मेरो गाउँ, मेरै प्रदेश
केही सीप नचलेपछि अन्ततः मैले आफ्नो गाउँलाई टुक्र्याउने निधो गरेँ । तल्लो टोललाई एउटा प्रदेश र माथ्लो टोललाई अर्कै प्रदेश बनाएर संघीय गणराज्यलाई फलाउने, फुलाउने र नसके ओइलाउन भूमिका खेल्ने दह्रो अठोट गरेँ मैले । तर, मैले यस्तो अग्रगामी निर्णय गरेसँगै तल्लो टोलका बैदार काकाले मलाई च्याप्प समातिहाले । काकाले सोधे, ‘किन टुक्र्याउनुपर्यो यो गाउँलाई ?
अहिलेसम्म नटुक्र्याएर नै भएको थियो, किन टुक्र्याउनुप¥यो अब ?’मैले काकासामु अनेक भावभंगीमा पस्किँदै विनित स्वरमा भने, ‘काका, देशमा धेरै परिवर्तन भइसक्यो । अब राज्यको संरचना पहिलाजस्तो हुँदैन, पूरै फेरिन्छ । संरचना नफेरिए जनताले कसरी परिवर्तनको अनुभूति गर्न सक्छन्, हैन त ?’
‘हो ।’ काका सहमत भए ।
‘त्यही भएर नै हामीले हाम्रो गाउँको संरचना मिलाउन लागेका हौँ ।’ मैले काकालाई सम्झाउँदै भने, ‘यो बाटो छ नि, काका । हो, त्योभन्दा मुनि तपाईंहरूको प्रदेश हुन्छ, बाटोमाथि हाम्रो बेग्लै प्रदेश हुन्छ अब ।’काका चकित परे ।
तत्काल उनले सोधे, ‘त्यो बाटो त साँघुरो छ, भतिज । मैले दिनहुँ त्यही बाटोबाट आफ्नो गाईगोरु हिँडाउनुपर्छ । त्यसो भए मेरो गोरुले टेक्ने एउटा खुर अब तिम्रो प्रदेशमा पर्छ र अर्को खुर मेरो प्रदेशमा, हैन त ?’
‘हो, काका । के गर्नु ?’ मैले लाचारी व्यक्त गरेँ । ‘भो, त्यस्तो प्रदेश मलाई चाहिएन । म भोलिबाट नै त्यस्तो प्रदेशको विरुद्धमा उठ्नेछु ।’ काका उत्तेजित देखिए, ‘म अब आफ्नो गाउँलाई अखण्ड राख्न संघर्ष गर्नेछु ।’‘काका, आवेशमा नआउनुस् न । यत्रो क्रान्ति भो, परिवर्तन भो । जनतालाई परिवर्तनको आभास गराउनु परेन ?’ मैले विनम्रतापूर्वक सम्झाएँ ।
काकाले भने, ‘तँ आफैं भन् न, हामी यो गाउँमा वर्षौंदेखि बस्दै आयौं । तैंले बाख्रा चराउने भस्मेको पाखा र मैले गोरु चराउने सल्लेबासको पाखामा हामीले मिल्दैजुल्दै यी पशुहरूलाई चराउँदै आएका थियौँ ।
तैंले पानी भर्ने पँधेरो र मैले स्याउला काट्ने जंगल एउटै हो । अझ, दशैंको बेला तैंले र हाम्ले रोटेपिङ खेल्ने डाँडाको चौर पनि हाम्रो साझा थलो हो । कुरा बुझिस् ? अब तैंले बाख्रा चराउने पाखा एउटा प्रदेशमा र मैले गोरु डुलाउने पाखा अर्कै प्रदेशमा पर्दा के हुन्छ ? यो यस्तो काइते कुरा नगर् मसित ।’
‘काका, तपाईंको कुरा त ठीकै हो । तर, यो गाउँलाई टुक्र्याउने कुरा भइसकेको छ ।’ मैले कुरा नबिसाउँदै काका बम्किए, ‘तँ भाते पनि के यस्तो कुरा गर्छस् ? यो गाउँलाई टुक्र्याउन माथ्लो गाउँका कोही तयार छन् ?
उनीहरू बेसीतिर झर्दा यही बाटो झर्नुपर्छ, बेसीमा उनीहरूका टन्नै खेत छन् । भोलि हाम्ले उनीहरूका गाईगोरु, रोपाहार, बाउसेहरूलाई छिर्न दिएनौं भने के हुन्छ ? यो गाउँलाई टुक्र्याउने कुरा ठीक छैन, केटा ।’
काकाको तर्कसामु म गलेँ । बाटोभन्दा माथि बेग्लै प्रदेश बनाएर राज गर्ने मेरो अभियानले मूर्तरूप नपाउला भन्ने चिन्ता ममा बढेर गयो । आखिर, ‘मेरो गाउँ, मेरै प्रदेश’ भन्ने मेरो नारा भड्खालोमा पर्ला पो जस्तो देखियो ।