पूर्वछापामार थोरै गाउँमा, धेरै विदेश र सहरतिर

पूर्वछापामार थोरै गाउँमा, धेरै विदेश र सहरतिर

 १० वर्षे जनयुद्धमा पार्टी नाम गोपाल । ‘कि मृत्यु कि मुक्ति’ मुल आदर्श । बन्दुक बिसाएको १० वर्षपछि भेट्दा गजुल ७ क्वालिगाउँका ३६ वर्षीय मणि थापा बाख्रालाई घाँसपातमा व्यस्त थिए । ०६८ सालमा लडाकुका क्यान्टोनमेन्टबाट स्वेच्छिक अवकाश लिएर निस्किँदै गर्दा उनमा परम्परागत खेतीपातीमा आवद्ध हुने विकल्प मात्र थियो ।

माओवादी छापामार र क्यान्टोनमेन्टमा रहँदा पनि नियमित शारीरिक अभ्यास छाडेका थिएनन् । स्वेच्छिक अवकाशले उनको दैनिकी फेरिदिएको छ । बिहान पाँच बजे ओछ्यान छाडेपछि जिउ तन्काउन छाडेर रेडियो ‘ट्युन’ गर्छन् । साढे पाँच बजे स्थानीय एफएम स्टेसनले काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिकाका समाचार सुनाउँछन् । चिया पिउँदै आधा घण्टा देश–दुनियाँका खबरमा हराउँछन् ।

६ बजे बाख्रालाई खोरबाट टाट्नामा पुर्‌याउँछन् र घाँसपात गर्न बारीतिर लम्किन्छन् । भन्छन्, ‘पूर्ण किसानको जीवन बिताउँदैछु ।’ कुनैबेला सहायक कमान्डरका रूपमा लडाकुको ब्रिगेड सम्हालेका उनी अहिले उन्नत जातका ११ वटा बाख्राको स्याहार–सुसारमा अभ्यस्त बनेका छन् । दैनिकी सामान्य किसानको झैं छ, पार्टीमा सक्रिय छैनन् । ‘पार्टी सदस्यता मात्र जोगाएको छु ।

संगठनले पनि सक्रिय राजनीतिमा आउन भनेको छैन,’ उनी भन्छन् ।लडाकु बन्दा उनी १८ वर्षे ठिटो थिए । ०५४ सालमा वाईसीएल बनेका थिए, विस्तारै लडाकु दस्तामा सामेल भए । ६ फागुन ०५६ मा घर्तीगाउँस्थित इलाका प्रहरी कार्यालयमा आक्रमण गर्ने टोलीमा उनी पनि थिए । त्यस घटनामा निरीक्षक श्रीराम आचार्यसहित २१ प्रहरीको मृत्यु भएको थियो । त्यतिबेलाको ठूलो फौजी आक्रमण थियो त्यो ।

लगत्तै गाउँ–गाउँमा छरिएका ३८ वटा प्रहरी एकाइ सदरमुकाम सारियो । त्यसपछिका दर्जनौं फौजी आक्रमणमा थापा सहभागी भए । ती दिन अब उनका लागि सम्झनामा मात्र छन् । पे्रमकुमारी श्रेष्ठसँग ०७१ सालमा लगनगाँठो कस्दा ३४ वर्ष पुगिसकेका थिए । अहिले काखमा डेढ वर्षकी छोरी छन् । उनकी पत्नी बालविकासमा शिक्षिका छिन् । र, निजी क्लिनिक पनि चलाउ“छिन् ।

थापाले स्वेच्छिक अवकाशका क्रममा लिएको पाँच लाख रुपैयाँ भने घरखर्चमै सकियो । यद्यपि, विदेशभन्दा गाउँघरमा रमाएका छन्, खेती किसानीमै जीवन खोज्दै छन् । माओवादी छापामारका बटालियन कमान्डरसम्म बनेका ५७ वर्षीय जयन्द्र ठकुरी रोल्पाकै पाछाबाङका स्थायी बासिन्दा हुन् । अवकाशपछिको जीवन गाईबस्तुको घाँसपात, स्याहार–सुसार र खेतीपातीमा बिताइरहेका छन् ।

