दक्षिणपन्थको वर्ष
काठमाडौं: सन् २०१६ मा विश्वमा निकै घटनाहरू भए । यसैगरी युरोप हत्याहिंसाको चपेटामा लपेटियो । हत्याहिंसामा कमी आउन सकेन । शान्तिप्रतिका प्रतिबद्धता भाषण र कागजमा मात्र सीमित रहे ।
दक्षिणपन्थीको वर्चस्व
समग्रमा यो वर्षमा दक्षिणपन्थीहरू हावी हुन पुगे । संयुक्त राज्य अमेरिकामा रिपब्लिकन नेता डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए । रूसी संसद्मा वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनको पक्षधरको बहुमत आयो । बेलायतमा दक्षिणपन्थी डेभिड क्यामरुनको विजय भयो । त्यहाँका जनताले सिंगो युरोपभन्दा इयुबाहिरको बेलायतको पक्षमा मतदान गरे । क्यमरुनकै दलकी टेरेसा मे प्रधानमन्त्री बनिन् । यसैगरी ताइवानमा स्वतन्त्र ताइवानको माग गर्दै आएकी साई इङ वेन राष्ट्रपति निर्वाचित भइन् । सिरियामा राष्ट्रपति बसर अल असदको बाथ पार्टी र यसका सहयोगीले बहुमत ल्याए ।
बंगलादेश–पाकिस्तान विवाद
बंगलादेश र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण रह्यो । जनवरीमै बंगलादेश र पाकिस्तानले आफ्ना देशका उच्चायुक्तहरू फिर्ता बोलाए । बंगलादेशले सन् १९७१ मा भएको स्वतन्त्रता संग्राममा युद्ध अपराध र आतंकवादमा संलग्न भएको बताउँदै आएको छ । विगतमा एउटै देश भएका यी दुवै मुलुकले एक अर्काको शैक्षिक संस्थाको मान्यता पनि खारेज गरे । आफ्नो देशमा पाकिस्तानले आतंकवादीलाई सहयोग गरेको बंगलादेशको भनाइ छ ।
इरान–साउदी तनाव
यसैगरी इरानमा रहेको राजदूतावासमा आक्रमण भयो । साउदी अरेबियामा थुनामा रहेका इस्लामिक सिया धर्म गुरु निमर–अल–निमरससहित ४७ जनालाई साउदी अरेबियामा फाँसीको सजाय दिएपछि राजदूतावासमा प्रदर्शन र आक्रमण भएको थियो । सिया धर्मगुरु अयातोल्ला अहमद खातमीले यस घटनाले साउदीको राजपरिवार नै नाश हुने धम्की दिए । यसले खाडी मुलुकमा निकै ठूलो तनाव भयो । दुई देशबीच कूटनीतिक सम्बन्ध विच्छेद गरियो । निमरलाई फाँसी दिदइएको विरोधमा इराक, बहराइन, लेबनानमा पनि प्रदर्शन भएका थिए । यसकै कारण इरानी नागरिक हज गर्न साउादीस्थित मक्का मदिना गएनन् । ती देशबीचको विवादले ३० वर्षयता इरानीको पहिलोपटक धार्मिक यात्रा बन्द भयो ।
अमेरिकामा बन्दुक नियन्त्रणको ललिपप
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले देखिएको बन्दुक संस्कृतिमाथि रोक लगाइने बताउँदै सार्वजनिक रूपमा रोए । अमेरिकामा बन्दुकको अन्धाधुन्ध दुरुपयोगले सयौं व्यक्तिको मृत्यु हुने गरेको भन्दै उनी कनेक्टिकटमा भावुक भएर विह्वल भएका थिए । बन्दुकको विरोधमा कानुन बनाउन संसद्मा अनुरोध गर्ने उनले बताएका थिए । राष्ट्रपतीय अधिकार प्रयोग गरेर पनि यस्तो काम गर्ने उनले दाबी गरे ।
