संकट निदानको औषधी

संकट निदानको औषधी

केही सातायता एमाले र मोर्चाबीचको जुहारीले संविधान कार्यान्वयन कि संशोधन भन्ने यक्षप्रश्नले नेपाली राजनीति थप डेडलक भएको छ । संविधान संशोधन र निर्वाचन दुवैलाई मान्य हुने गरी एकैपटक अगाडि बढाउने सत्ताका मुख्य घटक माओवादी केन्द्र र नेपाली कांग्रेसको प्रयास पनि अगाडि बढ्न सकेको छैन । सरकारले असन्तुष्ट मधेसकेन्द्रित दलहरूलाई सम्बोधन गर्ने नाममा प्रदेश नम्बर ५ लाई पहाड र तराई विभाजित गर्ने गरी संविधान संशोधन प्रस्ताव व्यवस्थापिका-संसद्मा पेस गरेपछि दलहरूबीचको सम्बन्ध थप तीक्त भएको हो ।

प्रदेश नम्बर ५ का जनता आन्दोलनमा छन, संशोधन प्रस्ताव मुलुकको अहितमा रहेको, संविधानको धारा २७४ विपरीत भएको र सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका कारण संसद्मा टेबुल गर्न नमिल्ने एमालेको दाबी छ । संशोधन प्रस्तावलाई राष्ट्रघातको संज्ञा दिँदै तत्काल फिर्ता लिएर निर्वाचनको तयारी गर्न एमालेले आग्रह गरिरहेको छ । सत्तासीन दल संविधान संशोधन प्रस्तावले मधेसकेन्द्रित दलहरूको माग सम्बोधन हुने र संविधान कार्यान्वयन प्रक्रिया अघि बढ्ने दाबी गरिरहेको छ ।

राजनीतिक दलहरूबीच अन्तरविरोध चर्किएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्रक्रिया अवरुद्ध भइरहँदा पूर्वराजा ज्ञानेन्द्र र पुनरुत्थानवादीहरूको चलखेल बढेको छ । पूर्वराजाले विज्ञप्ति नै जारी गरेर अस्थायी सत्ता हावी भएको बताउँदै आफू स्थायी सत्ता भएको र पुनः शक्तिमा आउने प्रयासको संकेत गरेका छन् ।

ज्ञानेन्द्रको अभिव्यक्तिपछि प्रधानमन्त्री प्रचण्ड र वरिष्ठ मन्त्रीहरू नै आफ्नो दृष्टिकोण र क्रियाशीलतालाई ठीक बाटोमा ल्याउनुभन्दा पनि अराजनीतिक र अशिष्ट टिप्पणीमा उत्रिएका छन् । धर्म र राजतन्त्रलार्ई आधार बनाएर राजनीति गरिरहेको पूर्वपञ्चहरूको दुई पार्टी एकीकरण भएपछि उनीहरू आफ्नो शक्ति विस्तारका लागि देशव्यापी अभियानमा छन् । राजतन्त्रको मामिलामा अलि उदार र बाध्यतावशः गणतन्त्रलाई स्वीकार गरे पनि राप्रपा यतिखेर धर्मलाई आधार बनाएर आफूलाई सुदृढ बनाउने अभियानमा लागेको छ । अवसरको राजनीति गरिरहेको राप्रपा कुनै पनि बेला राजतन्त्रको पुनर्बहालीको पक्षमा उभिन सक्छ ।

नेपालजस्तो सानो भूपरिवेष्ठित राष्ट्रको लागि संघीयता उपयुक्त थिएन भन्ने बहस चलिरहेको छ । ०६२÷६३ को जनआन्दोलनको एजेन्डा थिएन, संघीयता । मधेस आन्दोलनले संघीयताको मुद्दा स्थापित गरेको हो । माओवादीले जातीय वा क्षेत्रीय स्वशासनको कुरा उराल्दै आएको अवस्थामा उसको लागि संघीयता स्वीकार्य विषय थियो । मधेसलाई सिंगो प्रदेश अनि हिमाल, पहाड र तराईलाई अलग गर्ने गरी संघीयता लागू गर्नु वा त्यो रूपमा निर्देशित हुनु सिंगो राष्ट्रको लागि हितकर छैन । पहिचान र अधिकारको लागि संघीयता एक उपयुक्त शासनविधि भए पनि यसको उचित व्यवस्थापन हुन नसके विद्वेष र विभाजनको कारक बन्न सक्छ ।

खासगरी मधेस र जनजातिको आन्दोलन र मागलाई सम्बोधन गर्ने र उपेक्षित समुदाय एवं नागरिक अधिकारलाई स्थापित गर्ने नाममा कांग्रेस एमालेले संघीयता स्वीकार गरेका हुन् । मधेस र पहाडलाई अलगथलग पार्ने अन्ततः अरूको रणनीतिक स्वार्थ परिपूर्तिको लागि आइरहेको संघीयताको मागलाई मूलधारका राजनीतिक दलहरूले बुझ्न सकेनन् । हिजो बुझिनबुझी मध्यतराई अर्थात् पूर्व सप्तरीदेखि पर्सासम्म मधेसमात्रैको अलग प्रदेश बनाउने काम भयो ।

