रोकियो पर्यटन क्षेत्रमा चिनियाँ लगानी

रोकियो पर्यटन क्षेत्रमा चिनियाँ लगानी

चिनियाँ नागरिक होङ यान सन् २०१२ मा पोखरा घुम्न आउँदा यहाँको सुन्दरताले निकै आकर्षित भए । लहरै देखिने अन्नपूर्ण, धौलागिरि र मनास्लु हिमशृंखला तथा साहसिक खेलहरू प्याराग्लाइडिङ, अल्ट्रालाइट र जिप फ्लायरसमेत गर्न सकिने तालहरूको सहरले उनलाई निकै लोभ्यायो ।उनी भन्छन्, ‘त्यतिबेला जता गयो त्यतै चिनियाँ पर्यटक ठोकिन आइपुग्थे ।’ पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा केही चिनियाँले रेस्टुराँ र होटल सञ्चालन गरेको पनि उनले देखे ।

चिनियाँ पर्यटकको आगमन देखेर पोखरामा पर्यटन उद्योगमा सम्भावना छ भन्ने उनलाई लाग्यो । पर्यटकका रूपमा घुम्न आएका यानले होटेल चलाउन कम्मर कसे । त्यसका लागि पोखराकोे लेकसाइडमा उनले भनेजस्तै १२ कोठे घरमा सञ्चालित होटेल पनि भेटे । १० वर्षका लागि घर भाडामा लिएर होटेल मर्मत गरे । चीनको जुत्ता पसल बेचेर यहाँ होटलमा लगानी गरेका थिए ।

दुई करोड ५० लाख लगानी गरेर महिनामा दुई लाखभन्दा बढी भाडा तिर्ने गरी होटेल सञ्चालनको तयारी गर्दै थिए, १२ वैशाख ०७२मा भूकम्प गयो । त्यससँगै पोखरामा रहेका पर्यटक स्वदेश फर्कन थाले । आगमनमा कमी आयो । चिनियाँ पर्यटकलाई लक्षित गरेर खोलिएको उनको होटेल र रेस्टुराँ पनि तातोपानी नाका बन्द भएर चिनियाँ आउन छोडेपछि ठप्पै भयो ।

हालै आएर चिनियाँ पर्यटकको आगमन विस्तारै वृद्धि भए पनि पहिलेको अवस्थामा पुग्न केरुङ नाका पूर्ण सञ्चालन भएर पर्यटक आगमन सहज हुनुपर्ने उनी बताउँछन् । चिनियाँ व्यवसायीहरूका अनुसार भूकम्पअगाडि एकदेखि चार करोडसम्मका साना लगानीका होटेल र रेस्टुराँ सञ्चालनका लागि चिनियाँहरू घर खोज्दै आउँथे ।

पश्चिमाञ्चल होटेल संघका अध्यक्ष भरतराज पराजुलीले पनि चिनियाँ व्यवसायीहरूले तीन करोड रुपैयाँसम्मका साना होटेल र रेस्टुराँ चलाउने गरेको पाइएको बताउँछन् । भूकम्पअघिको तुलनामा अहिले २० प्रतिशत मात्र चिनियाँ पर्यटक पोखरामा आएको पराजुली बताउँछन् । केरुङ नाकाको सडकखण्ड सुधार नभएसम्म सातामा तीन फ्लाइटले मात्र चिनियाँ पर्यटकको आगमन नबढ्ने उनको कथन छ  ।

 चिनियाँ पर्यटकहरूलाई लक्षित गरेर खोलिएका होटेल र रेस्टुराँ पनि तातोपानी नाका बन्द भएपछि ठप्पै भए।

