स्पेनी फूलहरूसित हिमालको सेल्फी

स्पेनी फूलहरूसित हिमालको सेल्फी

कोर्डोवा,
पर, निकै पर र एक्लै
ठूलो जून, कालो टट्टु
बदामहरू मेरो काठी छेउमा
सबैजसो बाटाहरू चिने पनि
कोर्डोवा कहिल्यै पुग्न सकेको छैन म
बतासहरूबीच, हरिया उपत्यकाहरूबीचबाट
रातो जून, कालो टट्टु
मृत्युले मलाई कोर्डोवाका
ती धरहराबाट खोजिरहेको छ ।
-(लोर्का, 'सवारहरूको गीत')

भूमध्यसागरीय आकाशमुनि सिमसिमे पानीमा त्यही कोर्डोवाका घुमाउरा गल्लीहरूमा हिँडिरहेका बेला चर्चित स्पेनी कवि र मेरी अनुवादक भेरोनिका अरान्दाले लोर्काको कविता मन्द स्वरमा सुनाइन् ।

लोर्का त्यहाँ नपुगे पनि म पुगिसकेको थिएँ । ती अग्ला भवन र त्यहाँस्थित धरहराहरूमुनि हिँडिरहेका बेला लोर्काले भविष्यद्रष्टाझैं मृत्युले आफ्नो खोजी गरिरहेको कल्पना गरेका थिए । त्यहीँ मैले आफूलाई कुनै शक्तिस्थलमा प्रवेश गरेको झैं महसुस गरिरहेको थिएँ । त्यहीँ नजिकै कविहरू, संवाददाताहरू र जनसमुदायले खचाखच भरिएको एउटा पुरानो दरबारको आँगनमा विवादास्पद फ्रान्सेली कवि माइकल होउलबेले आफ्नो सौम्य कविता वाचनसहित महोत्सवको शुभारम्भ गरिदिएका थिए ।

यो त्यही स्थल थियो जहाँ शताब्दीअघि विश्वचर्चित 'स्पेनिस इन्क्विजिसन' अर्थात् इसाई धर्म प्रचारप्रसार गर्ने कोलम्बस मिसनको प्रारम्भ गरिएको थियो । त्यस मिसनको व्यापक प्रभाव आज जगजाहेर छ । यही महलका प्रख्यात बगैंचाहरूमा केही छिनअघि विश्वका विभिन्न राष्ट्रबाट आएका सहकर्मी स्रष्टाहरूसँग म रमाएको थिएँ । अना मार्कोज, अना इस्तारु, विलियम ओस्पिना, रोबर्ट हास, सेवस्तिया अल्जामोरा, अमिलिया वाउटिस्टा, निकोल ब्रोसार्ड, मा अक्जिलियाडोरा अल्भारेज, अर्नाल्डो क्याल्भेरा, अब्बास वेयुडन, इलिसा बियागिनी, फातिमा नाउट, एडोआर्डो सान्गुइनेतीसित म पनि त्यो महोत्सवको फोटो सेसनमा सम्मिलित भएको थिएँ ।

कोर्डोवा सन् २०१६ मा युरोपेली संघको सांस्कृतिक राजधानीका रूपमा स्थापित हुन प्रयत्नशील थियो । सोही महोत्सवका अवसरमा भोलिपल्ट मेरो भर्खर प्रकाशित स्पेनी कविताहरूको संग्रह 'पोयमाज डे लो हिमालय'को विमोचन कार्यक्रममा भाग लिने योजना थियो । त्यस पुस्तकका प्रकाशक 'कोस्मोपोइटीका इन्टरनेसनल जुयाँ दी मेरेना य दिब्रो'को तत्वावधानमा कार्यक्रम हुने भएको थियो । तिनीहरूले सो उपलक्ष्यमा कोर्डोवाका स्थानीय विद्यालय, कलाकेन्द्र, सरकारी कारावास र अन्य सार्वजनिक स्थलमा मेरो कविता वाचन कार्यक्रम आयोजना गरेका थिए ।

- यही सहरमा प्रसिद्ध ग्रिक दार्शनिक सेनाकाको जन्म भएको थियो र यहुदी दार्शनिक मेमोनिडले आफ्नो कालजयी कृति 'ज्योतिषशास्त्र कुनै रोग होइन, विज्ञान हो' लेखेका थिए । विश्वविख्यात चित्रकार पाब्लो पिकासो पनि यही एन्डालुसिया क्षेत्रबाट आएको कुरा बिर्सन मिल्दैन ।

केही दिन कोर्डोवामा बसेपछि त्यो स्पेनी सहरले काठमाडौंझैं महान् सांस्कृतिक इतिहास बोकेको अनुभूति भयो । त्यहाँ पनि विभिन्न धार्मिक र सांस्कृतिक परम्पराहरूको सुमधुर समन्वय भएको पाएँ मैले । इस्वीको दोस्रो शताब्दीमा रोमनहरू त्यहाँ प्रवेश गरी कोर्डोवामाथि नवौं शताब्दीसम्म शासन गरेका थिए ।