आफ्नो बाँकी रहेको एक वर्षको कार्यकाल सन् २०१६ मा अमेरिकालाई बन्दुक संस्कृतिबाट मुक्त देश बनाउने दाबी पनि गरे । ओबामाले भाषण एउटा गरे काम भने अर्कै गरे । यही अवधिमा टेक्सस राज्यमा सार्वजनिक विश्वविद्यालयमा विद्यार्थीले बन्दुक बोकेर जान पाउने नियम पारित भयो । २१ वर्ष उमेर भएका विद्यार्थीले बन्दुक लिएर जान पाउने नियम बनाइयो ।
ताइवानमा साई राष्ट्रपति
ताइवानमा साई इङवेन पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित भइन् । उनी दक्षिणपन्थी नेतृ हुन् । उनी स्वतन्त्र ताइवानको माग गर्दै आएकी नेतृ हुन् । ताइवानको कुओमिन्ताङ पार्टीको सरकारले चीनसँग गरेको व्यापार सम्झौता ताइवानी जनताको हितविपरीत भएको भन्दै आममानिसले साईलाई समर्थन गरेका थिए । आफ्नो विजय हुनु भनेको ताइवानी जनताले चीनसँगको निकट सम्बन्ध नरुचाएको उनको भनाइ छ । उनी राष्ट्रपति भएपछि चीन निकै संवेदनशील देखिएको छ ।
इरानमाथिको प्रतिबन्ध फुकुवा
संयुक्त राष्ट्रसंघले इरानको बैंकमाथि विगत लामो समयदेखि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्यो । इरान र अरू ६ वटा प्रमुख राष्ट्रबीचको पारमाणविक सम्झौताको कार्यान्वयनका बारेमा आवश्यक मापदण्ड पूरा गरेकाले प्रतिबन्ध फुकुवा गरिएको थियो । यसपछि इरानको खर्बौं डलर बराबरको सम्पत्ति फुकुवा हुने र इरानले तेल अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न पाएको छ । अमेरिकाले भने प्रतिबन्ध थपेको छ ।
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाले गत वर्ष निकै पल्ट आणविक क्षेप्यास्त्र प्रक्षेपण गर्यो । उसले छोटो, मध्यम दूरीका क्षेप्यास्त्र परीक्षण गरिरह्यो । उसले अमेरिका र दक्षिण कोरियाले गरेको विरोध बेवास्ता गर्दै परीक्षण जारी राख्यो । उत्तर कोरियाविरुद्ध नाकाबन्दी गरिए पनि प्योङयाङले आफ्नो काम रोकेन । अमेरिकाले प्योङयाङविरुद्धको प्रतिबन्ध विषयमा चीनलाई पनि गुहारेको थियो । उत्तर कोरियाका मालवाहक जहाजलाई संसारभरका बन्दरगाहमा रोकिने चेतावनी दिइएको थियो । यसका साथै १६ जना उत्तर कोरियाली नागरिक र १२ वटा संगठनमाथि प्रतिबन्ध लगाइएको छ ।
उत्तर कोरियाले अब साना हतियार पनि विक्री गर्न पाउने छैन । यसैगरी उत्तर कोरियाले भू–उपग्रहका लागि आवश्यक इन्धन पनि रोकियो । उत्तर कोरियालाई कुनै पनि खालको हवाइ इन्धन उपलब्ध नगराइने र शंकास्पद गतिविधिमा लागेका उत्तर कोरियाली कूटनीतिज्ञलाई पनि निष्काशन गर्ने घोषणा गरियो ।
दक्षिण कोरिया र अमेरिकाले उत्तर कोरियाको आणविक क्षेप्यास्त्रको परीक्षण विफल बनाउने भन्दै दक्षिण कोरियामा विशेष प्रविधियुक्त संयुक्त प्रतिरक्षात्मक प्रणाली (थाड) जडान गरे । यसको विरोध गर्दै हजारौं दक्षिण कोरियाली नागरिकले प्रदर्शन गरे ।
