सभामुखले बोलाएको शीर्ष बैठक निश्कर्षबिहिन, संसद् फेरि स्थगित

काठमाडौं : संसद्को सोमबारको बैठक पनि चल्न सकेन । सभामुखले बोलाएका तीन दलका शीर्ष नेताहरुको बैठक पनि निश्कर्षबिहिन भएपछि सुरु भएको संसद्को बैठकमा एमालेलगायतका विपक्षी सांसदहरुले अवरोध गरेका थिए।
तीन दलको शीर्षको बैठक निश्कर्षबिना सकिएपछि साढे एक बजे संसद् सुरु भएको थियो । केही सांसद्हरुले विशेष समय लिएर बोलेपछि सभामुखले नियमित कारबाही अघि बढाउन खोज्दा विपक्षी सांसदहरु उठेर अवरोध गरेका थिए। त्यसपछि सभामुखले पुस ७ गतेसम्मका लागि बैठक स्थगित गरेकी थिइन्।
एमालेलगायतका विपक्षीहरु संसद्मा अवरोध गर्ने तयारीमा छन् । सरकारले संसद्मा संशोधन विधेयक पेस गर्नेलगायतका कार्यसूची तयार गरेको छ । तर त्यसलाई प्रवेश गराउन नदिने रणनीति विपक्षीहरुले बनाएका छन् ।
सरकारले ल्याएको संविधान संशोधनको विरोध गर्दै एमालेले निरन्तर अवरोध गरेका कारण दुई हप्तादेखि संसद् ठप्प छ । संसद् अवरुद्ध भएका कारण संशोधन प्रस्ताव प्रवेश गर्न पाएका छैन भने अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग तथा निर्वाचनसम्बन्धी कानुनका विधेयकसमेत अड्किएका छन् ।
एमालेले संशोधन प्रस्ताव फिर्ता गरेपछि मात्र संसद् चल्न दिने अडान लिएको छ । एमालेले संशोधनलाई स्थगन गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस !
