राष्ट्रसंघ र आन्तरिक मामिला

राष्ट्रसंघ र आन्तरिक मामिला

संयुक्त राष्ट्रसंघ एक अन्तर्राष्ट्रिय संस्था हो । यो कुनै अन्तर्राष्ट्रिय सरकार होइन । राष्ट्रसंघको खर्च जुटाउन कथित ठूला र धनी राष्ट्रको योगदान बढी छ । नेपालजस्ता साना र गरिब राज्यले पनि आफ्नो हिस्साको योगदान दिँदै आएका छन् । यस अर्थमा राष्ट्रसंघका कर्मचारीले नेपाली जनताले तिरेको करबाट राष्ट्रसंघलाई बुझाइएको योगदान रकमबाट पनि सुविधा लिन्छन् ।

नेपालस्थित राष्ट्रसंघका कर्मचारीले पनि त्यस्तो नेपालीले तिरेको र नेपालले बुझाएको योगदान रकमबाट सुविधा लिएका छन् । चलनचल्तीको नेपाली भाषामा उनीहरूको पेटमा नेपाली नुन पनि परेको छ । यद्यपि त्यसको मात्रा कम नै किन नहोस् । नेपाली जनता, नेपाल राष्ट्र र नेपाल सरकारले कम्तीमा त्यति मात्र नुनको सोझो गरिदिन राष्ट्रसंघका नेपालस्थित कर्मचारीसँग अपेक्षा गर्नु कुनै अर्घेल्याईं हुँदैन । राष्ट्रसंघका कर्मचारीले ठूलो र धेरै योगदान दिने राष्ट्रको नुनको सोझो नेपालजस्ता साना देशमा गर्ने कदापि होइन ।

राष्ट्रसंघले कुनै मुलुकलाई सहयोग गरेको बदलामा राष्ट्रसंघका कर्मचारी त्यो देशमाथि हावी हुन खोज्न मिल्दैन । अझ त्यसो गर्दा त्यहाँस्थित अरू देशका राजदूतहरूको इच्छामा गर्ने त पक्कै होइन । राष्ट्रसंघका एकाइहरूले जे गर्ने हो, राष्ट्रसंघको बडापत्र वा अन्य संस्थागत आधारमा गर्ने हो । सम्बद्ध मुलुकको कानुनको सम्मान गर्दै गर्ने हो । कूटनीतिक मर्यादामा रहेर गर्ने हो ।

राष्ट्रसंघबाट अर्को मुलुकमा खटिएर जाने कर्मचारीले आफ्नो पारिवारिक मूल्य, पद्धति अर्को मुलुकमा लाद्ने प्रयास गर्न मिल्दैन । उनीहरूको विश्वास प्रणालीको प्रभाव विस्तार गर्न पनि मिल्दैन । आफ्ना देशका अन्य प्रणाली अन्यत्र अनुकरण गर्न लबिङ गर्न पनि हुँदैन । यो राष्ट्रसंघको काम होइन र राष्ट्रसंघबाट खटिने कर्मचारीको काम त कदापि होइन ।

राष्ट्रसंघबाट खटिने कर्मचारीले गरिब भनिने भिन्न सभ्यता भएका मुलुकमा समावेशीको कुरा अलि जोडले उठाउने गरेको सुनिन्छ । राष्ट्रसंघको लगानी ती मुलुकमा भौतिक विकास र वैज्ञानिक क्षेत्रमा भन्दा सामाजिक क्षेत्रका नाममा हुने गर्छ । सामाजिक क्षेत्रका नाममा खर्च गर्दा पनि समाज र समुदायलाई अलगअलग रूपमा बाँडेर कसैलाई प्रोत्साहित र कसैलाई निरुत्साहित गर्नेगरी गरेको कुरा भिन्न सभ्यता प्रणाली हुने मुलुकले अनुभव गरिरहेकै छन् ।

