विभागकै सेटिङमा मानव तस्करी

विभागकै सेटिङमा मानव तस्करी

काठमाडौं: वैदेशिक रोजगार विभागकै कर्मचारी र केही म्यानपावर व्यवसायीले खाडी मुलुकमा घरेलु कामदार पठाउने नाममा 'मानव तस्करी' गर्दै आएको खुलेको छ । अवैधानिक ढंगले घरेलु कामदार बनेर खाडी मुलुक जानेलाई निरुत्साहन गर्नुको सट्टा विभागकै कर्मचारी आर्थिक प्रलोभनमा परी मानव तस्करलाई प्रश्रय दिइरहेका छन् ।

श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागको संरक्षणमा विभाग मातहतको ताहचलस्थित काठमाडौं कार्यालयले गैरकानुनी ढंगले श्रम स्वीकृत दिएर मानव तस्करीलाई प्रश्रय दिएको हो । सरकारले नयाँ कामदारलाई घरेलु कामदारमा जान प्रतिबन्ध लगाएका मुलुकमा विभागका कर्मचारीले श्रम स्वीकृत नवीकरण (रिइन्ट्री) र वैधानीकरणको (लिगलाइजेसन) का नाममा अनियमितता गरिरहेको स्रोतको दाबी छ ।

सरकारले कुवेत, ओमान, बहराइन, साउदी, कतारलगायतका मुलुकमा नयाँ घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ । सरकारले घरेलु कामका लागि जान नयाँ कामदारमाथि प्रतिबन्ध लगाए पनि वैदेशिक रोजगार विभागका कर्मचारीको मिलेमतो (सेटिङमा) झूटो विवरण बनाएर श्रम स्वीकृत दिइएको भेटिएको छ ।

वैधानीकरण र श्रम स्वीकृत नवीकरण गर्ने बहानामा वैदेशिक रोजगार विभागले आर्थिक चलखेल गरी अहिलेसम्म नगएका व्यक्तिलाई पनि पठाउने गरेका छन् । नयाँ कामदारलाई यसअघि नै विदेश गएको विवरण बनाई श्रम स्वीकृत लिन श्रम तथा रोजगार मन्त्रालयका उच्च अधिकारीले संरक्षण दिएको स्रोतको दाबी छ । त्यसको पछिल्लो उदाहरण बनेकी छन् दोलखाकी सुनिता तामाङ ।

विभागले कुवेत नगएकी दोलखा मागापौवा गाविस-२ की कुमारी तामाङलाई घरेलु कामदारका लागि पुस ७ गते ३१४६६५७ नम्बरको श्रम स्वीकृति दिएको छ । उनलाई कुवेत पुगेकी सुनिता तामाङको नाममा जारी राहदानीका आधारमा श्रम स्वीकृत नवीकरण गरिएको खुलेको छ ।

आगमन र प्रस्थान जाँच गर्दा कुमारी तामाङ कुवेत पुगेको खुल्दैन । विमानस्थलस्थित अध्यागमन कार्यालयले तामाङको रेकर्ड हेर्दा विगतमा कुवेत नगएको पाएपछि उनलाई प्रस्थान अनुमति दिएन र उनी फर्किन् । विभागका कर्मचारीले प्रलोभनमै नाम मिलेको फाइदा उठाउँदै अर्कै सुनिताको राहदानीका आधारमा तामाङलाई श्रम स्वीकृति दिएको खुलेको छ ।

दुवै सुनिताको राहदानी नम्बर र जन्ममिति फरक पाएपछि विमानस्थल अध्यागमनले तामाङलाई फिर्ता गरेको थियो ।

सुनिता मात्र होइन, उनीजस्ता सयौंलाई वैदेशिक रोजगार विभागले गलत विवरणमा श्रम स्वीकृत दिएको छ । पछिल्लोपटक विमानस्थल अध्यागमन कार्यालयले झन्डै २० जना त्यस्ता कामदारलाई फिर्ता गरेको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले विभाग र मातहतका कार्यालयमा हुने अनियमितताको अन्त्य गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

महानिर्देशक पाण्डेले अन्नपूर्णसँग भने, 'अनियमितता स्वीकार्य छैन । म कडाइका साथ निगरानी गर्छु ।' पाण्डे कात्तिकदेखि विभागमा कार्यरत छन् भने यसअघि शत्रुधन पुडासैनी महानिर्देशक थिए ।

सुनितालाई मात्र होइन, वैदेशिक रोजगार विभागले बहराइन नै नगएका टमबहादुर खत्रीलाई पनि वैधानीकरण (इन्डिभिजुअल लिगलाइजेसन) गरेको छ । एकपटक पनि बहराइन नगएका व्यक्तिलाई इन्डिभिजुअल लिगलाइजेसन गर्नु गैरकानुनी हो । विगतमा बहराइन गएको पुष्टि नभएपछि खत्रीलाई पनि विमानस्थलबाटै फर्काइएको थियो ।
विमानस्थलस्थित अध्यागमन कार्यालयले विभागले जथाभाबी श्रम स्वीकृति दिएका कामदारलाई फिर्ता गर्न थालेपछि वैदेशिक रोजगार विभागको लापरबाही सतहमा आएको हो ।

दिनहुँजसो समस्या आएपछि अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने र विमानस्थल अध्यागमन कार्यालयका प्रमुख उद्धव भट्टराईले गत साता श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीलाई भेटी वैदेशिक रोजगार विभागको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।

स्रोतका अनुसार सचिव मैनालीले अनियमिततामा संलग्न वैदेशिक रोजगार विभागका कर्मचारीमाथि छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् । 'सचिवज्यूले वैदेशिक रोजगार विभागमा भइरहेको अनियमितता छानबिन गर्छु भन्नुभएको छ', मन्त्रालयका एक अधिकारीले अन्नपूर्णसँग भने ।

वैदेशिक रोगजार विभागले वैधानिक प्रक्रियाबाट गएर फर्केर आएकालाई श्रम स्वीकृत नवीकरण (रिइन्ट्री) गरी पठाउने गरेको छ भने विभिन्न तरिकाले खाडी मुलुक गएर फर्केकालाई वैधानीकरण (लिगलाइजेसन) मार्फत श्रम स्वीकृत दिने गरेको छ । तर विभागका कर्मचारीले वैधानिक बाटोलाई कुल्चिएर घरेलु कामदारका लागि अहिलेसम्म नगएका व्यक्तिलाई पनि श्रम स्वीकृति दिइरहेका छन् । यो कार्यबापत विभागका कर्मचारीले कामदार वा म्यानपावर व्यवसायीबाट मोटो रकम असुल्ने गरेका छन् ।

वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले कुवेत नपुगेकालाई गएको विवरण बनाउँदै नवीकरण श्रम स्वीकृति दिइरहेका छन् । श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका उच्च अधिकारीसमेतको संरक्षण तथा म्यानपावर व्यवसायीको मिलेमतोमा विभागका कर्मचारीले जथाभाबी श्रम स्वीकृति दिइरहेको स्रोतको दाबी छ ।

वैदेशिक रोजगार विभागकी प्रवक्ता रमा भट्टराईले गलत काम गर्ने कर्मचारीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि विभाग मातहतमा डरलाग्दो सेटिङ खुलेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.