पूर्वको झापा, सुनसरी र मोरङ अनि पश्चिममा कैलाली कन्चनपुरलाई हिमाल, पहाडसहितको प्रदेश बनाइए पनि विवाद कायमै छ । हिजो केन्द्रीय शासन व्यवस्थाको मधेस उपेक्षालाई भजाउँदै मेचीदेखि महाकालीसम्मको मधेसलाई अलग्याउने खेलमा मधेसकेन्द्रित दलहरू लागे । ९१ प्रतिशतले निर्माण गरेको संविधानलाई भारतले समर्थन नगर्ने तर पछिल्लोपटक प्रदेश नम्बर ५ को विभाजनलाई स्वागत गर्ने र भारतीय राजदूत रञ्जित रेको चलखेलले भारतको रणनीतिक चाललाई राजनीतिको कखरा बुझ्ने जोकोहीले सहज रूपमा बुझ्न सक्छन् ।

विवाद र गतिरोध चर्कंदै जाँदा एकातर्फ संघीयताप्रति वितृष्णा पैदा हुनेछ भने अर्कोतर्फ मधेसमा चलिरहेको असन्तुष्टि व्यवस्थापन हुन नसक्दा मुलुक विभाजनको चपेटामा पर्न सक्छ । संविधानले सिद्ध गरेको संघीयताको संख्या र क्षेत्रको विकल्प खोजिरहँदा अरू विकल्प जन्मिन पनि सक्छन् । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले विकास क्षेत्रको आधारमा उत्तरदक्षिण संघीयता हुनुपर्ने तर्क राखेका छन् ।


संविधानको संकट हल गर्नको लागि सबै दलहरू मिलेर पुनर्संरचित स्थानीय तहको निर्वाचन चैत-वैशाख अनि संघीय तथा प्रादेशिक निर्वाचन २०७४ भित्रै गर्नतिर लाग्नुमै मुलुक र नेपाली जनताको भलाइ छ ।

उनीलगायत एमाले नेताहरूले बाध्यतावशः संघीयता स्वीकार गरेको बोलिरहेका छन् । संविधान कार्यान्वयनमा जति ढिलो हुन्छ, त्यति नै संघीयता विवादमा पर्दै जान्छ । अहिले संघीयता विवादमा पर्नु भनेको सिंगो संविधान विवादमा पर्नु हो र समग्र मुलुकको राष्ट्रियता र अग्रगमन संकटमा पर्नु हो । यस्तो अवस्थाप्रति प्रमुख दल र शक्तिहरूको उपेक्षा र गैरजिम्मेवारीपन उदेकलाग्दो छ ।

मुख्य राजनीतिक दल र नेताहरू मुलुकको वर्तमान अवस्थाप्रति गम्भीर हुनुपर्दछ । आगामी एक वर्षभित्र तीनै तहको निर्वाचनको सुनिश्चतता हुन नसके संविधान कार्यान्वयन नै संकटमा पर्नेछ । त्यसैले सत्तारुढ, प्रतिपक्षी र मधेसकेन्द्रित दलहरूले आआफ्नो हठ छोड्नुपर्दछ । संविधान कार्यान्वयन हुन नसक्नु स्वयम् मधेसकेन्द्रित दलहरूको लागि पनि हितकर हुने छैन । त्यसैले संविधान कार्यान्वयनमा जानुको विकल्प छैन । त्यसका लागि संविधान संशोधन प्रस्ताव हाललाई स्थगन गरेर निर्वाचनमा जानको लागि मार्गप्रशस्त हुनुपर्दछ ।

वर्तमान संघीयतालगायत विषयहरू नयाँ जनमतको आधारमा हुनुपर्दछ । नौ महिनाको म्यादी सरकारले पाँच महिना गुजारिसकेको छ । यो सरकारले स्थानीय निर्वाचन गर्न सक्ने कुरामा पनि संशय पैदा भइरहेको छ । यतिखेर मुलुकको गतिरोधको अन्त्य र संविधान कार्यान्वयनको लागि दलहरूबीच उच्च एकता जरुरी छ । त्यसका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक छ ।

कांग्रेस, एमाले, माओवादी, मधेसकेन्द्रित दलहरूबीच उच्चतम सहमतिका आधारमा निर्वाचनमा जाने र जनमतका आधारमा संविधान संशोधन वा अन्य प्रस्ताव कार्यान्वयनमा लैजानेमा ध्यान दिनुपर्दछ । संविधानको संकट निदान गर्ने औषधी भनेकै चुनाव हो । तसर्थ सबै दलहरू मिलेर पुनर्संरचित स्थानीय तहको निर्वाचन चैत-वैशाख अनि संघीय तथा प्रादेशिक निर्वाचन २०७४ भित्रै गर्नतिर लाग्नुमै मुलुक र नेपाली जनताको भलाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.