भूपि शेरचनका तीन कविता
हो, म एक्लै छु, तर मेरो साथ दिने
मसँगै सिंगै, अँध्यारो रात छ,
झ्यालसम्म नांगिएको रूख हेर्छु
त्यहाँ पनि एक्लो पहेँलो पात छ ।
हो, म एक्लै छु...
आकाशको बादल नबर्स व्यर्थै
मेरो आफ्नै आँखामा बर्षात् छ ।
चट्याङ सित्तैमा नझर तिमी
मेरै मुटुभरि बज्राघात छ ।
हो, म एक्लै छु...
मलाई दयाले नहेर बाबु सा'बहरू
तिम्रोभन्दा मेरो क्या ठाँट छ ।
बाँचुन्जेल आकाशको नीलो छानो छ,
मरेपछि आर्यको घाट छ ।
हो, म एक्लै छु तर मेरो साथ दिने
सिंगै अँध्यारो रात छ ।
२३/६/२०४४
२:१५ बजे बिहान
यति रोएँ म कि आँसुलाई पनि
मेरो साथ बहन गाह्रो परेछ,
भक्कानो फुट्यो यसरी मेरो
कि मुटुलाई सहन गाह्रो परेछ ।
शुभकामना देऊ शुभचिन्तकहरू
कि म चाँडोभन्दा चाँडो मर्न सकूँ,
यति चाँडो कि पंडित नआई पुग्दैमा
म आफैं वैतरणी तर्न सकूँ ।
साहु हुने बैंस बाँची सकेँ,
असामी बुढ्यौली कति बाँचू !
रिनमा डुब्दै जानु पर्नेछ,
दिन, महिना र वर्ष जति बाँचू !
मलाई मेरै मुखमा आगो झोस्न देऊ,
कि म आफ्नै किरिया गर्न सकूँ ।
बाँच्नु भन्ने आँसु साँच्नु रहेछ,
कति गाग्री पानी आँखालाई बोकाऊँ ?
नाच्नु भन्ने सँसोलाई भाँच्नु रहेछ,
कति आफ्नै पाउमा आफैंलाई ढोकाऊँ ?
मेरै हातमा देऊ जौ तिलहरू
कि म आफैंलाई सतबीज छर्न देऊ !
२३/६/२०४४
२:४५ बजे बिहान