त्यसपछि इस्लामिक शासन (सन् ७११-१२६३) अन्तर्गत कोर्डोवा एउटा महान् बौद्धिक र राजनीतिक शक्ति केन्द्रका रूपमा स्थापित भएको थियो । मुर (अश्वेत) हरूको शासनलाई पछि इसाईहरूले हराएका थिए । त्यस बेला इसाईहरूका क्यासलले कोर्डोवाको पश्चिमी राज्य खलिफालाई पराजित गरेर इसाई राज्य स्थापना गर्न सफल भएका थिए । गवाडलक्विर नदी किनारमा उभिएको 'ल मस्किता' (मस्जिद) एन्डालुसिया प्रान्तको अमर प्रतीकका रूपमा आज पनि प्रख्यात छ ।

यो सहरले इतिहासमा विशिष्ट स्थान राख्छ । यहाँ प्राचीन इस्लाम, यहुदी र कैथोलिक धर्महरू प्रखर रूपमा मिसिएको प्रमाण अझै भेटिन्छन् । नेपालमा हिन्दु र बौद्ध धर्मको समन्वय भएझैं त्यहाँ पनि मुसलमान, इसाई र यहुदी धार्मिक धाराहरूको त्रिवेणी आज पनि अनवरत बगिरहेको देख्न सकिन्छ ।

फूलैफूलले छोपिएका गल्लीहरूमा घुम्दा मलाई स्पेनी इतिहासको विस्मृत अध्यायहरूमा भ्रमण गरिरहेजस्तो लागिरहेको थियो । गमलामा सजाइएको सुनाखरी र जेरानियम फूलहरूले आँगन, चोक र कौसीहरूलाई सजाई सो सहरको परम्परागत इतिहास अझै जीवित रहेको दर्साउँदै थिए । यही सहरमा प्रसिद्ध ग्रिक दार्शनिक सेनाकाको जन्म भएको थियो र यहुदी दार्शनिक मेमोनिडले आफ्नो कालजयी कृति 'ज्योतिषशास्त्र कुनै रोग होइन, विज्ञान हो' लेखेका थिए । विश्वविख्यात चित्रकार पाब्लो पिकासो पनि यही एन्डालुसिया क्षेत्रबाट आएको कुरा बिर्सन मिल्दैन ।

स्पेनी अनुदित कृतिको विमोचनअघि कोर्डोवामा मेरो प्रथम कविता वाचन कार्यक्रम त्यहाँको स्थानीय माध्यमिक विद्यालयमा भएको थियो । विद्यालयको प्रांगणमा पुग्नेबित्तिकै मैले अलि अप्ठ्यारो महसुस गरेको थिएँ । र, त्यसपछि विद्यालयको सभाकक्षमा बालबालिकादेखि लिएर छात्रछात्राहरूको उपस्थितिले म अलि अन्कनाएको थिएँ किनकि मैले थाहा पाएँ त्यहाँ उपस्थित विद्यार्थीहरूको अंग्रेजी बुझ्ने क्षमता निकै कमजोर थियो । उनीहरूसितको संवादमा स्पेनी भाषाको ज्ञान अति आवश्यक थियो । तिनको अंग्रेजी ज्ञान लगभग शून्यबराबर थियो भने मेरो स्पेनी ज्ञान त्यसभन्दा पनि कमजोर थियो ।

मेरी अनुवादक र दोभासे भेरोनिका अरान्दा मोरक्कोबाट आइपुगेकी थिइनन् । उनी मोरक्कोको सर्भान्ते सेन्टरमा काम गर्ने भएकीले बिदा मिलाएर भोलिपल्टको विमोचनमा मात्र आउनसक्ने थिइन् । म ती विद्यार्थीसितको संवाद कसरी अगाडि बढाउने भन्ने बडो चिन्तामा थिएँ । मैले त्यहाँ आयोजकहरूलाई एक दोभासेको प्रबन्ध मिलाइदिन अनुरोध गरेँ । केही बेरमा त्यस विद्यालयमा अंग्रेजी पढाउने एक शिक्षिका मेरासामु उपस्थित भइन् ।

वासिङ्टनमा जन्मेकी ज्याकलिन हमिलले सम्पूर्ण कार्यक्रममा मेरो दोभासेका रूपमा उपस्थित भएर सहयोग गरिन् । उनले मसँगै कविता वाचन गर्ने कवयित्री अर्सेला सेन्चर फ्रेन्कोले वाचन गरेका कविता र भनाइहरूको अनुवाद पनि त्यहाँ अंग्रेजीमा गरेकी थिइन् ।

