यात्रामा सुड्डो चिन्तन

यात्रामा सुड्डो चिन्तन

घुमन्ते संस्कृतिमा गरिब भएको भए मानव सभ्यता गरिबीको रेखामुनि नै स्थिर रहन्थ्यो । पृथ्वी स्वयं पनि एक डल्ले फकिर, जो सूर्यको वरिपरि चक्कर काटिरहन्छ । यही फकिर गोलामा म पनि घुमन्ते बन्ने ल्याकतसहित जन्मिएँ । जीवनलाई केन्द्र मानेर चक्कर काटिरहन खुट्टा सकसक गरिरहन्छन् ।

पृथ्वीले अन्तरिक्ष भ्रमण गरेझैं मलाई पनि सके अन्तरिक्ष, नसके सारा विश्व-घर भ्रमण गर्ने इच्छा हुन्छ । तर, म चरा होइन जसलाई विश्व भ्रमण गर्न राहदानी र पैसाको जरुरी नहोस् । यसैको अभावमा विश्वयात्रा गर्न असमर्थ म एक आम विश्व नागरिक । घरको 'विश्व यात्रा' गर्दागर्दा थकित हुन्छु । कहिलेकाहीँ अवसर मिल्यो कि निस्किहाल्छु पाखापखेरातिर, झोलामा कपडा कोचेर । टुथ ब्रस, टुथ पेस्ट, नवरत्न तेल, युज एन्ड थ्रो रेजर, इयरफोन र एउटा सानो गम्छा बोकेर । कहिलेकाहीँ कवि श्यामलले लेखेझैं 'हतारमा यात्रा' पनि गरेको छु ।

...

मंसिरको पहिलो साता घोरेपानी यात्रामा निस्किएँ, विष्णु सरको आत्मीय आग्रहमा । सप्तगण्डकी क्याम्पसका विद्यार्थीसँग । योजनाअनुसार त्रिचालीस थान भिन्न आकृतिहरूको जम्बो टोलीले नयाँपुलदेखि लेफ्ट राइट सुरु गर्‌यो । बिरेठाँटीको दक्षिणी छेउबाट पश्चिमोत्तर लखरलखर हिँड्दै तिखेढुंगा पुग्दा मोबाइलको टर्चलाइट बाल्नुपर्ने गरी अँधेरो भइहाल्यो । त्यो रात तिखेढुंगामा चिसोको तिखोपन महसुस गर्दै निदायौं ।

...

उकालो-ओरालोको व्याकरण समथरमा बसेकाहरूलाई कठिन लाग्नु स्वाभाविक नै हो । भोलिपल्ट उल्लेरीको उकालोमा स्याँस्याँ र फ्वाँफ्वाँ गर्दै केही चितवनतिरका विद्यार्थी भन्दै थिए, 'अर्कोपटक त मरिगए पनि आइन्न सर घोरेपानी ।'

उनीहरूको यस्तो घोषणाले विष्णु सर र मलाई उदास पाथ्र्यो । लगभग चार दिनको पदयात्रा त अझै बाँकी थियो । कतै यात्रामा कोही विद्यार्थीले आत्मसमर्पण गरिदिने हो कि भन्ने पिरलोले सताइँदै घोरेपानी पुग्यौं ।

तपाईं पहिले नै होटल बुक नगरीकन घोरेपानी पुग्नुभयो भने जान्नुस्, गडबड हुनेवाला छ । त्यही भयो । घोरेपानी घरदेशी पर्यटकलाई विदेशी पर्यटकलाईझैं न्यानो र आत्मीय स्वागत गर्न अझै कञ्जुस्याइँ गर्छ । दुईपटकको घोरेपानी भिजिटमा मैले यस्तो दुखद अनुभव बटुलेको छु ।