चीनमा दुई सन्तान नीति
सन् २०१६ को जनवरी १६ देखि एक जोडीले दुई सन्तान जन्माउन चाहेमा यसलाई कानुनी मान्यता दिएको छ । यसअघि चीनको सहरी इलाकामा बसोवास गर्ने हरेक जोडीले एक बच्चाभन्दा बढी बच्चा जन्माउन नपाउने व्यवस्था थियो । एकभन्दा बढी सन्तान पाएमा चिनियाँ नागरिक सजायको भागीदार हुनुपथ्र्यो । कयौं अवस्थामा त्यस्ता अभिभावकलाई कारावास पठाउने गरिएको थियो । त्यसरी जन्मिएका सन्तान राज्यबाट पाउने सुविधाबाट वञ्चित हुने गरेका थिए । चीनमा प्रौढको संख्या अत्यधिक भएर समस्या देखिएको थियो । यसको दीर्घकालीन असरबारे विचार गर्दै दुई बच्चा जन्माउन पाउने कानुनको व्यवस्था गरिएको हो ।
म्यान्मारमा सुकीको उदय
म्यान्मारमामा आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसीका नेता ऊ ठिन् च्व राष्ट्रपति हुन पुगे । विजयी भएका छन् ।म्यान्मारको संविधानका कारण सुकी राष्ट्रपति भने हुन सकिनन् । यसको साटो उनलाई विदेशमन्त्री र राज्य सहायकमा नियुक्त गरिएको छ ।
अमेरिका– क्युबा सम्बन्ध सुधार
यो वर्ष अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्युबा भ्रमण गरे । उनले हवानामा क्युबाली राष्ट्रपति राउल क्यास्त्रोसँग भेट गरी सम्बन्ध सुधारमा जोड दिए । सन् १९२८ पछि अमेरिकी राष्ट्रपतिले क्युबा भ्रमण गरेका थिए । अमेरिकाले ५० वर्षपछि पहिलोपटक क्युवाका लागि राजदूत नियुक्त गरेको छ । क्युबाका लोकप्रिय क्रान्तिकारी नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोले उक्त सम्झौताको विरोध गरे ।
सांस्कृतिक क्रान्ति गलत भएको स्वीकार
चीनमा सांस्कृतिक आन्दोलनका नाममा भएको खलबली गलत भएको भन्दै त्यसो गरिनु भुल भएको चिनियाँ कम्युनिस्ट पार्टीले स्वीकार गर्यो । सन् १९६६ मा तत्कालीन अध्यक्ष माओत्सेतुङले सुरु गरेको सांस्कृतिक क्रान्ति सुरु भएको ५० औं वार्षिकोत्सवमा यस्तो निर्णय गरिएको थियो । यसअघि सांस्कृतिक क्रान्ति सान्दर्भिक नभएको भन्दै पार्टीले बताएको थियो ।
सत्तारुढ कम्युनिस्ट पार्टी निकट ग्लोबल टाइम्सले सांस्कृतिक क्रान्ति आवश्यक नभएको भन्दै चीनले यसलाई बिदाइ गरिसकेको स्पष्ट पारेको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्रले सांस्कृतिक क्रान्ति सुरु भएको दिनका बारेमा ५० औं वार्षिकोत्सवका अवसरमा समेत सांस्कृतिक क्रान्ति आवश्यक नभएको भन्ने सरकारी निर्णयमा समर्थन गर्यो । सांस्कृतिक क्रान्ति सैद्धान्तिक र व्यवहारिक दुवै रूपमा गलत सावित भएको चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो धारणा सार्वजनिक गर्यो ।
चर्चामा दलाई लामा