तर यो संस्था समग्रमा स्वयंमा कति समावेशी छ त ? अझ राष्ट्रसंघको उपल्लो तहको कर्मचारीतन्त्रमा यो अनुपात केकति होला ? पारदर्शितामा विश्वास गर्ने यो संस्थाले यी तथ्यांक सार्वजनिक गरेमा सबैलाई जानकारी हुँदो हो । यसमा एसिया, अफ्रिका र दक्षिण अमेरिकाको प्रतिनिधित्व भूगोल र जनसंख्याको अनुपातमा निकै कम त छैन ? धेरै आर्थिक योगदान नै धेरै कर्मचारी राख्ने आधार हो ? त्यस्तै राष्ट्रसंघबाट विभिन्न देशमा खटिने कर्मचारीले ती देशमा पुगेर आफूसँग भूगोल, विश्वास र अनुहार मिल्नेहरूको गठजोड बनाउने र दबाब दिने वा दिलाउने कार्य शोभनीय हुन्छ भन्न सकिँदैन ।

राष्ट्रसंघको नेपालस्थित कार्यालयले केही दिनअघि केही देशका राजदूतहरूलाई भेला गरेको र त्यसमा नेपालको आन्तरिक मामिलाबारे चर्चा गरिएको प्रकाशमा आएको छ । त्यसबारे नेपाल सरकारले चासो व्यक्त गरिसकेको सार्वजनिक भएको छ । यो कुनै पहिलो घटना भने पक्कै थिएन । प्रश्न उठ्छ-यो भेलामा कुन–कुन मुलुकका राजदूत जम्मा गरिए ? कुन–कुन एजेन्डामा छलफल गरिए ? यो बैठकका एजेन्डा राष्ट्रसंघको स्थानीय कार्यालयका कर्मचारीले आफैं तय गरे वा प्रधान कार्यालयबाट स्वीकृत गराएर गरे ?

यस भेलामा सार्क राष्ट्र, छिमेकी र अन्य मुलुकका राजदूत समावेश थिए थिएनन् ? के यस प्रकारको भेला गर्नुपूर्व नेपाल सरकारसँग छलफल गरियो ? के नेपालस्थित राष्ट्रसंघीय कार्यालय राजदूत डाकेर प्रभाव र दबाब बनाउने मन्च हो ? के यसै प्रकारका बैठक युरोप, अमेरिका, चीन, जापान, भारतजस्ता मुलुकमा रहेका राष्ट्रसंघीय कार्यालयले पनि गर्ने गर्दछन् ? बैठकपछि के निष्कर्ष निकालियो ? निष्कर्ष सार्वजनिक हुनुपर्ने वा गोप्य राख्नुपर्ने कस्ता-कस्ता थिए ? यस्तो कार्य स्वयंमा कूटनीतिक मर्यादाभित्र पर्छ ?

राष्ट्रसंघको नेपालस्थित कार्यालयले खास क्षेत्र, खास विश्वास प्रणाली र खास अनुहारका राजदूतको भेला मात्र डाकेको वा डाक्ने गरेको हो भने त्यो किन ? राष्ट्रसंघको नेपालस्थित कार्यालयले अरू क्षेत्र, सभ्यता र अनुहारका राजदूतलाई डाक्यो, डाकेन ? के राष्ट्रसंघको नेपालस्थित कार्यालय र त्यहाँ डाकिएका मुलुकको नेपालप्रतिको वा नेपालको वर्तमान संविधान वा प्रस्तावित संशोधनप्रतिको दृष्टिकोण समान हो वा समान दृष्टिकोण बनाउन त्यस्तो बैठक डाकिएको हो ? के राष्ट्रसंघको नेपालस्थित कार्यालय यिनै कामका लागि हो ? के नेपालस्थित राष्ट्रसंघका कर्मचारीलाई राष्ट्रसंघले दिएको कार्यादेशमा यी कुरा पर्छन् ?

राष्ट्रसंघको खास मुलुकस्थित कार्यालय त्यस देशका जनताको जनप्रतिनिधि संस्था होइन । त्यो राष्ट्रसंघको प्रतिनिधि संस्था मात्र हो । राष्ट्रसंघका कर्मचारी त्यो देशका शासक होइनन् । राष्ट्रसंघका कर्मचारीले त्यस्तो आभास हुने गरी वा छाप पर्न सक्ने गरी कुनै काम गर्न मिल्दैन ।

