देङ सियाओपिङको आत्मा

देङ सियाओपिङको आत्मा

धर्म, आत्मा र पुनर्जन्ममा विश्वास नगर्ने चीनमा म भने नेता देङ सियाओपिङको आत्माबारे सोचिरहेको थिएँ । सडकमा भोकमुक्त हिँडिरहेको चिनियाँ आँखामा देङकै आत्मा देखिरहेको थिएँ । सफा पेटीमा पोषणयुक्त अनुहार बोकेर आत्मसम्मानपूर्वक हिँडिरहेका चिनियाँमा देङकै आत्मा भेटिरहेको थिएँ । ग्रेटवालको ढुंगाढुँगामा देङकै आत्मा छापेको देखिरहेको थिएँ । त्यो आत्मालाई सुन्दर उद्यान र रेस्टुरेन्टमा झुन्ड्याइएको रातो ल्याम्प कभरमा स्वच्छ बतासँगै नृत्यमग्न देखेँ ।

चेभनिङ एल्मुनाईको एसियन सेमिनारमा भाग लिन पुगेको थिएँ । सन् २०१६, १० देखि १२ सेप्टेम्बरमा । १२ सेप्टेम्बर, सांस्कृतिक भ्रमण गराउन बेइजिङ नजिकैको प्राचीन बस्ती हुटाङ लगियो । हुटाङको एउटा होमस्टेमा हामी मम बनाउन जाँदै थियौं । टेबलमा एप्रोन, गुथेको पिठो, बेल्ना, चम्चा र मांसाहारीलाई कुखुराको किमा, पोर्क, बिफ र शाकाहारीलाई पालुंगो राखिदिएको थियो । होमस्टेकी साहुनीले ममको मुजा बनाउन सिकाइन् । दुईढाई घन्टा दिल्लगीमै जेजस्तो बन्छ, मम बनायौं । र, एकअर्काको परिकार चाख्दै अघाएर फक्र्यौं ।

बसमा चढ्दा, अगाडिका सिटहरू भरिइसकेका थिए । मध्यतिर एकजना चिनियाँ बृद्धासँगैको सिट भने रिक्त थियो । उनी झ्यालनेर बसेकी थिइन् । त्यसभन्दा पछाडिका सिटहरू खाली भए पनि त्यतैतिर जाँदा त्यति सामाजिकता नझल्किने भएर, छेउमा बस्ने आशयले सोधेँ, 'क्यान आई सिट हेर् ?', 'यस्, नो प्रब्लम', वृद्धाले मुस्कुराउँदै जवाफ फर्काइन् । मुजा परेको निधारमा हल्का बल पार्दै उनी झ्यालनेर ढल्किन् । उमेर होला त्यस्तै ६५ माथि । उनमा यौटा तेज देखिन्थ्यो । दुई दिनदेखि सेमिनार कक्षमा म उनलाई देखिरहेको थिएँ । उनी प्रायशः एल्मुनाईको प्रस्तुति र चिया ब्रेकमा सहभागीहरूको फोटो खिचिरहेकी हुन्थिन् । मेरो अनुमानमा, चिनियाँ चिभनिङ एल्मुनाई एसोसिएसनले उनलाई फोटोग्राफरको रूपमा निम्त्याएको हुनुपर्छ ।

बेइजिङको हाइवेमा टुरिस्ट बस गुडिरहेको थियो । सडक किनारमा रोपिएको सायद लहरे पीपलको वृक्ष उत्तिकै गतिमा पछाडि हुत्तिँदै थियो । वृक्षको सेल्टरबेल्ट पर्तिर पेटीमा चिनियाँहरू हिँडेका देखिन्थे । त्यसभन्दा पर अग्ला बैंक, टेक कम्पनी र कर्पोरेट अफिसको नाम बसबाटै पढ्न सकिन्थ्यो । धुवाँको मुस्लो पुत्पुताउँदै कुनै वाहन गुडिरहेको थिएन । कहिलेकाहीँ फ्लाई ओभरमुनि बस पस्दा बसभित्रको उज्यालो क्षणभरलाई मद्धिम हुन्थ्यो ।