नेपालीलाई अगाडि सारेर गरिएको लगानीका कारण पनि पोखरामा चिनियाँहरूको कति लगानी छ भन्ने अनुमान लगाउन नसक्ने पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु बताउँछन् । भन्छन्, ‘हाम्रोमा सदस्यता लिन पनि उनीहरू आएका छैनन् । लगानी भने देखिन्छ ।’ चिनियाँ पर्यटन व्यवसायीको संस्था ओभरसिज चाइनिज एसोसिएसन पोखराका अध्यक्ष चाङ जुङसङका अनुसार भूकम्पपछि नयाँ व्यवसायी नआएका मात्रै होइन, पुरानालाई पनि टिक्न गाह्रो भएको छ ।

सात वर्षदेखि लेकसाइडमा दुई करोडभन्दा बढी लगानीमा चाइना गार्डेन रेस्टुराँ सञ्चालन गरेका सङले चिनियाँ पर्यटकको आगमनमा वृद्धि भएसँगै चिनियाँ नागरिक यहाँको पर्यटन व्यवसायमा आकर्षित भएको बताए । भूकम्पपछि ठूलो संख्यामा स्थलमार्ग हुँदै आउने चिनियाँ पर्यटक आउने क्रम घटेकाले व्यवसाय नै संकटमा परेको उनको भनाइ छ । चिनियाँ नागरिकको लगानीमा पोखराको लेकसाइडमा मात्र करिब २० वटा होटेल तथा रेस्टुराँ सचालनमा रहेको जानकारी पनि उनले दिए ।

चिनियाँ महिलासँग विवाह गरेका खिमबहादुर नेपालीले विगत सात वर्षदेखि चिनियाँ पर्यटकलाई लक्षित गरेर गिरी गेस्टहाउस, इगल नेस्ट होटेल र अर्को एउटा रेस्टुराँ सञ्चालन गरेका छन् । सन् २००९ देखि चिनियाँ पर्यटकको आगमनमा वृद्धिसँगै यहाँ घुम्न आएका चिनियाँहरूले कम्पनी दर्ता गरी बिजिनेस भिसामा होटेल तथा रेस्टुराँ सञ्चालन गर्ने गरेको नेपालीले बताए ।

उनले सञ्चालन गरेका होटेल र रेस्टुराँ सबै सिजनमा चिनियाँ पर्यटकले भरिभराउ हुने गरे पनि भूकम्पपछि त्यो अवस्था नरहेको उनी बताउँछन् । पछिल्लो समयमा चिनियाँहरू होटेल सञ्चालनका लागि घर खोज्न आउने क्रम रोकिएको नेपालीको अनुभव छ । साहसिक खेलकुद, पाँचदेखि १० दिनमै मार्दी, अन्नपूर्ण र माछापुच्छ्रे आधारशिविरसम्म पुगेर फर्किन सकिने भएकाले पनि चिनियाँ पर्यटक पोखरामा आकर्षित भएको नेपालीले बताए । नेपालमा १०/१२ दिनका लागि आउने पर्यटक पोखरामा पाँच दिन बस्ने गरेको अनुभव पनि उनले सुनाए ।

नेपाली भन्छन्, ‘अधिकांश चिनियाँ पर्यटक अंग्रेजी बोल्न नजान्ने हुनाले चिनियाँ व्यवसायीले नै चलाएको होटेल र रेस्टुराँ रोज्छन् ।’ यसैकारण चिनियाँ व्यवसायी पोखरामा लगानी गर्न उत्साहित भएको उनले सुनाए । चीनका सामान्य व्यवसायी मात्र होइन, प्रतिष्ठित विश्वविद्यालयका प्राध्यापकले पनि पोखराको पर्यटन क्षेत्रमा लगानी गरेका छन् । चीनको ग्वान्जाओ सहरकी प्रोफेसर इङले डेढ करोड रुपैयाँभन्दा बढीको लगानीमा ‘नेपाल गेस्टहाउस’ भाडामा लिएर पुनर्निर्माण गरी ‘मिङटान होटेल’ नामकरण गरेर सञ्चालन गरेकी छन् ।

