यो उनीहरूको अन्तिम सन्देश थियो, भोको बन, मूर्ख बन । मैले सधैं आफैंलाई भोको बन्ने र मुर्ख बन्ने कामना गरिरहें । अहिले तपाईंहरूको ग्रा्यजुएसन सुरु भइरहेछ । म तपाईंहरूलाई त्यही कामना गर्छु— भोको बन, मूर्ख बन ।
(अनुवादः लक्ष्मण श्रेष्ठ)