संसद बैठक आज, संशोधन विधेयक टेबुल गर्ने तयारी
काठमाडौंः व्यवस्थापिका संसदको बैठक सोमबार दिउँसो एक बजे बस्दैछ । संविधान संशोधन विधेयक प्रस्ताव दर्ता पनि लगातार अवरुद्ध हुँदै आएको बैठकमा सत्तारुढ दलले संशोधन विधेयक टेबुल गर्ने तयारी गरेका छन् ।
मधेस केन्द्रित दलहरुसँग औपचारिक तथा अनौपचारिक छलफल गरेका सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संशोधन विधेयक पारित गराइसकेपछि निर्वाचनमा जाने गरी मौखिक आश्वासन दिएकाले आजको संसद बैठकमा संशोधन विधेयक टेबुल गर्ने तयारी गरिएको हो ।
तर, प्रतिपक्षी दल नेकपा एमालेले भने आजको संसद बैठक पनि अवरोध पार्ने जनाउ दिएको छ । सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेदेखि नै प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलहरुले निरन्तर संसदमा अवरोध गरिरहेका छन् । सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म वा स्थगीत गरेर निर्वाचनसम्बन्धी विधेयकलाई अघि नबढाएसम्म संसद वैठक चल्न नदिने प्रतिपक्षी दलहरुको अडान छ ।
संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि बोलाइएको व्यवस्थापिका संसद बैठक सात पटक अवरुद्ध र तीन पटक स्थगीत भइसकेको छ ।