रेडियो बोकेर मनाङ

रेडियो बोकेर मनाङ

समय अलिकअघिको हो । नभुलेपछि सम्झना पुरानो नहुँदो रहेछ । आफूमा त ती अभिलेखीय थिए नै । तर बाँडु भन्दाभन्दै जीवनको रोजीरोटी सेक्ने तावाकै मेसोमा अल्झिइएछ । बग्दो पानीको लहरमा कतै अल्झिएको पात जस्तै । समय बगिरह्यो पानी बनेर । यतिबेला फुर्सदको सानो छेस्कोले पात धकेलिदिएको छ ।

मानिससँग सिनेमा हेराइको आ-आफ्नै अनुभव हुन्छ । पहिलो सिनेमा, मनपर्दो सिनेमा, धेरैपटक हेरिएको सिनेमा, हेर्दाहेर्दै निदाएको सिनेमा, पहिला राम्रो नबुझेर फेरि हेर्दा बुझिएको सिनेमा, अनेक-अनेक यस्तै । सिनेमाका यस्तै अनेकानेक किस्साहरू मसँग पनि छन् । सिनेमा हेर्दाहेर्दै रोएका पलहरू, मस्तिष्कले अर्को सिनेमा खडा गरेका अनुभवहरू, थुप्रै अर्थोक पनि ।

मैले मेरो जीवनमा धेरै हेरेका सिनेमा भारतीय सिनेमा हुन् । कारण विविध छन् । बाल्यकालमा र त्यसभन्दा पछि पनि विशेषतः भारत पाकिस्तानका विषयवस्तुमाथि बनेका सिनेमाले मलाई हिमाल र हिमाली गाउँको मोह जगाए । ग्रामीण परिवेशको जनजीवीका, मैलो र नमिलाइएको लुगा लगाएर भेडा धपाउँदै गरेका बालपात्रहरूलाई कतिपटक आफूसमेत ठानेर चितवन राष्ट्रिय निकुञ्जमा भैंसी धपाइरहेको हुन्थेँ म । मेरो गाउँबाट देखिने माछापुच्छ्रेसहितको अन्नपूर्ण हिमशृंखला हेरेर हिमालको अनेकानेक परिकल्पना गथ्र्यो मेरो मस्तिष्क । नेपाली सिनेमा हेर्दा मेरा आँखा कहीँ कतै ती हिमाल र हिमाली परिवेशको कथा खोजिरहेका हुन्थे । ती अक्सर पृष्ठभूमिमा मात्र देखिन्थे आक्कलझुक्कल मेरो गाउँबाट देखिएजस्तै ।

मनमा लाग्ने एउटा कुरा, लागेको कुरा मनमनै हुर्कने र ठूलो हुँदै जाने अर्को कुरा । चितवनको माडीजस्तो ग्रामीण परिवेशबाट हुर्कंदै गरेका म र मेरा कुराहरू घुमेर पो कहाँ फर्किन्थे र ! घुम्नु भन्नु पनि स्कुलको शैक्षिक भ्रमणले तय गरेको सिमानाकै पेरिफेरिमा गुजुल्टिन्थ्यो । त्यो पनि प्रायः को-को शिक्षक घुमाउन निस्कन्छन् र उनीहरू धेरैपटक कहाँ पुगेका छैनन् भन्नेसँग धेरथोर सम्बन्धित हुन्थ्यो । कहाँ जाँदा विद्यार्थीले कति रकम उठाउने भन्ने सवालको त कुरै नगरौं । स्कुलबाट घुम्न निस्कने रहरको तगारोमा यही बाध्यताको लौरो धेरैलाई चल्थ्यो । सायद अझै चल्छ ।

आजकल लाग्छ नघुम्नु भनेको जम्नु हो । पोखरी हुनु हो । तर, फेरि उही रोजीरोटीको तावा बाधक बन्छ । कहिलेकाहीँ उही फुर्सदको सानो छेस्कोले धकेल्छ र जीवनको असली प्रवाहमा बुडुल्की मार्न पाइन्छ । सिनेमापछि मलाई हिमालको काउकुती लगाउने विश्व सुवेदी हुन् । हामी एकताका सँगै काम गथ्र्यौ । अहिले सँगै छौं जस्तो लाग्छ ।

