नेफ्टा फिल्म अवार्डमा को कुन विधामा उत्कृष्ट भए (सूचीसहित)
दुबईः महानायक राजेश हमाल र पूर्वमिस नेपाल मलिना जोशी जब ‘रातो टीका निधारमा टलक्कै टल्कियो’ बोलको गीतमा छमछमी नाच्न थाले दर्शकको तालीले हल गुञ्जायमान भयो । हमालको महानायकीय छवि दर्शकको तालीबाट पनि प्रस्ट हुन्थ्यो ।
नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) को आयोजनामा दुबईमा शुक्रबार राति सम्पन्न नवौं नेफ्टा फिल्म अवार्डमा हमाल र मलिनामात्रै होइन, करिश्मा मानन्धरदेखि साम्राज्ञी राज्यलक्ष्मीदेवी शाहसम्मका दुई दर्जनभन्दा बढी कलाकारले एकै मञ्चमा नृत्य प्रस्तुत गरे । उनीहरूले यहाँ रहेका नेपालीलाई आफ्नोपनको आभास गराए ।
कार्यक्रममा भाग लिन नेपालबाट एक सयभन्दा बढी चलचित्रकर्मी दुबई आएका थिए । नेपाली कलाकारको भीड देख्दा लाग्थ्यो, कार्यक्रम काठमाडौंको कुनै स्थानमा भइरहेको छ । सधैं पर्दामा देखिने चर्चित कलाकारलाई हेर्न यूएईका विभिन्न स्थानमा रहेका नेपालीको बाक्लो उपस्थिति थियो ।
कार्यक्रमलाई रोमाञ्चक बनाउन दिनेश डीसी, हास्यकलाकार दीपकराज गिरी, जितु नेपाल, निखिल उप्रेती, सञ्चिता लुइँटेलसम्मले उद्घोषकको जिम्मेवारी सम्हाले । करिश्मा मानन्धर, पूजा शर्मा, बेनिशा हमाल, माला लिम्बू, छुल्ठिम गुरुङ, पल शाह, अनुपविक्रम शाह, सलोन बस्नेत, नाजिर हुसैनलगायतका विभिन्न कलाकारको प्रस्तुतिले चिसो रातलाई तताए ।
कार्यक्रममा कुकमेन कुलबहादुर महत (जेठा दाइ) र आनन्दबहादुर मगर (नन्दु दाइ)ले जनही २५ हजार रुपैयाँसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड पाए । प्रायः चलेका कलाकारलाई मात्रै लाइफटाइभ अचिभमेन्ट अवार्ड दिने चलनलाई तोड्दै नेफ्टाले पर्दापछाडि बसेर चलचित्र क्षेत्रलाई लामो समय योगदान गरेका प्राविधिकलाई अवार्ड दिएको हो । सो अवसरमा नेपाली चलचित्रका तीन अग्रज अभिनेत्री भुवन चन्द, चैत्यदेवी सिंह र बसुन्धरा भुसाललाई ‘नेफ्टा स्वर्णिम सम्मान’ प्रदान गरियो । दीपा श्री निरौला, नेपाल प्रहरीका डीआईजी नवराज सिलवाल, धुर्मुस सुन्तली फाउन्डेसन र दुबईस्थित कन्सेप्ट भिजन पनि सम्मानित भए ।
२०७२ सालमा प्रदर्शनमा आएका चलचित्रमध्ये ६ विधामा अवार्ड हात पार्दै सुदर्शन थापा निर्देशित ‘प्रेमगीत’ले अग्रता कायम राख्यो । सर्वोत्कृष्ट चलचित्रसहित ‘पशुपतिप्रसाद’ले चार, ‘वडा नम्बर ६’ र ‘नाइँ नभन्नु ल ४’ले तीनतीन विधामा अवार्ड पाए । दयाहाङ राई र नम्रता श्रेष्ठ सर्वोत्कृष्ट अभिनेता एवं अभिनेत्री ठहरिए । उज्ज्वल घिमिरले सर्वोकृत्ट निर्देशकको अवार्ड पाए ।
अवार्ड छनोटका लागि भरत शाक्य, नीलहरि काफ्ले, प्रकाशजंग कार्की, सरिता लामिछाने र विष्णु कल्पित निर्णायक थिए ।
नेफ्टाका अध्यक्ष पुष्कर लामाले विदेशमा यति धेरै नेपाली कलाकार ल्याएर अवार्ड सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रम व्यवस्थापनको जिम्मेवारी सम्हालेका दुबईका सालिकराम सुवेदीले आफूहरू नेपाली चलचित्रलाई माया गर्ने मान्छे भएकाले अवार्ड आयोजना गरिएको बताए ।
अवार्ड विजेता
सर्वोत्कृष्ट चलचित्र: पशुपतिप्रसाद
निर्देशक: उज्ज्वल घिमिरे (वडा नम्बर ६)
अभिनेता: दयाहाङ राई (कबड्डी कबड्डी)
अभिनेत्री: नम्रता श्रेष्ठ (क्लासिक)
नवअभिनेता: पल शाह (नाइँ नभन्नु ल ४)
नवअभिनेत्री: साम्राज्ञी राज्यलक्ष्मीदेवी शाह (ड्रिम्स)
खल भूमिका: विपिन कार्की (पशुपतिप्रसाद)
छायाकार: पुरुषोत्तम प्रधान (नाइँ नभन्नु ल ४)
सम्पादन: विपिन मल्ल (फन्को)
नृत्य निर्देशक: रेनाशा राई (प्रेम गीत)
संगीत निर्देशक: अर्जुन पोखरेल (प्रेम गीत)
गायन (पुरुष): सुगम पोखरेल (प्रेम गीत)
गायन (महिला): अञ्जु पन्त (प्रेम गीत)
सहअभिनेता: प्रकाश घिमिरे (पशुपति प्रसाद)
सहअभिनेत्री: निश्मा घिमिरे (जन्मभूमि)
हास्य अभिनेता: विल्सनविक्रम राई (अर्धकट्टी)
पटकथा: सुवर्ण थापा (फन्को)
संवाद: खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)
कथा: रामबाबु गुरुङ, उपेन्द्र सुब्बा (कबड्डी कबड्डी)
गीतकार: डा. कृष्णहरि बराल (नाइँ नभन्नु ल ४)
पाश्र्व संगीत: सुजिल कर्माचार्य (फन्को)
ध्वनि मि श्रण: उत्तम नेउपाने (द्यौली)
संगीत संयोजक: राजन इसाल (वडा नम्बर ६)
द्वन्द्व निर्देशक: हिमाल केसी (भैरव)
कला निर्देशक: पासाङ टी शेर्पा (वडा नम्बर ६)
ड्रेस डिजाइनर: युवी थापा, योगिता पुन (प्रेम गीत)
मेकअप: दिपु पौडेल (को आफ्नो)
आदिवासी चलचित्र: तिमी नभए
लोकप्रिय चलचित्र: ड्रिम्स
लोकप्रिय अभिनेता: अनमोल केसी (ड्रिम्स)
लोकप्रिय अभिनेत्री: पूजा शर्मा (प्रेम गीत)