उनी पनि सक्रिय राजनीतिमा छैनन् । जंकोट १ माडीचौरकी खुमा पुनमगर ‘यात्री’ सभामुख ओनसरी घर्तीमगरकी छिमेकी हुन्, जो रेउघा अस्पताल नजिकै पसल गर्दैछिन् । उद्योग वाणिज्य संघकी सदस्य पनि हुन् । उनले पनि सक्रिय राजनीति छाडेकी छन् ।

थरी–थरी पेशा
प्युठानकी पूर्वलडाकु कमान्डर होलिका केसी ‘नवीना’ दाङको घोराहीमा बस्छिन् । बालबच्चा हुर्काउने अनि कुखुरा फार्म स्याहार्ने उनको दैनिकी हो । उनीजस्ता धेरै महिला लडाकु गुमनामजस्तै छन् । रोल्पा धबाङ ९ भुमका ४० वर्षीय धनबहादुर गिरी पनि स्वेच्छिकमा घर फर्किएका पूर्वलडाकु हुन् । भूमिगत जीवनमा उनलाई ‘मिसाइल’ उपनाम दिइएको थियो ।

उनी अहिले सदरमुकाम लिबाङ बजारमा फेन्सी पसल चलाउँछन् । चितवन शक्तिखोरस्थित तेस्रो डिभिजनबाट बाहिरिएका उनले सुरुमा ढुंगा फोड्ने कामसमेत गरे । भन्छन्, ‘कारागार नजिकै ढुंगा फोड्ने मजदुरी थालेको थिएँ । मासिक नौ हजारसम्म पनि कमाएँ । धेरै साथीले मजदुरी सुहाएन भनेपछि पसल थालेको हुँ ।’

माओवादी युद्धको एउटा आदर्श श्रमको सम्मान थियो, आफैं श्रमिक बन्दा भने साथीभाइले नसुहाएको बताउँदा गिरीलाई अनौठो लागेको थियो । बन्दुक छाडेपछि नेता/कार्यकर्तामा बदलिएको दृष्टिकोण त्यतिबेला भेउ पाए उनले । त्यस्तो परिवर्तन भने शिविरमै बस्दा देखिसकेका थिए । पार्टी, नेता/कार्यकर्ता र छापामारमा विचलन आएको अनुभूतिकै कारण उनले स्वेच्छिक अवकाश रोजेका हुन् ।

rolpa3

राेल्पाकाे दहवनस्थित पाँंचाै डिभिजन शिविरका पूर्वलडाकु 

कम्पनी कमान्डरसम्म बनेका उनी लडाइँमा घाइते पनि भएका थिए । अहिले ढाडको समस्या बेहोरिरहेका छन् । उनकी पत्नी आशा राना पनि पूर्वलडाकु भाइस–कमान्डर हुन् । अस्थायी शिविरमै उनीहरूबीच जनवादी विवाह भएको हो । दुवैले सल्लाहमै स्वेच्छिक अवकाश रोजे । फेन्सी पसल चलाउँदै ६ वर्षीय छोरा हुर्काउन व्यस्त छन् दुवै ।

अवकाशवापत पाएको रकमबाट पसल खोलेका हुन् । रोल्पा पाछाबाङ २ का दिनेश बुढामगर पनि पूर्वब्रिगेड भाइस–कमान्डर हुन् । दहवनस्थित पाँचौं डिभिजनबाट बाहिरिएका उनले अहिले इरिबाङको बाघमारामा ‘पहराई हार्डवेयर एन्ड सप्लायर्स’ खोलेका छन् । अवकाशपछि प्रत्यक्ष राजनीतिमा संलग्न छैनन् । इरिबाङकै ओमप्रकाश डाँगी ‘विकर्षण’ पनि दाङमा गाईपालन गर्दै आएका छन् । उनी पूर्वकम्पनी कमान्डर थिए ।