उनी हिमाली यात्राका अनेक किस्सा सुनाउँथे । योबीचमा हामीले मुस्ताङमा गजल साँझ आयोजना गर्ने योजना बनायौं । उनी र मेरा परिवारसहित हप्तादिन घुम्ने योजना पनि बनेकै थियो । आठ दसजनाको टोली जाने र एकैपटक केही म्युजिक भिडियोहरू उतै सुटिङ गरेर फर्कने योजना पनि बनायौं । तर, योजनामात्र बनायौं । अर्थोक केही गरेनौं । समय बगिरह्यो पानी बनेर । हामी पात बनेर अल्झिइरह्यौ । अनेक थोकमा ।

एक दिन अकस्मात उनले मनाङ जाने योजना सुनाए । त्यो पनि कामका लागि । 'मनाङमा नयाँ रेडियो खुल्दैछ । प्राविधिक कामको जिम्मा मेरो हो । भाइले दुई तीनवटा क्लास लिनुपर्ला ! अलिअलि घुम्ने गरी हप्ता दिनको समय निकाल्नु ।'

समय त के निकाल्नु थियो र ! गर्दै गरेका काम थन्क्याउनु, घरकालाई फकाउनु र निस्कनु बाहेकको अर्को उपाय मसँग थिएन र छैन भन्दा पनि हुन्छ । मैले यसै गरेँ । हामी मनाङ जाने भयौं । हिमाल हेर्न, हिमाली परिवेशलाई बुझ्न ।

हामी छिटो गरेर ढिलो निस्क्यौं । ढिलै निस्किए पनि बेसीसहर पुग्दा नेपाल खाल्डोदेखि आइपुग्नुपर्र्ने सामान र अन्य दुई मानिस आइपुगेकै रहेनछन् । अन्य दुईमा रेडियोका टावर टेक्निसियन र रेडियो सञ्चालकमध्येका एक हुन् भन्ने जानकारी थियो । पटक-पटक फोन सम्पर्क भइरह्यो । पछि थाहा लाग्यो । रेडियोको सम्पूर्ण प्राविधिक सामान समेत हामीसँगै जाँदै रहेछ । सामान नपुग्दै हामी निस्किएकोमा थकथकी लाग्यो । यसर्थ मैले छिटो गरेर ढिलो निस्क्यौ भने ।

करिब ८ बजेको हुँदो हो । रेडियो सञ्चालक समितिका सचिव सुरेश थापा र टावर टेक्निसियन राजमान महर्जन आइपुग्दा । थप जानकारी सामानको थन्कोमन्को लाइवरी चलेको गफगाफले दियो । सुरेश चामेको एक माविका सहायक प्रअ पनि रहेछन् । बिदा मनाउन आफ्नो गाउँ झरेर फर्केका सोही विद्यालयका दुई शिक्षक दीपक सेढार्इं र दिलीपकुमार यादव पनि भोलिपल्ट रेडियो सामग्री बोकेर सँगै उक्लने टुंगो लाग्यो । चितवनको माडी घर भएका एकजना प्रहरी भाइको पनि मनाङमा सरुवा भएछ । गुन्टा कसेर तयार उनी पनि सँगै जानेमा थपिए ।

मिनीबसमा भन्दा धेरै यात्रु एउटा जिपमा अटाए । आसन टेकाउन मिल्ने सबै भाग सिट बन्यो । रेडियोका लागि नेपाल खाल्डोबाट आइपुगेका अत्यावश्यक सामग्री पनि त्यसमै खाँदिए । मनाङे चौताराबाट जिप छुट्यो । जिप गुडेपछि बेसीसहर छुट्यो ।