कहिले भने झ्यांगिएको रूख वा गगनचुम्बी भवनको छायाको स्ट्रोक लाग्थ्यो, बसको गतिशील क्यानभासमा । स्ट्रोकमा रंगहरू छरिँदै कति मेरो स्मृतिमा टाँसिन्थ्यो, कति झ्यालबाट बाहिरिन्थ्यो । झ्यालको बेदाग सिसा पाएर म बाहिरको दृश्य नियालिरहेको थिएँ । सहरको स्वच्छ, व्यवस्थित र चित्ताकर्षक व्यक्तित्वबाट प्रभावित पनि भइरहेको थिएँ ।

क्षणभरको मौनतापछि मैले आफ्नो ध्यानलाई सोहोरेँ । कुराकानी गर्ने मन बनाएँ । र, वृद्धालाई सोधेँ, 'चीनको आर्थिक समृद्धिको पछाडि देङले लिएको आर्थिक नीतिको योगदान छ भन्ने सुनेको थिएँ, कति सत्य हो ? ' प्रश्न मैले अंग्रेजीमा सोधेको थिएँ । थोरै चकित हुँदै उनले भनिन्, 'देङले नयाँ तरिकाले नसोचेको भए चीनले यो स्तरमा विकास गर्न सक्ने थिएन । म आफैं गाउँबाट बेइजिङ आएको हुँ । पचासको दशक, जब म सानो थिएँ र अहिलेको समय तुलना गर्दा म धेरै छक्क पर्छु ।' बजै लाग्नेको अनुभव म उनीबाटै सुनिरहेको थिएँ ।

मैले दोस्रो प्रश्न गरेँ, आर्थिक दृष्टिले चीनले विकास त धेरै गर्‌यो तर गरिब र धनीबीचको खाडल पनि बढ्दै गएको छ नि ? नेपालमै अत्यन्त सोधिने तर चित्तबुझ्दो जवाफ नभेटिएकाले म उक्त प्रश्नको जवाफ अनुभव भोगेकै चिनियाँबाट सुन्न चाहन्थेँ । जवाफमा उनले भनिन्, 'गरिब र धनीबीचको खाडल त बढ्दो छ । तर, अहिलेका गरिब उहिलेका गरिबभन्दा धनी छन् ('बेटर अफ', उनले प्रयोग गरेको शब्द) । उहिले गरिबी चरम थियो । कुपोषण र भोकमरी नै थियो ।'

मैले अर्को जिज्ञासा थपेँ, 'माओ त्से तुङ र देङको नेतृत्वमा केही फरक छ ? ', उनले जवाफ फकाइन्, 'माओ सबैलाई एकैचोटि उठाउन सकिन्छ भन्ने सोच्थे । देङले त्यसरी सोचेनन् । देङ भन्थे, सबैलाई एकैचोटि उठाउन सकिन्न, जो तयार छन्, त्यहीँबाट सुरु गर्नुपर्छ, बाँकीले पछ्याउँछन् ।' बजै निकै दार्शनिक सुनिइन् । म उनको मेन्टल एजिलिटीबाट प्रभावित भएँ । स्वतन्त्रताभित्र अरूभन्दा बढी प्रगति गर्ने, माथि चढ्ने वा असमान हुने मान्छेको आन्तरिक चाहना हुन्छ । त्यो मानवीय चाहना र क्षमताको नैसर्गिक भिन्नतालाई देङको फेरिँदो राजनीतिक दर्शनले स्वीकारेको थ्यो कि ?