अठार वर्षअघि 'संरक्षण कविता आन्दोलन'को घोषणा कार्यक्रम मुस्ताङमा सम्पन्न गरेर घोरेपानी आएका थियौं, संयोजक सरुभक्त, विनोद गौचन, जे. अस्मिता, धनप्रसाद तामाङ, पुष्प आचार्य र म । सिखा देउरालीको उकालोमा झरीले हमला गर्‌यो, चिसो पानीका गोलीले । प्लास्टिक ओढेका कवि जे. अस्मिता र म रुम बुक गर्न छिटोछिटो घोरेपानी उक्लियौं । एउटा होटलमा रुम बुक गर्‌यौं र कविहरूलाई पर्खिन थाल्यौं । रुझेका बिरालाजस्ता कविहरू होटलमा जम्मा भएपछि होटल मालिकले हठात् सोध्यो, 'नेपालीका लागि पो रुम बुक गर्नुभएको हो ? '

हामीले स्वीकृतिमा झरीले भिजेको टाउको हल्लायौं । होटल मालिकको मनोदशा बिग्रियो । अघि भर्खरसम्म बढो आतिथ्यता जनाइरहेको उसले तत्काल भन्यो, 'यी रुम त विदेशीको लागि बुक भइसकेको छ । तपाईंहरू अर्को होटल खोज्नुस् ।'

के सोचेँ त मैले यात्रामा ? यो प्रश्नले म खुब घेरिएँ । कहिलेकाहीँ मानिसलाई आफूले सोचिरहेको कुरा बोध गर्न पनि फुर्सद निकालेर सोच्नुपर्छ । मैले त्यही गरेँ । म वनठाँटीको गुराँसे जंगलमा सोचका उकालीओराली चढ्न र ओर्लन थालेँ ।

सरुभक्त दाइले 'विदेशीले जति नै पैसा तिर्छौं' भन्दा पनि मालिक पग्लिएन । हामीले जीवनमा पहिलोपटक आफ्नै देशमा यसरी अपमानित हुनुको अनुभव प्राप्त भएको थियो । उसले कवि जे. अस्मिता र मलाई टुरिस्ट गाइड पो सम्झेको रहेछ ।

स्मृतिमा अठार वर्षअघिका ती क्षणहरू झल्याकझुलुक आइरहे ।

अँध्यारो र चिसो बढ्दै गइरहेको घोरेपानीमा सडक किनारमा झोला बिसाएर होटल बन्दोबस्त गर्न दौडधुप गर्‌यौं । अठार वर्षअघि झरीले कुटेझैं थकानले निर्ममतापूर्वक कुटिरहेको थियो ।

मुस्किलले ओत पाएको कृष्णा पुनको होटलमा ड्रम हिटरको न्यानो पाएपछि सोचेँ, 'सकल घोरेपानीले कहाँ अपमान गर्छ र घरदेशी पाहुनालाई ? कृष्णा पुनहरू पनि त छन् यहाँ ।'

...

पुन हिलमा पुगेपछि भने विद्यार्थी उत्तेजित देखिए । धवलागिरि, नीलगिरि, अन्नपूर्ण शृंखला र माछापुच्छ«ेका सेताम्य चुलीहरूमा घामका किरणहरूले चुम्दा उनीहरू चिच्चाएर उफ्रिए । पूर्वी क्षितिजबाट घाम निस्किएर पुनहिलमा जम्मा भएका पृथ्वीवासीलाई 'शुभप्रभात' भन्दाको आनन्द अनुपम थियो । पुनहिलबाट तल ओर्लिन मन मानिरहेको थिएन । तर, आज सके घान्द्रुक, नसके टाठापानीसम्म पुग्नु थियो ।

वनठाँटीको चिसो न चिसो जंगलमा विद्यार्थीहरू सीधै झर्न नसकेर लठ्ठीको सहारामा छड्के खुट्टा झर्दै थिए । पुनहिलबाट देखिएको हिमालको सौन्दर्यले उनीहरूको मनको क्यानभास सुन्दर बनाएको कुरा चेहरामा पढ्न सकिन्थ्यो । चेहरा मन पढ्ने ऐना नै त हो ।

