माेफसलमा ल्होसार रौनक
इलामः इलामको माबुबाट १० वर्षअघि गुरुङ (तमु) समुदायले मनाउन थालेको तमु ल्होसार अचेल जिल्लाभरि मनाउन थालिएको छ । संस्कृतिको विस्तार भएकोमा गुरुङ राष्ट्रिय परिषद्का इलाम अध्यक्ष उमेश गुरुङ निक्कै उत्साहित छन् ।
तमु ल्होसारप्र (बाँदर) को बिदाइ गर्दै च्ह्या (चरा) वर्गको स्वागतमा इलामसहित पूर्वका गुरुङहरूले शुक्रबार उल्लासका साथ ल्होसार मनाउँदा सांस्कृतिक एकता झनै दह्रो भएको अध्यक्ष गुरुङको बुझाइ छ । गुरुङका अनुसार ल्होसार तमु जातिको सामाजिक पर्व हो ।
ल्होसारको अर्थ नयाँ वर्ष पुस १५ का दिन देशविदेशमा छरिएर रहेका सम्पूर्ण गुरुङले मनाउने गरेको परिषद्का सचिव दीपक गुरुङले बताए । ल्होसार पर्व प्राकृतिक विधि-विधान र सौर्य मण्डलको गतिसँग सम्बन्धित रहेको उनको भनाइ छ ।
अध्यक्ष गुरुङका अनुसार १२ वटा पशुपन्छीको नाममा १२ वर्षको एउटा ल्हो कोर (वर्गचक्र) हुन्छ । यही ल्होको अनुसार प्रत्येक वर्ष पुस १५का दिनमा ल्हो (वर्ग) फेरिन्छ । यस वर्ग चक्रअनुसार वर्ग फेरिने दिनलाई नयाँ वर्ष भन्ने गरिन्छ ।
ल्होसार अर्थात् वर्ग चक्रमा समावेश रहेको पशुपन्छीहरू क्रमैसँग तः (घोडा), ल्हु (भेडा), प्रः (बाँदर) च्ह्या (चरा), खिः (कुकुर), फो (मृग), च्यु (मुसा), ल्वों (गाई), तो (बाघ), ह्वीं (बिरालो), सप्ह्री (सर्प-नाग), मुप्ह्री (गरुड-ड्रागन), छन् ।
तमु ची (ज्योतिशास्त्र) अनुसार शुभ-अशुभ गणना गर्दा ल्हो (वर्ग) मेवा कु (नौ ज्योतिष अंक) र पार्ग (आठदिशा चक्र) को आधारमा गणना गर्छन् । प्रत्येक ल्हो (वर्ग) मेवा (अंक) र पार्ग (दिश) को आ-आफ्नो तत्व रहेको उनको भनाइ छ ।
ल्होसारमा गुम्बाहरूमा भेला भएर सहभोजन, पूजा र रमाइलो गरेर मनाउने गरेको सचिव गुरुङले बताए । इलाममा दुई नगरपालिका र १५ गाविसमा परिषद्हरूले पर्व मनाउने गरेको उनले बताए । इलाममा १३ वटा गुम्बामा सामूहिक रूपमा ल्होसार मनाएको सचिव गुरुङले बताए ।