लेखनाथको दार्शनिक चेतना

लेखनाथको दार्शनिक चेतना

'कति कति भन्थे यै घर मेरो ।
कति कति घस्थे रंग कमेरो ।
आखिर सबको नाता पर भो ।
विधिवश एैले हाम्रो घर भो ।
इँटकाठको बटुली रास ।
यो घर ठाडो पार्ने खास ।
सकल बिलाए कर्मी ज्यामी ।
ओत बसेका छौं तिमी हामी ।'
लेखनाथकृत उल्लेखित श्लोकबाट अनुमान गर्न सकिन्छ, कविशिरोमणि लेखनाथ पौड्यालको काव्य सिर्जनामा अन्तरनिहित दार्शनिक चेत । लेखनाथकृत उल्लेखित पंक्तिहरूले आफ्नो समयको समाज–व्यवस्था एवं सामाजिक संरचनाको परावर्तनीय बिम्ब प्रस्तुत गरेका छन् ।

त्यस्तै भीमशमशेरको पालामा दरबारको पुजारी सरह भएर जीवन व्यतित गरिरहेको त्यस कठिन ऐतिहासिक परिवेशमा लेखनाथले कवितामार्फत बोलेका तलका वाक्यले उनी एक क्रान्तिकारी सामाजिक अभियन्ता थिए भन्ने बुझाउँछः

'निचोरी निर्धाका रगत पसिना घूस बटुली
ठूलो पूजासामानसहित लिई बोकाहरू बलि
कुनै पूजा गर्थे जननी ! खुसी होऊ भनिकन
म रुन्थे त्यो देखी मनुज-महिमो उग्र पतन ।'

राणाकालीन ऐतिहासिक कालखण्डमा नै क्रान्तिकारी चेत भएका लेखनाथको जन्म पिता दुर्गादत्त र माता बसुन्धराको कोखबाट वि.स. १९४१ साल पुस १५ गते ज्येष्ठ सुपुत्रको रूपमा कास्की जिल्लाको अर्घौंअर्चलेमा भएको थियो । हाल उक्त स्थान कविकै नामबाट स्थापित नगरपालिका लेखनाथ नगरपालिकाको वडा नं. ६ अन्तर्गत रहन गएको छ । कविशिरोमणिको जन्मस्थल आफैंमा प्राकृतिक छटाले युक्त थियो । उत्तरतर्फको अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलाको काखमा हरियाली जंगलयुक्त डाँडा, दक्षिणतर्फ सफेद सेती नदीको प्रवाह एवम् खाष्टे, मैदी, दीपांग, गुदे, रूपा र बेगनासताललगायतका मनमोहक दृश्यले भरिभराउ थियो । त्यही रमणीय वातावरणमा रमाउँदै लेखनाथको बाल्यकाल बितेको थियो ।

पाँच वर्षको उमेरमा अक्षराम्भ गरेका लेखनाथले त्यही बेलादेखि नै गणेशस्तोत्र, अमरकोश, दुर्गा सप्तशतीलगायतका शास्त्रहरूका संस्कृतका श्लोकहरू पढ्न थालेका थिए । कवि शिरोमणिको पालामा घरगाउँमा नै बसेर औपचारिक शिक्षा लिने विद्यालयहरू थिएनन् । प्रारम्भिक तहको औपचारिक शिक्षा लिनका पनि काठमाडौं नै र उच्च शिक्षा हसिल गर्न त नेपालबाहिर वनारस, कलकत्तालगायतका ठाउँहरूमा पुग्नुपर्ने हुन्थ्यो । प्रारम्भिक तहको औपचारिक शिक्षा तीनधारा पाठशाला, काठमाडौंबाट प्राप्त गरेका कवि शिरोमणि उच्च शिक्षाको लागि भारतको बनारस पुगेका थिए । बनारसबाट मध्यमा तहको उच्च शिक्षा पूरा गरेका कवि शिरोमणिको बौद्धिक व्यक्तित्व एवम् संस्कृत भाषाको विशिष्टता भने औपचारिक डिग्रीको तुलनामा निकै उच्च थियो ।

लेखनाथलाई नौ वर्षको उमेरदेखि कविता लेख्ने प्रेरणा मिलेको थियो । त्यति कलिलो उमेरमा लेखनाथलाई कवि बन्ने विद्रोही चेत भने अर्चलेकै पितृप्रसादसँगको ईखबाट प्राप्त भएको थियो । पितृप्रसादका अतिरिक्त काठमाडौं तीनधारा पाठशालामा बसेर शिक्षा आर्जन गर्ने क्रममा एकदिन छात्रावासको एक कोठामा गोरखाका अग्निधरले रघुवंशको अर्थ लगाइरहेको बेला लेखनाथ त्यहाँ पुगेर सोध्दा उनले किताब बन्द गरेका र अर्थ सुन्ने इच्छा गरी उनलाई फेरि भन्न अनुरोध गर्दा लेखनाथको अनुरोधलाई उपेक्षा गरी टारिदिएका हुनाले साहित्यमा लागेर ठूलो मान्छे बन्छु भन्ने दोस्रो प्रेरणा मिलेको थियो ।

