म्यानपावरको लापरबाहीले एक नेपाली मलेसियाको थुनामा
मलेसिया: म्यानपावरको लापरवाही र रोजगारदाता कम्पनीले जिम्मा नलिँदा मलेसियाको अध्यागमनले एक नेपालीलार्इ नियन्त्रणमा लिएको छ। धनकुटा भिरगाउँका जीवनबहादुर पिठाकोठे एक हप्तादेखि अध्यागमनको नियन्त्रणमा छन्।
मलेसियाको मेरुमा रहेको टप ग्लोभ कम्पनीमा काम गर्न उनी डिसेम्वरको २६ मा मलेसिया आएका थिए। तर, उनलाई सम्वन्धित कम्पनीले जिम्मा नलिएपछि उनलाई अध्यागमनले नियन्त्रणमा लिएर थुनुवा केन्द्रमा राखेको हो।
अध्यागमनको हिरासतमा रहेका उनले टेलिफोनमार्फत अन्नपूर्णसंग भने,'घर जान टिकट छैन, कम्पनी लिन आएन म त मलेसियामा नै मर्छु होला।'
मलेसिया आएपनि उनलार्इ सम्वन्धित कम्पनीको कुनै एजेन्ट लिन नआएको र उनको हालसम्म पनि फिन्गरिङ्ग नभएकाले उनलाई नियन्त्रणमा लिइ थुनुवा कैदी गृहमा राखिएको अध्यागमन स्रोतले जनाएको छ। अध्यागमनका एक कर्मचारीले दिएको जानकारी अनुसार मगरलार्इ अब नेपाल फर्काउने वाहेकको विकल्प छैन।
मलेसियाको अन्तार्राष्ट्रिय विमानस्थलमा आएका आप्रवासी श्रमिकलार्इ ७२ घण्टासम्म पनि सम्वन्धित कम्पनी लिन नआए अध्यागमनले नियन्त्रणमा लिएर थुनुवा कैदी गृहमा राख्ने गरेको छ।