लिँडेमुसाको जैविक यात्रा

लिँडेमुसाको जैविक यात्रा

संसारमा विभिन्न जीवका कति प्रजातिहरू लोप भए र कति जीवित छन् भन्ने चर्चा र बहस जीव विज्ञानमा प्रायः हुने गर्दछ । यसका साथसाथै नयाँनयाँ प्रजातिहरूको रहस्य उद्घाटन पनि हुँदै आएको छ । परम्परागत रूपमा जनावरहरूको रङ, शरीरको बनावट, हाड, खप्पर र बासस्थान आदि हेरेर छुट्टाएका एउटै प्रजातिभित्र पर्ने जीवहरू हालै गरिएका आनुवंशिक अनुसन्धानबाट नयाँ प्रजातिका रूपमा दर्ता भएका छन् । साथै धेरै अघिदेखि छुट्टाछुट्टै प्रजातिको रूपमा चिनिएका जीवहरू पनि थप अनुसन्धानबाट एकै प्रजातिका सदस्य भएको प्रमाणित भएका छन् । यो नियतिबाट हिमाली क्षेत्र पनि अधुरो छैन । हिमाली क्षेत्रको विकटता र कठोर पद्धतिमा मानव इतिहासको निम्ति पहिला पटक जानकारीमा आएका केही जीवहरू हालैका दशकमा देखिएको छ ।

विगत दस वर्षमा हिमालय र यसको दक्षिणी र उत्तरी क्षेत्रमा कति जीवहरू लोप भए त्यो अज्ञात छ तर धेरै अनुसन्धानले ११ दशमलव आठ प्रतिशत नयाँ साना स्तनधारी जनावरहरूको प्रजाति विज्ञानको जानकारीमा आएको देखाएको छ । म सम्मिलित अनुसन्धानकर्ताहरूको समूहले तिनै साना स्तनधारी जीवहरूमध्ये लिँडेमुसा अर्थात् 'पाइका'का प्रजातिहरूबारे अनुसन्धान गरेको थियो । त्यही अनुसन्धानमा आधारित रहेर यो लेख तयार पारिएको छ ।

हिमाली जीवनको जरो

लिँडेमुसा उत्तरी गोर्लाद्धमा युरेसिया, नेपालको हिमालय, तिब्बती पठार, क्यानडा र संयुक्त राज्य अमेरिकाको उत्तर पश्चिम भागमा मात्र पाइन्छ । चिसो उचाइ र हिमाली (अल्पाइन) क्षेत्रमा पाइने संसारका सबै लिँडेमुसाका प्रजाति समान प्रकृतिका देखिन्छन् । बाहिरबाट हेर्दा भाले र पोथी छुट्टाउन नसकिने, हिउँदको निम्ति वर्षा ऋतुमा आफ्नो दुलोमा खाना (घाँसपात) सञ्चय गर्ने, ठूलाठूला ढुंगाहरूमा तपश्वीजस्तै हलचल नै नगरी बस्ने, एक सय ८० देखि दुई सय ग्रामसम्म तौल हुनु पाइकाकाको साधारण चरित्र हो ।

ससाना पंक्षीहरूको आश्रयस्थल र मासांहारी जीवहरूको आहारा बनेर यसले हिमाली पारिस्थितिक प्रणालीको जैविक र खाद्यचक्र महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

विगत १० वर्षको दौरानमा लिँडेमुसाको प्रजाति संख्या ३० बाट २८ हुँदै अहिले ३८ पुगेको छ । हालैका दुई वर्षमा मात्र चीन र रूसमा भएका फरकफरक अनुसन्धानले १० नयाँ प्रजाति विज्ञानको तथ्यांकमा थपिएका छन् । यीमध्ये नयाँ घोषणा भएका सात प्रजातिहरू हिमालयको उत्तरी भेगमा बसोबास गर्दछन् । यसबीचमा हिमालयको उत्तर अर्थात् चीनको दक्षिण पश्चिम क्षेत्रमा जैविक विविधताबारे अनुसन्धान गर्ने गतिविधिले तीव्रता लिएको छ ।

अनुसन्धानको कठिनाइ

अनकन्टार मान्छे नबस्ने क्षेत्र र उचाइमा अनुसन्धान गर्न कठिन भएकाले विगतमा यी जीवहरू विज्ञानको नजरमा पर्न सकेका थिएनन् । हिमालको उत्पत्तिसँगै उत्तरमा जस्तै दक्षिणमा (नेपालतिर) पनि जैविक विविधताको त्यस्तै भण्डार थपिएको होला तर हाम्रोमा व्यवस्थित अनुसन्धानको अभाव २१ औं शताब्दीको दोस्रो दशकमा भने कायम नै छ । ऐन, नियमदेखि स्रोतसाधनको अभावमा हामी अझै पनि पुरानो र विदेशी अनुसन्धानकर्ताहरूले दिएको हाम्रो जैविक विविधता तथ्यांकमा आधारित छौं ।