पाछाबाङ ६ का नवीन लोचन मगर भने यी सबैभन्दा फरक छन् । बन्दुक चलाएका उनका हात अहिले कलममा अभ्यस्त छन् । सनस्टार नामक पत्रिकाका सम्पादक हुन्, मगर । काठमाडौंबाट प्रकाशित हुने एक दैनिकका जिल्ला संवाददाता पनि छन् । माओवादीको उद्गम थलो थबाङ २ का विनप्रसाद पुन ‘टार्जन’ दाङमा विद्युतीय सामग्रीको व्यापार गर्छन् ।


वेच्छिक अवकाश रोजेर घर फर्किएका अधिकांश पूर्वछापामारको दैनिकी खेतीपाती, घाँसपात र घरपालुवा जनावरको स्याहार–सुसारमै बित्छ।

मिरुलका पूर्वकमान्डर रामलाल रोका माओवादी विभाजनपछि मोहन वैद्य नेतृत्वको समूहमा आवद्ध भए । उक्त समूह पनि विभाजन भएपछि उति सक्रिय छैनन् । पाँचौं डिभिजन दहवनमा स्वास्थ्य विभाग प्रमुखबाट फर्किएका कोर्चाबाङका पूर्वकमान्डर दिपेन्द्र घर्तीले दाङ घोराहीमा क्लिनिक सञ्चालन गरिरहेका छन् । घोराही नजिकको डुम्मर गाउँमा घर बनाएका छन् ।

राजनीतिमा पनि
पूर्वलडाकु फविन्द्र आचार्य राजनीति र व्यवसायमा सक्रिय छन् । भाबाङका केशबहादुर बाठा ‘सुवास’ पनि पूर्वछापामार नै हुन्, जसले नेत्रविक्रम चन्द नेतृत्वको माओवादी राप्ती अञ्चलको जिम्मा सम्हालेका छन् । पाँचौं डिभिजन दहवनमा सहायक कमान्डर रहेका कुरेलीका राजबहादुर बुढा अवकाशपछि एमाओवादीको जिल्ला इन्चार्जसमेत भए, चितवनमा घर बनाएका छन् । माओवादी केन्द्रमा सक्रिय राजनीति गर्ने उनकोे लक्ष्य छ ।

१० वर्षे युद्धताका थुप्रै रोल्पाली छापामार बने । तीमध्ये नगण्यले मात्र शान्ति प्रक्रियापछि नेपाली सेनामा समायोजन रोजे, अधिकांश स्वेच्छिक अवकाशमा घर फर्किए । १० वर्षसम्म त्रासको पर्यायझैं बनेका पूर्वछापामारहरूले अहिले गाउँ, समाजमै जीवन यात्रा चलाएका छन् । उनीहरूको पछिल्लो अवस्थाबारे माओवादी पार्टीहरू र राज्यले पनि खासै चासो लिएको पाइँदैन ।

धेरै विदेशतिर
केही पूर्वछापामारको दैनिकी अन्नपूर्ण टुडेले पछ्याएको थियो । भेटिएकाहरूका अनुसार अधिकांश बिदेसिएका छन् । रुकुमका पूर्वबटालियन कमान्डर गोविन्द मगर ‘शान’ तिनैमध्येका हुन्, जो अहिले हङकङमा छन् । अवकाशमा फर्किएपछि उनलाई घर–व्यवहार चलाउन गाह्रो भयो । र, हङकङको रोजगारीले लोभ्यायो ।

स्वेच्छिक अवकाशमै घर आएका रोल्पा कुरेलीका दिनेश बुढामगर जापान पुगेका छन् । उनकै सिको गर्दै ह्वामाका तिलक घर्तीमगर पनि जापानको रोजगारीमा छन् । रुकुम खाराको आक्रमणमा पत्नी अस्मितालाई गुमाएका उनी बटालियन कमान्डर थिए । रोल्पा बडाचौरका बासिन्दा हुन्, पूर्वब्रिगेड कमिसार श्यामकुमार बुढामगर ।