संयुक्त राष्ट्रसंघको सदस्य बन्दा कुनै पनि राज्यले आफ्नो सार्वभौमसत्ताको अंश त्यहाँबाट खटिने कर्मचारीलाई सुम्पने गरी सदस्यता प्राप्त गरेको हुँदैन । सम्बद्ध देशको सरकार, विधायिका, न्यायपालिका, प्रतिपक्ष र जनताले गर्ने काम राष्ट्रसंघबाट खटिएका कर्मचारीले गर्ने होइन, भूकम्प जाँदा राहत सामग्री पठाउन त स्थानीय कानुन, प्रशासन र अधिकारीसँग समन्वय गर्नुपर्छ भने राज्यको जीवनमा प्रभावित पार्ने विषयमा राजदूतहरू जम्मा पारेर छलफल गर्दा राज्य प्रणालीको आँखा छल्नु आवश्यक हुँदैन । राष्ट्रसंघका कर्मचारीले हाम्रो सरकार, विपक्ष र जनताले गर्ने कामको जिम्मा लिइदिन मनासिव हँदैन । नेपाल अहिले ट्रस्टिसिप काउन्सिलमातहत छैन ।

सम्बद्ध सरकारलाई कुनै कुरा आवश्यक परेमा सरकारले कूटनीतिज्ञहरूको बैठक आफैं डाक्न सक्छ । सुझाव वा सहयोग आवश्यक परे माग्न सक्छ । अहिलेको अवस्था भनेको राष्ट्रसंघको कुनै खास मिसन खटिएको अवस्था पनि होइन ।

नेपालस्थित राष्ट्रसंघको कार्यालयको नेपाल सरकारसँग कुनै समस्या भएको अवस्था सार्वजनिक भएको पनि छैन । यस्तो अवस्थामा प्रोटोकलअनुसार सरकारसँग संवाद हुन समस्या छैन भने राजदूतहरूमार्फत के कुरा भनाउन यस्ता बैठक गर्नुपर्ने हो त ? साथै विदेशी राजदूतहरू नेपाल सरकारसँग प्रोटोकलअनुसार कुरा गर्न आफैं सक्षम हुन्छन् । अझ नेपालमा त प्रोटोकल मिचेरै कति भेटघाट हुने गरेका कुरा प्रेसमा आउँछन् । यस्तो खुला भेटघाट हुने मुलुकमा ती मुलुकका राजदूतहरूलाई डाकेर छलफल चलाउनुपर्ने कारण राष्ट्रसंघका स्थानीय कर्मचारीलाई किन पर्छ ?

राष्ट्रसंघको खास मुलुकस्थित कार्यालय सो मुलुकमा रहेका अन्य मुलुकका दूतावासहरूको समन्वयकर्ता हो र ? कम से कम राष्ट्रसंघको बडापत्रले त त्यसो भन्दैन । त्यस्तो कुनै महासन्धि वा राष्ट्र संघको प्रस्ताव छ र ?

राष्ट्र संघबाट अरू मुलुकमा खटिएका कर्मचारीले स्थानीय सरकारको आदेशको पालना गर्नु पक्कै पर्दैन । यस्तै सदस्य राष्ट्रका सरकार वा सरकारी निकायलाई राष्ट्रसंघको स्थानीय कार्यालयका कर्मचारीले आज्ञा, आदेश वा निर्देशन दिन पनि पक्कै पाउँदैनन् । यो काम त्यहाँका कर्मचारीले आफूले गर्न मात्र नपाउने होइन, त्यसको लागि त्यो मुलुकस्थित अन्य देशका राजदूतहरूको बैठक गरी सामूहिक रूपमा व्यक्त गराउन पनि पाउँदैनन् ।

राष्ट्रसंघले चासो देखाउने र चिन्ता व्यक्त गर्ने विषय होलान् । त्यसका प्रक्रिया पनि होलान् । तर ती विषय र प्रक्रिया सम्बद्ध मुलुकस्थित केही राजदूतहरूको बैठकबाट पक्कै तय गरिँदैन । राष्ट्रसंघको स्थानीय कार्यालयका कर्मचारीको काम आफूले रकम दिएका संस्थामार्फत सम्बद्ध मुलुकको सरकार, समाज, सामाजिक एकता र सद्भावविरुद्ध जनमत तयार गर्नु कदापि होइन । सम्बद्ध देशका जनतालाई प्राप्त संविधान वा कानुन बनाउने अधिकार कुण्ठित गर्नु पनि होइन । स्थानीय सभ्यता र संस्कृतिविरुद्ध काम गर्ने विदेशी गैरसरकारी संस्थालाई उक्साउनु पनि होइन । यस्तै स्थानीय स्तरमा विभिन्न दूतावासबाट रकम प्राप्त गरी स्थानीय सभ्यता र संस्कृतिविपरीतका काममा संलग्नलाई उपलब्ध गराउनु पनि अवश्य होइन ।