अनुवांशिक अध्ययनको निम्ति स्रोत र साधनको अभावमा पनि विश्वविद्यालयका प्राध्यापक र शोधार्थीहरू रङ र बनावटको आधारमा धेरै पटक नयाँ प्रजाति फेला पारेको चर्चा गर्दछन् । नयाँ प्रजाति भएको पुष्टि गर्न त्यो नमुना संकलन गर्ने र त्यसको संरक्षण गर्ने प्राकृतिक संरक्षण संग्रहालयलाई अझ चुस्त दुरुस्त बनाउनेतर्फ चासो पाइँदैन । अर्कोतर्फ नेपालको ऐन, नियमले कुनै पनि जनावरको नमुना संकलनमा रोक लगाएको छ ।

जैविक विविधताको अध्ययन गर्न साना स्तनधारी जनावरहरूको खप्पर र छालाको तुलनात्मक अनुसन्धान आवश्यक पर्दछ जसको लागि हामी नेपालमा पाइने पाइका हेर्न मुम्बईको प्राकृतिक संग्रहालय वा जापानको हकाइडो विश्वविद्यालय वा लन्डनको प्राकृतिक संग्रहालय जानुपर्ने बाध्यता छ । यस अध्ययनको निम्ति नेपालमा पाइने लिँडेमुसाको संकलन जापानको हाकाइडो विश्वविद्यालय र अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट लिनुपर्ने भयो । यस्ता प्राविधिक जटिलता हटाउन सके नेपाली विद्यार्थीहरूकै अनुसन्धानको क्रममा नेपालका नयाँ प्रजातिहरूको उजागर हुने थियो ।

विविधताको बीउ

हिमालय क्षेत्र र त्यसको वरपर नै किन यतिका धेरै विविधता भए त ? यसको जवाफ हिमालयको जन्मकथाबाट थाहा लाग्छ ।

हिमालय बन्ने क्रम इन्डियन मेघाप्लेट र चिनियाँ (युरेसिया) प्लेट ठोक्किएपछि सुरु भयो । क्रमिक रूपमा हिमालले उचाइ लिँदै गयो । अग्ला पहाडहरू बनेसँगै उत्तरमा तिब्बत र छिहाइको विश्वको छानो पठार बन्दै गयो । हिमालयको उचाइसँगै गहिरो खोंच बने र त्यहाँ गहिरिएर नदीहरू बग्न थाले । गहिरो खोंच, गहिरिएर बग्ने नदीले हिमाल र अग्ला पहाडहरूमा जनावरहरूको आवत्जावत सीमित गरिदियो ।

एउटै समूह र प्रजातिका जीवहरू यो भौगोलिक संरचनाले हजारौं वर्षदेखि छुट्टिएर बस्न बाध्य भए । एक अर्को समूहसँग मिसिन नपाएका यी जीवहरू त्यसस्थान अनुकूल बन्ने क्रममा खाना र आन्तरिक प्रजननले वंशाणुत रूपमै भिन्न हुन थाले । साथै फरक पारिस्थितिक पद्धतिले उत्परिवर्तन (म्युटेसन) पनि भयो । कालान्तरमा यी भिन्नभिन्न प्रजातिको रूपमा विकास भए । त्यसैले विज्ञानमा यस्ता हिमाल र अग्ला पहाडहरूलाई आकाशीय टापु भनिन्छ । यी आकाशीय टापु (स्काई आइल्यान्ड) नै हिमालय क्षेत्रको विविधताका जननी हुन् ।

नेपालमा अन्य देशको तुलनामा धेरै अग्ला पहाड, हिमाल र गहिरा खोंच भएर बग्ने नदी भएकाले यहाँ जीवहरू बीच प्रशस्त विविधता हुने प्रचुर सम्भावना छ । तसर्थ नेपालका यी आकाशीय टापुहरूमा भएको जैविक विविधताको व्यवस्थित अनुसन्धानको टड्कारो आवश्यकता देखिन्छ ।

लिँडेमुसाको प्रसँग जोड्दा संसारमा रहेका ३८ प्रजाति (हालको) हिमालय र त्यसको वरपर मात्र २१ प्रजाति बसोबास गर्दछन् । तीमध्ये केही प्रजातिहरू कुनै एक वा दुई पहाडको २८ सय मिटर (समुद्र सतहबाट) उचाइदेखि ५५ सय मिटरसम्मबाहेक अन्य स्थानमा पाइँदैन ।