त्यस वार्तालापपछि चीनको आर्थिक सुधारको इतिहासबारे थप जानकारी बटुलेँ । चिनियाँ आर्थिक सुधारको सुरुआत सन् १९७८ बाट भएको थियो । कम्युनिस्ट पार्टीबाटै देङ सियाओपिङले त्यो सुधारको नेतृत्व गरेका थिए । त्यस अभियानलाई चिनियाँ विशेषतासहितको समाजवाद भनिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीकृत चरित्रको भएकाले त्यो देङको एकल प्रयासभन्दा सही नहोला । त्यो सामूहिक र योजनाअनुसार नै थियो । तर, देङको नेतृत्व नपाएको भए चीनको आश्चर्यजनक प्रगति सायदै सम्भव थियो ।

आर्थिक सुधारको दुई चरण थियो । १९७८ देखि असीको प्रारम्भसम्म प्रथम चरण, जसमा कृषिको सामूहिकीकरण हटाउने, वैदेशिक लगानी आकर्षण गर्ने र उद्यमीहरूलाई व्यापार गर्न अनुमति दिने कुरा प्रमुखताका साथ उठ्यो । दोस्रो चरणमा, राज्यको संरक्षणवादी नीति हटाउने, प्रतिस्पर्धालाई बढावा दिने नीतिको अवलम्बन र राज्यको संरक्षणमा चलेका धेरै कम्पनीलाई (रणनीतिक महत्त्वका केही कम्पनी छाडेर) निजीकरण गर्ने, करारमा दिने काम गरियो । त्यसपछि चीनले थालेको समृद्धिको अनवरत यात्रा आँखासामुन्नेको यथार्थ हो ।

सन् १९७८ देखि २०१३ सम्म बर्सेनि कुल गार्हस्थ्य उत्पादनमा ९.५ प्रतिशतको वृद्धिदर त्यसै अभियानको प्रतिफल थियो । वृद्धाको अनुहारमा मैले देखेको तेजमा अलिकति आर्थिक सुधारले ब्यूँताएको सपना मिसिएको हुनुपर्छ । लहरे पीपलको हाँगा र गगनचुम्बी भवनको छायाले निर्माण गरेको स्ट्रोकमा चल्मलाएको अदृश्य हातमा समृद्धिको ऊर्जा हुनुपर्छ ।

होटल स्विसोटल बेइजिङ आइपुग्छु । व्यापक थाकिएकाले आराम गर्छु । अर्को दिन, बेइजिङस्थित नेपाली राजदूतावास गयौं । नेपाल चेभेनिङ एल्मुनाईका अध्यक्ष लक्ष्मीकान्त पौडेलका कारणले । राजदूतावास परिसर सुन्दर रहेछ । त्यहाँको पर्यावरणमा नेपालको सांस्कृतिको महक थियो । पित्तल धातुले बनेको बुद्धको आकर्षक मूर्ति, रेखदेख पुगेको बगैंचा र हावामा हल्लिरहेको नेपाली झन्डाको दृश्यले स्पर्श गर्‌यो । कार्यवाहक राजदूतसँग परिचय गर्‌यौं । अहिले नाम सम्झिन सकिनँ ।

पहिले उनले राजदूतावासका कक्षहरू सर्सर्ती अवलोकन गराउँदै हामीलाई ती कक्षहरूबारे जानकारी गराए । उनीसँग एउटै प्रश्न राख्यौं— नेपालीले चिनियाँबाट सिक्नुपर्ने के के छन् ?

उनले भनेको जवाफ प्रस्ट सम्झन्छु । पहिलो, भौतक पूर्वाधारमा चिनियाँ सरकारको अठोट ढृढ छ । हाइवे, पुल, रेलमार्ग, जलविद्युत्, वन बेल्ट वन रोडको भिजन र इन्टरनेट कनेक्टिभिटी उच्च प्राथमिकतामा पर्छ ।दोस्रो, चिनियाँ सरकारले सार्वजनिक यातायात र उड्डयन सेवा स्वयं सञ्चालन गर्छ । जस्तो चाइना साउदर्न, चाइना इस्टर्न, प्रान्तीय सरकारले चलाएका हुन् । उक्त कुरामा चिनियाँ सरकार प्रस्ट छ ।

तेस्रो, प्रान्तलाई कुनै उत्पादन क्षेत्रमा विशिष्टीकरण गरिएको छ । जस्तै, हेभी इक्विपमेन्ट निर्माण गर्ने कुनै एक प्रान्त छ । फलफूल खेतीमा जोड गर्ने अर्को प्रान्त छ । कुनै प्रान्त कम्प्युटर, चिप्स, मोबाइल निर्माणमा लागिपरेको छ । सबैले सबै चिज गरिरहेका छैनन्, अर्को सिक्नुपर्ने कुरो त्यो छ ।

