कुरा किताबका

कुरा किताबका

विक्रमाब्द २०६१, फागुन २१ गते शुक्रबारका दिन, बुटवलबाट प्रकाशित हुने खबरकागत 'जनसंघर्ष'मा एउटा कार्टुन छापिएको थियो जसको पृष्ठभूमिमा एउटा तुल टाँगिएको देखाइएको थियो । त्यसमा 'साहित्य राष्ट्रको गहना हो' (प्रथम पंक्ति), 'विमोचन कार्यक्रम' (दोस्रो पंक्ति) र 'काठमाडौं' तेस्रो पंक्ति लेखिएको थियो । लोकार्पित पुस्तकलाई दुवै हातले उठाएर कुनै नितान्त असाहित्यिक अर्थात् साहित्यको 'सा' पनि नजान्ने हृदयहीन प्रमुख अतिथिले भनेको- 'लौ त साहित्यकारज्यू, किताब लेख्नुभा'रछ । बेच्नुभएछ भने बधाई नै दिऊँला । नत्र आफैं लेख्ने आफैं पढ्ने त होला नि !' पढेर भक्कानु छुट्यो । उद्वेग अलि मत्थर भएपछि सोचेँ- विषवटिकालाई शकंरालिप्त गरेर लोकलाई खुवाउन नेताले यसपटक भने झूठा कुरा गरेको थिएन ।

सन् १९५३ ताका पढिएको थियो-
'सतसैयाके दोहरे, ज्यो नाविक के तीर ।
देखन में छोटे लगें, धाप करें गम्भीर ।।'

पढियो र पास हुनाका लागि सतही अर्थ पनि जानियो । तर, मर्म त भुक्तभोगी मात्र जान्दछ ।

'जामे पैर न फटी विवाई ।
वह क्या लाने पीर पराई ।।'

अथवा 'मम्मी-पापा' भन्ने काला गोराका लागि- 'वेयरर ओन्ली नोज ह्वेयर सु पिन्चेज ।' नेपाली भाषा पढ्नै नपाएको यस अकिञ्चनले पनि सन् २०५९ सालताका स्वलिखित उपन्यास 'विश्वामित्र' छपाएको थियो । त्यतिन्जेल लेखकलाई थाहा नै थिएन, नेपालमा अर्थात् काठमाडौंमा आफ्नो मान्छे नभएको पाखेले किताब लेख्ने दुस्साहस गर्नै हुँदैन ।

किनकि पुस्तक लेख्ने, छपाउने, वाहवाही लुट्ने, बेचेर दाम कमाउन नसके पनि पुरस्कार पाउने अधिकार त 'खाल्टे' अर्थात् चार भञ्ज्याङभित्रका कालिदासहरूलाई मात्र छ । पुस्तक लेख्ने गल्ती गरिसकेपछि लहैलहैमा लागेर पूर्वअञ्चलाधीश श्रीमान् सूर्यबहादुर सेनसँगै पुगियो मदन पुरस्कार गुठी वा के हो, ललितपुर । त्यहाँ तीनवटा किताब जम्मा गरेर फर्कियौं । १४ वर्षपछि थाहा पाइयो, त्यो किताब त्यहाँको पुस्तकालयमा छैन । कतै दर्ता पनि छैन । हितैषी बन्धु नारायण ज्ञवालीले त्यो पुस्तक फेरि त्यहाँ पुर्‌याउनुभयो र १३ जुलाई २०१६ मा म्यासेज पाइयो, 'विश्वामित्र उपन्यास दर्ता नम्बर ३६७९९, मदन पुरस्कार गुठी, पाटन ढोका, ललितपुर ।'

खैर, भनिन्छ- एउटा राम्रो पुस्तक एउटा घनिष्ठ मित्रसरह हुन्छ । जसरी एउटा लंगौटिया यारले आज एउटा कुरा त भोलि अर्कै कुरा गरेर आफ्नो अन्तरंग मित्रलाई धोका दिँदैन, त्यसैगरी पुस्तकले पनि आफ्ना कुरा कहिल्यै फेर्दैन । आज जे भन्यो त्यो भोलि र पर्सि पनि भन्दछ । सायद, यसो भएर नै होला जाँन् मिल्टनले भनेको, 'अ गुड बुक इज त प्रिसियस लाइफ ब्लड अफ अ मास्टर स्प्रिट' ।

