मोहनी छोडेर गए थापा
काठमाडौः ‘मोहनी लगायौ कि मन्तर गरेर, कपाल कोरेर, अन्त माया नलाऊ साली मलाई छोडेर’ बोलको गीत नसुन्ने संगीतपारखी कमै होलान् । दाङका थारूको भाखामा गाइएको यो गीत एक समय निकै चलेको थियो । गायक तथा संगीतकार मधुबाबु थापा चिनाउनेमध्येको यो गीत पहिलो पंक्तिमा थियो ।
४० वर्षदेखिको संगीत साधनाबाट बिराम लिँदै थापाले बिहीबार सधैंका लागि संसार छोडेका छन् । रेडियो नेपालको संगीत महाशाखामा कार्यरत थापा बिहान कार्यालयमा हाजिर गरेर खाना खान अनामनगरस्थित छोरी नीलम पौडेलको घर पुगेका थिए ।
नुहाउनको लागि स्नान कक्षमा पुगेका उनी धेरै समयसम्म बाहिर नआएपछि छोरीले अरू मान्छे बोलाएर ढोका फोड्न लगाइन् । बेहोस अवस्थामा भेटिएका थापालाई काठमाडौं मोडेल अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । छोरी नीलमका अनुसार ६३ वर्षीय थापाको हृदयाघातका कारण निधन भएको हो ।
४० वर्षदेखि सांगीतिक यात्रामा सँगै हिँडेकी गायिका चन्द्रकला शाह अस्पताल पुगेर शब्दविहीन बनिन् । केही समयदेखि मुटुको समस्या भोगिरहेका थापाले बुधबार बेलुकामात्र शाहसँग भनेका थिए, ‘दिज्यू भोलि पतञ्जली जानुपर्छ है ।’ गला अड्किएको आवाजमा उनले भनिन्, ‘जन्मले नभए पनि कर्मले जुराएको मेरो भाइ हो, आज बोल्ने वाक्य नै छैन ।’
आँखामा राख्दा पनि नबिझाउने भाइले ‘दिज्यू’ भनेर बोलाएको मात्र सम्झिरहेकी थिइन् उनी । दिदीभाइको यो जोडीले ‘रुकुमकी सोल्टिना’, ‘गाई र भैंसी’, ‘यो डालीमा कोइली र मैना’ लगायत थुप्र्रै चर्चित गीत गाएका छन् ।
तीन छोरा र एक छोरीका बाबु थापा भक्तपुरमा छोराहरूसँगै बस्दै आएका थिए । दाङमा जन्मिएका थापाको २०३९ सालमा रेडियो नेपालमा पहिलो गीत ‘भैगो हजुर माया जाल नबुनौं’ रेकर्ड गराएका थिए । तीन दर्जनभन्दा बढी गीतिएल्बम निकालेका थापा संगीत प्रभाकरको उपाधिले सम्मानित थिए ।