धर्म, आत्मा र पुनर्जन्ममा विश्वास नगर्ने चीनमा म देङ सियाओपिङको आत्माबारे केही दिनदेखि लगातार सोचिरहेको थिएँ । ग्रेटवाल, हुटाङ होमस्टे, तियानमेन स्क्वायर, फरबिडन सिटी, धुपी उद्यान र बजैको आँखामा देङकै आत्मा नाचिरहेको देखेँ । त्यो आत्मा नक्कली होइन भन्नेमा मलाई विश्वास छ ।

चौथो, चिनियाँ कर्मचारीतन्त्र धेरै अनुशासित, निपुण र मेहनत छ । एक क्षेत्रको विज्ञलाई सरकारले कहिल्यै अर्को क्षेत्रमा खटाउँदैन । विदेशमा राजदूत नियुक्त गर्दा पनि त्यो देशको संस्कृतिसँग परिचित र भाषा बुझ्नसक्ने, बोल्नसक्नेलाई नै प्राथमिकता दिन्छ ।

उनले अनुभव सुनाए, हप्तामा औसत दुई/तीन बिजनेस पार्टी नेपालमा लगानीको सम्भावनाका बारेमा छलफल गर्न आउँछन् । नेपाललाई चिनियाँ निकै मन पराउँछन् तर हामीले त्यो अवसर सदुपयोग गर्न चुकिरहेका छौं ।


त्यसपछि धेरै सोध्न आवश्यक रहेन । चिनियाँ कर्मचारीले बनाएको मीठो कफी खायौं । राजदूतावासका हेल्पर कर्मचारी चिनियाँ नै रहेछन् । कार्यवाहक राजदूतले कारण भने-लोकल कर्मचारी भएकाले आर्थिक भार कम पर्ने, भाषागत र सांस्कृतिक सम्बन्ध पनि गहिरिने भएकाले चिनियाँ सहयोगीबाटै काम चलाइरहेका छौं ।

चित्तबुझ्दो कुरो । समयको निम्ति धन्यवाद दियौं । फर्कनुअघि म बुद्धको प्रतिमानजिक क्षणभर उभिन्छु र प्रगाड शान्ति अनुभव गर्छु ।

बाटामा आफ्नो देशको सार्वजनिक यातायातको स्थिति सम्झन्छु । नारायणगढदेखि मुग्लिनसम्मको छत्तीस किलोमिटर बाटो नै सरकारको निम्ति परीक्षा भइरहेको छ । अप्रिल २०१५ मा निर्माण सुरु भएको, दुई वर्ष पुग्नै आँट्यो । सडक निर्माण र मर्मत सबै सरकारीस्रोतमा । सवारीसाधन अधिकांश निजी कम्पनीको । गुणस्तरीय यात्राको व्यवस्था दिएको भए, सन्तोष मान्न सकिन्थ्यो । जीर्ण, होचो र मैलो सवारीसाधनमा आफ्नै दाइभाइ, दिदीबहिनीलाई भेडाबाख्राझैं कोचेर बिरूप सेवा प्रदान गर्दैछ नेपाल । नेपालीले आत्मसम्मानपूर्वक यात्रा गर्न पाउने दिन कहिले आउला ? क्या निरीह बनाए हामीलाई यी निजी यातायात व्यवसायीले । एकाध अपवाद छाडी, जसरी पनि कमाउने ध्येय ।

काठमाडौं उपत्यकाको ट्राफिक जाम उस्तै चुनौती । जनस्वास्थ्यमा प्रदूषणको भयावह प्रभाव । सरकारले बीस वर्ष पुराना सवारीसाधनलाई पत्रु गराउन सकेको छैन । अरू सहरको स्थिति पनि बिग्रँदो छ । हाम्रो विडम्बना ! सरकार र कर्मचारीतन्त्रभन्दा माइक्रो बस व्यवसायी, ट्याक्सी व्यवसायी बलिया छन् । छब्बीस वर्षमा चौबीसवटा सरकार बदलिएपछि, बलियो होस् पनि कसरी ? कमजोर सरकारले सीमान्तकृत र विपन्न नागरिकलाई रेखदेख गर्न सक्दैन । तन्नम देशको नागरिक भएरै जीवन बित्ने भो । दुख बोध भयो । तर थाहा छ, दुखबोधमा पनि समाधानको उपाय निहित छैनन् ।