उनी पनि दिनेश र तिलकजस्तै जापान पुगेका छन् । धबाङका रूपधन बुढा ‘गुलाफ’ भने कतारको गर्मीमा भाग्य अजमाउँदै छन् । भाबाङका रामबहादुर बाठामगर र कर्णबहादुर घर्तीमगर मलेसिया पुगेका छन् । जितबहादुर बुढामगर साउदी अरेबियामा छन् । तीनै जना कमान्डर तहमा थिए । पूर्वलडाकु भरतबहादुर बुढामगरका अनुसार भाबाङ गाविसबाट मात्र दुई सय ५० भन्दा बढी लडाकु बनेका थिए ।

rolpa

पूर्वलडाकु कमान्डर हाेलिका केसी

‘कतिपयको मृत्यु भयो । २७ जना स्वेच्छिक अवकाशमा फर्किएका हौं,’ उनी भन्छन्, ‘अधिकांश विदेश गएका छन् । थोरै व्यवसायमा लागेका छन् ।’पाछाबाङका पूर्वलडाकु तुलसी महर, गोविन्द परियार र हिमाल बुढामगर पनि विदेशमा छन् । भरतका अनुसार मुलुकभरका पूर्वछापामारमध्ये अधिकांश बिदेसिएका छन् । भन्छन्, ‘आर्थिक अभाव र पारिवारिक दायित्व निर्वाह गर्न उनीहरूसँग बिदेसिनुको विकल्प थिएन ।’

उच्च तहका माथिल्लो ओहोदामै
अन्तर्राष्ट्रिय चर्चा बटुलेका जनमुक्ति सेनाका कमान्डर राङ्सीका नन्दकिशोर पुन ‘पासाङ’ उपराष्ट्रपति भएका छन् । इरिबाङमा जन्मिएका नेत्रविक्रम चन्द ‘विप्लव’ पनि पूर्वलडाकु कमान्डर नै हुन्, जो नेकपा माओवादीका प्रमुख छन् । कोटगाउँका लडाकु कुलप्रसाद केसी ‘सोनाम’ वैद्य नेतृत्वको माओवादीमा सक्रिय थिए, अहिले माओवादी केन्द्रमा छन् ।

रामबहादुर थापा ‘बादल’ वैद्यबाट छुटेर माओवादी केन्द्रमा समाहित भएका छन् । जंकोटका वर्षमान पुन ‘अनन्त’ पनि छापामार नै थिए । उनी अर्थमन्त्रीसमेत भइसके । अनन्तकी पत्नी तथा युद्धताकाकी लडाकु ओनसरी घर्तीमगर सभामुख छिन् । माओवादीको केन्द्रीय राजनीतिमा सक्रिय रोल्पाका सबै नेता लडाकु पृष्ठभूमिकै हुन् । उनीहरू शान्ति प्रक्रियासँगै खुला राजनीतिमा उत्रिए ।

रुकुमका जनार्दन शर्मा ‘प्रभाकर’ ऊर्जामन्त्री छन् । गणेशमान पुन पूर्वमन्त्री हुन् । दलजित सिर्पाइली युवा तथा खेलकुद मन्त्री छन् । जेलबाङका पूर्वकमान्डर सुकबहादुर रोकामगर ‘शरद’ उपराष्ट्रपति कार्यालयमा छन् ।अाैंलामा गन्न सकिने पूर्वलडाकु उच्च ओहोदामा पुगे पनि धेरै छापामार अस्थायी शिविरबाट बाहिरिएपछि गुमनाम छन् । सहकर्मीको समेत हेक्का हुन छाडेको छ । को, कहाँ र के गर्दैछ, एकले अर्काको जानकारी राखेको पाइँदैन ।