यात्रा लिँडेमुसाको

करिब चार सय ७० देखि पाँच सय ८० लाख वर्षअघि खरायो समूहबाट छुट्टिएर लिँडे मुसाका पुर्खा पृथ्वीमा विकास भएको अवशेषहरूको अनुसन्धानले देखाएको छ । इओसिन इपोकको मध्यतिर (करिब चार सयदेखि तीन सय ७० लाख वर्षअघि) भएको हिमयुगको अन्त्य र पृथ्वीमा भएको तापक्रम वृद्धिसँगै यी जीवहरू अफ्रिका, युरोप र एसियाका अधिकाश भूभागमा फैलिए ।

दुई सयदेखि तीन सय लाख वर्षअघि पृथ्वीमा लिँडेमुसाका पुर्खाहरू १७ जिनसमा विभाजित भएर सयौं प्रजातिका रूपमा छरिएका थिए भन्ने अध्ययनले देखाउँछ । पृथ्वीमा आजभन्दा एक सय ३० देखि दुई सय लाख वर्षको बीचमा भएको भौगोलिक परिवर्तन, युरेसियामा निर्माण भएको स्टेप्प घाँसेमैदान र तापमानमा भएको परिवर्तनले यसका पुर्खाहरू लोप हुन थाले । हाल ओक्टोना भन्ने जिनस त्यस समयमा ओक्टोनामा हुँदै बेल्लोटोनामा रूपान्तरित भयो ।

हालको ओक्टोनोआको पुर्खा बेल्लोटोना आजभन्दा एक सय ५० देखि एक सय ३० लाख वर्षको बीचमा चीनको मध्यभागमा कआएर ओक्टोनामा परिवर्तन भएको मानिन्छ । ओक्टोना अर्थात् लिँडेमुसाका हालसम्म ५१ प्रजाति लोप भइसकेको तथ्यांक छ । भूबनोटमा भएको परिवर्तन र तापमानको परिवर्तनले लोप हुनबाट बाँचेका लिँडेमुसा चीनको मध्यक्षेत्रबाट विकास र विस्तार भएर फेरि दक्षिणमा तिब्बत, हिमालय हुँदै इरानसम्म पश्चिममा युरेसियाको घाँसे मैदान र उत्तरपूर्वमा अमेरिकाको पश्चिम क्षेत्रसम्म फैलिए ।

चीनको अधिकांश क्षेत्र एवं इरानको तार तालदेखि रूसको अल्टाई पहाड र सुदूरपूर्वी रूसको खावारोभ्स्कीदेखि अमेरिकाको कोलोराडो राज्यसम्मको नमुनाहरूबाट गरिएको हाम्रो आनुवंशिक अध्ययनले लिँडेमुसा (हाल अस्तित्वमा रहेको)को विस्तार र विकास चीनको मध्यक्षेत्र छिङलिङ पहाडको आसपास र ह्वाङ हो नदीको वरपरबाट आजभन्दा करिब एक सय ३८ लाख वर्षअघि भएको प्रमाण मिलेको छ ।

हिमालयको उचाइसँगै गहिरो खोच बने र त्यहाँ गहिरिएर नदीहरू बग्न थाले । गहिरो खोंच, गहिरिएर बग्ने नदीले हिमाल र अग्ला पहाडहरूमा जनावरहरूको आवत्जावत सीमित गरिदियो । एउटै समूह र प्रजातिका जीवहरू यो भौगोलिक संरचनाले हजारौं वर्षदेखि छुट्टिएर बस्न बाध्य भए ।

यही समयमा भइरहेको इन्डियन र युरेसियन प्लेटको जुधाई बनेको हिमाली र तिब्बती क्षेत्रमा विकास भइरहेको कम तापक्रम विस्तारित लिँडेमुसालाई फैलिनका लागि अनुकूल हुँदै गयो । तापमानमा भएको परिवर्तन र भूगोलमा आएको परिवर्तनमा अनुकूल हुँदै मध्य चीनका लिँडेमुसा ५० देखि ८० लाख वर्षको बीचमा तिब्बती र छिङहाईको पठारमा ग्लोवरी पाइका हुँदै नेपालका हिमालयहरूमा पुग्दा रोयली र मार्कोटाइज पाइकामा विकसित भए । पूर्वी हिमालमा फेरेम्टी पाइका बनेकाहरू पश्चिमी हिमालमा अफगान र लद्दाक पाइका बन्दै इरानसम्म फैलिए ।