मिल्टनलाई सबैले पढ्दैनन् र कथं कदाचित् बाध्यतावश पढ्नै परे पनि अर्थको गहिराइमा जाने फुर्सद कसैलाई हुँदैन । अनि एउटा पुस्तकप्रेमीका लागि मिल्टन पढ्नु त्यति आवश्यक पनि छैन । यस अकिञ्चनले अलिकति मिल्टन पढ्नुअगावै सयकडौं पुस्तक त अवश्य पढिसकेको थियो ।

मित्रहरू सोच्नुहोला, कहाँ लट्ठाएर भाषा बोल्ने साक्षर लाहुरे र कहाँ सरस्वतीका वरद सन्ततीले लेखेको किताब । बन्दुकसँग किताबको के मेल ? तर, त्यस्तो सोचाइ गलत हुनेछ किनकि किताब त जुलियस सिजरजस्ता नामुद महारथीले पनि पढेका थिए २१ सय वर्षपहिले । गत शताब्दीमा बेलायतका प्रसिद्ध योद्धा-राजनेता सर विन्स्टन चर्चिल, जनरल वेवेल, क्याप्टेन बी.एच् लिडेल हार्ट आदिले खुब पढेका थिए ।

कर्नल हुनाका लागि एमएससी (डिफेन्स स्टडिज) गुर्नपर्छ भने आर्मी एजुकेसन कोरका हबलदारहरू पनि बीए, एमए, पीएचडी हुन्छन् । अहिले त अन्य दर्जाका गोरखालीहरू बीए एमए गर्दैछन् । ती सब योद्धाले पास हुनाका लागि धेरैधेरै किताब त पढ्नैपर्छ ।

योद्धाहरूले मात्र किन ? किताब त सुरासुन्दरी र संगीतमा मात्र रमाइरहने मानिसलाई पनि मन पर्ने रहेछ । हाम्रो मुलुकका रक्स्याहा-जँड्याहाहरूले किताब मन पराउँदैनन् भन्दैमा अन्यत्रकाले पनि मन पराउँदैनन् भन्न मिल्दैन । इरानको खुरासान प्रान्तअन्तर्गत पर्ने नैसापुरमा इसाको ११औं शदीको उत्तराद्र्धमा जन्मिएका गयासुद्दिन अबुलकतह उमर बिन इब्राहिम अल खैयामी अर्थात् हामीले सुनेका उमर खैयामले लगभग सात सय ५० रुबाइयात (रुबाईहरू) लेखेका थिए । तीमध्ये केहीको अनुवाद बेलायतका एडवर्ड फिट्जेरल्डले गरेका थिए ।

फारसीबाट अंग्रेजीमा गरिएको यस्तो अनुवादको भाषा सरल भए पनि हाम्रा कतिपय कुटुम्बीका लागि दुरुह हुनसक्छ । तसर्थ मैले यस रुबाईको नेपाली अनुवाद पस्किन चाहेको थिएँ तर मसँग छैन । 'नहुनु भन्दा कानै मामा जाती' अनुसार म हिन्दी फिलिमका महानायक अमिताभ बच्चनका स्वनामधन्य पिता डा. हरिवंशराय 'बच्चन' द्वारा अनुदित प्रथम संस्करणको रुबाईको अनुवाद प्रस्तुत गर्दैछु जो यस्तो छ-

'धनी सिर पर तरुवर की डाल,
हरी छावों के नीचे घास,
बगल में मधु मदिराका पात्र,
सामने रोटी के दो ग्रास,
सरस कविताकी पुस्तक हाथ,
और सब के ऊपर तुम प्राण,
गा रही छेड सुरीली तान,
मुझे अब मरु, नन्दन उद्यान ।'