तीन तहको वर्ग
पार्टीको आदर्श नीतिबाट लेस र इमानदार पूर्वलडाकु अवकाशमा फर्किएपछि थोरै मात्र राजनीतिमा सक्रिय छन् । थोरै पूर्वलडाकु ठेक्कापट्टामा पनि संलग्न छन् । कमजोर आर्थिक पृष्ठभूमिका लडाकुका लागि वैदेशिक रोजगारी मात्र विकल्प बनेको छ । घरको आर्थिक अवस्था ठिकै र कमान्डर तहमा पुगेकाहरू मात्र जापान, चीनलगायत विकसित मुलुक पुगेका छन् ।

अवसर र बदलिँदो माहोल समात्न सक्नेहरूले जिल्ला र गाउँ छाडेर जग्गा दलालीसम्म गर्न भ्याएका छन् । त्यस्ता व्यक्ति शिविरभित्र पनि आर्थिक खटन–पटन र व्यवस्थापनमा सक्रिय थिए । तिनीहरूले दाङ, कपिलवस्तु, चितवनलगायत जिल्लामा घर ठड्याइसकेका छन् । गृह जिल्लामै रुमल्लिएकाहरूलाई भने राम्रो आर्थिक हैसियत बनाउनेहरूको नाम मुखाग्र छ । मणि थापा भन्छन्, ‘हामीले हैसियत बनाएनौं, सक्नेहरूले घर बनाए ।

लडाकुमै वर्ग जन्मियो ।’
पार्टीको बेवास्तामा परेपछि केही लडाकु अपराधमा समेत जोडिए । अवैध धन्दामा पक्राउ परे । तिनैमध्येका हुन्, रोल्पा जंकोटका जयबहादुर घर्ती ‘प्रभात’ र ह्वामाका किशोर घर्ती मगर ‘सम्मान’ । दुवै मूर्ति चोरी अभियोगमा कारागारमा छन् । अवकाशमा फर्केपछि तत्कालीन एमाओवादीले पूर्वलडाकुको मोर्चासमेत बनायो तर प्रभावकारी देखिएन । लडाकुले स्वतन्त्रता रोजे ।

त्यसका नाममा केही लडाकु गलत धन्दामा लागेको इमानदारहरू बताउँछन् । ‘लडाकुले बहुविवाह गरे या नगरे, जुवातास खेले या नखेले, सक्रिय राजनीति गरे या नगरे र जाँडरक्सी खाए या नखाए पनि कसैले केही भन्दैन,’ थापा भन्छन्, ‘अहिले अराजकता बढेको छ ।’

चर्को असन्तुष्टि
पूर्वलडाकुहरू अहिलेको अवस्थास“ग सन्तुष्ट छैनन् । पार्टी र नेता स्वार्थ र विदेशीको इशारामा चल्न थालेको अनुभूति गर्छन् उनीहरू । सँगसँगै लडेका केही नेता नवधनाढ्य वर्गमा उदय भइरहेकामा उनीहरूको आक्रोस देखिन्छ । लडाकुहरू खाडी मुलुकमा पसिना बगाइरहेको चिन्ता नेताहरूमा नदेखिनु दुर्भाग्य ठान्छन् । ‘कतिपयले आत्महत्या गरेका छन् । घाइते र अपांगको अवस्था दयनीय छ ।

केही मानसिक समस्यामा फसेका छन्,’ पूर्वलडाकु फविन्द्र आचार्य भन्छन्, ‘पाँच लाख दिएर घर पठाएपछि दायित्व सकिएजस्तो भएको छ, नेता र सरकारलाई ।’समानता र न्यायका लागि लडेका उनीहरूको हालको कर्मबाटै स्पष्ट हुन्छ अवस्था पनि । माओवादी केन्द्रका जिल्ला संयोजक सुरेन्द्र थापा घर्ती पूर्वलडाकुहरूको यकिन विवरण नभएको बताउँछन् ।

वैद्य र विप्लव माओवादीका जिल्ला समितिहरूस“ग पनि पूर्ण तथ्यांक उपलब्ध छैन । ‘सम्पर्कमा नभएकाले कसले के गर्दैछन् भन्ने यकिन छैन,’ पूर्वलडाकु नवीन लोचन भन्छन् । पार्टी विभाजनका कारण पनि उनीहरूमा निराशा देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.