हाम्रो शिरमा ढाका टोपी (फोटोफिचर)
शब्द र तस्बिरः हरिबहादुर लम्जेल
हिलेः धनकुटा-१ हिलेमा यूवा र विद्यार्थीले चौथो राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाएका छन् । ‘राष्ट्रिय पोशाक नै पहिचान र मौलिकताको आधार’ भन्ने मूल नाराका साथ ‘द फ्रिडम युथ क्लव’ हिलेको संयोजनमा ढाका टोपी लगाएर र्याली गरिएको हो ।
र्यालीमा सहभागी महिला, युवा र विद्यार्थीले मौलिक पोशाक र रहनसहननै नेपालीको पहिचान र एकताको आधार भएको भन्दै ढाका टोपी र दौरा र सुरुवालमा सजिएर हिले बजार परिक्रमा गरेका थिए ।
विदेशी नक्कल गर्दागर्दै नेपाली पोशाकको पहिचान र मौलिकता हराउन थालेको कारण ढाका टोपी संरक्षणमा हातेमालो गरौ भन्ने उदेश्यले र्यालीको आयोजना गरिएको क्लबका अध्यक्ष गौरव कार्कीले बताए ।
कार्यक्रममा बोल्दै स्थानीय शान्ति समितिका संयोजक लालचन्द्र गोङ्वा तामाङ्ले ढाका टोपी र दौरा सुरुवाल कुनै जाति विशेषमा मात्र नभई सम्पुर्ण नेपालीको पोशाक भएको बताए । ‘जाती र समुदाय अनुसार ढाका टोपीको रंग, आकार फरक होला’ उनले भने ‘ढाका टोपी र पोशाक राष्ट्रिय एकताको प्रतिक हो ।’