फिट्जेरल्डले रुबाईको राम्रो अनुवाद त गरे तर उनलाई आफ्नो अनुवादमा किताबको जिकिर, 'लोफ आँव् बे्रड' (रोटी) र 'फ्लास्क अफ वाइन' (रक्सी) पछि हुन पुगेको मन परेन र उनले रुबाइयातको पाँचौं संस्करणमा किताबलाई ठीक वरीयता दिँदै लेखे-

प्रारम्भिक मर्यादाक्रममा तेस्रो हुन पुगेको किताब अन्ततः 'नम्बर वन्' भयो । उनलाई छहारीमुनि एउटा पुस्तक (कविताको) र त्यसपछि रक्सी, भोजन र प्रेयसी भए अदृष्ट स्वर्ग चाहिएकै थिएन ।
पुस्तक र पुस्तकप्रेमीहरूबारे हाम्रा कुटुम्बीजनले कति कुरा सुन्नुभएको छ, त्यो त मलाई थाहा छैन । तर, केही अपवादबाहेक यस्तो कथा कसैले सुन्नुभएको छैन होला-

'चेक लेखक फ्रान्त्स् काफ्का को खस्ताहाल हस्तलिखित प्रतिलिपिसँग एउटा पुस्तकप्रेमीले आफ्नो मोटर-स्कुटर साटेका थिए । यो प्रसंग 'द ट्रायल'को भूमिकामा प्रकाशित छ । काफ्का-लिखित किताबको फाट्न लागेको उतारको मोल त्यसताका एउटा मोटर-स्कुटर हुन्थ्यो भने, आफ्नो जमानामा, बाइबलपछि सर्वाधिक छापिने, मिखाइल सोलोखोवको, 'ऐन्ड क्वाएट फ्लोज द दोन'को बिक्री पनि विश्मयकारी संख्यामा हुन्थ्यो किनकि पश्चिमाहरू पुस्तकप्रेमी हुन्छन् । त्यसो नहुने भए विक्रम सेठजस्ता लेखकले किताब लेख्नका लागि करोडौं डलर पेस्की कसरी पाउँथे ?

छापिनु त कता हो कता, लेखिँदै नलेखिएको पुस्तकको अग्रिम पारि श्रमिक नौ करोड डलर दिइएको हामीले सुनेका थियौं भने हाम्रा पुस्तक विमोचकले 'बेच्नुभएछ भने बधाई नै दिऊँला । नत्र, आफैं लेख्ने आफैं पढ्ने त होला नि' भन्ने ? तर, यहाँ भने नेताले साँचा कुरा गरेका हुन् । हामी महिनाभरि दिनहुँ तीजको दर खान त मुख बाइरहन्छौं, हामी रक्सी-मासु-नाचगान-पार्टीमा हजारौं-लाखौं खर्च गर्न त तयार हुन्छौं तर किताब किन्न र पढ्न चाहन्नौं । घरमा आफूले पढिसकेका पुस्तकहरूको संकलन नहुँदा पनि हामी आफूलाई शिक्षित र सुसंस्कृत भन्दछौं । मानिसले पुस्तक-विमोचन गरे त्यो हास्यापद घटना मानिनुपर्छ ।

हाम्रा साहित्यकार बन्धुहरू किताब नबिक्ने गुनासो गर्नुहुन्छ । तर, पुस्तक बिकाउने तरिका के स्वयं कहिल्यै अपनाउनुभएको छ उहाँहरूले ? हाम्रा साहित्यकार बन्धुहरूले हालका लागि जिल्ला स्तरको संगठन बनाएर किताब छाप्ने र ती किताबहरू स्वयंले पनि किनेर कसैको जन्मदिन, व्रतबन्ध, बिहे आदिमा उपहार दिए, मलाई लाग्छ पुस्तक नबिक्ने गुनासो नै रहन्न । वर्षभरिमा हामी कमसेकम दसपटक त जान्छौं-जान्छौं त्यस्ता कार्यक्रममा ।

