यसरी बन्यो 'सेतो सूर्य'

यसरी बन्यो 'सेतो सूर्य'

दीपक रौनियार सिनेमामा सक्रिय हुनुअघि पत्रकारितामा थिए । राजनीतिमा अद्यावधिक हुनै नै भए, सिनेमाबारे कलम चलाउने हुनाले यस क्षेत्रसँग उत्तिकै निकट थिए । तर, राजनीति र सिनेमाको तुलनात्मक अध्ययन गर्दा भने उनी निराश हुन्थे । ‘पञ्चायती व्यवस्था अन्त्य हुने गरी जनआन्दोलन भयो । त्यसपछि १० वर्ष युद्ध भयो, फेरि जनआन्दोलन । सामाजिक–राजनीतिक उथलपुथल भए ।

सिनेमा भने यो कुराबाट भागेर खाली बलिउडमा सफल भएको कथाको मात्रै किन पछि लागिरहेको छ ?’ उनलाई प्रश्नले पछ्याउँथ्यो । रौनियारका छोटा–लामा सिनेमाहरू उनकै प्रश्नका उत्तर हुन् । उनलाई लाग्छ– दोस्रो कथानक चलचित्र ‘सेतो सूर्य’ त्यसको अझै स्पष्ट उत्तर हो । सिनेमामा पनि प्रेमकथा बढी बिकाउ छ भन्ने जान्दाजान्दै सामाजिक–राजनीतिक विषय रोज्नुको कारण पनि त्यही हो ।

माओवादी युद्ध सुरु हुँदा रौनियार १७ वर्षका थिए । उनको विश्लेषण छ, त्यसपछि देखे–भोगेको जीवनमा सबैभन्दा बढी प्रभाव त्यही युद्धले पारेको छ । तर, त्यसबारे गम्भीर सिनेमा बनेका थिएनन् । त्यस्तो रिक्तता पूरा गर्नेबारे उनले सोचिरहेका थिए ।

मस्तिष्कमा त्यस्तो सोच आइरहेका बेला सन् २००९ मा उनकी जीवनसाथी तथा कलाकार आशा मगरातीले काभ्रेस्थित ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर’ का लागि प्रवद्र्धनात्मक वृत्तचित्र बनाइन् । त्यसक्रममा खिचिएको दृश्यमा ‘स्पाइनल इन्जुरी’ भएर त्यहा“ भेटिएका माओवादी र प्रहरीको संवादले रौनियारलाई तान्यो । उनले त्यही कथामा सिनेमा–सपना देख्न थाले ।

हाम्रो समाजमा यति धेरै नकारात्मकता छ कि माओवादी भनेपछि घृणा गर्न थालिहाल्छौं । यस्तो अवस्थामा हृदयदेखि नै चरित्रलाई स्वीकार गर्न सक्ने कलाकार चाहिन्थ्यो।
दीपक रौनियार, निर्देशक

पछि उनले त्यो कथा आफू कार्यरत बीबीसी रेडियो–नाटक ‘कथा मीठो सारंगी’मा पनि प्रयोग गरे । सन् २०१० मा उनको अर्को कथा ‘हाइवे’ले सिनेमा निर्माणका लागि लगानी पायो । उनी बीबीसी छाडेर त्यतै लागे । दुई वर्ष खर्चिएर उनले निर्देशन गरेको ‘हाइवे’ले नेपाली सिनेमा हेर्ने र बुझ्ने दृष्टिलाई नै धक्का दिने गरी सराहना र आलोचना पायो । त्यसले आफूलाई अझै जिम्मेवार बनाएको महशुस गरेका रौनियारले सन् २०१२ को अन्त्यदेखि ‘सेतो सूर्य’को काम थाले ।

यद्यपि, समय परिवर्तन भइसकेको थियो । अस्पतालबाटै कथा भन्दा भाव–सम्प्रेषण बलियो बन्न सक्दैन भन्ने अनुभूति उनलाई भयो । त्यसैले निर्देशन, अभिनय, कोरियोग्राफी र सम्पादनमा समेत सिद्धहस्त डेभिड बार्करसँग उनले कथाशिल्पमा सहयोग लिए । ‘दुवै जनाको दिमागी मन्थनबाट प्रतिनिधि नेपाली गाउँको एउटा घरबाट कथा भन्न सकिन्छ भन्ने निक्र्योल निस्कियो । र, बाबुको मृत्युपछि घर आइपुग्ने दाजुभाइलाई द्वन्द्वका दुई पक्षका रूपमा विम्बात्मक चित्रण गरेर सिनेमाको कथा बुनियो,’ उनी भन्छन् ।

 राम्रो चलचित्रका लागि कलाकार छनोट निकै महत्वपूर्ण पक्ष हो । प्रसिद्ध निर्देशक अब्बास किरोस्तामीलाई सम्झँदै रौनियार भन्छन्, ‘उहाँ भन्नुहुन्थ्यो, कास्टिङ राम्रो भयो भने सिनेमाको आधा काम सकिन्छ । त्यसैले कास्टिङ गर्दा आशाले सम्पूर्ण क्षमता लगाएकी हुन्छिन् ।’ सिनेमामा दयाहाङ राई माओवादी कार्यकर्ता ‘अग्नि’को भूमिकामा छन् ।

उनी सिनेमाका ‘प्रोटागोनिस्ट’ हुन्, जो सबैले मन पराउने चरित्रको खोजिन्छ । तर, अग्निको पृष्ठभूमि त्यस्तो छैन । उनले घर छाडेका छन्, पत्नीलाई अस्वीकार गरेका छन् । वर्षौं घर फर्केर आएका हुन्नन् । उनलाई माया गर्न सकिने ठाउँ एकदमै कम देखिन्छ ।

