गायक सुराचको ‘जिन्दगी’ सार्वजनिक
काठमाडौंः नाइलनको सारी गीतबाट लोकप्रियता कमाएका गायक सुराच प्रसाईं आफ्नो पहिलो एल्बम ‘जिन्दगी’ लिएर आएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमबीच वरिष्ठ संगीतकार राजु सिंह, संगीतकार राहुल प्रधान, निर्देशक बिभोर पोखरेल तथा भीजे रोशन लामाले एल्बमको संयुक्त रूपमा विमोचन गरे ।
काशीराज बोहोराको प्रस्तुति रहेको एल्बममा कुल चारवटा गीत समावेश छन् । जसमा बन्द नेपालसहित नाइनलको सारी, जोर मादल र जहाँ म संसार देख्छु बोलका गीत रहेका छन् । एल्बममा समावेश राष्ट्रियता भावना समेटिएको ‘बन्छ नेपाल’ बोलको गीतको भिडियोसमेत सो अवसरमा सार्वजनिक गरियो । एल्बमलाई द रोयल क्रिएसनले बजार व्यवस्थापन गरेको छ भने दुईवटा गीतको भिडियोसमेत तयार गरिएको छ ।
बिभोर पोखरेलले निर्देशन गरेको ‘बन्छ नेपाल’ बोलको गीत देशका विभिन्न स्थानमा छायांंकन गरी तयार गरिएको गायक प्रसाईंले जानकारी दिए । भिडियोमा गायक स्वयम्ले नै अभिनय गरेका छन् । फरक ‘थिम’मा खिचिएको भिडियोले विविधताभित्रको एकता र राष्ट्रियताको विषयलाई गम्भीर शैलीमा प्रस्तुत गरेको छ ।
करिब एक दशकदेखि संघर्षरत गायक प्रसाईंले यसअघि पनि थुप्रै गीत रचना एवं संगीत भरेका छन् । गीतसंगीतको माध्यमबाट एकताको सूत्रमा आम नेपालीलाई जोड्न सके त्यही नै आफ्नो उपलब्धि रहने उनले बताए । कार्यक्रममा बोल्दै वरिष्ठ संगीतकार राजु सिंहले नेपाली संगीत क्षेत्रले एउटा होनाहार र बलियो सम्भावना बोकेको गायकका रूपमा गायक प्रसाईलाई स्वीकार्नेमा आफू विश्वस्त रहेको बताए । अहिले हिट र भाइरल हुने नाममा संगीत क्षेत्रमा सस्तो लोकप्रियता बढिरहेका बेला त्यसबाट सचेत रहँदै उत्कृष्ट सिर्जना पस्कन पनि उनले सुझाव दिए ।
त्यस्तै निर्देशक पोखरेलले आफूले आफ्नो निर्देशनकै करियरमा एउटा फरक शैली र सोचमा यो भिडियो निर्देशन गरेको बताए । धेरैपछि आफूले एउटा उत्कृष्ट गीतमा सन्तुष्ट हुने काम गर्न पाएकोमा खुसीसमेत व्यक्त गरे । त्यस्तै संगीतकार राहुल प्रधानले गायक प्रसार्इंमा भर्सटाइलिटी र जस्तो पनि गीतलाई न्याय गर्न सक्ने खुबी रहेको बताए ।