ओरालोमा हामीसँगै एक दुब्लो खोला पनि ओर्लिरहेको देख्यौं । खोलामाथि हातखुट्टा फैलाएर लमतन्न सुतेका जीर्ण भोटेसल्लाका गिँडहरूले दर्जनौं ठाउँमा पुल बनाएका थिए । रूखका कपडा च्यातिएर नांगै देखिन्थे । कुनैकुनै रूख शरीरभरि लेउको तन्ना ओढेर सुतिरहेका थिए । खोलाले बगाउँदै ल्याएका लालीगुराँसका पातहरू अड्किएको बगरमा ढुंगा खप्ट्याएर बनाएका सयौं मानव आकृतिले पदयात्रीहरूको बाक्लो आवतजावतलाई संकेत गथ्र्यो । मानिसले कुन आध्यात्मिक वा सांस्कृतिक कारण यस्ता आकृति बनाउँछन् कुन्नि ? मुक्तिनाथ मन्दिर परिसरमा पनि यस्ता कैयौं आकृति देखेको हुँ । तन्मयले ढुंगाको गुम्बा बनाउँदै थिएँ, विष्णु ज्ञवाली सरले फोटो खिचिदिँदै सोध्नुभयो, 'सर, यात्रामा कविता पनि लेख्नुभयो होला नि ? '

झस्किएँ म । बन्दै गरेको गुम्बाबाट ढुंगा खस्यो । भनेँ, 'एक पंक्ति पनि लेखिनँ । यात्रामा कविताबारे कम सोचेँ ।'

सरले मबाट कविता लेखिने सम्भावना देख्नु स्वाभाविक थियो । तर, मेरो यथार्थ त्यही थियो, मैले एउटै पंक्ति पनि लेखिनँ । के सोचेँ त मैले यात्रामा ? यो प्रश्नले म त्यसपछि खुब घेरिएँ । कहिलेकाहीँ मानिसलाई आफूले सोचिरहेको कुरा बोध गर्न पनि फुर्सद निकालेर सोच्नुपर्छ । मैले त्यही गरेँ । म वनठाँटीको गुराँसे जंगलमा सोचका उकालीओराली चढ्न र ओर्लन थालेँ । अग्रज कवि तुलसी दिवसको कविता गहिरोसँग स्मरण भइरह्यो-

उक्लँदा उक्लँदै उकालोमा
उक्लेको बाटो नै ओर्लिएपछि
उक्लनेको पनि केही लाग्दो रहेनछ ।
ओर्लंदा ओर्लंदै फेरि
ओर्लेको बाटो नै उक्लेपछि
ओर्लनेको पनि केही लाग्दो रहेनछ ।
हिँड्दा हिँड्दै मोडमा
हिँडेको बाटो नै मोडिएपछि
हिँड्नेको पनि केही लाग्दो रहेनछ ।

यात्रामा सर्वाधिक बढी सोचेँ, जीवनको बारेमा । नेपथ्यमा २०५५ सालमा सरुभक्त दाइ र साथीहरूसँग गरेको यात्राको फ्ल्यासब्याक भइरह्यो । संरक्षण कविता आन्दोलनको उद्घोषण यात्रा, मुस्ताङ हुँदै घोरेपानी आएका थियौं ।

हिसाब गरेँ, सरुभक्त दाइ त्यो यात्रामा बयालीस वर्षको हुनुहुन्थ्यो र म यो यात्रामा ठीक बयालीस वर्षको छु ।
त्यो यात्रामा म सबैभन्दा अघिअघि कुदिरहेको थिएँ र सरुभक्त दाइ सबैभन्दा पछिपछि । पहाडमा जन्मिएको म, उकालीओराली कुद्दै हिँड्न सक्थेँ । सुस्त बहिरहेको बतासको आवाज पनि कानमा चर्को बज्ने गरी बत्तिएर बाटो छोट्याउँथेँ । मेरो अवचेतनमा सायद जवानीको अहंकार थियो, तसर्थ सोच्थेँ, 'हेत् ! कति बिस्तारै हिँड्नुभएको सरुभक्त दाइ । सुड्डो नै भइसक्नुभएछ ।'