मध्यचीनबाट दक्षिणमा जति छिटै र तीव्र रूपमा फैलिँदै नयाँ प्रजाति बन्दै जाने क्रममा उत्तरी र उत्तरपूर्वी दिशामा पनि भयो । यही क्रममा लिँडेमुसाले ३० देखि ५० लाख वर्ष अगाडि उत्तरपूर्वी रुसबाट वेरिङ स्टेट्र हुँदै अलास्का पुगेको देखाउँछ । हाल अलास्का, क्यानडा र अमेरिकाको उत्तरपश्चिममा यी जीवहरूमा दुई प्रजाति र १६ भन्दा बढी उपप्रजातिमा विकास भएका छन् ।

हाम्रो अनुसन्धानले लिँडेमुसाको विकास क्रम मात्र होइन यसका तीन नयाँ प्रजाति पनि पत्ता लगाएको छ । चीनको मध्यक्षेत्रमा दुई र पूर्वी हिमालय क्षेत्रमा पर्ने युनान प्रान्तको हिमाली क्षेत्रबाट एक नयाँ प्रजाति पाइएको छ ।
त्यस्तै लिँडेमुसाका सबै प्रजातिहरूलाई दुई वर्षअघिसम्म तीन समूहमा (सब जिनस) मा विभाजन गरेर अध्ययन गरिन्थ्यो ।

गत वर्ष रुसका वैज्ञानिक आन्द्रेइ लिसोमोस्कीले युरेसिया क्षेत्रबाट चौथो समूह पत्ता लगाए । हाम्रो यो अनुसन्धानले लिँडेमुसाको पाँचौं समूह उजागर भएको छ । लिँडेमुसाको विकासक्रममा हिमालय क्षेत्रका लिँडेमुसासँगै विकास भएर यो समूह चीनका मध्य पहाडी क्षेत्र र हिङहाई प्रान्तमा फैलिएको छ ।

नेपाल यात्रा

आनुवंशिक अध्ययनले नेपालको हिमालय क्षेत्रमा ४० देखि ८० लाख वर्षअघि लिँडेमुसा आइपुगेको देखाएको छ । नेपालमा सन् १९७१ भन्दा अघि केही जापानी र भारतीय वैज्ञानिकहरूले रङ र आकारको आधारमा गरेको अध्ययनको निष्कर्षकौ रूपमा मात्र हामी पाँच प्रजाति भएको चर्चा गर्छौं । ४० देखि ८० लाख वर्षदेखि हाम्रा गहिरा खोंचहरूले घेरिएका हिमनदीहरूको व्यवधान पार गरेर अर्को पहाड वा हिमाल नचढेका लिँडेमुसा लगायत अन्य जीवहरू कति नयाँ प्रजातिमा विकास भए त्यसको आनुवंशिक र अवशेषहरूको अध्ययन जरुरी छ ।

अन्य देशहरू नयाँ-नयाँ प्रजाति भएको तथ्य प्रस्तुत गर्दै आफ्नो जैविक विविधताको भण्डार बढाउँदै लगेको अवस्थामा नेपालले आफ्नो प्राकृतिक भण्डारको अनुसन्धान खोज गर्नु र त्यसको विश्लेषण गर्नु अर्को गर्वको विषय बन्ने छ ।
विश्वमा भइरहेको तापमान वृद्धिको सूचक जीव, तिब्बती पठारमा माटोको इन्जिनियर, अमेरिका, चीन र नेपालकै हिमालमा पाइने विशालु बिरुवा सजिलै पचाउने र संकलन गरेर अन्य जीवहरूलाई दुर्घटनामा बचाउने, जैविक विविधताको कोसेढुंगा प्रजाति भनेर चिनिएको लिँडेमुसा नेपालमा सुदूरपश्चिमको अपि हिमालको खामा औषधिको रूपमा प्रयोग हुने गरेको छ भने लाङटाङमा लामा भनेर पुजिन्छ ।

पूर्वसोभियत सेनाले दोस्रो विश्वयुद्धको क्रममा सेनाको खुराकीमा समावेश गरेको खाना, हाल चीनको काउलोगोङ (युनान प्रान्त) पहाडका बासिन्दाको मीठो आहार र काजाकस्तान र मध्य एसियाका आदिवासीहरूले प्रयोग गर्ने औषधि लिँडेमुसाको नेपालमा थप अनुसन्धान आनुवंशिकमात्र नभई मानवजीवन र संस्कृतिसँग जोडेर पनि गर्नुपर्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.