दिक्क मान्दै बस्नु बुद्धिमानी थिएन । तसर्थ घुमघाममा निस्क्यौं । बेइजिङ पुगेपछि छुटाउनु नहुने केही पर्यटकीय आकर्षण रहेछन् । पहिलो ग्रेटवाल । ग्रेटवालको अपरिमित आनन्द बटुल्यौं । अर्को ऐतिहासिक फरबिडन सिटी (बर्जित सहर) र तियानमेन स्क्वायर । स्क्वायरमा करिब डेढ घन्टा बितायौं । फराकिलो, सफा र रमणीय । कडा सुरक्षा चेकजाच । सवारीसाधन परै राख्नुपर्ने । घमाइलो दिन । रंगीविरंगी फूलहरूका क्यारी । पर्यटकहरूको लर्को । सेल्फी स्टिक लिएका बग्रेल्ती हातहरू । इन्स्ट्यानट फोटो क्यामरा लिएका चिनियाँहरू पर्यटकलाई शालीन आग्रह गर्थे, फोटो खिच्ने ?

नजिकै कलात्मक विशाल दरबारमा माओको क्लासिक फोटो टाँगिएको थियो । माओको उक्त फोटोको अगाडि प्रायः पर्यटकहरू फोटो खिच्न लालायित हुँदा रहेछन् । हामी पनि अपवाद भएनौं । लक्ष्मीकान्त र मैले क्रमशः फोटो खिच्यौं । सुरक्षार्थ खटिएका चिनियाँ सैनिक अत्यन्त सर्तक देखिन्थे । हामीकहाँजस्तो उनीहरू सामान्य हिसाबले नहिँड्दा रहेछन् । सुरक्षा दिँदा पनि परेडमाझैं तनक्क तन्केर लमक लमक हातखुट्टाको चाल मिलाएर ओहोरदोहोर गरिरहँदा रहेछन् । अत्यन्त चंख । कसैले शंकास्पद व्यवहार गर्नासाथ, मिलिक्कै पक्रन आउलान्झैं । पर्यटकलाई उनीहरूको गतिविधि प्रत्येक क्षण सुरक्षाकर्मीले नियालिरहेछ भन्ने भान गराउने ।

सन् १९८९ को तियानमेन स्क्वायर आन्दोलनपश्चात् सुरक्षाव्यवस्था थप कडा पारिएको हो कि ? प्रजातन्त्रको आन्दोलन भनिएको त्यसको प्रभाव नेपालमा पनि मनग्य परेको सम्झन्छु । विसं २०४६ को बहुदलीय व्यवस्थाको पुनस्र्थापनामा त्यसको गहिरो प्रभाव थियो । उक्त आन्दोलनको अगुवाइ विद्यार्थीहरूले गरेका थिए, जसलाई चिनियाँ सरकारले कठोर रूपमा दबाए । त्यसै कारणले बाहिरी विश्वमा चीनको छवि प्रजातान्त्रिक विरोधी देशको हुन गयो । तियानमेन आन्दोलनको नाम सुन्नासाथ त्यो तस्बिरको स्मरण हुन्छ, जहाँ एकजना निहत्था विद्यार्थी टैंकलाई रोक्न सामुन्ने उभिएको छ ।