मस्र्याङ्दीको तीरैतीर जिप गुड्यो । विकासको कालोपत्रे छुटेपछिको धुलोले आफैं आएको बाटोसमेत नदेखिने बनाउन थाल्यो । धुलोमै रुमल्लिएर पछाडि फर्किएँ । मनाङ जाने यही बाटोका कारण स्थानीय ट्रेकिङ रुट बिग्रिएको, पर्यटक सोझै मनाङ उक्लन थालेपछि लमजुङमा पर्यटकको बास छोट्टिएको आदि कारणले वैकल्पिक पदमार्ग चिनाउन र त्यसको प्रचारप्रसार गर्न नेपाल टुरिजम बोर्ड र स्थानीय लमजुङे व्यवसायीले केही वर्षअघि आयोजना गरेको सातदिने लमजुङ भ्रमणलाई सम्झे । गजलकार सुमन लम्साल र पत्रकार महेशकुमार खातीलाई सम्झेँ । भुजुङ, काउलेपानी, घलेगाउँ र अरू लमजुङे होमस्टे गाउँहरूलाई मनमनै नमन गरेँ । रोधी सम्झेँ । रोधीको रमाइलो र रमाइलोमा उक्साउने बिजुलीपानी सम्झेँ ।

आँगनमा मस्र्याङ्दी बगाएर पिँढीमा भात खुवाउँछ स्याँङे । हामीलाई पनि खुवायो । मैले पहिले भेटेको भन्दा अलिक तन्नेरी भइसकेछ त्यो पनि । उँभो लाग्ने र बेसीसहर झर्ने दुवैतर्फका जिप बाटैमा थिए । गाडी स्टाफ, भरिया, विदेशी पर्यटकहरू, आन्तरिक पर्यटक सबैसबैको भान्छाघर हो त्यो । गाउँ नै हो तर बिहानै ब्रेकफास्ट बनाउने बानी परेको छ उसलाई । लोकल कुखुरा उसको भान्छामा मुस्किलले पाक्छ । अचेल जताततै ब्रोइलर नै चल्छ । हामीलाई पनि चल्यो । अकबरे खुर्सानीमा गाउँ बसायो ।

स्याङेमा मान्छेहरूको अहम् तुच्छ लाग्यो । मानिसहरूको भोल्युम सानो लाग्यो । सायद त्यो मस्र्याङ्दीको आदेश थियो । आँगनबाटै बगिरहेको मस्र्याङ्दी अहम्का अघिल्तिर सबैसबै लघु लागे मस्याङ्दी अहम् सम्झँदा छिमेकी पुस्तुनका राष्ट्रकवि सम्झेँ । स्वरसम्राट् नारायण गोपाललाई सम्झेँ । 'मस्र्याङ्दी नदी नरमाइलो सुसाइ रहेको.....।' अनायास यो गीत गुन्गुनाएछु । मेरोभन्दा अलिक मोटो र धोद्रो स्वरमा विश्व सुवेदी पनि मिसिए । फेरि थपियो '....कहाँ हो कहाँ बादलभित्र म रोइरहेको ।'

स्याङेबाट अर्को जिपमा हामी खाँदियौं । खाना खाएकाले होला बसाइ अलिक अप्ठ्यारो लाग्यो । घाम चर्किंदै थियो । हामीलाई करिब दुई मिनेट उकालेपछि जिप रोकियो । बाटोमा पहिरो झरेछ । पहिरो पनि के भन्नु ! मात्र एउटा ढुंगा झरेछ । ढुंगा अघिल्तिर जिप सानो देखियो । हिँड्नुको विकल्प रहेन । रेडियो सामग्रीका लागि भरिया खोजियो । भरियाले मात्र सामान पार लगाउने अवस्था रहेन । हामी सबैका भागमा केही न केही पर्‌यो । मैले दुईवटा डाइपोल बोकेँ ।

आ-आफ्ना झोलासहित केही न केही बोकेका हामीहरू स-साना भारीका भरिया देखियौं । भर्खर खाएको खाना, चर्कंदो घाम र गग्रेटो बाटोले हामीलाई थकायो । थकाइकै बीचमा फेरि पनि हिँडिरह्यौं । खिर्राको बोटमा लुगा लगाइएको एउटा रेडियो झुन्ड्याएर गिट्टी कुटिरहेका मजदुरहरूले ध्यान खिचे । एक दशक वरपरको रेडियोकर्मी भएकाले पनि हुन सक्छ । रेडियोप्रेमी श्र्रोताहरू फेला पर्दा असीम आनन्द आउँछ ।