त्यस यात्राको ठीक अठार वर्षपछि यात्रामा म सबैभन्दा पछि छुटिरहेको छु । सडकमा थोत्रो गाडी धुवाँ फाल्दै लत्रिएझैं । बाचाल तर आत्मीय राधाले त प्वाक्क भनिहाली, 'सर बिहान कस्तो ह्यान्डसम देखिनुभाथ्यो, अहिले त कति सुड्डो देखिनुभको !'

उमेरजन्य हिसाबले पहिला सरुभक्त दाइको स्थानमा म छु । जीवनले मलाई दाइको तत्समयको उमेरमा पुर्‌याएर बिल्कुल फरक जीवनबोध गर्न घच्घच्याएको थियो । ज्ञानको तहमा तत्त्वबोध पहिल्यै भयो होला, अहिले अनुभूतिको तहमा पनि गहिरोसँग गडिरहेको थियो ।

तस्बिरमा बाहेक बाआमालाई मैले जवान कहिल्यै देखिनँ । बूढो देख्नु र बूढो हुनु फरक कुरा हो भन्ने गम्भीर ज्ञान नभएको मलाई उमेरले आफूभन्दा ठूला सबै बूढा लाग्थे । मभन्दा तीन वर्ष ठूला सूर्य दाइ पनि बूढा । सत्रअठार वर्षमै भर्ती भएर पहिलो वा दोस्रो छुट्टीमै बिहे गर्ने गणेश दाइ, रामु दाइ, टीका दाइ, ओम दाइ, बले दाइ, ध्रुव दाइ सबै बूढा ।

स्कुलमा पढाउने सबै सर बूढा, संरक्षण कविता आन्दोलनका रोशन शेरचन, जे. अस्मिता, इन्द्र विकल्प, विनोद गौचन र सरुभक्त दाइ पनि बूढा । मलाई मन पर्ने चौबीस साल वरपरका सबै कवि बूढा, तीभन्दा अघिका कविहरू त झन् बूढा । यस्तो लाग्थ्यो, यो दुनियाँमा म र केटाकेटीहरूबाहेक सबै बूढा । नदी बूढो, पहाड बूढो, रूख बूढो र सिंगो पृथ्वी नै बूढो । सुड्डो दुनियाँको मचाहिँ सदाबहार जवान । गुराँसको जंगलमा बहिरहेको चिसो सिरेटो कानमा फुस्फुसायो, 'भूपिन, अरूलाई बूढो देख्ने तँ आफैं पनि बूढो भइसकिस् कि क्या हो ? नत्र यति छोटो यात्रामा किन थोत्रो बसको झ्यालझैं कर्कश बजिरहेछस् ? '

कीर्तिपुर पढ्दै गर्दाको एक घटना जीवन्त भएर आयो । लेखक डीपी भण्डारी र वासुदेव त्रिपाठी तथा वामचिन्तक श्याम श्रेष्ठका विचारहरू सुन्ने अवसर मिलेको थियो त्यो दिन । विचार निर्माणको समय थियो । डा. वासुदेव त्रिपाठीले त्रिवि पुस्तकालय खर्लप्प निलेको कुरा र श्याम श्रेष्ठले नेपाल कसरी अझै अर्धऔपनिवेशिक देश हो भन्ने विषयमा बोलेका थिए । डीपी भण्डारीको पालो आयो । विनोदपूर्ण मन्तव्यमा उनले भैंसीमाथि बसेर गोठालो भई बिताएको स्वर्णिम बाल्यकाल सम्झे । बीचैमा कसैले प्वाक्क सोधिदियो, 'साप्ताहिकमा प्रेम र यौनबारे खुलेर कसरी लेख्न सक्नुहुन्छ, बुढेसकालमा पनि ? '