तियानमेन स्क्वायरपछि फरबिडन सिटी घुम्न निस्कन्छौं । केही घन्टा लिएर बर्जित सहर घुम्नु बर्जितजस्तै भएकाले केही स्थलमात्र घुम्छौं । प्रवेशशुल्क तिरेर, सर्वप्रथम साइप्रस गार्डेन पुग्छौं । सयौं वर्ष पुराना धुपीका उद्यान । ठाउँठाउँमा बेन्च राखिदिएका । मोटो, खस्रो र अरठ्ठिएको काण्ड भएको धुपीको गार्डेनमा विचरण गर्दा आदिम अनुभूति भयो । त्यसपछि प्राचीन चिनियाँ दरबार अवलोकन गर्‌यौं । चाइनिज सिनेमामा देखिनेजस्ता त्यस दरबारको अगाडि विशाल प्रांगण थियो । पर्यटकहरू घुमघाममा मग्न थिए ।

नवदम्पतीहरू फोटो सुटमा व्यस्त देखिन्थे । बेहुली सेतो पहिरन र बेहुला सुट–टाईमा सजिएका, छेवैमा रातो लामो कपडा हल्लाउँदै काल्पनिक तरंगको दृश्य निर्माण गरेर फोटो खिच्दै गरेका । दुईअढाई घन्टा त्यहाँ बिताइवरी बाहिरियौं । स्मृतिमा बेइजिङ भ्रमणका केही पृष्ठ थपियो । नयाँ ठाउँ घुम्नु, नयाँ साथी बनाउनु, नयाँ परिकार चाख्न पाउनु आनन्ददायी कुरा हो । तर, बजैसँगको वार्तालाप भने मस्तिष्कको भित्रसम्मै संग्रह भएको हुनुपर्छ, स्मृतिको सतहमा देखा परिरहन्थ्यो ।

काठमाडौं फर्केपछि, देङ सियाओपिङबारे बुझ्न सन्दर्भ सामग्री खोजेँ । युट्युबमा धेरै वृत्तचित्र हेरेँ । सिंगापुरका प्रधानमन्त्री लि क्यु वानले देङको उच्च मूल्यांकन गरेको भाषण हेरेँ। ७५ वर्षे चिनियाँ लेखक याङ जिसेङओको 'टोम्स्टोन' पुस्तकको सारांश पढे । सन् १९५९ देखि सन् ६१ सम्म चीन भीषण अनिकालको चपेटामा परेको रहेछ । याङको पुस्तकमा अनिकालको बिभत्सता पढ्न सकिन्छ । याङको बुवालाई त्यसै अनिकालको खग्रासले निलेको थियो । झन्डै डेढ करोडको मृत्यु भएको सरकारी तथ्यांक छ ।

स्वतन्त्र खोजकर्ताका अनुसार त्यो आँकडा दोब्बर पुग्छ । चिनियाँ सरकार अनिकाललाई प्राकृतिक विपत्ति मान्छन् तर याङलगायत स्वतन्त्र विश्लेषक, त्यसलाई कृषिको सामूहिकीकरणको असफलता मान्छन् । माओको द ग्रेट लिप फरवार्ड अभियानलाई अनिकालले ठूलो झट्का दियो । यस्ता घटनाहरूको पृष्ठभूमिमा आर्थिक सुधारको नीति अंगीकार गरेको एक वर्षपछि सन् १९७९ मा देङले अमेरिका भ्रमण गरे, जिमी कार्टर राष्ट्रपति हुँदा । वृत्तचित्रमा होचो कदको देङ अमेरिकाको प्राविधिक र विज्ञानको प्रगतिलाई रुचिपूर्वक नियालिरहेका देखिन्छ ।

साम्यवादी मोडलको समाज पुँजीवादी मोडेलको समाजभन्दा आर्थिक समृद्धिमा पछाडि देख्छन् । बिरालो कालो भए पनि, सेतो भए पनि मुसा मार्नुपर्छ भन्ने देङको अर्थपूर्ण वक्तव्य लामो अन्तरमन्थनबाट आएको अनुभव हुन्छ । त्यो वक्तव्य उत्तिकै आलोचित पनि भयो ।