सामान्य भलाकुसारी गरी हामी फेरि बाटो लाग्यौं । हामीले लागेको बाटो श्रीचौरको पहरोमा पुगेर ठोक्कियो । ओसिलो पहरोबाट पानी चुहिँदै थियो । पहरामा भीरमौरीको पौरखका अवशेषहरू बाँकी थिए । श्रीचौरको पहरोबाट हामीले जिप चढ्यौ । चढ्यौं मात्र बस्न पाएनौं । दाहिने बगेको मस्र्याङ्दी तल-तल र बाटो माथि-माथि हुँदै थियो । उचाइसँग डराउने मेरा लागि यात्रा क्रमशः डरलाग्दो हुँदै गयो ।

मस्र्याङ्दी भेट्न आतुर कैयन खहरेहरू, पहाडी सौन्दर्यको गहना बनेका सुन्दर झरनाहरू, अग्लाभन्दा अग्ला पहाडहरू एकपछि अर्को गर्दै छाडिँदै गए । जिप गुडिरहेकै थियो । खै ! किन, मलाई लमजुङ अत्यन्तै लामो लागिरहेको थियो । पहाडैपहाडको लामो दूरी तय गरेपछि एकाध स-साना बजार भेटिन्थे । लमजुङको अन्तिम बजार च्याम्चे, यही क्रममा भेटियो । हामीले च्याम्चे त पार गर्‌यौं तर जिपबाटै लमजुङ पार गर्न पाएनौं । च्याम्चे बजार कटेको केही क्षणमै भेटिएको सुन्दर झरना छेउ भर्खर ढलान भएकोले जिप गुढाउन मिलेन । हामी पूर्ववत् अवस्थामै आयौं र फेरि पनि स-साना भरिया नै भयौं ।

करिब दुई मिनेटपश्चात् हामीलाई पर्खिरहेको जिप चढ्यौ । जिपले पनि लमजुङ छाड्न मानेन । लमजुङ र मनाङ जोड्ने खोलामा बनेको पुल राम्ररी तयार नभइसकेको रहेछ । बाटैमा पुलका ठेकेदार भेटिए । रेडियो सामग्री भएकाले मानिसहरू झरेर जिपमात्र पार गर्ने अनुमति पाइयो । हामीले हिँडेर लमजुङ छाड्यौ र मनाङ मेरा पैतालाले नै महसुस गरे ।

पुल कटेर यस्सो अगाडिमात्र पुगेका थियौ, बाटोमा झरेको पहिरोले गाडी अगाडि बढन नसक्ने भयो । मनाङ प्रवेश नै झुर भयो । यसपटक निकै लामो हिँडाइमा परियो । सायद त्यो यात्राको सबैभन्दा डरलाग्दो बाटो त्यही थियो । म्यादी भिरको कम्मरै कम्मर हिँडेका हामीले न त उसको टाउको राम्ररी देख्यौ न खुट्टा । यही भीर फोरेर बाटो निर्माण गर्नेक्रममा नेपाली सेनाका चारजनाले ज्यान गुमाएका रहेछन् । अगाडि सुन्दर तालगाउँ देखियो ।

बाटो ढलान गर्ने केही मजदुरबाहेक अरू प्रायः कमै भेटिए । तालगाउँ नजिकै ढलान गरिरहेका मजदुरको खाजा खाने बेला भएको रहेछ । खाजा हामीलाई पनि भाग लाग्यो । चिउरा तरकारी खाएर हामी फेरि अगाडि बढ्यांै ।
आफ्नो प्रवाहमा मस्र्याङ्दीले अलिक वि श्राम लिएको ठाउँ रहेछ ताल गाउँ । कुनै दिन अलिक फराकिलो बग्न मन लागेर बनेको स-सानो फाँटमा लहरै मिलेका बस्ती, चारैतिर ठूलो पहाड, घुर्मैलो साँझमा साँच्चै मनमोहक लाग्यो त्यो गाउँ । हामीले त्यहीँबाट चामेसम्मको अर्को एउटा जिप समात्यौं ।