लेखनाथका प्रेरणाका अर्का स्रोत शिवकुमार पनि थिए । शिवकुमारले छात्रावासमा समस्या पूर्ति गर्न दिन्थे । तर, समस्यापूर्ति गर्न लेखनाथलाई स्तर पुगेको छैन भन्दै सहभागी हुनबाट वञ्चित गर्दथे । स्तर नपुगेको भनेर आफूलाई नदिए पनि अरूको समस्या लिएर पूर्ति गरी पण्डितहरूलाई देखाउँदा ज्यादै राम्रो छ भन्दै प्रशंसा गर्दथे । त्यही प्रशंसाले प्रेरित भएर उनले संस्कृतमा श्लोक लेखी बनारसबाट निस्कने सुक्तिसुधामा छपाउनेसमेत गर्थे ।

लेखनाथले नेपाली भाषामा लेखेको पहिलो कृति 'वर्षा विचार' थियो । वर्षा विचार लेख्ने प्रेरणा पनि उनले एकखालको ईखमूलक कार्यबाट प्राप्त गरेका थिए । बनारसबाट फर्किएपछि एक दिन भोटाहिटीमा रहेको टीडीएच एन्ड पुस्तक पसलमा पाको उमेरका विद्वानहरूले फारसी र संस्कृत भाषाका उच्च ग्रन्थहरू नेपाली भाषामा निस्कन सक्दैन भनेर गफ गरिरहेका र सबैजसोले त्यसैमा हो-हो मिलाएर उनलाई एक्लो बनाएपछि उनीहरूलाई जवाफ दिने र नेपाली भाषालाई साहित्यको रूप दिने अठोट गर्दै उनले वर्षा विचार लेखेको सन्दर्भ पाइन्छ ।

सुक्तिसुधा, सुन्दरी र 'माधवी'लगायतका साहित्यिक पत्रिकाबाट कवि शिरोमणिको कवितायात्रा सुरु भएको थियो । संस्कृतका श्लोक भने समस्यापूर्तिको क्रममा नै 'सुक्तिसुधा'मा छापिइसकेका थिए भने नेपाली भाषामा लेखिएका कविता 'शृंगार पच्चिसी' र 'मानसाकर्षिणी' शीर्षकमा 'कविता कल्पद्रुम'मा वि.सं. २०६१-६२ तिर प्रकाशित भएका थिए । वि.सं. १९६९ मा पाँचवटा कविता लालित्यनामक कवि शिरोमणिको र चक्रपाणि चालिसेका कवितासहितको संयुक्त कविता सँगालोमा प्रकाशित भएका थिए । कविशिरोमणिले चक्रपाणि चालिसेसँग मिलेर 'शिशुबोधिनी' नामक बाल साहित्यको पाठ्यपुस्तकको पनि निर्माण गर्नुभएको थियो ।

कविशिरोमणिको पहिलो सिंगो कृतिका रूपमा वि.सं. १९७० मा शोकप्रवाह प्रकाशित भएको थियो भनिन्छ तर उक्त कृति अहिले उपलब्ध छैन । १९७३ सालमा सिंगो पुस्तक 'ऋतुविचार' प्रकाशित भएको थियो । १९७५ सालमा प्रकाशित चक्रपाणि चालिसेको नेपाली संक्षिप्त भारतभित्र 'गीतासार' कविशिरोमणिले लेखेका थिए । 'गीतासार' २०६१ सालमा छुट्टै पुस्तकका रूपमा पनि प्रकाशित भएको छ । १९७६ सालमा उनको अर्को सिंगो पुस्तक 'सत्यकलि संवाद' प्रकाशित भएको थियो ।