पुँजीवादी व्यवस्थालाई थोकमै नकारात्मक देख्ने दृष्टि हामीले विरासतमै पाएका छौं । पुँजीवादको सबल पक्ष पनि छ भनेर हामी स्वीकार्दैनौं । यसको सबभन्दा सुन्दर पक्ष पुँजी निर्माण हो । पुँजी निर्माण गर्ने उत्प्रेरणाले जागृत गराउने विज्ञान र प्रविधिको खोज र उद्यमशीलता हो । तर, बजारलाई स्वतन्त्र छाडिदिनु हुँदैन । नाफा कमाउने क्रममा गर्ने श्रमको शोषण यसको खराब पाटो हो । त्यसैले राज्यको नियमनकारी भूमिका अत्यावश्यक छ ।

निश्चिय नै समाजवादी सपनामा उदात्त मानवीयता छ तर यी सपना पूरा हुन मनग्य पुँजी निर्माण हुनुपर्छ । समाजवादी सपना मूलतः पँजीको पुनर्वितरणको सवाल हो कि ? गम्भीर संवादको आवश्यकता देख्छु । नत्र नारा सदैव सनातन समाजवादी, बजेटको धेरै अंशचाहिँ सधैं वैदेशिक ऋण अनुदानमा आश्रित । पुँजीवादलाई सिद्धान्ततः समाजवादी सपना पूरा गर्ने माध्यम बनाउन सकिन्न ? माक्र्सले नै पुँजीवादलाई समाजवादसम्म पुग्ने चरण मानेका थिए । अब पुँजीवादलाई वस्तुनिष्ट ढंगले हेर्न आवश्यक छ ।

चीन र भारतको आर्थिक समृद्धिले आवश्यक छ भनिसक्यो । बरु कस्तो खाले पँजीवाद ? खुला बजार अर्थतन्त्र कि ? रेगुलेटेड बजार अर्थतन्त्र ? अथवा आफ्नै विशेषतासहितको अर्थतन्त्र ? बहस त्यतातिर मोडिन आवश्यक छ । आर्थिक समृद्धिबिना सामाजिक न्याय पनि सँगै जान सक्दैन । निःशुल्क शिक्षा र जनस्वास्थ्य सेवामा सबै नागरिकको पहँच । दलित, सीमान्तकृत आदिवासी जनजाति, विपन्न, एकल महिला र अपांगहरूलाई सामाजिक सुरक्षा भत्ता ।

जलविद्युत्, हाइवे, कृषि, रेलमार्ग, सार्वजनिक यातायात स्वदेशी पुँजीको अभावमा कसरी चल्छ ? मागेरै चलाउने हो भने त बहसै किन गर्नुपर्‌यो ? हामीले लिएको आर्थिक राजनीतिक नीतिले हामीलाई कहाँ पुर्‌यायो ? वरपर हेर्दा स्पष्ट देखिन्छ । तर्क नहेर्नु, वरपर हेर्नु ।

पँजी निर्माणप्रति हाम्रा डिस्कोर्सको सिद्धान्ततः उदासीनता, प्रतिदिन पन्ध्र सय युवा श्रमबजारको अभावमा बिदेसिनु परेको स्थिति, समाजशास्त्री चैतन्य मिश्रको पुस्तक अध्ययन, देङका आर्थिक सुधारका नीति कार्यक्रम, सन् २००८ मा भियतनाम भ्रमणमा सरकारी अधिकारीसँग भएका छलफल, चीनको समृद्धिलाई नजिकबाट देख्ने अवसर, चिनियाँ एल्मुनाईसँग गरिएका अन्तरक्रिया र बजैको संश्लेषणले म ब्यूँझिएँ ।

धर्म, आत्मा र पुनर्जन्ममा विश्वास नगर्ने चीनमा म देङको आत्माबारे केही दिनदेखि लगातार सोचिरहेको थिएँ । ग्रेटवाल, हुटाङ होमस्टे, तियानमेन स्क्वायर, फरबिडन सिटी, धुपी उद्यान र बजैको आँखामा देङकै आत्मा नाचिरहेको देखेँ । त्यो आत्मा नक्कली होइन भन्नेमा मलाई विश्वास छ ।

हिमाली बतास,
सुन्दर दिन र रात
बथानमै फर्किरहेका चराहरू
केही अर्थ पक्कै हुनुपर्छ
यस्तोमा तर्क क्षणभर मौन बस्दा राम्रो हुँदैन र ?
-ताओ किआन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.