जिप कहिले डरलाग्दो झरनामुनिबाट अघि बढ्यो । कहिले उस्तै डरलाग्दो भँगालो पार गरेर हिँडिरह्यो । जिपमा हामीले गीत गायौं । जीवन भोगाइका अनेकानेक प्रसंगहरू सुन्यौं । अब फेरि सायद कहिल्यै नभेटिने व्यक्तिहरूलाई सुन्यौ, सुनायौं । हामीलाई तिमाङमा चियाको लागि अनुरोध हुँदा रात पर्न आँटिसकेको थियो । धेरैले तातो र हामी केहीले चिसो चियाको स्वागत पायौं । तल कतै मस्र्याङ्दी अझै सुसाइरहेको थियो ।

चामेमा हामीलाई भनिएको होटेल बुक भइसकेछ । हामी सँगैको अर्को होटेलमा बुक भयौं । अहिलेसम्म थुप्रै गाडी बदलेर पनि हामीसँगै रहेकाहरू हामीसँग नहुने भए । बाँकी केही दिनको घरका रूपमा हामीलाई होटेलको कोठा प्राप्त भयो ।

पूर्वतर्फ बडेमानको पहाड, पहाडको फेदीमा उही मस्र्याङ्दी, अन्यत्र पनि पूरै पहाडले घेरिएको स-सानो उपत्यकाजस्तो चामे बजार । आँखाले टाढा हेर्नु भनेको उही पहाडका टुप्पा र मस्र्याङ्दीको आफ्नै राजमार्गले बनेका खोचसम्म मात्रै रहेछ । बिहान रेडियोका उपकरण बोकेर हामी रेडियो राखिने भनिएको घरमा पुग्यौ । काठेघरको माथिल्लो तला, सानो एउटा खाटमा मिक्सचर राखेर नेगम भाइ (नेगम परियार) ले गीत बजाइरहेका रहेछन् ।

देशका बाँकी ७४ जिल्लाले यसअघि नै रेडियो बजाइसकेका थिए । मनाङमा हामीले बजाउने जिम्मा पाएको रेडियोले देशका ७५ वटै जिल्लामा रेडियो स्टेसन हुनुको पूर्णता पाउँथ्यो । विश्व सुवेदीले घरको लोकेसन हेरिसकेपश्चात् उक्त स्थान प्राविधिक हिसाबले उपयुक्त नहुने ठम्याए । रेडियो सञ्चालक समितिका पशुपति अधिकारीले अन्य विकल्प नभएको जनाएपछि टावरका लागि अग्लो एउटा रूख काट्न पठाउने कुरा भयो ।

टावर नठडिई हाम्रो कार्यारम्भ हुने कुरा थिएन् । रूख काट्न गएकाले लम्बाइ पुग्ने तर मोटाइ अलिक बढी भएको एउटा सल्लो ढलाएछन् । बोक्नका लागि नजिकैको जिल्ला प्रहरी कार्यालयमा अनुरोध भयो । जिप्रका मनाङबाट आएका प्रहरी साथीहरू बुटो बोक्न असमर्थ रहे । भोलि आर्मी बोलाउने भनियो । बाटोको दुई दिन छाडेर अर्को एकदिन त्यसै बित्यो ।

नेपाली सेना र नेपाल प्रहरीका साथीहरूले हैंसे र होस्टे गर्दै टावर बनाउने भनिएको सल्लो त ल्याए । तर ठड्याउन त्यो जनशक्ति पनि पर्याप्त भएन । चामेमा जनशक्तिको स्रोत नै यही रहेछ । अन्य सबै आ-आफ्नै व्यवसायमा व्यस्त । घर भन्नु नै कुनै न कुनै व्यवसाय वा सरकारी एवं अन्य प्रयोजनका कार्यालयहरू । धेरै त होटेल व्यवसाय नै देखिए । हुन त मलाई लागेको मात्र हुन सक्छ र पनि थोरै स्वार्थी र असामाजिक लाग्यो चामे । अन्यत्र जिल्लामै पहिलो रेडियो खुल्दै गर्दा र त्यसरी कार्य भइरहँदा मानिसको पक्कै भीडभाड हुन्थ्यो । त्यहाँ त्यस्तो केही भएन । खासमा मानिसहरूमा कुनै चासो नै देखिएन ।