त्यहाँ दिने नगदी र जिन्सीको साटो पुस्तक दिए, कालान्तरमा 'बुक कल्चर'ले घरघरमा जरा टेक्न थाल्नेछ ।
'नगदको साटो पुस्तक' पढेर निम्तो कार्डमा- 'कृपया जिन्सी सामान ल्याउने कष्ट नगर्नुहोला' छपाउने बन्धुहरू पक्कै पनि रिसाउनुहोला । घुमाउरो पाराले- 'खाएको पैसा तिर' भन्नेले सोझै- 'भोजको पैसा नगद तिर्नुपर्ला, त्यो पनि एडभान्समा' छपाए हुन्न र ? आखिर भनेको त त्यही हो ।

गृहिणीहरूले आफ्ना सखी-परिचिताहरूलाई आफ्ना नयाँ गहना देखाउनुहोस्, हीराको हार र नयाँ कार देखाउनुहोस् । होम-थिएटर र महँगो म्युजिक सिस्टम देखाउनुहोस् र साथसाथै आफ्नो गृह-पुस्तकालय पनि देखाउँदै भन्नुहोस्- 'यस्ता पुस्तक घरेलु पुस्तकालयमा बिरलै होलान् । यस आल्मारीमा मूलसहित अनुवादमा चारै वेद, ऐतेरेय र कौवितकि, शतपथ, तैत्तिरीथ, ताण्ड्य, गोपथ आदि ब्राह्मण, सारा उपलब्ध उपनिषद्, पुराण र स्मृतिका साथै उपलब्ध सुत्तपिटकका ग्रन्थ आदि छन् ।

यस आलमारीमा बाइबल, कुरान, हदिस, जेन्द अवेस्ता, ट्याल्युड र सम्बन्धित साहित्य छन् । यस आल्मारीमा होमर, वर्णिल, जुलियस सिजर, एरिस्टोटल, प्लेटो, दाँते, नित्से, बेकन, टाँमर मोर, सेक्सपियर, मोपासाँ, ह्युगो, सात्र्र, कामु, पुस्किन, लेर्मोन्तोव, टोल्स्टोय, गोर्की, बुनिन, चेखव, सोलोखोफ आदिका रचनाका साथै बोरिस पास्टर्नाक, सोल्झेनिरिसन आदिका रचना छन् । यस आल्मारिमा वल्र्ड क्लासिक्स छन् । यस आल्मारीमा नोबेल पुरस्कार विजेताका रचना छन् । नेपाली र हिन्दी साहित्यकारका महान् कृतिहरू यता छन् । रामायण, महाभारत र संस्कृत साहित्यका प्रसिद्ध ग्रन्थ यता छन्... । वर्षमा दस-बीस हजारका किताब नकिनीकन सन्तोष नै हुन्न... ।'

सान देखाउनु नै छ भने घरेलु पुस्तकको सान देखाउनुहोस् । हीराको हार र पजेरो-मर्सिडिज कार त अनपढ नेता र तस्कर-ठगहरूकहाँ पनि हुन सक्छन् भने घुस्याहा अधिकारीहरूकहाँ त हुन्छन् हुन्छन् ।
चार सय वर्षभन्दा बढी भयो रामचरितमानसकार गोस्वामी तुलसीदासले भनेको-

'पर उपदेश कुशल बहुतेरे ।
जे आचरहीं ते नर न घनेरे ।'

अर्थात्, अर्कालाई उपदेश दिन धेरैजना कुशल हुन्छन् भने ती उपदेशअनुसार नै आचरण गर्ने उपदेशक थोरै हुन्छन् । उपदेश दिने औकात ममा छैन । मैले त आग्रहमात्र गरेको हुँ । आग्रह गरेबमोजिम आचरण पनि गरेको छु ।
भारतीय सेनाको प्रत्येक बटालियनमा दुइटा पुस्तकालय हुन्छन्, एउटा अन्य दर्जाका लागि त एउटा अधिकारीहरूका लागि । पुस्तक-बिक्रेताहरूले नयाँ पुस्तकहरूको उपलब्धताबारे सूचना दिनका लागि पल्टनमा आफ्ना प्रचार-सामग्री पठाउँछन् । सन् १९६३ मा हामी अर्थात् हाम्रो पल्टन पूर्वी सिक्किमको 'फाइब माइल' भन्ने ठाउँमा थियौं ।

