'देशलाई विखण्डनबाट जोगाउन राष्ट्रिय सहमति'
भक्तपुरः नेकपा एमालेका नेता महेश बस्नेतले देशलाई विखण्डनबाट जोगाउन राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् ।
हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौ वार्षिक साधारण सभामा उनले दलहरूबीच सहमति बिना कुनै पनि निर्णय गरेर अगाडि बढे देशका लागि घातक हुने बताए ।
नेता बस्नेतले संविधान संशोधन लगायतका विषयमा हाल दलहरुबीच जारी विवादलाई पनि सहमतिबाटै निकास निकालेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै जबरर्जस्ती अगाडि बढे देशलाई नोक्सान हुने बताए ।
देशमा राजनीतिक अस्थिरता बढ्दै जाँदा नेपाल अन्तर्राष्ट्रिय राजनीतिक खेल मैदान बन्न थालेको बताउँदै उनले भने-‘ अन्तर्राष्ट्रिय राजनीतिक खेल मैदानको रुपमा प्रयोग गर्न खोजिएको छ, यसबाट सरकार सजग हुने बेला आएको छ ।’
विदेशी शक्तिको दबाबमा नेपाली राजनीति चल्ने प्रवृत्ति हटन नसक्दा नेपालमा विदेशी प्रभाव बढ्दै गएको औल्याउँदै उनले सबै दलहरु मिलेर देशलाई अगाडि लैजान सके विदेशी चङ्गुलबाट बच्ने बताए । रासस