राष्ट्रसंघको स्थापना राष्ट्रसंघको बडापत्रअनुसार भएको हो । स्वयं राष्ट्रसंघ पनि सो बडापत्रअनुसार चल्नुपर्ने हुन्छ । विभिन्न मुलुकस्थित राष्ट्रसंघीय कार्यालयका कर्मचारी स्वयम्मा राष्ट्रसंघ होइनन् ।

राष्ट्रसंघका कर्मचारीले नेपालजस्ता साना देशमा जेजसो गर्छन्, त्यस्तै काम ठूला, प्रभावशाली र धनी देशमा गर्छन् त ? के युरोपीय मुलुकस्थित राष्ट्रसंघका कार्यालयले सार्क, आसियान, अरब लिग, अफ्रिकी युनियन वा दक्षिण अमेरिकी मुलुकका राजदूत जम्मा पारेर दबाब वा प्रभाव अथवा चासो वा चिन्ता व्यक्त गर्छन् त ? उता गर्दैनन् भने यता गर्ने दोहोरो मापदण्ड किन ?

राष्ट्रसंघ सबै सदस्य राष्ट्रको संस्था हो । यसका कार्य सबै मुलुक, सबै सभ्यता र सबै संस्कृतिप्रति न्यायपूर्ण हुनुपर्छ । अझ राष्ट्रसंघमा काम गर्ने कर्मचारीले पनि गरिब र साना मुलुकका नागरिकको संवेदनशीलतामा ध्यान दिन जरुरी छ । ती देशका आन्तरिक मामिला, सभ्यता र संस्कृतिमा हस्तक्षेपजस्तो देखिने कुनै क्रियाकलाप ती देशका नागरिकलाई बिझाउँछ, दुख्छ र चहर्‌याउँछ ।

राष्ट्रसंघको खास मुलुकस्थित कार्यालय त्यस देशका जनताको जनप्रतिनिधि संस्था होइन । त्यो राष्ट्रसंघको प्रतिनिधि संस्था मात्र हो । राष्ट्रसंघका कर्मचारी त्यो देशका शासक होइनन् । राष्ट्रसंघका कर्मचारीले त्यस्तो आभास हुने गरी वा छाप पर्न सक्ने गरी कुनै काम गर्न मिल्दैन ।

कहिलेकाहीँ सरकार चुप रहन सक्छ, तर नागरिकलाई चुप रहनुपर्ने बाध्यता हुँदैन । नागरिकलाई आफ्नो सरकार वा प्रतिपक्षले गरेका कुरामा चित्त नबुझे कडा रूपमा प्रस्तुत हुने अधिकार हुन्छ । कूटनीतिक क्षेत्रबाट नागरिकलाई चित्त नबुझ्ने कामकुरा भएमा त्यसलाई नसहने अधिकार पनि हुन्छ । सरकार वा नागरिकले संवेदनशील भई आफ्नो कुरा राखेका हुन सक्छन् । त्यसलाई कमजोर छन् भन्ठान्नु हुँदैन ।

कुनै कूटनीतिज्ञको व्यवहार चित्तबुझ्दो भएन भने सरकारले औपचारिक रूपमा बोलाएर चासो, चिन्ता वा सरोकार व्यक्त गर्छ । त्यस्ता क्रियाकलाप दोहोरिए वा अझ गम्भीर क्रियाकलाप हुन थाले भने सरकारहरूले अझ गम्भीर निर्णय गर्छन् र गर्नुपर्छ । समाचारमा आएअनुसार सरकारले आफ्नो चासो व्यक्त गरको छ ।

नेपालमा कूटनीतिक मर्यादाविपरीत हुने गरेका कतिपय घटना समाचारमा आउँछन् । समाचारपत्रको अर्को अंक आएपछि पुरानो अंक छोपिन्छ । घटनाहरू पनि छोपिन्छन् । हराउँछन् । तर ती घटना नागरिकको स्मृतिबाट भने हराउँदैनन् । जब मौका आउँछ, उनीहरू समाचारपत्रमार्फत मात्र होइन, सामाजिक सञ्जालमार्फत बोल्न थाल्छन् । जनताको आवाजले सरकारमाथि दबाब सिर्जना गर्नुपर्ने हो ?

