चित्रमा जनकपुर र मधुवनीको मिश्रण

चित्रमा जनकपुर र मधुवनीको मिश्रण

काठमाडौः  सधैं देखिनेभन्दा भिन्न मिथिला चित्र अरूपण आर्ट ग्यालरीको भित्तामा देखिए । ठूला आँखा र अनुहारको एक पाटोमात्र देखिनु मिथिला चित्रकलाको विशेषता हो । थप विशेषता भएका चित्र पनि ग्यालरीमा देखिए । डोली, घुम्टो, लौरो, चित्रको फ्रेममा देखिएका डोराहरू मधुवनी मिथिला चित्रका विशेषता हुन् ।

मिथिलाकी छोरी सीता विवाह भएर अयोध्याकी बुहारी बनिन् । मधुवनकी छोरी अर्थात् कलाकार पुनमकुमारी दास विवाह गरेर नेपालकी बुहारी बन्न आइपुगिन् । जन्मभूमि र कर्मभूमिका कलालाई फ्युजन गरेर उनले मिथिला चित्रमा नौलो शैली प्रस्तुत गरिन् ।

उनका लागि मिथिला कला कुनै नौलो विषय होइन । जन्मेदेखि हरेक चाडपर्वमा देख्दै र गर्दै आएको मिथिला कलालाई उनले व्यावसायिक रूपमा अघि बढाउन थालिन् । उनले दुवै घरका कलालाई मिसाएर सुन्दर कला जन्माएकी छन् । अरूपण ग्यालरीमा प्रदर्शन भइरहेको उनको चित्र हेरे पूर्ण रामायण बुझिन्छ ।

हिन्दु संस्कारमा कुनै पनि शुभकार्य गर्दा पहिला भगवान् गणेशलाई पूजा गरिन्छ । त्यही संस्कारमा जन्मे हुर्केकी पुनमले ग्यालरीको ढोकैनिर पहिलो चित्र गणेशकै टाँगेकी छन् । श्री गणेशाय नमःपछि पुष्पवाटिकामा पहिलोपटक भेटिएका राम र सीताको चित्र छ ।

सीताले गौरी मातासँग वरका लागि प्रार्थना गरिरहेको चित्र छ । चौथो नम्बरमा धनु बोकेका राम र हातमा वरमाला बोकेकी सीताको स्वयंवरको समयलाई प्रस्तुत गरिएको चित्र छ । चित्र हेर्दा सजावटमा भव्य स्वयंवर भइरहेको महसुस हुन्छ । एउटै चित्रमा बाजा बजाउने, खाना बनाउने, नाचगान, अन्य व्यवस्थापन सबै ‘ड्रइङ’ समेटिएको छ । स्वयंवरको पूरा प्याकेज नै यस चित्रमा देखिन्छ ।

डोली चढेर अन्मिँदै गरेकी सीता र रावणको अपहरणमा परेर रामको प्रतीक्षा गरिरहेकी सीतासम्म पुग्दा उनको जीवनका अनेक कालखण्ड चित्रले बोलेका छन् । वनवास यात्रा, सवरीले बयर टिपेर स्वागत गरेको, बाली वध, लंकाको पुल निर्माणदेखि हनुमानले सीतालाई रामको सन्देश पुर्‍याउँदासम्मको रामायण कथा चित्रमा छन् ।

पुनमको चित्रको आकर्षक पक्ष रङ संयोजन पनि हो । प्रयोग गरिएका रातो, पहेँलो, नीलो, हरियो, उज्यालो रङले आँखालाई असन्तुष्टि दिएको छैन । पुनमको यो चौथो एकल चित्रकला प्रदर्शनी हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.