प्रेरक प्रसंग-मानिसबारे कम जिज्ञासु बन
म्याडम क्युरी अपरिचित नाम होइन । रेडियमको आविष्कार गरेर मानवजातिमै रेडियोधर्मी तत्त्वबारे विस्तृत ज्ञान दिने क्युरी आफ्नो खोजका कारण सुप्रसिद्ध थिइन् ।
उनको प्रसिद्धी चुलिएको समयमा एक पत्रकार उनीसँग अन्तर्वार्ता लिन गए । क्युरीले दिएको समयमा नै उनी पुगे । उनी पुग्दा क्युरी घरमा सरसफाइ गरिरहेकी थिइन् । पत्रकारलाई लाग्यो उनी घरेलु नोकर हुन् ।
त्यसैले उनले सोधे, 'म्याडम क्युरी कहाँ हुनुहुन्छ ? ' पत्रकारको प्रश्न शैलीले क्युरीले उनको मानसिकता बुझिन् र भनिन्, 'म्याडम अहिले बाहिर जानुभएको छ । तर उहाँले तपाईंका निम्ति एउटा सन्देश छोड्नुभएको छ ।'
'कस्तो सन्देश ? ' पत्रकारले सोधे ।
'उहाँले भन्नुभएको छ-मानिसबारे कम जिज्ञासु बन । उनीहरूको कर्म र विचारबारे बढी जिज्ञासु बन ।'