रौनियार भन्छन्, ‘अर्कातिर, हाम्रो समाजमा यति धेरै नकारात्मकता छ कि माओवादी भनेपछि घृणा गर्न थालिहाल्छौं । यस्तो अवस्थामा हृदयदेखि नै चरित्रलाई स्वीकार गर्न सक्ने कलाकार चाहिन्थ्यो । तर, थुप्रै कलाकारको अडिसन गर्दा पनि चित्त बुझेन ।’ उनले त्यो क्षमता पहिले पनि सँगै काम गरिसकेका राईमा देखेका थिए । त्यसपछि कथामा अर्को ‘लेयर’ थपेर प्रधानपञ्चको ल्याइते जनजाति पत्नीबाट जन्मिएको छोरा माओवादीमा सामेल भएको बनाए ।

व्यस्तताबीच पाएको प्रस्तावित चरित्रको जटिलता देखेर राई पहिलो चरणमा हच्किए । तर, आफूले भोगेको समयको आवाज र भाषा चरित्रमा देखेपछि उनले चुनौती स्वीकारे । राई भन्छन्, ‘मलाई चरित्रमा सन्तुलित अभिनय गर्नुपर्ने चुनौती त थियो । तर, चरित्रले भोगेको समय र भन्न खोजेको कुरा तथा हामीले भोगेको समयको आवाज र भन्न खोजेको कुरा एउटै भएकाले सहज ठानें ।’

00

दायाँंबाट क्रमश दयाहाङ राई, दीपक रौनियार, रवीन्द्रसिंह बानियाँं । तस्बिर : सराेज बैजु

‘सेतो सूर्य’को चरित्रलाई उनी अभिनय जीवनकै प्रिय चरित्रमध्ये एक मान्छन् । उनको भोगाइमा सिनेमामा कलाकारले निर्वाह गर्ने चरित्र दुईथरी हुन्छन् । एक प्रिय, अर्को आकर्षक । आफैंले अनेक जादू गरेर दर्शक तान्नुपर्ने र बक्स अफिस हान्नुपर्ने भूमिकालाई उनी आकर्षक मान्छन् । ‘तर, त्यस्तो भूमिका प्रिय हुन्छ भन्ने छैन । तर, यो सिनेमामा मैले निर्वाह गरेको चरित्रचाहिँ मन नजिकको छ, प्रिय छ ।

यस्तो चरित्र बेला–मौकामा मात्रै पाइन्छ ।’ चरित्रलाई न्याय गर्नका लागि रौनियार र राईले संगत गरेका र चिनेका माओवादी नेतादेखि गुरिल्लासँग समेत अन्तरवार्ता गरेका थिए । संवादलाई प्राकृतिक बनाउन उनीहरूको स्वर अनेकौंं पटक सुनेको राई सम्झन्छन् । सिनेमामा सरकारी सेनामा संलग्न युवाको भूमिकामा छन्, रवीन्द्रसिंह बानियाँ । धेरैको सुझावपछि बानिया“लाई उपयुक्त ठहर्‌याएको रौनियार सुनाउँछन् ।

बानियाँले भने आफ्नो चरित्रका लागि ‘टलकजंग भर्सेस टुल्के’ सिनेमालाई सन्दर्भ माने । त्यहाँ पनि उनी प्रधानपञ्चको छोरा ‘बाहुसाहेब’को भूमिकामा छन् । आफ्नो हठ नछाड्ने चरित्र उतार्न त्यसले उनलाई सहयोग त गर्‌यो तर कतिपय सन्दर्भमा त्यही चरित्रको छाप देखिने हो कि भनेर हच्किए पनि । त्यसले उनलाई अझ फरक गर्न सचेत बनायो । सेनाको पारिवारिक पृष्ठभूमि भएकाले पनि उनलाई अझ सहज भयो ।

सिनेमामा अग्निको पत्नी ‘दुर्गा’को चरित्रमा आशा छिन् । उनकी छोरी ‘पूजा’को चरित्रका लागि कलाकार खोज्न भने निकै समस्या परेको थियो । । रौनियार सम्झन्छन्, ‘थुप्रै अडिसनपश्चात एक बालिकालाई काठमाडौंबाट छायांकन स्थल लगिएको थियो । तर, काठमाडौंमा हुर्किरहेकी उनले ग्रामीण छायांकन स्थलमा आत्मविश्वास देखाउन सकिनन् ।’

विकल्पका रूपमा लिइएकी घान्द्रुककी सुमी मल्ललाई लिएर १० दिनको दृश्य पुनः छायांकन गरियो । द्वन्द्वमा आमाबाबु गुमाएको पात्र ‘बद्री’का लागि भने अन्तिम ‘लोकेसन ट्रिप’का क्रममा घान्द्रुक गएका बेला लिइएको अडिसनमा भेटिएका अमृत परियारले काम गरे ।

उनको पृष्ठभूमि पनि पात्रको पृष्ठभूमिसँग नजिक छ । बाबु सानैमा बितेका, आमाले पनि छाडेर गएका कारण उनले अभिभावकको अभाव वास्तविक जीवनमै झेलिरहेका थिए । यसअघि कहिल्यै अभिनय नगरेका सुमी र अमृतबाट रौनियारले निकालेको प्राकृतिक अभिनयको प्रशंसा भइरहेकै छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.