म एडजुटेन्ट- आफिसमा 'डिस्पैचर' भएकोले पुस्तक-प्रचार-सामग्री सर्वप्रथम मैले नै हेर्न पाउँथे । एक दिन मैले इङ्लिस बुक डेपो, फिरोजपुर, पन्जाबबाट पठाइएको पुस्तक विज्ञापन पाएँ- पढेँ । त्यसमा विलियम एल सायरर लिखित पुस्तक 'द राइज एन्ड फल अफ द थर्ड राइख'बारे निकै प्रशंसा गरिएको पढेर त्यो पुस्तक पढ्ने मन बनाएँ । १२ सय पृष्ठभन्दा धेरै मोटो पुस्तकको मोला जम्मा १६ रुपैयाँ पढेर चित परेँ । त्यसताका जम्मा ५५ रुपैयाँ मासिक तलब पाउने म लिपिकका लागि त १६ रुपैयाँ धेरै थियो । तर, पुस्तक पढ्ने सनकले मलाई जित्यो ।

मैले आफ्ना सिनियर हबलदार (क्लर्क) लालमान देवान (सायद मुर्माह टी एस्टेट, दार्जिलिङका)लाई फकाएर त्यो किताब मगाइदिन भनेँ । सहृदय गुरु मान्नुभयो । डिमान्ड गरियो किताब आयो । त्यसको बिल त १६ को सट्टा ६३ रुपैयाँको थियो । बुझ्दा थाहा भयो, विज्ञापन पेपर ब्याकको थियो भने पठाइएको पुस्तक हार्डकभर थियो । तर, त्यत्रो पैसा (मासिक आयभन्दा धेरै) तिर्नुपर्दा मलाई कुनै कष्ट भएन, सत्य-सत्य रामोराम ।

मैले त्यो किताब किनेपछि आफिसमा किताब र दामको चर्चा हुन थाल्यो । मलाई औधी रुचाउने क्याप्टेन प्रणवदत्तले मसँग मागेर त्यो किताब पढ्नुभयो । त्यस किताबको चर्चा अफिसर्स मेसमा पनि भएको रहेछ । केही दिनपछि कप्तान दत्त त्यो किताब सधन्यवाद फर्काउन आउँदा उहाँसँग अर्का कप्तान, शशिकान्त पनि हुनुहुन्थ्यो । उहाँले मसँग भन्नुभयो, 'जंगबहादुर, इस किताबको पढकर तो तुम जनरल बन जाओगे ।'

अन्य दर्जाबाट उठेर अफिसर बनेका ती ईष्र्यालु कप्तानको त्यस्तो व्यंग्य सुनेर तिलमिलाएको मैले 'प्रोवाइडेड यु रेकमेन्ड मी सर' भन्न नपाउँदै, आसाम पुलिसका महानिरीक्षकका छोरा क्याप्टेन दत्तले भन्नुभयो, 'कम आन शशि, एवरी बुक लवर इज् नाँट अ जनरल एन्ड एवरी जनरल इज नाँट अ बुकलवर ।'

जेसीओ (जुनियर कमिसन्ड आफिसर) बनेपछि मेरो हैसियत अलि बढ्यो र १०÷२० रुपैयाँ पर्ने किताबहरू किनिरहन समस्या परेन । एक दिन 'द इलस्ट्रेटेड विकली आव इन्डिया' नामक साप्ताहिक पत्रिकामा 'हस् बुक्स, १५ म्याथ्यु रोड, बाँम्बे ४' ले छपाएको एउटा विज्ञापन देखेँ जसमा बताइएको थियो, 'बुक्स द्याट् ह्याब चेन्ज्ड म्यान्स थिंकिङ' सिरिजका पुस्तक किन्ने ग्राहकहरूलाई निम्नलिखित 'हार्डबाउन्ड' पुस्तकहरू जम्मा रु. २५ मा दिइनेछ-