त्यतिबेलाको निरकुंश जहाँनिया राणाशासनको राजनैतिक दमनले गर्दा कृतिहरू छाप्न छपाउन निकै कठिन थियो । 'सत्यकलिसंवाद'मा राजनैतिक प्रसंगहरू आएकाले राजद्रोही भनेर दुई/तीन पटक पोल हालिएको र थुन्न खोजिएको थियो तर चन्द्रशमशेरले निर्दोष ठहर्‌याएका कारण थुनिनु परेको थिएन भन्ने प्रसंग पनि पाइन्छ । १९९४ सालमा 'लक्ष्मीपूजा' नाटक, २००४ सालमा 'पञ्चतन्त्र'का मित्रभेदको अनुवाद, १९९४ सालमा नै सप्तप्रश्नात्मक बुद्धिविनोदको पहिलो विनोद, २००८ सालमा अमर ज्योतिको सत्यस्मृति प्रकाशित भएका थिए ।

लेखनाथ पौड्यालका काव्यहरूले नेपाली साहित्यको माध्यमिक काल र आधुनिक काललाई छोड्दै आधुनिककालको बज्रपात गराएका छन् । उनका रचनाहरू आधुनिक जीवन जगत्को मूल्यांकन शोषणप्रतिको विद्रोह, विश्व बन्धुत्वको परिचय एवं मानवतावादी सिद्धान्तले चुलिएका छन् । उनका काव्यबारे जति लेख्दा पनि अपूरै हुन्छ ।

२०१० सालमा कविता सँगालो 'लालित्य' प्रथम भाग र विशिष्ट काव्य 'तरुणतपसी' प्रकाशित भएको थियो । 'मेरो राम' 'रामायण सार' २०११ सालमा प्रकाशित भयो भने कालिदासको 'अभिज्ञान शाकुन्तलम्' नाटकको अनुवाद २०१५ सालमा प्रकाशित भएको थियो । २०२० सालमा 'भर्तृहरिनिर्वेद' नामक संस्कृत नाटक र २०२५ सालमा 'लालित्य' भाग—२ प्रकाशित भएको थियो ।

त्यसैगरी २०६१ सालमा 'गंगा गौरी' अपूर्ण (चक्रपाणि चालिसेको 'नेपाली संक्षिप्त भारत भित्र' रहेको गीतासार र 'कविता' पत्रिकामा छापिएका १ देखि ५ सर्गसम्मको ) महाकाव्य प्रकाशित भएको छ । माथि उल्लेख गरिएका प्रमुख कृतिबाहेक २०८६ मा गीताञ्जलि, २००२ मा त्याग र तपस्याको युगल प्रकाश नामक काव्य कृतिहरू पनि प्रकाशित भएका भनिए पनि हाल भेटिँदैनन् ।

लेखनाथका काव्यहरूले नेपाली साहित्यको माध्यमिक काल र आधुनिक काललाई छोड्दै आधुनिक कालको बज्रपात गराएका छन् । उनका रचनाहरू आधुनिक जीवन जगत्को मूल्यांकन शोषणप्रतिको विद्रोह, विश्व बन्धुत्वको परिचय एवं मानवतावादी सिद्धान्तले चुलिएका छन् । उनका काव्यबारे जति लेख्दा पनि अपूरै हुन्छ । जीवनको उत्तराद्र्धमा आफूलाई मनपर्ने कृति जन्माउन नसकेको असन्तोष भाव व्यक्त गर्ने लेखनाथले 'तरुणतपसी'लाई अन्य सिर्जनाभन्दा बढी मन पराएको भाव व्यक्त गरेको पाइन्छ ।

८१ वर्षको जीवन व्यतित गरेका लेखनाथमा राष्ट्रियताप्रति अगाध माया भेटिन्छ । २०२२ सालमा बनारस जाँदा बिरामी परेपछि 'मर्ने बेला विदेश जान्नँ, म आफ्नै देशमा मर्छु, नेपालकै माटोमा मर्छु' भनी फर्किएर देवघाट आइबसेको पाइन्छ । त्यही वर्ष २०२२ साल फागुन ७ गतेका दिन उनको देहावसान भएको थियो ।

पौड्यालले आफ्नो जन्मभूमि अर्चलेप्रति चासो नराखेको, जीवनमा वैराग्य पालेर गेरुवस्त्रमा हिँडेको प्रसंगहरू पनि चर्चामा पाइन्छन् । हरेक व्यक्तिका नदेखिने पाटाहरू हुन्छन् । त्यो पाटो उनमा पनि थियो होला । जे होस् त्यस कठिन परिवेशमा पनि उनी जीवन पर्यान्त नेपाली साहित्यको सेवामा साधनारत रहे । त्यही साधानाको कदर गर्दै तत्कालीन सरकारले २००८ सालमा कविशिरोमणिको उपाधि प्रदान गर्यो । २०११ सालमा उनको रथयात्रासमेत गरिएको थियो ।

(अधिकारी लेखनाथ साहित्य पुरस्कार अक्षय कोष सञ्चालक समितिका अध्यक्ष हुन् ।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.