तिब्बती आध्यात्मिक नेता दलाई लामाले चीनबाट स्वतन्त्र तिब्बतको माग आफूले नगरेको अमेरिकी राष्ट्रपति बाराक ओबामासँगै बताए । ओबामाले ८० वर्षीय आध्यात्मिक नेता दलाई लामासँग ह्वाइट हाउसको ऐतिहासिक म्याप रूममा भेट गरेका थिए । अमेरिकाले पनि आफू स्वतन्त्र तिब्बतको पक्षमा समर्थन नगर्ने स्पष्ट पार्यो । अमेरिकी विदेशमन्त्री जोन केरीले तिब्बतलाई चीनको अभिन्न अंग मानेको धारणा सार्वजनिक गरे ।
यसैगरी ताइवानले आध्यात्मिक नेता दलाई लामालाई प्रवेश अनुमति दिएपछि चीनले विरोध गर्यो । दलाई लामालाई ताइवानका चर्चित गायक एवं चीनविरोधी छवि बनाएका सांसद फ्रेडी लिमले आमन्त्रण गरेका थिए । दलाई लामाले मंगोलिया भ्रमण गरेपछि चीनले त्यसविरुद्ध नाकाबन्दी नै गर्यो । चरम अभाव थेग्न नसकेपछि गत साता मंगोलियाले दलाइ लामालाई कुनै पनि हालतमा आफ्नो देश प्रवेश गर्न नदिने घोषणा गरेको छ ।
भारत–पाक विवाद
भारत प्रशासित जम्मु–कश्मीरको उरीमा २९ जना भारतीय सैनिक मारिएपछि पाकिस्तान–भारतबीच तिक्तता उत्पन्न भयो । यसै विवादलाई लिएर दक्षिण एसियाली सहयोग संगठन (सार्क)को नोभेम्बर ९ र १० तारिखमा आयोजना गरिएको सम्मेलन स्थगित हुन पुग्यो । पाकिस्तानमा महिनौंसम्म भारतीय चलचित्र प्रदर्शन गर्न प्रतिबन्ध लगाइयो । डिसेम्बर महिनामा उक्त प्रतिबन्ध भने पाकिस्तानले हटाएको छ ।
समाचार प्रसारण गरेबापत अमेरिकी थुनामा
संयुक्त राज्य अमेरिकाको नर्थ डकोटा राज्यमा अमेरिकी टेलिभिजन कार्यक्रम ‘डेमोक्रेसी नाउ’ की पत्रकार एमी गुडम्यानलाई आदिवासीले गरिरहेको विरोधको समाचार बनाएबापत कारावास पठाइएको छ । दंगा भड्काएको आरोप लगाएर उनीमाथि मुद्दा चलाइएको हो । गत सेप्टेम्बरको ३४ तारिखमा अमेरिकी आदिवासीले गरिरहेको विरोध प्रदर्शनको उनले समाचार बनाएकी थिइन् । विरोध प्रदर्शन करिब पौने चार अर्ब डलरको पेट्रोलियम पाइपलाइनको विरोधमा थियो । उक्त पाइपलाइनबाट वातावरणमा खराब असर पर्ने र जलस्रोतका माध्यम प्रदूषित हुने आदिवासीको भनाइ थियो ।
महिनौंदेखि सञ्चारमाध्यमले प्रसारण गर्न नचाहेको उक्त विरोध प्रदर्शन सर्वप्रथम गुडम्यानले कभरेज गरेकी थिइन् । आदिवासी बसेको क्षेत्रमा बुल्डोजरको जबरजस्ती प्रयोग, त्यस्तो कम्पनीका मानिसले गर्ने पेपर स्प्रे र उनीहरूले सिकारी कुकुर प्रयोग गरी आदिवासी प्रदर्शनकारीलाई लखेट्ने गरेका भिडियो गुडम्यानले ‘डेमोक्रेसी नाउ’मा अपलोड गरेकी थिइन् । त्यसलगत्तै आदिवासीको विरोध प्रदर्शनको समाचार चर्चामा आएको थियो ।
प्रदर्शनका बारेमा आवाज उठ्न थालेपछि अमेरिकी सरकारले पाइपलाइनको काम स्थगित गर्नुपरेको थियो । उक्त विरोधलाई रिपोर्टिङ गरेको भन्दै गुडम्यानमाथि मुद्दा लगाइएको छ । सुरुमा उनलाई आपराधिक घुसपैठ (क्रिमिनल ट्रेसपासिङ) को आरोप लगाइएको थियो । त्यसलाई परिवर्तन गरेर हाल दंगा गर्न उकासेको आरोप लगाइयो।