महजात्रामा झुम्यो हेटौँडा
हेटौंडाः मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीको प्रहसनले शनिबार हेटौंडाको चिसो वातावरण तताएको थियो । हेटौंडा-४ स्थित भुटनदेवी उच्च माविको मैदानमा करिब तीन हजार दर्शकमाझ मह जोडीले प्रहसनमार्फत व्यंग्य प्रस्तुत गरे।
मानव सेवा आ श्रमको भवन निर्माण सहयोगार्थ आयोजित मह जात्रामा महजोडीले देशमा बढ्दो बेथिति, विकृति र अराजकतालाई केन्द्रित गरेर प्रहसन प्रस्तुत गरे। ‘शब्दान्छरी प्रतियोगिता’ र ‘म डनको फोटो स्टुडियो’ शीर्षकमा महजोडीले राष्ट्रियता र जातीय सद्भावको सन्देश दिने व्यंग्य प्रस्तुत गर्दा भुटनदेवी मैदानमा भरिएका हेटौंडेली भावुक भए।
मह जोडीलाई नरेन्द्र कंसाकार, मोहितवंश आचार्यले साथ दिएका थिए । किरण केसी र राजाराम पौडेलले पनि ‘बोर्डरको चेकपोस्ट’ शीर्षकको प्रहसन गरे। गायिका माण्डवी त्रिपाठीले आधा दर्जन गीतमार्फत दर्शकलाई मनोरञ्जन दिइन्।
महजात्राको टिकट बिक्रीबाट करिब २० लाख रुपैयाँ सहयोग संकलन भएको मानव सेवा आ श्रमका संयोजक रामजी अधिकारीले बताए। आश्रमले हेटौंडा–९ मा आठ कट्ठा जग्गामा ४० कोठे भवन निर्माण गरिरहेको छ।
महजात्रा कार्यक्रमका संयोजक पुरणबहादुर जोशीले मानवीयताको सहर बन्दै गएको हेटौंडामा आ श्रमलाई परोपकारी संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताए। आश्रमले हेटौंडामा चार वर्षअघि सडकमा बेवारिसे जीवन बिताउन बाध्य बालबालिका, मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई आ श्रय दिएर अभियान सुरु गरेको थियो।