छिमेकसँग पनि समस्या

छिमेकसँग पनि समस्या

म २२ वर्षदेखि चलचित्र क्षेत्रमा क्रियाशील छु । तर, यसबीचमा चलचित्रको विकास र परिर्वतन भएन । राम्रा र प्रतिभावान् धेरै साथीहरू विदेश पलायन भएका छन् । विदेशमा भेट्दा उनीहरूको आँखा रसाएको हुन्छ । नचाहेर पनि विदेशमा बस्न बाध्य भएका छन् । त्यसको मुख्य कारण आर्थिक पक्ष नै हो ।

चलचित्र क्षेत्रमा वर्षौं मेहनत गर्दा पनि केही नभएपछि बिदेसिनुको पीडा उनीहरूलाई मात्र थाहा छ । यदि चलचित्र क्षेत्रमा परिवर्तन आउन सकेन, यो क्षेत्रको विकास भएन भने त्यो पीडा मलाई पनि आइलाग्न सक्छ । त्यसैले यो क्षेत्रका लागि केही गर्ने संकल्पसहित नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा लड्ने निर्णय गरेँ ।

मेरो यो निर्णयमा सबै चलचित्र निर्माता साथीहरूको साथ रह्यो । मैले जे संकल्प गरेँ त्यो सबै निर्माता र चलचित्रकर्मीको चाहना हो । नेपाल चलचित्र निर्माता संघको १४औं साधारणसभाबाट मेरो नेतृत्वमा सबै पदाधिकारी सर्वसम्मत भएकाले यसले मलाई थप उत्साहित बनाएको छ ।

यसबाट राम्रो सन्देश पनि गएको छ । हामीबीच कुनै द्वेष र असमझदारी छैन । अब हामी सबै निर्माताहरू एक भएर नेपाली चलचित्रको विकासमा लाग्नेछौं । चलचित्र क्षेत्रमा परिवर्तन आयो भने बिदेसिएका साथीहरू नेपाल फर्कन तयार छन् ।

चलचित्रसँग सम्बन्धित धेरै संघसंस्था भए पनि नेपाल चलचित्र निर्माता संघ मूल काण्ड हो । जसरी रूखको मूल काण्ड कमजोर भयो भने अन्य हाँगाहरू सुक्छन्, फल लाग्दैन त्यसरी नै चलचित्र उत्पादन भएन भने अन्य पक्ष यसै पनि कमजोर भएर जान्छ । हुन त म निर्देशक, कलाकार, चलचित्र व्यवसायी हुँ तर निर्माताकै भूमिका महत्वपूर्ण रहन्छ ।

बक्स अफिस लागू गर्नलाई मैले पहिलो प्राथमिकतामा राखेको छु । चलचित्र विकास बोर्डले पनि यो प्रक्रियालाई निकै अगाडि बढाइसकेको छ । सात वर्ष अगाडि बक्स अफिसको खाका तयार गरेर मैले नै विकास बोर्डमा बुझाएको थिएँ । विश्वले ‘सिस्टम' को विकास गरेर ‘मेनपावर' घटाउँदै लगेको छ ।

चलचित्र क्षेत्रका लागि बक्स अफिस त्यस्तै एउटा महत्वपूर्ण सिस्टम हो । नेपालमा निर्माता र हल सञ्चालकबीच सधैं विवाद र असमझदारी हुँदै आएको छ ।

अफिस लागू भएपछि त्यो विवाद र असमझदारी समाधान हुन्छ ।

अफिससँगै चलचित्र क्षेत्रमा देखिएका अन्य समस्या समाधान मेरो प्राथमिकतामा रहनेछ । त्यसपछि छिमेकी मुलुकमा नेपाली चलचित्रको सहज सेन्सरसिपका लागि पहल गर्नेछु । जसरी हिन्दी चलचित्र नेपालमा तुरुन्त सेन्सर हुन्छ त्यसरी नै नेपाली चलचित्र पनि भारतमा तुरुन्त सेन्सर हुनुपर्छ । स्वदेश र छिमेकसँगको समस्यापछि नेपाली चलचित्रलाई कसरी विश्वबजारमा पुर्‍याउन सकिन्छ भन्नेमा केन्द्रित हुनेछु ।कुराकानीमा आधारित

संघमा सबै निर्विरोध

काठमाडौः नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा आकाश अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार राजधानीमा सम्पन्न संघको १४औं साधारणसभाबाट अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध भएका हुन् ।

उपाध्यक्षमा माधव वाग्ले र गोविन्द शाही, महासचिवमा रोज राणा, सचिवमा छविराज ओझा र कोषाध्यक्षमा सुशील पोख्रेल चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा करिश्मा मानन्धर, दीपकराज गिरी, दीपेन्द्र के खनाल, अर्जुनकुमार श्रेष्ठ, चेतन सापकोटा, निकिता पौडेल, भानु प्रताप, रोहित अधिकारी र रौनक विक्रम रहेका छन ।

चलचित्र निर्देशक समाजमा महासचिवका रूपमा दुई कार्यकाल जिम्मेवारी सम्हालेका आकाश राष्ट्रिय चलचित्र निर्माता संघमा पनि महासचिवका रूपमा काम गरे । राष्ट्रिय चलचित्र निर्माता संघ र नेपाल चलचित्र निर्माता संघबीच एकता भएपछि उनले संघको प्रथम उपाध्यक्षको जिम्मेवारी पाएका थिए । नेपाली चलचित्रमा अध्ययनशील, नम्र र मेहनती मानिने आकाश निर्विवाद पनि छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.