'नमस्ते, मेरो हिमाली फूलहरूमाथि लेखिएको कविता कोर्डोवाका यी ससाना फूलहरूसामु वाचन गर्न पाएकामा म अत्यन्तै हर्षित छु', एउटा शून्यता र चकमन्नता व्याप्त भयो । त्यहाँ केही बेरसम्म कुनै आवाज वा प्रतिक्रिया आएन । म अलि अकमकाएँ । एउटा अशक्त अनुहारले मैलै ज्याकलिनतिर हेरेँ । उनले स्पेनी भाषामा मेरो भनाइ तिनीहरूका अगाडि राखिन् । एकैछिनमा हल ताली र सिट्ठीहरूले गर्जिए । अब भने मैले हाम्रो संवाद अगाडि बढाउने बाटो देखेँ ।

अर्सेला सेन्चर फ्रेन्काले दलाइ लामा र पोटाला दरबारमाथि कविता पढिन् । उनका आमाबाबु केही वर्षदेखि बौद्ध धर्म मानिरहेको मैले ज्याकलिनको अनुवादमार्फत थाहा पाएँ । ज्याकलिनले हरेक वाक्यको अनुवाद गरिरहेकी थिइन् । यसबाहेक १२ जनाजति विद्यार्थीले मेरा कविता स्पेनी भाषामा पढ्ने तयारी गरिरहेका थिए ।


- यो सहरले इतिहासमा विशिष्ट स्थान राख्छ । यहाँ प्राचीन इस्लाम, यहुदी र कैथोलिक धर्महरू प्रखर रूपमा मिसिएको प्रमाण अझै भेटिन्छन् । नेपालमा हिन्दु र बौद्ध धर्मको समन्वय भएझैं त्यहाँ पनि मुसलमान, इसाई र यहुदी धार्मिक धाराहरूको त्रिवेणी आज पनि अनवरत बगिरहेको देख्न सकिन्छ ।

एकछिनपछि एउटी सानी केटी मञ्चमा आइन् र मेरी छेउमा बसेकी स्पेनी शिक्षिकाको कानमा केही भनिन् । उनले कविता वाचन गर्दा उपस्थित विद्यार्थीहरूले कहीँ उनको खिल्ली त उडाउने होइनन् भन्ने संकोच उनले लाज मान्दै शिक्षिकासित राखेकी रहिछन् । उनले मेरो 'सगरमाथा' शीर्षक कविता पाठ गरेपछि उपस्थित भीडबाट एउटा बिजुली पड्केको झैँ प्रतिक्रिया आयो । पछि कसैले मेरा 'गोपालप्रसाद रिमाल', 'खच्चरहरू', 'बुद्ध', 'घोरेपानी' शीर्षक कविता पनि पढे । त्यसअघि मैले रिमालको संघर्षमय जीवन, राणाहरूविरुद्ध गरेको आन्दोलन र प्रजातन्त्रपछि उनले पाएको उपेक्षाबारे व्याख्या पनि गरेको थिएँ-

एउटा कवि जहानियाँ शासनको सडेको
गर्भाशयबाट
एउटा कलिलो सूर्य बाहिर तान्छ
म अभिवादन गर्छु कवि तिमीलाई
अभिवादन गर्छु
- (गोपालप्रसाद रिमाल, 'पानाहरू खाली छन्'बाट)

कार्यक्रम सकिएपछि सबैजसो शिक्षकहरू यताउता गइसकेका थिए । ती हिपहप र चञ्चले फूलहरू एकछिनका लागि मेरो छेउछाउ उभिरहे । मेरी अनुवादक ज्याकलिन पनि त्यहाँ थिइनन् । संवादका लागि अलि पाका विद्यार्थीहरू प्रयास गर्दै थिए । संवादको सम्भावनाका अभावमा तिनीहरूले खल्तीबाट सेलफोनहरू निकाले र जुम गरेर मसितको सेल्फी लिन थाले— एकपछि अर्को। त्यसपछि त्यहाँ सेल्फी लिनेको ताँती लाग्यो— विश्वको विचित्र कुनाबाट आएको कविसितको सेल्फी, संसारकै छानाबाट आएको एउटा कविसितको सेल्फी, जो सगरमाथाजस्तै मूक र स्पेनी भाषाहरूको परिधिबाट टाढा भए पनि अनुवादका माध्यमबाट ती ससाना फूलहरूसित एकछिनका लागि नजिकैको थियो त्यो साँझ ।

समुद्रसित साइनो गाँस्ने
सपना बोकेको विचरा नीलो ताल
बाध्य छ यहाँ हेर्न
हिमालको टल्किरहेको सेतो अनुहार
विश्वभरिबाट आउँछन् आरोहीहरू
हेर्न आफ्ना थकित अनुहारहरू
उसको नीलो आँखाका स्वच्छ ऐनाहरूमा
आकाशको निधार हेर्नुअगाडि ।
-(सगरमाथा, 'पानाहरू खाली छन्'बाट)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.