डीपी सर प्रश्नले उत्तेजित बने । उनले प्रश्नकर्तालाई हकारे, 'कसले दियो तँ मु...लाई मलाई बूढो भन्ने अधिकार ? मानिस उमेरले बूढो हुँदैन मु..., चेतनाले बूढो हुन्छ । अझै पनि चेतनाले म जवान छु । बालाहरूलाई प्रेम गर्छु ।'
साप्ताहिकमा रुचाएर पढिएका डीपी सरलाई पहिलोपटक सुन्दै थिएँ । उनको तर्कले म थला परेँ । यसअघि 'बुढ्यौली चेतनाको उत्पादन हो' भन्ने आशयका मन्तव्य र लेख सुन्दै नसुनेको वा पढ्दै नपढेको होइन । त्यसबारे गहिरोसँग अन्तरमन्थन भएन सायद । त्यसपछि मैले बुढेसकालबारे जुन अवधारणा बनाएँ, त्यसमा डीपी सरको तार्किक हिस्सा छ ।

तर, यो यात्रामा मैले आफूलाई शारीरिक रूपमा हल्का बूढो भइएछ कि भन्ने बोध गरेँ । यो जरुरी पनि थियो । सही समयमा सही कुराको बोध हुनु सुन्दर कुरा पनि हो ।

...

निकटबाट हिमाल अवलोकन गर्दै प्रकृतिको भव्यता महसुस गर्नु र ती ठाउँका मानिसहरूको दुःखसुख पढ्नुजस्तो सामान्य उद्देश्य बनाएर यात्रामा निस्किएको थिएँ । 'हिमाल नदेखिने ठाउँ पनि नेपाल हुन्छ र' भन्ने हदसम्म भ्रम भयो कतिपय ठाउँमा । मधेसमा पनि नजिकैको कुनै पहाड उक्लिए हिमाल त देखिन्छ नै । भैरहवाबाट समेत हिमाल देखेपछि नेपाललाई किन हिमालयको देश भनिन्छ भनी बुझेको छु ।

एनसेल र एनटीसी दुवैको नेट नलाग्ने टाढापानीमा एक रात बास बस्यौं । एनटीसीले तिखेपानीदेखि नै धोका दिन थालिसकेको थियो र धान्द्रुक नपुगेसम्म त्यसको धोकाधडी जारी रह्यो ।

चौथो दिन घान्द्रुक पुग्यौं । बुद्ध होटलमा झोला बिसाएर पारिको लान्द्रुक हेर्ने लालसाले होटलको तगारो के काटेथ्यौं, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको कार्यालय भेटियो । छिर्‌यौं । ठीक बीस वर्षअघि तद्स्थानीय कविता रचना गरेर त्यहीँका बासिन्दालाई सुनाउँदै हिँड्ने कविता अभियानको पहिलो कार्यक्रम गरेको अर्धाकार चौतारो दुरुस्तै रहेछ । स्मृतिदंस भयो । कवि, कविता र श्रोताहरूको कोलाज बन्यो ।

त्यही चौतारोमा बसेर तस्बिर खिचेका थियौं— सरुभक्त दाइलगायत दसजना कविले । कार्यालयको एक तला जनयुद्धले उडाएछ । नीलम गुरुङ अमेरिका भास्सिएछन् । बीस वर्षअघि हामीसँगै अन्नपूर्ण बेस क्याम्पसम्म पुगेका रैथाने ब्ल्याक टी दाइले धान्द्रुकमै होटल सञ्चालन गर्दै रहेछन् ।

सरुभक्त दाइ त्यो यात्रामा बयालीस वर्षको हुनुहुन्थ्यो र म यो यात्रामा ठीक बयालीस वर्षको छु । म सबैभन्दा अघिअघि कुदिरहेको थिएँ र सरुभक्त दाइ सबैभन्दा पछिपछि । त्यस यात्राको ठीक अठार वर्षपछिको यात्रामा म सबैभन्दा पछि छुटिरहेको छु । बयालीस वर्षसम्म त मैले अरूलाई बूढो र आफूलाई तन्नेरी सोचेरै बिताएछु ।

