अब राजनीतिमा ‘नायक’ बन्छु: रेखा थापा
घोराहीः जब नेपाली सिने जगतमा ‘हिम्मतवाली’ र ‘रामप्यारी’ जस्ता फिल्म आए, त्यसपछि रेखा थापालाई लागेको थियो, हो साँच्चिकै हरेक नेपाली महिलाहरु ‘हिम्मतवाली’ नै हुन्छन् । र, अब उनले दश वर्षभित्रमा प्रत्येक नेपाली नारीलाई ‘हिम्मतवाली’ बनाउने प्रण गरेकी छिन् ।
त्यसैका लागि अब राजनीतिक फिल्डबाट अगाडी बढ्न थालेको उनको भनाइ छ । शनिबार दाङमा जागरण मिडिया अनलाइनले गरेको पत्रकार भेटघाटमा उनले भनिन्, ‘अब फिल्ममा नायिकामात्रै होइन, राजनीतिमा नायक बन्नेछु, प्रत्येक नेपाली महिला हिम्मतवाली हुनुपर्छ यसैका लागि राष्ट्रिय नीति बनाउन म राजनीतिमा लागेको हुँ ।’
संविधान सभाको चुनावताका माओवादीमा प्रवेश गर्दै तत्कालिन अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसँग सडकमै नाचेपछि एकाएक राजनीतिमा पनि चर्चा कमाएकी रेखा केही दिनअघि मात्रै राप्रपामा प्रवेश गरेकी हुन् । त्यसअघि चर्चित गायिका कोमल वली पनि राप्रपा प्रवेश गरेकी थिइन् ।
‘माओवादी केन्द्रसँग मैले जुन अपेक्षा गरेकी थिएँ, त्यो सिद्धान्त नै भेटिनँ’ उनले भनिन् ‘अनि त्यो पार्टीभित्र पनि धेरै बिचलनहरु आइसकेका रहेछन्, त्यसैले म त्यहाँ टिक्न सकिनँ ।’
राप्रपालाई उनले जनताले रुचाएको ‘नायक’ पार्टी पनि भनिन् । ‘त्यसैले म यता आएकी हुँ’ रेखाले भनिन् ‘यो पार्टीमा जनता आफैं नायक छन्, अब म पनि यही पार्टीबाट राजनीतिको नायक हुन्छु ।’
फिल्मी क्षेत्रबाट मात्रै महिलाका मुद्दालाई सम्बोधन गर्न नसकिने भन्दै त्यसका लागि नीतिगत तहमै पहुँच हुनुपर्ने आफूलाई लागेको उनले बताइन् । ‘म महिलाका नाममा सिट र कोटा दिने नीतिको विरोधी हुँ, म चाहन्छु हरेक महिलालाई न्याय, समानता होस् ।’
पछिल्ला सिनेमाहरुमा महिलाको भूमिका प्रधान देखाउँदै आएकी रेखाले धेरै महिलाहरुले अब ‘रियल लाइफ’मै महिलाहरुलाई हिम्मतवाली बनाउने भनेका कारण आफू राजनीतिमा आएको उनले दोहो¥याइन् । ‘त्यसैले म राजनीतिमा अब सक्रिय नै भएर लाग्नेछु’ उनले भनिन् ‘र, हेर्नुहोला, आगामी १० वर्षभित्रमा हरेक नारी हिम्मतवाली भएर निस्किनेछन् ।’
बैबाहिक जीवनको बारेमा सोधिएको प्रश्नमा उनले अब आफूलाई पनि घरबारको रहर लागन थालेको बताइन् । ‘रहर कसलाई हुन्न र, म पनि एउटी नारी हुँ, म लोग्नेमात्रै होइन, राम्रो जीवनसाथीको खोजीमा छु’ उनले हाँस्दै भनिन् ‘एकै वर्षभित्र त नभनौँ तर, धेरै ढिला पनि हुँदैन म चाँडै बिहे गर्नेछु किनकि मलाई पनि आमा बन्ने रहर छ ।’
दाङको कोठरीमा चलिरहेको माघी विशेष महोत्सवमा सहभागी हुन रेखा दाङमा आएकी हुन् ।