नेपालमा कूटनीतिक मर्यादाविपरीत हुन नदिन नेपाल सरकारले निम्न कार्य गर्नु मनासिव देखिन्छ-

-विदेशी कूटनीतिज्ञसँग भेटघाट गर्दा प्रोटोकलअनुसार मात्र गर्ने,
-परराष्ट्र मन्त्रालयका प्रतिनिधि राखेर मात्र यस्ता भेटघाट गर्ने र त्यसको अभिलेख राख्ने,
-के विषयमा कुराकानी गर्ने हो, एजेन्डा पहिल्यै तय गरी पूर्ण तयारीका साथ मात्र कुराकानी गर्ने,
-भाषामा समस्या भए अनुवादक राखेर मात्र कुराकानी गर्ने,
-अड्डापिच्छे भेटघाट गर्नुभन्दा सिंहदरबारभित्र साधन र सुविधासम्पन्न भेटघाट कक्ष बनाई त्यहीं भेटघाट गर्ने व्यवस्था गर्ने,
-कूटनीतिक मर्यादाविपरीत भेटघाट गर्ने पदाधिकारीलाई कारबाही गर्ने,
-अड्डापिच्छेका कर्मचारीले सहयोगको याचना गर्ने प्रवृत्ति अन्त्य गर्ने,
-विदेशी गैरसरकारी संस्थाको अनावश्यक प्रभाव र दबाबबाट राज्य संयन्त्र मुक्त राख्ने,
-उच्च तहका पदाधिकारीलाई विदेशीहरूको रकमबाट यात्रा गराउनुपूर्व त्यो संस्थाको समग्र जानकारी लिने र लहसाउने यात्रा सकेसम्म नगराउने,
-कुनै कर्मचारी वा पदाधिकारी विदेशीको प्रलोभनको सिकार भएका त छैनन् भन्नेबारे निगरानी राख्ने,
-विदेशी गैरसरकारी संस्थासम्बद्ध वा लामो समयको लागि नेपालमा बस्ने वा बसेका गैरकूटनीतिक विदेशी व्यक्तिका क्रियाकलापको निगरानी राख्न काउन्टर इन्टेलिजेन्स एकाइ गठन गर्ने,
- कूटनीतिज्ञले गर्ने अमर्यादित र गैरकूटनीतिक क्रियाकलापबारे तत्काल प्रतिक्रिया जनाउने र सार्वजनिक गर्ने,
-नेपाल सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रबाट सम्पन गर्न सकिने कामका लागि विदेशी सहयोग नलिने,
-नेपाली नागरिकबाट सम्भव हुने कामको लागि विदेशी परामर्शदाता नलिने,
-विदेशी गैरसरकारी संस्थालाई सूचनाको हकसम्बन्धी ऐनको दायरामा ल्याउने,
-वैदेशिक सहायता लिँदा राष्ट्रिय आवश्यकता र प्राथमिकतालाई आधार बनाउँदै पारदर्शी बनाउन र त्यस्तो सहयोगलाई राष्ट्रिय बजेटमा समाहित गर्ने भन्ने संविधानको धारा ५१(घ)(११) को व्यवस्थाको कार्यान्वयन गर्ने बन्दोबस्त मिलाउने,
-संविधानको धारा ५१(ञ)(१४) मा उल्लेख भएबमोजिम अन्तर्राष्ट्रिय (विदेशी) गैरसरकारी संस्थालाई जबाफदेही, पारदर्शी बनाउन तिनको स्थापना, स्वीकृति, सञ्चालन, नियमन, र व्यवस्थापनको लागि एकद्वार प्रणाली अपनाउने र प्राथमिकता क्षेत्रमा मात्र तिनलाई संलग्न गराउने प्रयोजनको लागि तत्काल कानुन निर्माण गर्ने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.