फेरि सरुभक्त दाइको याद आयो । 'पागल बस्ती' लेखेर उनले हंगामा मच्चाइसकेका थिए उतिबेलै । हिसाब गरेँ, नेपाल नाट्य संगीत प्रज्ञा प्रतिष्ठानमा कुलपति बनेका उनी बीस वर्षअघि चालीस वर्षका थिए । उनलाई म त्यो यात्रामा पनि बूढो देख्थेँ । अहिले म आफैं भएको छु बयालीस वर्षको । सोचेँ, मसँग कतै यात्रा गर्ने अनुज कविहरू पनि मलाई बूढो देख्दा हुन् अवश्य ।

मैले ठीक गरेँ कि बेठीक, बयालिस वर्षसम्म त मैले अरूलाई बूढो र आफूलाई तन्नेरी सोचेर बिताएछु । मनमनै हाँसोका लहरहरू आइरहे, गम्भीरताका तरंगहरू चलिरहे । यो यात्राले सोचमा एक नयाँ घुम्ती थपिदियो । त्यही घुम्तीमा सोचको गाडी गुडाउँदै हिँड्नु छ अब ।

...

पानी पर्लाजस्तो साँझ घान्द्रुकका आमाहरूले बीस वर्षअघिझैं गीत गाए, नचाए र सयपत्री फूलको माला लगाइदिए । भोलिपल्ट छ्यांग खुलेको आकाशमा बीस वर्षअघिझैं अन्नपूर्णा, हिमचुली र माछापुच्छ्रे देखिए । बीस वर्षअघि यही गाउँ काटेर अन्नपूर्णा बेस क्याम्प पुगेको थिएँ । सरूभक्त दाइले मप्रति विश्वास गर्नुभएको थियो । यही कारण थियो, यो यात्रामा दाइसँग हिँडेका दुई महत्त्वपूर्ण यात्राका स्मृतिहरूले घेरिरहेका थिए मलाई ।

घोरेपानीमा भेटिएका बयालीस वर्षीय सरुभक्त दाइ र घान्द्रुकमा भेटिएका चालीस वर्षीय सरुभक्त दाइलाई गहिरोसँग 'मिस' गरिरहेँ ।

घान्द्रुकबाट खिम्चे झर्दै गर्दा रोशन शेरचन दाइको फोन आयो, उदयपुरबाट । घोरेपानीमा आत्मनिर्वासनका वर्षहरू बिताएका चिन्तक एवं निबन्धकारसँग यात्रा, ढुंगाका गुम्बाको अर्थ र घोरेपानीको 'मिस ट्रिट'बारे कुराहरू भए । कविता सोच्न छोडेर बुढ्यौलीबारे सोचिरहेको कुरा सेयर गर्न भने भ्याएनछु उहाँसँग । त्यो कुरा सायद पोखरामा भेटिएका कवि दीपक समीप र प्रकाश ज्ञवालीलाई पनि सेयर गरिनँ । मित्र नवराज अधिकारीलाई पनि भनिनँ ।

चिन्तनले मानिसलाई सधैं जवान बनाउँछ । म ठान्छु, प्रत्येक 'आज' नै हो मानिसलाई सबैभन्दा बूढो बनाउने दिन । र, यही 'आज' हो, बाँकी जीवनका लागि मानिसलाई सबैभन्दा जवान बनाउने दिन पनि । आत्मीय विष्णु सर, घोरेपानी यात्राका ६ दिन यस्तै चिन्तन र अनुभूतिमा बिते । अब तपाईंहरू नै भन्नुस्, यो यात्राले तपाईं र मलाई ६ दिन बूढो बनायो कि जवान ?

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.