जत्ति गर्दा पनि हामीले टावर ठड्याउन सकेनौं । नेपाली सेना र नेपाल प्रहरीका साथीहरूको पनि केही जोर चलेन । खासमा हामीलाई कम्तीमा पनि ४२ फिट उचाइ आवश्यक थियो । उचाइ सुहाउँदो मोटाइका बुटा पाइएनन् । पाइएका उठाउन सकिएनन् । अन्ततः हामीले रेडियो राख्ने भनिएको घरकै बार्दलीमा एउटा मात्र डाइपोल बाध्यौं र देशको पचहत्तरै जिल्लामा रेडियोको प्रसारण सुरु गर्‌यौं । चामेबाट मनाङको पहिलो र जिल्लागत हिसाबले देशको अन्तिम पचहत्तरौं जिल्लाको रेडियो बज्यो ।

रेडियोको प्राविधिक कठिनका विषयमा रेडियोका अध्यक्ष विनोद गुरुङसँग छलफल गर्‌यौं र त्योभन्दा उपयुक्त स्थानसमेत खोज्ने गरेर हामी उनैसँग माथिल्लो मनाङको यात्रामा निस्कियौं । चामे पुग्न जति कष्टकर थियो त्योभन्दा सहज र सरल रहेछ त्यताको यात्रा । विनोदजीको होटेल यतीमा न्यानो आतिथ्यता प्राप्त भयो ।

 हिमाल र हिमाली परिवेशको अनेकानेक परिकल्पना गर्ने मलाई राम्ररी हिमालसमेत नदेखाई दुःख दिएर मनाङले फर्कायो । तर मनाङ, हिमाल र हिमाली परिवेश बुझ्ने मेरो धीत अझै मरेको छैन ।

मनाङमा हामीले यात्राबाहेक हेर्ने नै भनेर गंगापूर्ण ताल हेर्न भ्यायौं । अर्थोक आउँदा जाँदा र बस्दा जे देखियो त्यत्तिमै सीमित रह्यो । तिलिचो जाने इच्छा समयले मारिसकेको थियो । हामी पहिल्यै ढिला भइसकेका थियौं । बिदा हुनुपर्नेहरू सँग बिदा माग्यौं र हामी त्यहाँबाट फक्र्यौ ।

फर्कंदा जिपका चालकले चटक गरे । चालक सिटसँगै अघिल्तिरमात्र दुई महिलासहित पाँच जना बसिरहेका थिए । हामी पछाडी त्यस्तै कोचाकोचमा थियौं । उनी घरी ती महिलाहरूसँग हात हालेर जिस्किन्थे घरी सँगैको उनको परिचित अर्को एक पुरुषसँग । त्यो डरलाग्दो बाटोमा मात्र एउटा हातले जिपको स्टेयरिङ कन्ट्रोल गर्दै उनी बाटोतर्फ कम र सँगैकी महिलातर्फ ज्यादा ध्यान दिइरहेका थिए । हाम्रा लागि त्यो यात्रा यसै पनि डरलाग्दो थियो ।

हामी झन् डरायौं । उनको त्यो क्रम रोकिनुको सट्टा झन् बढ्न थालेपछि विश्व सुवेदीले उनलाई त्यसो नगर्न भने । त्यसपछि त उनले झन् चटक गरे । लगाइरहेको गेडेमाला झिकेर एउटा हातले माला गन्न र अर्को हातले स्टेयरिङ समात्न थाले । अब त झन् चल्न र जिस्किनका लागि उनको त्यो एउटा हात मात्र फुर्सदमा रह्यो । यो सबै देखेपछि एक्कासि विश्व जंगिए । हामीले गाडी रोक्यौं र सुनसानमा झरेर आ-आफ्ना झोलासहित बाँकी यात्रा हिँडेरै गर्ने ठान्यौं । पछि थाहा लाग्यो हामी झरेको ठाउँ दानाक्युभन्दा अझै उता रहेछ ।