-प्लेटोकृत 'द रिपब्लिक'
-एरिस्टोटलकृत 'पाँलिटिक्स'
-सर टाँमस मोरकृत 'युटोपिया'
-फ्रान्सिस बेकनकृत 'द एड्वान्स्मेन्ट आँव् लनिङ्'
-स्पिनोजाकृत 'एथिक्स' र
-फ्रेडरिख नित्सेकृत 'दस स्पेक जरथुस्त्र'

ग्राहक बनियो र माथि बताइएका पुस्तकहरूका साथै सिरिजको पहिलो पुस्तक, होमरकृत 'इलियड' पनि आयो । स्विट्जरल्यान्डमा छापिएको त्यस हार्ड बाउन्ड पुस्तकको मोल थियो जम्मा सत्र रुपैयाँ । बम्बईबाट त्यस सिरिजका १७ वटा पुस्तक आएपछि, स्टाँक सिद्धिएकाले आउन बन्द भएको थियो र त्यसताका नै 'लाइफ' नामक म्यागजिनमा एउटा विज्ञापन छापियो, 'ग्रेट एजेज अफ मेनः अ हिस्ट्री अफ वल्र्डस् कल्चर' सिरिजका पुस्तकहरूबारे ।

तुरुन्त ग्राहक बनेँ । पहिलो पुस्तक- 'द क्लासिकल ग्रिस' आयो एम्सटर्ड्याम, हल्यान्डबाट । त्यस हार्डकवर पुस्तकको दाम थियो, सायद ३२ रुपैयाँ । त्यो सिरिज पनि स्टक सिद्धिएपछि बन्द भयो र मैले अरू दुइटा किताब, 'एज आव् फेथ' र 'इम्पिरियल रोम'मात्र पाउन सकेको थिएँ ।

माथि बताइएका दुई सिरिजका पूरा सेट पाउन नसक्दा मेरो चित्त अझै पनि खिन्न रहन्छ ।
एक दिन 'कान्तिपुर'मा 'सौरभ'को लेख पढियो जसमा उहाँले नेविल् म्याकस्वेलकृत 'इन्डियाज चायना वार' पढ्न नपाएको कुरा बताउनुभएको थियो । तुरुन्त रामराशि लाहुरे (ब्रिटिस आर्मी)सँग अनुरोध गरेँ । उहाँले कृपापूर्वक बेलायतबाट त्यो किताब ल्याइदिनुभयो । अनि त्यत्रो धामा गरेर मगाइएको त्यो पुस्तक त 'नटराज पब्लिसर्स, देहरादुन- नयाँ दिल्ली'ले पो छापेको रहेछ !

कृपालु बन्धुहरूले मलाई चाहिएका किताबहरू वाराणसी, दिल्ली, भोपाल, कोलकाता, यूके, क्यानडाबाट ल्याइदिनुहुन्छ- पठाइदिनुहुन्छ । तर, मलाई क्षेमेन्द्रकृत 'दिव्यादान' संस्कृत मूलसहित नेपाली, हिन्दी वा अंग्रेजीमा चाहिएको छ अहिले । कसले गर्ला अनुकम्पा ? लौ न मोलको पर्वाह छैन । ८० वर्षे यस लाहुरेले अब धेरै रक्सी मासु पचाउन सक्दैन । पेन्सनको पैसा के गर्ने ? सम्पत्ति जोड्नेले आफैसँग लैजानका लागि जोडून् । मेरा सम्पत्ति त पुस्तक नै हुन् जो म लैजान्नँ । मानिसहरू पापकट्टीका लागि वा पुण्यार्जनका लागि हजारौं-लाखौं खर्चेर तीर्थयात्रा गर्नुहुन्छ । मेरा लागि त तीर्थ स्वयं मेरो घरमा आइदिनुहुन्छ, शोधकर्ताका रूपमा । उहाँहरूलाई चाहिएका पुस्तक (मसँग भए) पढ्न दिएपछि मलाई तीर्थयात्रा गरेजस्तै सुखानुभूति हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.