सरकारले चिनियाँलाई आकर्षित गर्न अंग्रेजी नयाँ वर्षदेखि भिसा शुल्क मिनाहा गरे पनि तातोपानी नाका नखुल्दा पर्यटक बढेनन्।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुली सरकारले विदेशी व्यवसायीका लागि न्यूनतम चारतारेभन्दा कम स्तरका होटेलमा लगानी गर्न रोक लगाउनुपर्ने बताउँछन् । साना होटेलमा समेत विदेशीलाई लगानी गर्न छुट दिंदा कम लगानी गरेर व्यवसाय गर्ने स्वदेशी व्यवसायी पलायन हुनुपर्ने अवस्था रहेको उनले बताए । ठूला तारे होटेलमा विदेशी लगानी भित्र्याउँदा रोजगारका अवसर सिर्जना हुनुका साथै राज्यलाई कर पनि बढी आउने भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने होटेल संघ अध्यक्ष पराजुली बताउँछन् ।

पछिल्लो समयमा चिनियाँ लगानीमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्ने खबरले चिनियाँ व्यवसायी अन्य क्षेत्रमा पनि लगानी गर्न आकर्षित भएको रेस्टुराँ एन्ड बार एसोसिएसन (रेवान) पोखराका पूर्वअध्यक्ष गोपीबहादुर भट्टराई बताउँछन् । चिनियाँ व्यवसायीको लगानी बढेसँगै साना लगानीमा होटेल तथा रेस्टुराँ सञ्चालन गरेका स्थानीय पर्यटन व्यवसायीलाई चुनौती थपिँदै गएको पनि उनको अनुभव छ ।

चिनियाँ लगानीमा सञ्चालित होटेलहरूमध्ये नेपाल सरकारको नियमअनुसार दर्ता भएका चार वटा होटेल रेवानमा आबद्ध भएको भट्टराई बताउँछन् । भूकम्पपछि होटेलमा चिनियाँ व्यवसायीको लगानी रोकिएको भट्टराई पनि बताउँछन् । पर्यटन उद्योग विस्तारै सामान्य अवस्थामा गएपछि पोखरामा चिनियाँ लगानी अझ बढ्ने चाइना टाउन रेस्टुराँका सञ्चालक हाउसान टेन बताउँछन् ।

ताल, उच्च हिमाल र उच्च हिमाली क्षेत्रको पदयात्रा पोखराबाटै गर्न सकिने हुनाले चिनियाँ पर्यटक र लगानीकर्ता पोखरामा आकर्षित भएको टेनको भनाइ छ । सन् २००८ देखि पोखरामा चिनियाँ रेस्टुराँ सञ्चालन गरेका उनको रेस्टुराँ आन्तरिक पर्यटककै भरमा अहिले जेनतेन चलेको छ । चिनियाँ पर्यटक बढेपछि पोखरामा साहसिक खेल प्याराग्लाइडिङको व्यवसाय मौलाएको थियो ।

करिब तीन दर्जन हाराहारीमा रहेका प्याराग्लाइडिङ कम्पनीको संख्या बढेर ६० पुगेको थियो । त्यसअलावा चिनियाँ पर्यटकको आगमन घटेपछि अल्ट्रालाइट, बन्जिजम्प, जिपलाइन, क्यानोनिङलगायत साहसिक खेल पर्यटन पनि ओरालो लागेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष योगेश भट्टराई बताउँछन्  ।

सरकारले चिनियाँ पर्यटक आकर्षित गर्न अंग्रेजी नयाँ वर्षदेखि भिसा शुल्क मिनाहा गरे पनि तातोपानी नाका अझै नखुल्दा पर्यटक आउने क्रम नबढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा बताउँछन् । चीनलगायत देशका पर्यटकको आगमनमा सुधार नआएपछि व्यवसायीले प्रबद्र्धनात्मक कार्यक्रम गरिरहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.