हामीलाई हिँडेर तालगाउँसम्म फर्कन नै करिब दुई घन्टा लाग्यो । ताल गाउँ पुग्दा नै रात पर्न लागिसकेको थियो र पनि हामीले हिँड्ने निधो गर्‌यौं । राजमानको भारी अलिक गह्रौ थियो तर उसको शरीर पनि भीमकाय नै भएकाले हामीले सामान्य लियौं । सिमसिम पानी पर्न थाल्यो । तल कता हो कता मस्र्याङ्दी सुसाइरहेको थियो । माथि कता हो कता पहिरो झरेझै लाग्न थाल्यो । अध्याँरो बढ्दै गयो । पानी पर्ने क्रम झन् थपियो । हामी हिँडिरह्यौ ।


नेपाली सेना र नेपाल प्रहरीका साथीहरूले हैंसे र होस्टे गर्दै टावर बनाउने भनिएको सल्लो त ल्याए । तर ठड्याउन त्यो जनशक्ति पनि पर्याप्त भएन । चामेमा जनशक्तिको स्रोत नै यही रहेछ ।

तर न घर भेटिए । न मानिस । बास बस्न मनाङ कटेर च्याम्चे पुग्नुको विकल्प रहेन । मनमा डर लाग्न थाल्यो । हामी पुग्दा भोको पेटले खान त पाउँछ ? पानीले रुझेको र थकाइले लखतरान परेको शरीरले बास त पाउँछ ? मनमनै यस्ता सोचाइहरू आउन थाले र पनि हामी हिँडिरह्यौं ।

च्याम्चे आइपुग्दा पसलहरूको बन्द हुने क्रम सुरु हुँदै रहेछ । पाकिरहेको खाना भेटेनौं । पकाइदिन तयार भएकाले कुर्‌यौं । चिसा लुगा फेर्‌यौं । तातो हुने कुरा पियौं र पिउँदापिउँदै आएको खानापछि सानो टिनको टहरोभित्र पस्यौं ।

भोलिपल्ट झिसमिसेमै उठ्यौ । पानी अझै परिरहेको थियो । पानीकै कारण जिप नचल्ने थाहा लागेपछि अघिल्लो दिन गोडामा लागेका कैँडा फुस्कने पक्का भो । एकएकवटा लौरा समात्यौं । पानीकागज किन्यौं । हात छिर्ने दुईवटा प्वाल पार्‌यौं । आफूलाई र झोलालाई एकैपटक ओढाएर बाटो लाग्यौं । बाटोमा मेरो जुत्ता उक्कियो ।

लहरा खोजेर बाँध्यौ तर भएन । अलिक तल फेला परेको पसलमा बिहानी खाजा खायौं । मैले त्यहीँ एकजोर पान्डा किनेँ र उक्किएको जुत्तालाई झोलामा बाधें । हामी हिँड्दै बिसाउँदै मध्याह्नमा स्याङे आइपुग्यौं । स्याङेले फेरि पनि हामीलाई खाना खुवायो । जिपले बाँकी यात्रा अलिक सहज बनायो । बेसीसहरमा राजमानलाई काठमाडौंको बस चढाएर हामीले पोखराको माइक्रो चढ्यौं ।

हिमाल र हिमाली परिवेशको अनेकानेक परिकल्पना गर्ने मलाई राम्ररी हिमालसमेत नदेखाइ दुःख दिएर मनाङले फर्कायो । तर मनाङ, हिमाल र हिमाली परिवेश बुझ्ने मेरो धीत अझै मरेको छैन । हाम्रो भेट फेरि हुन सक्छ । यदि भएनछ भने पनि तिम्रा साथीसंगी कुनै हिमाली गाउँलाई अवश्य भेट्नेछु । त्यत्ति बेला तिम्रो पनि सम्झना सुनाइदिउँला ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.